प्राकृतिक प्रकोपबाट जनधनमा पर्ने नकरात्मक असर वा प्रभावको समग्र स्वरुपलाई विपद भनिन्छ। जस अन्तर्गत भूकम्प, बाढी-पहिरो, महामारी रोगहरु, सुनामी आदि पर्दछन्। सो विपदबाट उत्पन्न हुन सक्ने असर वा क्षतिलाई रोकथाम वा न्यृनिकरण गर्नु वा गदै जानुलाई विपद व्यवस्थापन भनिन्छ।
विपद प्राकृतिक देन हो भने व्यवस्थाापन मानवीय क्रियाकलापको सकृयता हो। त्यसर्थ प्राकृतिक विपत्तिको पूर्वानुमान गरी सोबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनिकरण गदै जानु नै विपद व्यवस्थापन हो। जुन सुकै विपदहरु पूर्वसंकेत दिएर आउने कुरा पनि हैन तर कुनै बखत कुनै न कुनै समयमा विपदहरु देखा परेको खण्डमा सोबाट कसरी कम क्षतिमा उन्मुक्ति हुन सकिन्छ भनि पूर्वतयारी गर्नु कुशल विपद व्यवस्थापन हो।
विपद व्यवस्थापन प्रति चनाखो हुनु आम नागरिक र राज्य दुवैको कर्तब्य पनि हो। केही विपदहरु मानवीय क्रियाकलापहरुबाट उत्पन्न हुने हुँदा सो क्षेत्र तर्फ ध्यान पुर्याउनु नागरिक र राज्य दुवैको दायित्व रहन्छ।
विपद विनाश र विकासको साझा स्वरुप हो। साथै पीडादायी र सन्देशमूलक विपत्ति पनि हो। सबै विपदहरु प्रकृतिले नै स्वतस्फूर्त रुपमा निम्त्याउँछ भन्ने पनि होइन। केही विपदहरु मानवीय क्रियाकलापहरुका कारण, आवश्यक अध्ययन अनुसन्धान र उपयुक्त गुणस्तर वेगर बनाइएका भौतिक संरचनाहरु एवम् विकास निर्माणका क्रियाकलापहरुबाट पनि विपद निम्तिन सक्दछ।
उदाहरणका लागिः उच्च पहाडी तथा हिमाली क्षेत्रमा निर्माण गरिएका सडक सञ्जालहरुलाई लिन सकिन्छ। जहाँ वर्षा याममा बाढीपहिरोका कारण सयौं संख्यामा मानवीय क्षति भोगिरहदै आउनु परेको इतिहास कुनै नौलो होइन। त्यस्तै सदियौदेखि तराई क्षेत्रको समथर भूभाग डुवानमा परि ठूलो सख्यामा मानवीय क्षति भोगिरहनु परेको पनि छ।
त्यस्तै अनावश्यक रुपमा जंगल फडानी हुनु,भवन निर्माण गर्दा उपयुक्त मापदण्ड नअपनाउनु आदि मानवीय क्रियाकलापका कारण निम्तिएको विपदको अर्को समस्या पनि हो। एक्काइसौं शताब्दी सूचना प्रविधिको युग हो। जसको फलस्वरुप जलवायु परिर्वतनको कारण मौसममा आउन सक्ने असन्तुलनबाट निम्तिने विपदहरुको बारेमा विभिन्न समयमा जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्रवाह गरिदैं वा गदैं आएका पूर्व सूचनाहरुलाई लिन सकिन्छ।
आधुनिक औजार/उपकरणहरुको प्रयोग, वैज्ञानिकको ज्ञान, अनुभव, सीप, समय समयमा हुने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, अन्तर्क्रिया आदि कारणले गर्दा पनि जलवायु परिर्वतनसँग सम्बन्धित तथ्यपरक पूर्वसूचनाहरु प्रवाह हुनु ती सूचनाहरु सञ्चारका विभिन्न माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरु, सामाजिक संजालका विभिन्न माध्यमहरु मार्फत प्रवाह गरी छोटो समयमा जनस्तरसम्म पुग्न सक्नुले पनि विपदबाट उत्पन्न हुन सक्ने मानवीय, भौतिक क्षति कम गर्ने तर्फ केही हदसम्म मल्हम लगाएको इतिहास पाउन सकिन्छ।
