अरु दिन जस्तै बेलुकी काम सक्काएर हिड्ने बेला भयो। त्यतिकैमा 'आज त दरबारमा दाँत हेर्न बोलाएका छन्, जसरी भएनी पुग्नै पर्ने छ। दाँतको सानो ठुटाले सारै दुखायो भन्दै आएर हेर्दिन पर्यो भनेका छन्, स्वर्गीय राजा वीरेन्द्रका दाइका छोराले' भन्दै गुप्ता सरले कुरा गरे मसँग।
‘ए हो र सर?’ भन्दै मैले कुरामा कुरा थपेँ। त्यस्तैमा गुप्ता सरले 'कि मिल्छ भने जाउँ तपाई पनि' भनेर मलाई अलमल्लमा पारिदिए। राजाकै परिवारको कुरा भएर होकी मैले हतारमै हुन्छ भनेछु। जाने कुरो भएसी चाहिने दन्त सामाग्री बोकेर हामी लाग्यौँ। बाटोभरी नसोचेकै सौभाग्य पाइयो त भन्दै म आफै दंग थिएँ।
करिब बेलुकीको ७ बजे तिर उहाँको निवास अगाडि पुग्यौँ। काम गर्ने दाइ गेट सम्म लिन आए। भित्र छिरेपछि जाने बाटो पूरै अध्यारो थियो। दरबार भन्थे गुप्ता सरले, होइन कता ल्याए भन्दै म फेरि सोच्न थालेँ। राजाका दाजुभाइ बस्ने दरबार नै शून्य र अध्यारो थियो मानौं कि राजा वीरेन्द्र स्वर्गीय हुनु भएको सोकमै छ अझै राज परिवार।
न त कुनै सजि-सजावट, न त कुनै तडक-भडक नै देखिन्थ्यो वरिपरि। पानी दर्केकाले हिलो खुट्टा लिएरै हामी उहाँको घरभित्र पस्यौं। छिर्ने बित्तिकै म घरको भित्तो, टेबुल कुर्सी, दायाँबायाँ, यता-उता सबै हेर्न थालेँ। एकातिर भित्तामा सायद वीरेन्द्र राजाको जस्तो लाग्यो एउटा पुरानो थियो। दरबारकै शैलीको तर ह्वाङ्ग देखिने उहाँको त्यो ठूलो घरले राजतन्त्र अन्त्यपछि झनै ह्वाङ्ग परेको हाम्रो देशको चित्रण गरिरहेको झै लाग्यो मलाई।
हामी पुगेको थाहा पाएर होला, काम गर्ने दाइको सहारामा उहाँ कोठाबाट निस्किएर आउनु भयो। ठूलो भारी भरकम ज्यान उहाँको, त्यसैमाथि मधुमेहका बिरामी। उहाँले आँखा खासै देख्नु हुँदो रैनछ। राज परिवार देख्न पाइने भो भनी हौसिएर आएको म, उहाँको त्यो अवस्था देख्दा एकछिन स्तब्ध भए।
नेपालमा राजतन्त्र ढल्के झै गरी उहाँ गाह्रो गरेर सोफामा ढल्किन भयो। हामीले गरेको नमस्ते उहाँले सुनेकै भरमा फर्काउनु भयो। एकैछिन त म उहाँलाई टोलाए झै गरी हेरिरहेँ। कुनै बेला देशनै हाँकेर बसेका राजाका दाजुभाइ पर्ने उहाँलाई यस्तो गाह्रो अवस्थामा देख्दा म आफैलाई असहज लागिरह्यो।
उहाँलाई दाँतको टुक्राले दुखाए झै मलाई त्यहाँको माहोलले अलि बिजाई रहृयो। त्यसपछि उहाँ गफगाफ गर्न तिर लाग्नु भयो। 'जनताहरू पनि अब त अटेरी बनेर मास्कसम्म नलगाई हिड्ने, खोइ अब झन् कस्तो दिन आउने हो' भन्दै उहाँले देश प्रतिको चिन्तन व्यक्त गर्नु भयो।
सत्ता र पावरमा हुन् या नहुन्, देश र जनताको माया त उस्तै रहेछ उहाँको। देशको राजनीतिक अस्थिरता प्रति पनि उहाँ निराश देखिनुहुन्थ्यो। निराश नहुनु पनि कसरी? भाँडभैलो नै चलिरहेको छ देश हाँक्नेहरुमै।
कुरा अलिकति मोडियो। 'पहिले-पहिले दन्त डाक्टर भेट्न पनि कति गाह्रो थियो अहिले त जहाँ त्यही डेन्टल हस्पिटल भए' भन्दै बढ्दो दन्त सेवा बारे कुरा पनि राख्नु भयो। केहीछिनको कुराकानीपछि 'हेर्नुहोस् न डाक्टर साब, मलाई यो दाँतको टुक्राले साह्रै दुखाइरहेको छ। नदुखाई यसलाई निकालिदिन पर्यो' भभनेर गुप्ता सरलाई भन्नुभयो।
