हामी हाम्रो जीवनका हरेक मोडमा अध्ययन तथा रोजगारीका सुअवसरहरूमा प्रतियोगितात्मक प्रकृयाबाट छानिन अन्तर्वार्ता दिइरहेका हुन्छौँ। यो विश्वव्यापी पद्धति हो। मैले पनि कर्मशील जीवन यात्राका क्रममा स्वदेश तथा विदेशमा केही अन्तर्वार्ताहरू दिएका स्मरणीय अनुभूतिहरू संगालेको छु। आजसम्म दिएका अन्तर्वाताहरूमा स्वर्गीय श्री गुणराज उपाध्याय रेग्मीलाई दिएको अन्तर्वार्ता अहिलेसम्म सम्झनयोग्य र बिर्सन नसकिने स्मृति बनेर मानसपटलमा सजिएको छ।
विराटनगरबाट आएर मेकानिकल ईन्जिनियरिङ तीन वर्षे डिप्लोमा सकेर जागिर खोज्ने सिलिसिलामा म जनक शिक्षा सामाग्री केन्द्र सानो ठिमी पुगेँ। निवेदन दर्ता गरेर हिँडिहाल्नुभन्दा यहाँका हाकिमलाई नै एक पटक भेट्नुपर्यो भनेर भित्र गएँ। महाप्रबन्धकको कार्य कक्ष अगाडि पुगेर जीएम साहेबलाई भेट्नुपर्यो भनेर उहाँका सचिवलाई भनेँ।
सचिव थिए बडो फूर्तिला। उनले मेरो निवेदन हेरेर घर त विराटनगर रहेछ, जीएम साबलाई चिन्नुभाछ? भनेर सोधे। छैन भन्यो भने मलाई यहीँबाट फर्काइदेलान् भन्ने लाग्यो र चिनेकोछु भनिदिएँ। वास्तवमा मैले जीएम साहेबलाई चिनेको थिइनँ। सचिव मेरो दर्खास्त लिएर भित्र गए र केही छिनपछि नै बाहिर निस्किएर भने 'तपाईंको जागिर भयो अब ईन्जिनियर साबलाई भेट्नू।’
ईन्जिनियर साहेब थिए शरदचन्द्र उपाध्याय। उनले चौथो तहमा अस्थायी नियुक्ति हुन्छ, म खबर गर्छु भने। मेरा मित्र कपिलदेव पोख्रेल त्यहीँ काम गर्थे। उनले पनि म बुझिराख्छु र खबर गर्छु भने। मेरा दिन बलिया, केही दिनमा काम भयो। म जागिर खान थालेँ। जीएम साहेबसँग भेट हुँदा अथवा बिहान-बेलुका प्रेस निरीक्षण गर्न आउँदा मलाई कसरी चिनेको भनेर सोध्नुहोला कि भन्ने भयले मन त्राहिमाम भइरहन्थ्यो।
केही समय काम गरेपछि पाँचौँ तहको जागिर खूल्यो। प्रशासन र प्राविधिक गरेर हामी थुप्रै अस्थायी कर्मचारी थियौँ। मेरो योग्यता अनुसार मैले पनि आवेदन दिएँ। अन्तर्वार्ताको मिति तय भयो। प्रेस मर्मत मेकानिकल ईन्जिनियरिङ सम्बन्धी आवश्यक पुस्तकहरू संकलन गरी कडा मिहिनेतका साथ अध्ययन गरी अन्तर्वार्ताको तयारी गरियो। विषयसँग सम्बन्धित अध्ययन र मिहिनेत राम्रै गरेको हुँदा आत्मविश्वास त थियो तर सँगसँगै मनमा कौतुहल र डरको मात्रा पनि उत्तिकै बढिरहेको थियो।
अन्तर्वार्ताको दिन आयो। उत्साह, उत्सुकता, आत्मविश्वास र डरको संयुक्त खिचडी मनभरि पाकिरहेको थियो तर पनि सकेसम्म मन दह्रो पारेर सम्बन्धित स्थानमा पुगेँ।
मेरो नाम बोलाएपछि भित्र गएँ। अन्तर्वाता लिनेहरू जीएम साहेब गुणराज उपाध्याय तथा मेरा हाकिम ईन्जिनियर शरदचन्द्र उपाध्याय, मैले अध्ययन गरेको थापाथली ईन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख ईन्जिनियर विष्णुहरि श्रेष्ठ लगायत प्रशासन प्रमुख र अन्य केही वरिष्ठहरू थिए जो सबैको नाम अहिले याद भएन।
मलाई बस्नुहोस् भनेपछि गुणराज सरले मेरो फारम हेर्दै सोध्नुभयोः
‘तिम्रो घर कहाँ हो?’
