नियालिरहेको छु विगत ४० वर्षदेखि मेरो समुदाय र मेरो संस्कृतिलाई। एउटा मुसहर समुदायमा जन्मिएर आफ्नै संस्कार र संस्कृतिसँग खेल्दै आफ्नै समुदायमा हुर्केको मान्छे।
लाग्छ म मर्नको लागि बाँचिरहेको छु। जन्म कस्तो परिस्थिति र परिवेशमा भयो त्यो अनुभव त मसँग छैन । तर जबदेखि देखेका,अनुभव गरेका कुरा सम्झन र अवलोकन गर्न सक्ने भएँ त्यसबेलादेखि नै मेरो समुदाय यस्तै छ।
कोरोनाको महामारीले विश्वआक्रान्त छ। ५ महिना भयो आफ्नै झुपडीको वरिपरि घुमेर बसेको। मेरो मानसपटलमा आजकाल विगत ४० वर्ष अगाडि देखिका कुराहरू फनफनी पंखा घुमे जसरी घुमिरहेका छन्। त्यो दिन मलाई अझै सम्झना छ।
***
साँझ परिसकेको थियो। नजिकै बसेको मान्छे देखिँदैन थियो। म मेरी आमाको नजिकै थिएँ। आमा अगेनाको डिलमा सानो बहिनीलाई काखमा राखेर बसिरहेकी थिइन्। भोकले पेट निकै बटारेको थियो। आमाले केही बनाउलिन् र खान देलिन् भन्ने आशमा बसिरहेकी थिएँ। यत्तिकैमा बा आइपुगे। जाड खाएर टिल्ल भएका रहेछन्।
आमा त बा आउलान् र चामल ल्याउलान् भनेर बसेकी रहेछिन्। चामलमात्र होइन घरमा तरकारी, दाल, नुन, तेल केही पनि रहेनछ। आधा पेट खाएको निकै दिन भएको थियो। आज त बा साहुको काम गर्न गएका केही ल्याउलान भन्ने आश थियो।
हाम्रो जात,भएको दिनमासु मसलामा चुर्लुम्मै डुबाएर मीठो बनाएर खाने जात हो। १५ दिनकी सुत्केरी मेरी आमा निकै गलेकी थिइन् सायद। काममा गएका बाले मासु किनेर ल्याउँछन् भन्ने आश रहेछ। हातमा चामल पनि नदेख्दा निकै खिन्न भइन्। बा आएर ढलिगए। झगडा गर्लान् भनेर आमाले केही बोलिनन्। पल्लो घरमा गएर थोरै चिउरा मागेर ल्याएर दिइन्। म त्यही चिउरा मकमकाउँदै सुतें।
आज यी झुपडीहरूलाई नियाली राखेको छु। यी झुपडीभित्र सबैका आ–आफ्नै व्यथा छन्। कैयौं रात भोको पेट बिताउँछन्, झुपडीको ओतभित्र १/२ वर्षका बालबालिका देखि ६०/७० वर्षका वृद्धसम्म। बिरामी रोगी औषधी उपचारको अभावमा छट्पटाउँदै बाँचिरहेका छन्। कति त औषधी उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य भएका छन्।
सुत्केरीले पौष्टिक आहार खान पाउँदैनन् , दूध आउँदैन राम्रोसँग, बच्चाहरू कुपोषणले पीडित छन्।
हावा आउँदा यही ओत पनि उडाइदिन्छ। बाढी आउँदा बगाइदिन्छ। आगोको झिल्कोले भेटिहाले जलाइदिन्छ। जसोतसो बनायो फेरि वर्ष दिन नपुग्दै हावा,बाढी र आगोले उडाइदिन्छ, बगाइदिन्छ, जलाइदिन्छ।
जग्गा जमिन नभएका हामी, ज्याला मजदुरी नै मुख्य आम्दानीको स्रोत हो। काम भएको दिन खान पाइन्छ नभएको दिन पानीमात्र खाएर सुत्नुपर्छ। मसिना बालबालिका पनि भोकै सुत्न बानी परिसकेका छन्।
सामान्य बाँसका सिटाले बेरेर बनाएका नहरका डिलका झुपडीहरू हावाले उडाउँदा छानो टाल्छौं। बाढीले बगाउँदा र आगोले जलाउँदा अर्को छाप्रो हाल्छौं। छानो टाल्न सजिलै हुन्छ, छाप्रो हाल्न गाह्रो हुन्छ।
आमा ज्वरो आएर सुतेको ४/५ दिन भएको थियो। औषधीउपचार गर्ने पैसा थिएन। एक दुई दिनमा ठीक होला भनेको भएन। एक दिन आमाले छोडेर गइन्।
मैले आमा गुमाएँ, बाले, महिना दिन नबित्दै अर्की आमा ल्याएर बसे। बहिनीको अभिभावक बनें म। पेट पाल्न ज्यालामजदूरी गर्न थालें। अहिले बहिनीको विवाह भयो। मेरा २ छोरा १ छोरी छन्। ठूला भैसके। मैले पढिनँ पढ्नु पर्छ भन्ने थाहा नै थिएन। छोरा छोरीले पनि पढेनन्।
यहाँका केही महिलाहरू मसिना भुरा माछा बेचेर बेलुकीको छाकको जोहो गर्छन्। हिउँदका मंसिर, पुस, माघ महिनामा वरिपरिका खेतमा गएर धानको शीला खोजेर ल्याउने गर्छन्। केही युवाहरू छिमेकी देश भारतमा गएर कुखुरा फारममा काम गर्छन्। जसोतसो खानेकुराको जोहो गरे पनि पकाउनको लागि दाउरा छैन।