त्यस्तै, सूचना प्रवाहसँग सम्बधित विभिन्न निकायहरुले निर्माण एवम् प्रयोग गर्दै आएका विभिन्न एप्सहरु मार्फत सर्वसाधारण नागरिकहरु समक्ष सूचनाहरु पुग्न सक्नुले पनि विपद व्यवस्थापनमा सहयोग पुगेको छ। त्यस्तै विपदबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यूनिकरण तथा व्यवस्थापन, पूर्वतयारी,उद्धार, राहत, पुनर्स्थापन आदि कार्य गर्न केन्द्रमा गृह मन्त्रालय, प्रत्येक जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय, प्रत्येक स्थानीय तहहरुमा प्रकोप व्यवस्थापन समिति रहेको छ।
साथै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पनि स्थापना गरिएको छ। र त्यस सम्बन्धि कार्यहरुमा सबै निकायहरुको सक्रियता उत्तिकै छ। जसको कारण विपदबाट उत्पन्न हुन सक्ने मानवीय/भौतिक क्षतिको ठूलो मूल्य चुकाउन परेको छैन। विपदको आएको बेला उद्धार कार्यमा सुरक्षा निकायहरुको चुस्त कार्य पनि उत्तिकै छ।
त्यस्तै वर्तमान समयमा आएको विश्वव्यापीकरणको आमूल परिवर्तन एवम् वैज्ञानिक एवम् प्रयोगात्मक उच्चशिक्षा प्रति युवा जनशक्तिहरुको आकर्षणको देन पनि हो। नेपालमा पनि सोसँग सम्बन्धि अध्ययन गर्ने जनशक्तिहरुको बाहुल्यता पनि उत्तिकै छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसाम विज्ञान केन्द्रिय विभागमा बहुसंख्यामा विद्यार्थीहरुको अध्ययन अध्यापन हुँदै आएका छन। यस प्रतिको प्राविधिक एवम् वैज्ञानिक शिक्षाले जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्दै जनधनमा पर्न सक्ने नकारात्मक असर वा प्रभावलाई कम गर्ने तर्फ सहयोग पुगेको पाइन्छ।
साथै जल तथा मौसम विज्ञान विभागमा उपलब्ध आधुनिक औजार उपकरण, दक्ष जनशक्तिको उपस्थिति, समय समयमा हने सेवासँग सम्बन्धित तालिम हुनु पनि विपदबाट उत्पन्न हुन सक्ने जोखिम/क्षतिलाई न्यूनिकरण गर्नेतर्फ महत्वपूर्ण भूमिका रहेको छ।
नेपालको सन्दर्भमा विपद व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायहरुको स्थापना, सूचना प्रवाह गर्ने एप्सहरुको निर्माण एवम् प्रयोग, संञ्चारमा जनताको सहज पहुँच आदि कारणले गर्दा केही हदसम्म सकारात्मक कार्यहरु, भएतापनि केही अनुसन्धान एवम् पूर्व अध्ययन वेगर निर्माण गरिएका विकास निर्माणसँग सम्बन्धित क्रियाकलापहरुले निम्त्याएको विपदको यथार्थता पनि छ।
साथै उच्च पहाडी तथा हिमाली क्षेत्रको भौगोलिक संरचनाबाट उत्पन्न हुने गरेका पहिरोले पनि वर्षेनी विपद निम्तिदै आएको छ। त्यसतर्फ सबै निकायको ध्यान जानु आवश्यक छ। त्यसर्थ, विकासको नाममा विनाश नभई विकासको नाममा दिगो विकास कायम गरी कुशल विपद व्यवस्थापन गर्दै विकास र समृद्वि बाटो तर्फ अगाडि बढ्दै जानु आजको आवश्यकता हो।