मैले विराटनगर उत्तर दिएँ।
‘विराटनगर कहाँनेर पर्यो?’
मैले उत्तर दिएँ 'तीन टोलिया त्रिभुवन टोल।'
‘तिमी कम्युनिष्ट हौ?’
मेरा लागि यो प्रश्न अप्रत्याशित र ओजिलो थियो। हो भनूँ भने जागिर नपाइने, होइन भनूँ भने कांग्रेस हो? भन्ने प्रश्न आउला। त्यो पनि होइन भन्यो भने अर्को के प्रश्न आउला! बडो अन्योलमा परेँ। उत्तर दिनलाई धेरैबेर सोचेर बस्ने कुरो पनि भएन। एक/दुई सेकेण्डभित्र मस्तिष्कले निर्णय गरेर उत्तर दिनुपर्ने थियो।
हामी क्याम्पसमा छदाँ विद्यार्थी संगठनहरू बन्द थिए। चुनाव हुँदैनथ्यो। पञ्चायतको समय थियो। साथीहरू केही त गर्नुपर्यो भन्दै रगत उमालिरहन्थे। तीमध्ये सकृय थिए ध्रुव बास्तोला (कांग्रेस नेता चक्र बास्तोलाका भतिजा), सुधाकर भट्टराई (कांग्रेस नेता योगप्रसाद उपाध्यायका भान्जा), शम्भु केसी (समकालीन राजनीतिमा प्रगाढ चासो राख्ने र पत्रपत्रिकाका धुरन्धर) तथा अरु थुप्रै बामपन्थी रूझान भएका तराइका साथीहरू।
एकताका हामीले मानबहादुर मुखियाद्वारा लिखित 'तर क्षितीज हाँस्दैन'. नाटक सहित साँस्कृतिक कार्यक्रम गर्ने निधो गरेका थियौँ। नाटकको मुख्य पात्र नायक विक्रमको भूमिकामा म थिएँ। नाटक मञ्चन गर्ने बेलामा म र ध्रुव बाँस्तोलालाई अञ्चलाधीश कार्यालयले यस्तो क्रान्तिकारी नाटक सभागृहमा गर्न पाइँदैन भनेर दुख दिएको थियो। तर नाटक मञ्चन गरेरै छाड्यौँ।
त्यो बेला अञ्चलाधीश कार्यालयलाई मनाएर हामीलाई सघाउने हाम्रा क्याम्पस प्रमुख विष्णुहरि श्रेष्ठ त्यहीँ अगाडि बसेर मतिर हेरेर मुसुमुसु हाँसिराखेका थिए।
मैले जीएम साबलाई सोझै उत्तर नदिएर किन सर? भनेर प्रतिप्रश्न गरेँ। उहाँले तीन टोलियामा त सबै कम्युनिष्ट बस्छन् भन्नुभयो। मैले उतर दिनुको साटो फेरि प्रतिप्रश्न गरेँ- ‘हजुरको घर कहाँ हो सर?’ उहाँले मेरो पनि विराटनगर नै हो भन्नुभयो।
मैले विराटनगर कहाँनेर होला भनी सोधेँ। उहाँले उत्तर दिनु भएन। मैले बरगाछीतिर हो कि भनेँ। बरगाछी त्यतिखेर कांग्रेस बाहुल्य भएको ठाउँका रूपमा चिनिन्थ्यो। उहाँले मेरो संकेत बुझ्नुभयो। तर मैले निर्भीक रूपमा थपिहालेँ- ‘जहाँ बसे पनि विचारको विकास पढेर र बुझेर हुने हो, कुन टोल र गाउँ ठाउँमा बस्ने भनेर हुँदैन।’
उहाँ हाँस्नुभयो र अरु केही प्रश्न छ राजेन्द्रलाई? भनेर अन्य अन्तर्वार्ताकारहरूलाई सोध्नुभयो। अन्तर्वार्ता लिनेहरू सबै शान्त भए। मेरो काम र त्यससँग सम्बन्धित प्राविधिक प्रश्नहरू मलाई केही सोधिएन। त्यतिकैमा मलाई ल जानोस् भनियो। म रातोपिरो अनुहार लाएर बहिर निस्किएँ।
