चार महिना पूरा भएर पाँच महिना लागिसक्यो, नेपाल र नेपाली कोरोनाको कारण प्रभावित बनेको। अझ प्राविधिक रुपमा त माघ महिनादेखि नै कोरोना नेपालमा भित्रेको। यसका बाबजुद पनि कोरोना नियन्त्रण उन्मुख हुने कुनै छाँटकाट छैन।
आज म पूरै चार महिनापछि मैले देखेको काठमाडौँको बारेमा केही कुरा भन्ने प्रयासमा छु। हुन त काठमाडौँबासीले यो कुराहरु थाहा पाइसक्नु भएको होला तर यस विषयमा पुनर्ताजगी मिल्दा अन्यथा मान्नु हुन्न होला भन्ने मैले ठानेको छु।
काठमाडौँ उपत्यकासँग जोडिएको एक जिल्ला मेरो जन्मस्थल र स्थायी ठेगाना हो। तर विद्या आर्जन गर्ने सिलसिलामा सानैदेखि म काठमाडौँमा छु। दुई तिहाईभन्दा बढी मेरो हालसम्मको जीवन काठमाडौँमा बितेको छ। एक महिनाभन्दा बढी समय यो खाल्डो बाहिर बसेको मलाई सम्झना नहुने बेलाको कुरा हो। तर कोरोनाले यो यथास्थितिलाई भंग गरिदियो र बनाइदियो नयाँ सम्झना। जसै चैत ७ मा नेपाल सरकार मन्त्रीपरिषद्ले लकडाउनको घोषणा गर्यो त्यसै दिन लागे म गाउँतिर।
चीनको वुहानमा फैलिएको कोरोना संक्रमणलाई संचार माध्यम मार्फत नियालेको भएर दुई महिना जति त यो खाल्डोमा आइन्न भनेर सोचेको थिएँ। तर मेरो सोच र महामारी बीच तादम्यता मिल्न सकेन। दई महिनाको मेरो अनुमानमा महामारीले अर्को दुई महिना थपिदियो। चार महिना पूरा हुनै लाग्दा नेपाल सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्यो।
तर विद्यार्थी वर्गलाई यो घोषणा कागलाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तो भो। एसईई, प्ल्स टु, स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीलाई यो घोषणाले पढाइ सूचारु भइहाल्ने भन्ने खालको खबर ल्याएन। यसरी खाल्डोमा फर्कने वातावारण यो देशमा अझै बनिसकेको थिएन।
काठमाडौँमा लकडाउन अन्त्य पश्चात् झनर-झन् कोरोना संक्रमित बढिरहेका छन् भन्ने खबर आइरहेको थियो/छ। तर यो कुरा हेक्का राख्दै मैले काठमाडौँ आउने निर्णय लिएँ, मनमनै कोरोनाप्रति सजग र सचेत भएर हिँड्छु भन्ने प्रतिबद्धतका साथ। र केही दिन अघि उपत्यका आइयो पनि।
घरबाट निस्कने बित्तिकै केही समयलाई हिलो र धुलो बाटो छिचोल्नु पर्यो। आलोचना नगरी विकास निर्माणमा केही समय धूलोधुवाँ खानु पर्छ भनी आफ्नो चित्त पनि बुझाइयो।
अरनिको राजमार्ग हुँदै काठमाडौँ आउने यात्रा जारी थियो। बिदाको दिन भएकोले होला बाटो अरु बेलाको भन्दा होलो थियो। त्यसमाथि मध्य बर्खाको बखतमा टन्टलापुर घाम लागेको थियो। कैयौँ दिनपछि निलो खुल्ला आकाशमा घाम लागेको अनुभूति गर्न पाएर होला सबै थोक अरु दिनभन्दा उज्यालो देखिन्थ्यो।
चार महिना यो बाटो आहोरदोहोर नगरेकोले वरिपरिका दृश्यहरु छुटिहाल्छन् कि भन्ने संशयका साथ म आफ्ना आँखा सकेको जति डुलाइरहेको थिएँ। अब साँगा आइपुग्नै लागेको थियो।
अरु बेला मतलब नहुने साँगा, वर्षभरीमा मध्य जाडोमा मात्रै महशुस हुन्थ्यो। साँगा कटेर उपत्यका छोडेपछि चिसो बढेको महशुस हुने भने साँगा कटेर उपत्यका प्रवेश गर्दा चिसो घटेको आभास हुने। खैर योभन्दा कुरा बेप्रासङ्गिक नबनाउँ।