आफ्नो जग्गा छैन। अरुको जग्गामा जान पाइँदैन। किन्ने पैसा हुँदैन। कुनै पशुपंक्षी पाल्न पनि घाँसचारो खोज्ने ठाउँ छैन।
बिद्यालयनजिकै छ। यहाँका बालबच्चाहरू विद्यालय भने जाँदैनन्। केही गए पनि नियमित जाँदैनन्। आमाबुवालाई पनि बालबच्चालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना छैन। पढेर कसैले पनि जागिर खाएका पनि छैनन्।
बिहान बेलुका के खाने भन्ने चिन्तामात्र छ। पढेर ठूलो मान्छे हुइन्छ, शिक्षित हुइन्छ भन्ने सोचाइको विकास भएकै छैन। बालबालिकाहरू नहरको धमिलो र फोहोर पानीमा पौडी खेल्छन्।
कति बच्चा त पौडी खेल्न जाँदा नहरमा डुबेर मर्छन्। कति रोग लागेर मर्छन्। कति भोकले मर्छन्। मर्ने कुनै ठेगान हुँदैन। कोही जन्मन नसकेर मर्छन्। कोही जन्माउन नसकेर।
१/२ घरमामात्र शौचालय छ। यहाँका बालबालिका, युवा, बृद्ध सबै नहरको डिल र नजिकैको खेतमा गएर दिसापिसाब गर्छन्।
शौचालय बनाउने सामग्री वितरण गरेर खुला दिसामुक्त क्षेत्रको रूपमा घोषित भएको पनि हो। तर वितरण गरिएका सामग्री पूर्ण नभएको र शौचालय बनाउने,जमिन नभएकाले शौचालय बनाउन सकेका छैनन्। फोहोर मैलाले गर्दा विभिन्न रोगहरू लागेर पनि धेरैको ज्यान जान्छ।
४० वर्षसम्ममा नजिकैका समुदायमा धेरै परिवर्तन देखेको छु। जमिन नहुनेले जमिन किनेर ठूला ठूला घरहरू बनाएका छन्। पढेर ठूला ठूला मान्छे भएका छन्। हामीलाई काम गर्न बोलाउँछन्। काम गरे बापतको पारिश्रमिक पनि दिन्छन्। काम नभएको बेला उनीहरूको घर खेतमा टेक्न समेत पुगे पनि नराम्रो शब्दमा गालिगलोज गर्छन्।
त्यहाँ पर बाटोको दायाँ- बायाँ ऐलानी जग्गामा ४/५ वटा छाप्रोहरू बनाएर हाम्रो समुदायका मान्छे बसेका छन्। छेउमा एउटा ठूलो घर छ। त्यही घरको साहुले काम लगाउन सजिलो हुन्छ भनेर बस्न दिएका हुन्। काम चित्त नबुझेको दिन, मैले रोकेको जग्गा हो तिमीहरूलाई निकालीदिन्छु भन्छन्। हामीसँग नागरिकता छैन कतै जमिन किनौं भने पनि। नागरिकता हुनेले ठूलो जमिन किन्न सक्दैनन्। थोरै थोरै जमिन किन्न पाउँदैन।
यहाँ सबैको जीवनशैली यस्तै छ। जसोतसो बनाएका छाप्राहरू पनि मक्किएर बस्न नमिल्ने भएका छन्। ४० वर्षसम्म थोरै पनि परिवर्तन भएन। छाप्रो भत्काउने र बनाउने क्रम ४० वर्षसम्म चलिरहयो। अझै सयौं पुस्तासम्म चलिरहनेछ। जन्मिन्छन् सास नगएसम्म बाँच्छन्। नजिकैका गाँउमा पनि हाम्रो जस्तो समुदायका मानिसहरूको अवस्था यस्तै छ। लाग्छ सयौं वर्षसम्म पनि यो समुदाय यस्तै नै हुने छ।
कुनै परिवर्तन आउने छैन। कुनै ठूलो सपना देख्ने छैनन्। परिवर्तन गर्नुपर्छ भनेर कसैले सिकाएको छैन। हामीले बुझेका छैनौं। सिकेका छैनौं।
जाडोयाममा निक्कै जाडो हुन्छ। लगाउनका लागि न्यानो कपडा कसैसँग छैन। पुराना मैला च्यातिएका कपडा देखिन्छन् सबैका आङमा। जाडोले कठ्यांग्रिएर धेरैको ज्यान जान्छ।
कुनै ठूलो घर बनाउने सपना यहाँ कसैले देख्दैनन्। गाडी चढ्नु छैन, पढेर ठूलो मान्छे बन्ने सपना छैन। सुकिला लुगा लगाएर घुम्न जानु छैन। जन्मिएपछि सबैको एउटै सपना हुन्छ मर्नुपर्छ। नमरेसम्म बाँच्नु पर्छ। बाँचुन्जेल सास फेर्नुपर्छ। सबैको सपना एउटै मात्र। सबै मृत्यु कुरेर बाँचिरहेछन्। यिनै मृत्यु कुरेर बाँची रहेकाहरूको भीडमा म पनि मर्ने दिनको पर्खाइमा मर्नको लागि बाँचिरहेको छु। नमरेसम्म बाँच्ने छु।
आशा छ एक दिन सरकारले हाम्रो लागि केही नयाँ योजना बनाउने छ। हाम्रो समूदायको परिवर्तन गर्नेछ । हामी पनि सवल, शिक्षित र कर्मयोगी हुनेछौं।