आफूलाई कतापट्टिको दाँतले दुखाएको ठम्याउन सकिनँ भन्दै हुनुहुन्थ्यो। बत्ति पनि गतिलो नबलेको र अध्यारै भएकाले टर्चले उहाँको दाँत हेरियो। बुढेसकालको दाँत न थियो, त्यति राम्रो अवस्थामा थिएन। उहाँ मधुमेहका रोगी हुनु भएको र शारीरिक अवस्था पनि अलि अप्ठ्यारो रहेकाले गुप्ता सरले अहिलेका लागि दुखाइ कम हुनेगरी दाँतको टुक्रा निकाल्ने कुरा बुझाउनु भयो।
सोही अनुरूप केही कति नदुखाई दाँतको टुक्रा निकालियो। दाँतको टुक्रा निस्किएपछि पनि आराम गर्दै अझै केहीबेर भलाकुसारी गर्नु भयो। उहाँको कुरा सुन्दै गर्दा कता-कता राजा वीरेन्द्रको सरल बोलीचालीको झल्को आयो। उहाँको गहकिला कुरा म मन्त्रमुग्धले सुनिरहेँ। कुरा सक्काएर एकैछिनपछि रात अलि धेरै परिसकेकाले हामीले पनि अनुमति लिएर निस्किने तर्खर गर्यौँ।
आफ्नो पेसाले गर्दा कुनै दिन राजपरिवारको सेवा गर्न पाइएला सोचेको पनि थिइनँ। दर्केको पानीमा जसोतसो निस्कियौँ। फर्किने बेला काम गर्ने दाइ अलि अघिसम्म पुर्याउन आएका थिए। 'पहिले-पहिले त सर टन्नै आर्मी, प्रहरी सुरक्षामा बस्थे डर नै लाग्ने गरी। राजतन्त्र हट्यो, अहिले कोही छैन' ती दाइ भन्दै थिए।
देशमा यत्तिका सुरक्षा दिनुपर्ने ठूलाबडा निस्किए कुरै छोडौं, राजपरिवारलाई कहा पुग्थ्यो र त्यो सुविधा र सुरक्षा। 'हाम्रो सरलाई पनि गाह्रो नै छ, उठाउन बसाउन मान्छे चाहिन्छ। तर जे जस्तो भएनी नम्र र मनकारी हुनुहुन्छ उहाँ,’ उनै काम गर्ने दाइले दरबार भित्रको कथा सुनाए। कुनै बेला देश र जनताले भगवान मान्ने राजपरिवारमा पनि यस्तो देख्दा सुन्दा अलि नमज्जा लाग्यो।
राजतन्त्र हटाएर देशमा आमूल परिवर्तन आउँछ भन्दै क्रान्तिका नाइके पल्टेकाहरु आज कति सफल/असफल भए, त्यसको नाप तौल हुँदैछ। अन्तिम राजा ज्ञानेन्द्रले पनि जनताकै भलो हुन्छ भने आफू हट्न तयार छु भन्दै राजगद्दी छाडेका हुन्। तर अहिले आफूले कर्तव्य निर्वाह गर्न नसक्दा पनि पद र कुर्सी च्यापेरै बस्ने हाम्रा नेताहरु देख्दा देश भूमरीमै पर्यो कि झै लाग्छ।
यो भनीरहँदा राजावादी भयो नभन्नु होला तर राजा हटाएर देश अहिले कता मोडिएको छ, यो गम्भीर प्रश्न नै हो। नेपाल सरकार र हामी नेपाली न त राजतन्त्रले देखाएको बाटो नै पछ्याउन सक्यौँ न त राजतन्त्र र राजपरिवारलाई दिनुपर्ने सम्मान र कृतज्ञता देखाउन नै सक्यौँ।
हुनत कतिले गणतन्त्र, लोकतन्त्र आइसक्यो। यस्ता कुरा घाममा सुकाउ पनि भनु होला तर राजा पृथ्वी नारायण शाहदेखि लिएर राजा वीरेन्द्र वा भनौं राजा ज्ञानेन्द्र र राजपरिवार सबैले देश र जनतालाई अथाह माया गरेका छन्। आज राजतन्त्र हटेको छ भन्दैमा हाम्रा राजा, राजपरिवार र विगतलाई बिर्सनु पक्कै राम्रो होइन।
सेवा र सुविधा पद र पावरमा बसेकालाई मात्र होइन, देशलाई देश बनाएर सधैं माया गर्ने राजपरिवार र अन्य थुप्रै योगदान दिएका सबैमा दिइनुपर्छ।