घरबाट हिँड्ने बेलामा नै साँगा बारे दुई/तीन पटक सोचेको थिएँ। काठमाडौँका प्रमुख तीन नाका-फर्पिङ, नागढुङ्गा अनि साँगा। साँगा त मैले कति चोटि वारपार गरे हुँला गनि साध्य छैन। तर लकडाउन अन्त्यपश्चचात यी तीन नाकामा कोरोना संक्रमणको सम्भाव्यतालाई मध्यनजर गर्दै पिसिआर परीक्षणका लागि स्वाब लिइरहेको भन्ने समाचार पढेको थिएँ। दिनहुँजसो यी नाकाबाट लिइएका स्वाबमध्ये केही कोरोना पोजेटिभ भन्ने खबर आइरहेका थिए। यसले गर्दा नाकाको सुरक्षा र सोधपुछ एकदम कडा होला भन्ठान्नु अन्यथा थिएन।
अझै लकडाउनको बेला पास लिएर काठमाडौँ हिँडेका मानिसहरुमध्ये जायज जवाफ हुने बाहेक अरुलाई नाकाबाटै फिर्ता फर्काइएको थियो। एकै परिवारका सदस्य भए पनि काठमाडौँ जानैपर्ने चित्तबुझ्दो जवाफ भएकालाई मात्र राजधानी छिर्न दिइएको थियो।
साँगा पुग्नु दुईसय मिटर अघिदेखि नै म वरिपरि र अगाडि बडो चासोपूर्वक सबै कुरा नियालिरहेको थिएँ। यतिबेला पनि साँगा नेर पुगेपछि प्रहरीले लामै सोधपुछ गर्ला जस्तो लागिरहेको थियो। म मोटरसाइकलको पछाडि सिटमा बसेकोले ठूलो सवारी साधनमा जस्तो झरेर केही तलसम्म हिँड्न पर्दैन भन्ने थाहा थियो।
र पुगियो साँगा। चार पाङ्ग्रे र सोभन्दा ठूला सवारी साधनका लागि छुट्टै चेकिङ रहेछ र मोटरसाइकल (कार लगायत निजी सवारी पनि होला मैले देखिनँ) का लागि छुट्टै लेन रहेछ। काठमाडौँ प्रवेश गर्दा बायाँपट्टि ठूला सवारी र दायाँपट्टि दुई पाङ्ग्रे सवारीका लागि सडक छुट्याइएको रहेछ। ठूला सवारी गुड्ने लेनमा गाडीका ताँती थिए र साना सवारी गुड्ने लेनमा भने नगन्य सवारी साधन।
यहाँसम्म ठिकै थियो, ठूला सवारीमा मानिस पनि हुने भएकाले ओराल्नु पर्ने भएकाले गाडीको लाम लागेको र यता साना सवारीमा गुड्ने पट्टि मानिस कम सवार हुने खालका यातायातका साधन हुने भएर होला भन्ठानेँ। मानिस हिँडेको देख्दा बाल्यकालमा माओवादी द्वन्दका बखत नलिन्चोकमा बालबालिका, वृद्ध र गर्भवती महिला बाहेक सबै जना हिँडेर अलि तलसम्म जाने र नेपाल आर्मीको मानिस आएर गाडीभित्र जाँचपड्ताल गरेर जाने गरेको दृश्य पनि सम्झना भो।
साँगामा सशस्त्र प्रहरीको बाक्लै उपस्थिति थियो। उनीहरु आफ्नो काम राम्ररी नै गरिरहेको भान मलाई भयो। अब हामीलाई पनि रोकेर कतिबेर सोधपुछ गर्ने हुन् भन्ने एक तमासले मनमा लागिरह्यो। तर मनको कुरा त्यहाँ चरितार्थ भएन। कोही प्रहरीले पनि आएर हामीलाई सोधपुछ गरेनन्, न त अरु नै दुई पाङ्ग्रे सवारीलाई गरेको देखियो (त्यसबेला यस्तो देखियो अरु बेलाको जानकारी छैन।) उनीहरुले नै नगरेपछि हामी जान्ने हुने कुरा भएन र हामी भक्तपुर जिल्लातिर गुड्दै अघि बढ्यौँ।
हामीलाई केही पनि नसोधिएको सम्बन्धमा मलाई केही बेरसम्म अनौठो एवम् उदेक लाग्यो। उता साँगापारि ठूला सवारीबाट झरेका यात्री हिँड्दै पारि जाँदै थिए। ठ्याक्क कहाँनिर उनीहरुमध्यै कसैको स्वाब लिन ठाउँ बनाइएको थियो मैले याद गरिन। अझ गर्न भ्याइन भन्दा उपयुक्त होला।
अन्तर्मनमा केही प्रश्न घुमिरहे अनुत्तरित रुपमा। हामीलाई किन सोधपुछ नगरेको होला? साना सवारी धेरै भएर सोधपुछ गरेर साध्य नलाग्ने भएर होला कि? साना सवारी धेरै लामो दूरीको यात्रा गरेर आउँदैनन् भन्ने बुझाइले काम गरेको हो कि? सो नाकामा खटिएको प्रहरीको जनशक्तिले नभ्याउने भएर हो कि?
