केही समय अगाडिको कुरा हो, मेरा स्नाकोत्तर तहका सहपाठी साथीसँग फोनमा कुरा भयो। अहिले हामी दुवै विदेश तिर छौँ। म अध्ययनको सिलसिलामा र उ रोजगारीको। मैले सन्चो बिसन्चो बारेमा सोध्ने बित्तिकै उनलाई सोधेँ- 'साथी नेपाल फर्किने होइन?'
यसको प्रतिउत्तरमा साथीले नेपालको वर्तमान अवस्था हेर्दा नेपाल फर्किने आधार र हौसला नभएको बताए। उनले धाराबाहक रुपले नेपालको वर्तमान समस्या र अवस्थाको बारेमा भट्याउन थाले। उसँगै मैले पनि केही कुरा थप्दै गएँ, नेपालको वर्तमान परिस्थितिको बारेमा।
उनले भन्दै थिए- 'हामीले राजनीतिक दलका नेताहरुको भाषण वर्षौदेखि सुनेका सुन्यै छौँ। उनीहरुले हामीलाई भने भोट दिनुहोस्, हामी युवाहरुलाई हाम्रै देशमा रोजगारको व्यवस्था गर्नेछौँ, स्वदेशमा नै गुणस्तरीय शिक्षाको व्यवस्था गर्नेछौँ। स्वदेशमा नै सर्वसुलभ स्वास्थ उपचारको व्यवस्था गर्नेछौँ, भ्रष्टचारलाई शून्य सहनशीलतामा लानेछौँ।
हामीले प्राय:जसो सबै पार्टी जसले देशको राजनीतिक परिवर्तनमा भूमिका खेले, सबैलाई हेर्यौ। पार्टीका नेताको आशालाग्दा भाषण सुनेको ३० वर्ष काटिसक्यो तर विदेशीने युवाको संख्या दिनदिनै बढेको बढ्यै छ। शिक्षाको गुणस्तरीयताको प्रश्न उठेको उठ्यै छ।
शिक्षाको लागि युवा विदेशीने संख्या बढेको बढ्यै छ, स्वास्ठ उपचार दिन प्रतिदिन महंगो भएको छ, नेताहरु उपचार गर्न विदेश गएका गऐछन्, भ्रष्टचार बढेको बढ्यै छ। भ्रष्टचार नियन्त्रण गर्न पुगेको व्यक्ति नै भ्रष्टचारमा फसेका छन्। गरिब गुरुवाको अवस्था उस्तै छ।
नेताहरुको वाचा, वाचामै सीमित छ। विचरा जनता अझै उनीहरुको भाषण सुनेर बसेका बसैछन्। देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो, संविधान आयो, संघीयता आयो, स्थानीय निकायका जनप्रतिनिधि पनि आए तर नेताहरुले भनेजस्तो देश रोजगारी सिर्जना भएन।
सरकारको नेतृत्व गर्नेहरू विदेशी सकारसँग श्रम संझौता गर्नमा नै तल्लीन रहे, यसैमा नै गर्व गरेर बसे। कुरा गर्ने एउटा, काम गर्ने अर्को। पढेकाले पनि उनीहरुले क्षमता अनुसारको जागिर नपाउने। जागिरमा पनि भनसुन, पावर, नातावादलाई प्राथमिकता दिने। केहीगरी जागिर पाईहाले पनि लठुवाको दबदबा, हाकिमी शैली, र नेताहरुको 'एसम्यान' भएर चल्नु पर्ने।
र जागिरबाट पाउने पैसाले अहिलेको महँगी र बढ्दो खर्चलाई धान गाह्रो पर्ने। त्यसैले विदेशीने युवाहरुको संख्या दिनप्रतिदिन बढेको छ। देशमा नै केही गरौँ भनेपनि वातावरण राम्रो छैन। जसको शक्ति उसको भक्ति छ। दण्डहीनता बढेको बढ्यै छ।'