मनभरि द्विविधा भयो। मैले त्यसरी ठाडो जवाफ गर्न हुँदैनथ्यो कि भन्ने लाग्यो। तर फेरि सोचेँ मैले जे भनेँ सत्य र यथार्थ भनेँ। त्यसमा किन चिन्ता लिने भनेर आफूले आफैँलाई सम्झाएँ। बाहिर आउनासाथ साथीहरूले उत्सुकताका साथ के भयो?, कस्तो भयो? भनेर सोध्न थाले। बढुवा त के, भएको काम पनि जाने भयो अब भन्दै म फटाफट हिँडेँ। सबै आश्चर्यमा परे। सायद यसले ठट्टा गर्दैछ भन्ने ठाने होलान्।
केही दिन पश्चात नतिजा प्रकाशित भयो र मेरो नाम पनि निस्कियो। विवेकको तराजुले जोखेर पोखिएका सत्य शब्दमा तागत हुँदोरहेछ भन्ने गर्वबोध भयो। अन्तर्वार्तामा थोरै शब्द र वाक्यले पनि कहिलेकाहीँ ठूलो प्रभाव पार्दोरहेछ भन्ने ज्ञान आफ्नै अन्तर्वार्ताबाट सिकेँ।
मेरो त्यो निर्भीक उत्तरले गुणराज सर धेरै प्रभावित हुनु भएछ। नाम निस्किएको त्यो दिन ममा आफैँप्रति पनि गर्वबोध भयो। त्यो बेला मैले नढाँटेर सही सत्य बोलेर र आफ्नो धारणा निडरताका साथ राखेर आफूलाई न्याय गरेछु भन्ने लाग्यो।
नाम निस्किने हामी सबै मिलेर एउटा पार्टीको आयोजना गर्यौँ। सबै हाकिमहरूलाई बोलाइयो। साथीहरू भन्थे 'उहाँ (गुणराज) कहाँ आउनुहन्छ र?' तर यसपालि उहाँ आउनुभयो। मैले गीतार बजाएर एउटा गीत गाएँ। पूर्व दार्जिलिङको गीत थियो। उहाँले गीत त राम्रो गायौ तर अलिक मिलेन नि भन्नूभयो। मैले अगाडिको मिले पनि पछाडिका शब्दहरू मैले आफै थपेको हो भनेँ। त्यहाँ उपस्थित सबै गललल हाँसेँ।
त्यसको केही समयपछि उहाँको सरुवा भयो र म पनि ईन्जिनियरिङ्ग पढ्न विदेशतिर लागेँ। करिब साढे छ वर्षपछि म नेपाल फर्किएँ। गुणराज सर नेपाल आयल निगमका महाप्रबन्धक हुनुहुन्थ्यो। म उहाँलाई भेट्न आयल निगम गएँ। नेपालमा त्यतिखेर समय मिलाएर जाने चलन थिएन। जतिखेर भ्यायो त्यतिखेर कार्यालयमा लुरुलुरु जाने हो।
उहाँ व्यस्त हुनुहुन्थ्यो। मसँग छोटो कुरा गर्ने बित्तिकै सँगै काम गर्ने होइन अब? लौ निवेदन हालेर जाउ भन्नुभयो। मैले हुन्छ भन्दै काम कहाँ गर्नुपर्ला भनेर सोधेँ। उहाँले अहिले अमलेखगञ्जमा जाने अनि पछि फेरि विस्तारै विचार गरौँला। अमलेखगञ्जमा हामी ठूलो परियोजनाको काम गर्दैछौँ भन्नुभयो।
मैले अमलेखगन्ज जाने र? म यतै काठमाडौँमा बस्छु भनेँ। उहाँले मतिर राम्ररी नियाल्दै, भन्नुभयो- 'होइन, तिमीले भनेको होइन जहाँ बसे पनि विचारको विकास त पढेर बुझेर हुने हो भनेर? अनि फेरि गीत मिलाए जसरी मिलाउनेको काठमाडौँ सरुवा भइहाल्छ नि भन्दै हाँस्नुभयो। म पनि हाँसेँ। उहाँको स्मृतिमा मैले भनेका ती पुराना कुराहरू जीवन्त रहिरहेका रहेछन्। म त आश्चर्यमा परेँ।
