आज १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आआफ्नै संस्कृति र रीतिरिवाज छन्। यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ। जसलाई खुसी साट्ने माध्यम वा चौतारीका रूपमा लिइन्छ। यसकै एउटा अंगका रूपमा विश्वले स्वीकारेको छ, अन्तर्राष्ट्रिय युवा दिवस।
सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ।
विश्व समाजको विविधता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठनहरू र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवाबारे एकरूपता छ। विश्व बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाका निर्णय यसका नमुना हुन्।
संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो। यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय युवा दिवस राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ, अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनको सफलतासँग गासिएको छ। यद्यपी युवाका मुद्धाहरूलाई स्थापित गर्न, युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारुक गराउने अभियानका हिसावले यो दिवसलाई लिइन्छ।
नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ। नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ। शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो।
राष्ट्रिय युवा नीति, कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठन हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो। अझै सुखद कुरा अर्को के छ भने उप-निर्वाचन बाहेकको नतिजा हेर्दा स्थानीय तहमा ३९.६४ प्रतिशत (मेयर १७.७४ प्रतिशत, उपमेयर ३७.८८ प्रतिशत गापा अध्यक्ष २४.३४ प्रतिशत उपाध्यक्ष ५१.५२ प्रतिशत), प्रदेश तहमा २३.६३ र राष्ट्रिय सभा ६.७७ प्रतिशत, संघिय संसदमा १३.०९ प्रतिशत युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभा बाहेक अन्यमा उत्साहजनक छ।
तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागीता सुनिश्चित हुन सकिरहेको छैन। देशले कोभिड-१९ लगायत विपत्तिको सामना गरिरहँदा आम युवाहरु उद्धार, राहतमा परिचालित हुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै भई रहेको युवाको समस्या पहिचाहन र परिचालनको लागि गतिलो व्यवस्थापन अवलम्बन गर्न नसकेकै कारण युवा बिदेशिनु बाध्यता नै रहेको छ।
पछिल्लो जनगणना अनुसार देशमा १९.२ प्रतिशत युवाहरु पूर्णबेरोजगार छन्। ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवाहरु श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रबेश गर्छन्। रोजगारमा संलग्न युवाहरु हुन या बेरोजगार वा बैदेशिक रोजगारका लागि पलायन भएका युवाहरु नै किन नहोस्। अहिले युवाहरु जम्मा हुने, योजनाहरु निर्माण गर्ने, अनुभवहरु साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्यांकन गर्ने स्थान र वातावरणको टट्कारो खाचो छ।
वर्तमान नेतृत्व र भविष्य
भनिन्छ, तन्नेरीहरु चाडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् तर बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन्। सम्बृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लीरहने मात्रै पनि हैन, सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवामैत्री मान्न सकिन्न।
युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल हामी त्यो समयमा रहँदा भावी पुस्तालाई के सन्देश दियौँ भन्ने हो। कोभिड-१९ को कारण आज विश्व आर्थिक, सामाजिक, राजनैतिक रुपमा सोचेअनुसारको गतिमा छैन, त्यै पनि अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ।
हुन त जुनसुकै पार्टीको, विचारको भए पनि युवा भनेको सबैको साझा नै हो। उसले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ, सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ जसले गर्दा युवा शब्दमा व्यपार सुरु गर्छ।