कि साना सवारीमा आउने नजिक जिल्लाका यात्रु बढी हुने भएकाले कोरोना संक्रमण हुदैन भन्ने बुझाई हो कि? मनमा यस्ता प्रश्न खेलाउनु बाहेक अरु के पो विकल्प थियो र! आखिर यस्ता प्रश्नको उत्तर कसले दिन्छ भन्ने पनि हामी सामान्य मानिसलाई के थाहा।
सडक विस्तारका लागि सडक छेउछाउका रुख काटिएका रहेछन्, सूर्यविनायकसम्मका। मान्छेको आवतजावत पनि बाक्लिएछ। काठमाडौँका बाटा पनि निक्कै सफा भएछन्। यसरी यताउता हेर्दै काठमाडौँ आइयो महिनौँपछि।
सो दिन बेलुका साँझपख पाटन दरबार स्क्वायर जाउँ भनेर एकजना साथीले प्रस्ताव गरेकाले मास्क लगायर वरिपरिको माहोललाई ख्याल गर्दै हामी लाग्यौँ दरबार स्क्वायरतिर पैदल ठमठम। जसै दरबार स्क्वायर पुगियो त्यहाँ एउटा सकारात्मक दृश्य देखियो। कोरोनाको जोखिम रहेकोले भीडभाड नगरिदिनुहुन भनी प्रहरीले माइकिङ गरिरहेको थियो।
कति मानिस सो आग्रहलाई शिरोपर गरेर त्यहाँबाट उठी आफ्नो बाटो लागे भने कति अटेर गरेर त्यहीँ बसीरहे। कोरोना संक्रमणको उच्च जोखिममा हुने वृद्ध समूहलाई प्रहरीले निक्कै बेर र निक्कै सम्झाई बुझाई गर्यो। बल्लतल्ल त्यहाँबाट उठ्न उनीहरु राजी भए। उता कृष्ण मन्दिरमा भने आराधना चलिरहेको थियो राम्रै परिमाणका भक्तजनको उपस्थितिमा।
वरिपरि मान्छे नभएको ठाउँ छनोट गरी मास्क फुकाली कुल्फी खान लागियो गर्मी छल्न। खाए पश्चात पुनः दरबार स्क्वायर हुँदै हामी दुई जना फर्कने क्रममा थियौँ। अघिको भीडभाड भने पुनः जस्ताको तस्तै भइसकेको थियो।
अघि माइकिङ गर्ने नेपाल प्रहरीका अधिकारीहरु त्यहाँबाट हिँडिसकेका थिए, सायद अर्को ठाउँको अनुगमन गर्न। प्रहरीको आग्रहमा खाली भएका ठाउँमा पुनः मान्छे जम्मा भइसेका थिए। नयाँ मानिस आएर बसेका हुन् कि अघिकै मानिस हुन् हेक्का भएन। सामान्य बेलाभन्दा कम मानिस भएपनि हालको परिस्थितिमा बाक्लै भीडभाड मान्नुपर्ने हुन्छ।
यसरी भीडभाडले महामारीलाई गिज्याइरहेको थियो। अनि मास्क लगाउने नलगाउने, सामाजिक दूरी कायम गर्ने सम्बन्धी कुरा त तपसिलका विषय हुन् भनी आफूलाई सम्झाएँ। बिहानका अनुत्तरित प्रश्नमा अरु थप प्रश्न थपी टाउको दुखाउँदै लागियो बासस्थान तर्फ, साँझको लगभग सात जो बज्न आँटिसकेको थियो।
(लेखक कानुनका विद्यार्थी हुन्।)