कुरा गर्दै जाँदा साथीले देशको अवस्थाको बारेमा अझ बढी विसंगती र बेथितिको बारेमा केही घटनाहरु प्रस्तुत गरे। 'मेरो देश जहाँ भ्रष्टचार विरूद्ध बोल्दा नागरिक अभियान्ता राज्य पक्षको संरक्षणमा नै कुटिन्छन। संचारकर्मी जसले देशमा भएका वेथितिलाई उजागर गर्छ, उसलाई सुनियोजित तबरले फसाउन खोजिन्छ। देशका विश्वविद्यालयका उच्च पद र नेतृत्वमा देश, काल, परिस्थिति, र शिक्षालाई बुझेकालाई भन्दा आफ्नो अनुकुलकालाई बनाइन्छ।
विश्वविद्यालयको नेतृत्वमा लगेकालाई पनि हात-खुट्टा बाँधेर काम गर्न लगाइन्छ। स्वतन्त्र रुपले काम गर्न दिईदैन। सरकारले दिने पदक, तक्मा र पुरस्कार पनि, कर्मठ, इमान्दार, राम्रो कार्यसम्पादन गर्नेलाई नभई ढोके, चम्चे, परिक्रमे, दलको झण्डेलाई दिन प्राथमिकता राखिन्छ। पार्टीको उच्च तहमा बसेका व्यक्ति नै देशको सार्बजनिक जग्गा आफ्नो नाममा सारेको विवादमा फस्छन्।
मेलम्ची खानेपानी योजनालाई यो वा त्यो वहानामा ढिलासुस्ती गरी कमाइ खाने भाँडो बनाइन्छ। नेपाल ट्रष्टको नाममा रहेका जग्गा भाडामा दिदा कमिशनको तालमेल नमिलेरे एउटा मन्त्री अध्यक्ष रहेको अर्को मन्त्रीलाई अध्यक्ष बनाई, उक्त जग्गा बिना प्रतिस्पर्धा कौडीको मूल्यमा भाडामा दिन खोजिन्छ। निर्मलाका हत्या काण्डका हत्यारा र बलात्कारीहरुलाई उम्काइन्छ र नाटकीय रुपमा निर्दोषलाई अपराधीको रुपमा उभ्याइन्छ।
३८ क्वीन्टल सुनका तस्करी, वाइड बडी जस्ता भ्रष्टचार काण्ड, पूर्व संचारमन्त्री अडियो काण्डलाई निर्यौलमा नपुर्याई बिचैमा नै छोडिन्छ। एनसेललाई सर्वोच्च अदालत नै लागाएर अर्बौको कर छली गर्न दिइन्छ। शक्तिवाला अपराधीलाई जेल छुटाइन्छ। सरकारी सेवासुविधा लिन कार्यालय गयो, यदाकदा बाहेक, ढिलासुस्ती र हाकिमी शैलीले वाक्क र दिक्क भइन्छ।
गरिमामय पदका मान्छे अनैतिक काम फसेका छन। राम्रो कामगरी रहेकाको मन्त्रीको मन्त्री पद खोसिन्छ। जो मन्त्रीले काम गर्न सकेको छैन, जनताको बीचमा अलोकप्रिय छ, उसको मन्त्री पद कायम राखिन्छ। कुनैबेला वर्गीय मुद्धाको चर्का नारा लगाउनेहरुले वर्गलाई जातसँग मात्र जोडि दिएका छन्।
समावेशीको नाममा जो राष्ट्र प्रमुख बने (तराई बासी), जो राष्ट्रको सुरक्षाको प्रमुख बने (जनजाती) उनीहरुका छोराछोरीलाई र त्यही जातका गरिब गुरुवाको लागि एउटै आधारको समावेशी, वर्गको होइन जातको, र धनी गरिबको होइन, जातको समावेशी। दु:खी गरिब बाहुन-क्षेत्रीलाई समावेशी नहुने, कुरा गर्ने वर्गको जातको राजनीति गर्ने।
बैतडीका चन्द जातका मान्छे जातले राजा भनेर चिनिने तर विचरा उनीहरु आफ्ना छोराछोरीको शुल्क तिर्न र हातमुख जोड्नको लागि ८० वर्ष पुग्दा पनि सकि/नसकी भारी भोक्नुपर्ने?'