एउटा सन्दर्भभमा युवा नेता गगन थापाले भनेका थिए- आफ्नो पार्टीको महाअधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ। यो भनेपछि सबैले हो, अगाडि बढ्नुस् भने, मैले उम्मेदवारी पनि दिएँ तर बिडम्बना, रत्नपार्कमा एक्लै मैले भोट माग्नु पर्यो, अगाडि बढ्नुस् भन्नेहरु सहयोग त के देखिन पनि चाहेनन्।
मतलब, नयाँ नेतृत्व युवाको चाहनामा रहेन। युवा सहभागीताको सन्दर्भमा समाज उदार छैन। युवा सोँचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको छैन। सत्तारुढ युवा शक्ति पनि अहिले संगठित युवा शक्तिमा सबैभन्दा शक्तिशाली छ। तर अहिले पार्टीमा चलिरहेको चरम द्वन्दमा दर्शक हैन हस्क्षेपकारी भूमिकामा आउन आवश्यकता एकातिर छ भने पुरानो नेतृत्वले बफादार सिपाहीको रुपमा प्रयोगमा गर्ने परम्परागत अभ्यासमा नै फस्ने खतरा अर्को तिर छ।
अन्य राजनैतिक युवा संगठनहरु अस्तित्व रक्षाको सवालमा नै संघर्षरत भएको जाहेर नै छ। यस परिवेशमा युवाका एजेण्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मुल राजनैतिक युवा शक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्ति गानमा रमाउने, उसैको आहालमा डुब्ने निश्चित प्रायः छ जो विगतको भन्दा कुनै नौलो र अन्तर्राष्ट्रिय अभ्यास होइन।
युवा सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह हो। तर अहिले ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन्। वर्षेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेको तथ्यांक छ। यो दर प्रतिदिन १ हजार ५ सयको हाराहारीमा हुन आउछ। जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो। जसमा राज्यको बागडोर सम्हालेका शक्तिको खम्बा नराम्रोसँग चुकेको छ।
युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नु पर्दछ। हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागीताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन, अर्को तिर नेतृत्वको उत्तराधिकारी छनौट क्षमता, भिजन, र योजनका आधारमा जबसम्म गरिदैन, तबसम्म युवाहरुले बैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ।
अन्यथा देखाउने मात्र युवाहरुको कारण यहाँ जो पनि युवा बनेका छन् भने अर्को तिर राज्यले परिवर्ततको गति लिन सकेको छैन। जुन परिणाम हामीले भोगीराखेका छौँ। युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिलेसम्मको अनुभूतिमा देखिन्छ।
दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिहरुले विकासको बागडोर सम्हालेका छन्। जनप्रतिनिधिमा युवाहरु सहभागीता बढेको छ। भौतिक उपस्थितीले मात्र सहभागीताको सिद्धान्तलाई समेट्न सक्दैन। युवाहरु जनप्रतिनिधि भए पश्चात युवामैत्री विकास भयो या भएन? त्यो बहसको विषय बनाईनु पर्छ अब।
अहिले सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागीताको खाँचो छ। आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाहरुको सहभागीता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिदैन। सरकारले के दियो भनेर बिलौना गर्ने भन्दा पनि हामीसँग रहेको क्षमताले उपलब्धीको उपयोग गर्न के प्रयत्न गरिए सबै युवाले सोच्नै पर्ने बेला आएको छ।
साथै शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पीछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाहरुको सवाल हो जुन हामीले भुल्नु हुँदैन।
गैर-सरकारीको गैर धन्दा बन्द गरौँ
युवाको नाममा कण्डम बाड्नेदेखि डलरमा सपना किन्नेसम्मका काम गैर-सरकारी संस्थाहरुले गरीराखेका छन्। जसलाई सहायताका नाममा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरु (आइएनजिओ) ले एक प्रकारको व्यापारिक धन्दामा नै स्थापित गरीदिएका छन्। गैर सरकारी क्षेत्रमा काम गर्नेहरुले बुझ्नु पर्ने एउटा कुरा, संस्था राज्यका सहयोगी हुन् प्रतिष्पर्धी हैनन्।
राज्यको ऐन-नियम कानुनमा टेकेर बैध काम गर्न छुट मात्रै दिइएको हो। भोलि राज्यले चाह्यो भने संस्थाको भूमिका नरहन पनि सक्छ। नेपालमा हिजो अशिक्षा र संक्रमण कालको राजनैतिक क्षेत्रमा लालदलालदेखि पुँजीपतिसम्म र सामाजिक क्षेत्रमा भजन मण्डली संस्थादेखि आइएनजिओ अझ गुप्चर प्रकारका संस्थाहरुले चरम बिन्दुमा पुगेर फाइदा उठाए।
परिणम स्वरुप तिनै हिजोका समाजसेवी, अधिकारकर्मी नामका बज्र स्वाठहरु विभिन्न निकायमा पद किनेर विराजमान भएका छन्। बिडम्बना, राज्य चलाउने मान्छे देश सुधार्नेभन्दा पनि पद जोगाउने लडाईमा छन्, उभो लाग्ला कि देश भन्ने आशा निराशामा जादैछ, व्याप्त विकृति भित्र फोहोर मौलाई रहेछ।
सबै संस्थालाई यो घानमा हाल्न त सकिदैन तर अधिकांशको नियति देखियो, यसैले अब गैर-सरकारी क्षेत्र पनि अछुतो रहेन, आज पनि देशभर करिब ७५ हजार गैर-सरकारी संस्था दर्ता छन्, दुई सय पचासभन्दा बढी आइएनजिओहरु छन्। झण्डै तीन दर्जन कुटनीतिक सुविधामा रहेका संस्थाहरु छन्। वर्षेनी अर्बौँ रकम अपारदर्शी खर्चिएको देखिदा पनि गतिलो बोली कसैको फुट्दैन।
गैरसरकारी क्षेत्रको नियमन गर्ने निकाय समाज कल्याण परिषद् लैनचौरबाट लखेटिएर उपराष्ट्रपतिको निवास बनेको छ। परिषदका जिम्मेवार मान्छेहरु आइएनजिओसँग खुल्लायाम बार्गेनिङमा छन्। यो नारकिए स्थितिमा संयुक्त राष्ट्र संघलाई देखाउदै विभिन्न दिवसहरु मनाउनु सामाजिक क्षेत्रमा काम गर्नेको बाध्यता जस्तै छ।
उध्येश्य बाहिर गएर पहुचको भरमा सत्ता, शक्ति र सम्पतिको मातले जे पनि गर्न सक्ने हैसियत बनाएका सामाजिक संस्था र संस्थाको आडमा उदायका सुमार्गी टाइपका ठेकेदारे प्रवृतिमाथि मेरो असहमती हो। म आफै पनि यस क्षेत्र, त्यसमा पनि युवामा काम गर्दाको अनुभूतिबाट यो धारणा निर्माण भयो। अब यो क्षेत्र सुधार्ने हो भने यस भित्रका विकृति बाहिर ल्याउनै पर्छ, राज्यलाई यो क्षेत्र आवश्यक छ कि छैन भन्ने नयाँ बहस पनि हो। त्यसैले युवा दिवसका सन्दर्भभमा सामाजिक क्षेत्रका युवाको अवस्था यस्तो देखिन्छ।
२०६४ साल अगाडि नेपालमा शिक्षा मन्त्रालयमा युवा क्षेत्र शाखा सीमित थियो। सामाजिक र राजनैतिक दबाबबाट युवा तथा खेलकुद मन्त्रालय जन्म्यो। ६० बर्षका मान्छे मन्त्री बनाएर भए पनि एक कदम राज्य युवाका पक्षमा आयो। सामाजिक क्षेत्रबाट युवा आयोग वा युवा परिषद्को माग जोड-तोडले उठ्यो।
त्यसबेला भलै युवा गैर-सरकारी संस्था महासंघ त्यसको अग्रभागमा खट्यो। सरकारै पिच्छे नयाँ-नयाँ कुरा आउन थाल्यो तर ढिलै भए पनि माधव ढुंगेलको नेतृत्वमा २०७२ सालमा युवा परिषद नै गठन भयो। पहुँचवाल युवाको त्यहा पनि समेटिन रमिता नै देखियो यद्यपी युवा अधिकारको क्षेत्रमा परिषद् ऐतिहासिक कदम थियो भने नेतृत्व पनि पहिलो कार्यकाल सफल नै रह्यो।
केही गैर-सरकारी युवा स्वार्थमा डुब्दा उपलब्धीको रक्षा, अधिकारको प्रयोगमा भन्दा पनि नौला-नौला संस्था जन्माउने र राज्यसँग प्रतिष्पर्धा गर्न थाले, युवा आन्दोलन अब परियोजनामा जागिर पाउनेको आन्दोलन हुन थाल्यो। जसले गर्दा व्यक्तिको टाउका गन्ने र व्यक्तिले लाभ लिने अवस्था बन्यो।
समग्र गैर-सरकारी क्षेत्रमा युवाको भूमिका खुम्चियो। अष्ट्रेलिया, क्यानडामा युवाको नेतृत्व हुँ भन्नेले गैर-व्यापार गर्न थाले। फलस्वरुप व्यक्ति त बने होलान् तर अरु युवा अभियान पुनः संघर्षमा, फोहर बढार्दै अगाडि बढ्नु पर्ने अवस्था छ।
एक पटक युवा शब्द खुब बिकाउ हुन्थ्यो, साथीहरु घर-घरै संस्था खडा गरेर युवाको हरिबिजोग छ भन्दै रेडक्रस स्टायलमा कमाउ धन्दामा लाग्ने र बेठेगानका महासंघ नै दर्जनौ पुर्याएपछि ठूलो मान्छे भइन्छ भन्ने भ्रम थियो। अहिले कसैको अत्तोपत्तो छैन। राष्ट्रिय निर्देन ऐन अन्तर्गत दर्ता एउटा युवा महासंघ बाहेक।