साथी र म देशको विद्यमान परिस्थितिको बारेमा अझै केलाउदै गयौँ। 'राष्ट्रिय खेलाडी अन्तर्राष्ट्रिय खेलमा भाग लिन छोडेर खेल हुनुभन्दा दुई दिन अगाडि आफ्नो परिवारको लालन-पालनको लागि खाडी मुलुक जान बाध्य छन्। महिलालाई अझै अवसरबाट बञ्चित गरिएको छ, उनीहरुलाई 'उप' पदहरुमा मात्र थन्काउने गरिएको छ।
डा. गोविन्द केसी जस्ता त्यागी, सत्याग्राही व्यक्तिलाई आम सर्बसाधारणको स्वास्थको विषयमा र स्वास्थ शिक्षा विषयलाई लिएर १७ पटकसम्म आमरण अनसन बस्न बाध्य बनाइन्छ। अझै उनैलाई उल्लु बनाइन्छ। आफ्नो पार्टीको सिद्धान्त र चुनावी मुद्धा विपरित, स्वास्थ र शिक्षालाई व्यापारीकरण गरिन्छ। सार्बजनिक सरोकारका कार्यकारणी पदमा नियुक्ति गर्दा पैसा, पावर, नाता (भाई-भतिजा, छोरा-छोरी, साला-साली, बिहान बेलुकी आफ्नो वरिपरी परिक्रम गर्ने, आसेपासे) लाई प्राथमिकतामा राखिन्छ।
दलहरुले चुनावमा टिकट दिदा तथा समावेशी कोटाका प्रतिनिधि छनोट गर्दा पार्टीमा गरेको योगदान, वरिष्ठता, भिजनलाई आधार नबनाई डन, नाताका मान्छे र सेलिब्रेटीलाई टपक्क टिपेर ल्याइन्छ। जनप्रतिनिधिहरुले पनि, केही अपवाद बाहेक, सेवाग्राहीको काम सहजरुपले नगर्ने, आफ्नो दलका मान्छेको, आफ्नो गुटका मान्छेको कामलाई प्राथमिकता दिएर काम गर्ने।
यात्रुहरुले खाना खान सवारी साधन रोकेको होटेलको गुणस्तरहीन खानालाई ३-४ गुना बढी मूल्य तिर्न बाध्य छन्। दशैँ तिहार जस्ता चाडपर्वमा घर जान गाडी चढ्यो कलंकी चोकैमा डबल भाडा लिन्छन्, प्रहरीलाई खबर गरेमात्रै कारबाही गरे जस्तो गर्छन, तर चोकैबाट डबल भाडा लिदा रोक्न सक्दैनन्। जो भ्रष्टचारका खरो बिरोधी कमर्चारी छन् उनीहरुलाई बिनाकारण नियम विपरित सरुवा गरिन्छ र आफ्नो अनकूलको व्यक्ति ल्याई भ्रष्टचार गर्ने वातावरण मिलाइन्छ।
महावीर पुन जस्ता कर्मठ, देशभक्त वैज्ञानिक जसले देश लागि काम गरे देखाएका छन्। उनको आविष्कार केन्द्रलाई राज्यले सहयोग गर्न सक्दैन। नयाँ जोस, जाँगर र सपना लिएर खुलेका नयाँ दलहरु पनि टुट्ने र फुट्नेमा छन। शिक्षक, कर्मचारीलाई पार्टी कार्यकता जसरी परिचालन गरिन्छ।'
यस्तै देशमा भएका बेथितिको बारेमा भलाकुसारी गर्दै हामी अन्त्यमा निष्कर्ष पुग्यौँ। अझै जनता र पार्टी कार्यकर्ताको बाँकी एउटा उत्तरदायित्व देख्यौं कि, जबसम्म पार्टीका कार्यकताहरु आफ्ना नेताको गलत, अनैतिक कामको विरुद्ध उत्रिदैनन्, औला ठड्यादैन्न्, विकासलाई साध्य र राजनीतिलाई माध्यम बनाउन दबाब दिदैनौ, तबसम्म नेपालको स्थिति सुध्रिदैन। जबसम्म जनताले र कार्यकर्ताले नेताहरुले चुनावमा गरेका वाचा-कसमको हिसाब किताब खोज्दैनन्, तबसम्म नेपालको स्थिति नाजुक रहिरहन्छ।
जबसम्म देशका कार्यकारी पदमा सूक्ष्म व्यक्तिलाई लगिदैन, राजनीतिक नियुक्तिमा विवेकहीन व्यक्ति पुग्ने बाटो बन्द हुँदैन, तबसम्म नेपालीले दु:ख र सास्ती भोगीरहनु पर्दछ। जबसम्म युवालाई देशमै बसेर काम गर्ने वातावरण हुँदैन, तबसम्म युवा विदेशीन बाध्य भैरहन्छन्। जबसम्म सुशासन, सामाजिक न्याय, भ्रष्टचार न्यूनीकरण, निश्पक्षता कायम हुँदैन, तबसम्म युवा देश फर्किने र देशमा बस्न मान्दैन।
जबसम्म राम्रो कामको लागि समर्थन (लिम्पियाधुरा, कालापानी, लिपुलेक नक्सा जारी) नराम्रा कामको विरोधमा यो/त्यो पार्टी नभनी एकजुट हुँदैनौँ, हाम्रो अवस्था जुन पार्टीको सरकार आएपनि, जति तिहाइको सरकार आएपनि उस्तै रहने देखिन्छ।
अब सोचौँ, बेलैमा विवेक लगाऔँ। किनकी देश बने बल्ल तपाई हामी सबैको भलो र राम्रो हुने हो।
(लेखक अमेरिकाको टेक्सास विश्वविद्यालयमा पिएचडी अध्ययनरत छन्।)