वर्ष दिनमा एकचोटि युवा दिवसमा युवा परिषदमा भेट हुनेहरु पनि गाएब अवस्थामा छन्। सायद अब उहाँहरुको परियोजनामुखी आन्दोलनको दिन समाप्त भए भन्नेमा दुईमत रहेन। अबको अस्तित्वका नेतृत्वले थप अधिकार प्राप्ती र उपलब्धीको रक्षा गर्दै समग्र युवा अभियान नयाँ उचाईमा पुर्याउन युवा आन्दोलनका धमिराहरुलाई सदाको लागि धपाउन र स्वार्थका बहुरुपी संगठन निर्माण गर्नुभन्दा पनि राज्यको सन्यन्त्र मार्फत युवाको पहुँच निर्माण र समाज रुपान्तरण गर्न अब ढिला भईसक्यो जुन एउटा मात्रै विकल्प हो।
जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहन्छ। युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागीता सुनिश्चित गर्नु आवश्यक छ।
युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब लागि परौँ, विगतका अनुभव र अनुभूतिले त्यही भन्छ।
निष्कर्षः युवा अभियान्ताको नाममा अराजकता पुरानो फर्मूला
यसर्थ युवा दिवस मनाई रहँदा र हिजो नमनाउँदा पनि फरक-फरक पात्रहरु अभियानका नाममा उम्लिएकै हुन्। केही इतिहासमा लेखिए त कोही सदाको लागि मेटिए। नेपालमा यो क्रम पछिल्लो चरणमा ज्ञानेन्द्र शाहीसम्म पुग्दैछ, जुन सुत्र अब पुरानो भैसकेको छ।
आजको विश्व व्यवस्थामा युवाको सवाल, अवस्था र आवश्यकताको विषयमा पनि प्रमुख प्राथमिकताका साथ नसोच्ने तर तारे होटलका बन्द कोठामा हुने बौद्धिक विलासिताले ठोस नतिजा निकाल्न सक्दैन। त्यसका लागि सोहीअनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ।
दिगो विकासको लक्ष्य निर्धारणसहित विश्व समाज अगाडि बढिरहेको छ। हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा दिगो विकास लक्ष्यसम्बन्धी पनि व्यापक बहस, छलफल र कार्यक्रम आवश्यक छ। दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धैरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन्। जसमा युवाको विकास र युवा समस्याको सम्बोधन बिना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ।
युवाको सहभागीता र सक्रियता बिना विकास कोरा कल्पना मात्रै हुन्छ। यसर्थ, युवाको परिचालन र साझेदारी नहुने वातावरणले दिगो विकासको लक्ष्य प्राप्ति पनि केबल चाहना मात्रै बन्नेछ। पछिल्लो चरणमा आएर कोभिड-१९ जस्तो महामारीमा प्रविधिसगै विश्वका अन्य मुलकले युवा परिचालन गरेर सफलता पाईरहेको बेला नेपाल कुहिरोको काग जस्तै रुमलिनु विडम्वना नै हो। आव बाट यो क्षेत्रमा पनि सरोकारवालाको ध्यान पुगाउन दबाब मिल्ने अपेक्षा पनि छ।
वर्ल्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन्। प्रतिवेदनको थप अंशअनुसार २०२० मा ५०० मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ। तर कोरना महाारीले यो संख्या अझै बढ्दो छ। युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ। यसमा चाखलाग्दो विषय रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् र श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन्। श्रमिकले श्रम बिक्रीको बजार खोजीमा संघर्ष गरिरहेको छ र रोजगारदाताले योग्य श्रमिकको खोजीमा संघर्ष गरिरहेको छ।
नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यावहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ। ख्याल राख्न जरुरी छ– युवा अवस्था आउँछ तर जीवनमा एक पटक मात्रै।
एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ। दुखद् कुरा समय उड्छ। अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाई हामी नै हो। अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्याउने युवाको हातमा छ। आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ।
(लेखक युवा गैर-सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन्।)