त्यो समयमा पूर्वमा तेल खोजी हुँदै थियो। त्यसैले म आयल निगमको तेल खरिद बिक्रीमा अल्झिनुभन्दा पूर्व उद्योग मन्त्री रवीन्द्रनाथ शर्माको तोक आदेशमा खानी विभागतिर लागेँ तर काम गर्दै जाने क्रममा खोजिने ठाउँहरूबाट तेल ननिस्कने देखेपछि त्यहाँ काम गरिरहेर केबल जागिरका लागि जागिर खाएर बस्न मनले मानेन।
त्यसैले उद्देश्य प्राप्ति नहुने उक्त कामप्रतिको अभिरुचि हट्यो र त्रिवि ईन्जिनियरिङ संस्थानमा प्राध्यापन गर्छु भन्दै हिँडेँ। प्राध्यापनका निम्ति त गएँ तर तत्पश्चात जिन्दगीको रफ्तारले धेरै कोल्टे फेरायो र चलिरह्यो पेशागत अनवरत कर्म यात्रा। अनेक उकाली ओरालीहरूसँग जुध्दै र संघर्ष गर्दै निरन्तर अघि बढियो ईन्जिनियरिङ र उद्योग व्यवस्थापनका बाटाहरूमा।
आज म बीसौँ वर्षदेखि उत्तर अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरूमा आफ्नो ज्ञान र विषयसँग सम्बन्धित काम गर्दै, परामर्श दिँदै हिँडिरहेको छु तर उत्पादनका साधनहरूको उपयोग कसरी गरिन्छ, कलकारखाना र उद्योगहरू कसरी सञ्चालन गरिन्छ, डाउन टाइम हुन नदिने र भयो भने. आफै उत्पादनको काम कसरी गर्नुपर्छ भन्ने कुराहरू गुणराज रेग्मी ज्यूको कुशल नेतृत्वको व्यवस्थापनमा देखेको र सिकेको हुँ।
आज भन्न मन लाग्छ र गर्व लाग्छ, नेपालमा धेरै पुराना उद्योगहरू धरासायी भए तर गुणराज रेग्मीको नेतृत्वमा स्थापना र व्यवस्थापन भएका कुनै संस्थान र उद्योग धरासायी भएनन्। उहाँले स्थापित गर्नुभएको कार्य संस्कृति (वोर्क कल्चर) जुन सम्झेर आज पनि उहाँप्रति सम्मानबोधको भाव जागृत भएर आउँछ।
धेरै पहिले-पहिले काम गरेका सहयोगीहरूको नाम थर, तिनका अभिव्यक्ति र कृयाकलापहरू मात्र नभई तिनले अन्तर्वार्ताहरूमा दिएका उत्तरहरू समेत दुरुस्त सम्झिने गुणराज उपाध्यायज्यूको अद्भूत क्षमतालाई आज पनि आदरपूर्वक सम्झन र अभ्यास गर्न मन लाग्छ। उहाँ एउटा म्यानेजर वा व्यवस्थापकमा हुनुपर्ने सम्पूर्ण गुणले भरिएका कुशल, सक्षम, सहयोगी, दूरदर्शी, व्यक्तित्व हुनुहुन्थ्यो।
म आज पनि अन्तर्वार्ता लिने र दिने क्रममा निर्भीक प्रश्नोत्तरको अपेक्षा गर्दछु जुन कुरा मैले उहाँबाटै सिकेको हुँ। अन्तर्वार्ता भनेको आफ्नो विषयमा कति जानेको छ भनेर जाँच्नेभन्दा पनि उम्मेद्वारमा आत्म विश्वास कति छ भनेर जोख्ने विशेष परीक्षा हो।
अमेरिका लगायत विकसित ठाउँका व्यावसायिक रोजगार केन्द्री अन्तर्वार्ताहरूमा प्राथमिकताका साथ अपनाइने यो पद्धतिको ज्ञान मैले त्यो बेलामा नै श्री गुणराज उपाध्याय रेग्मीसँग सिक्ने अवसर पाएको थिएँ। यस अर्थमा म उहाँलाई अन्तर्वार्ता र उद्योग व्यवस्थापनका आदर्श गुरुका रूपमा सधैँ सम्झने गर्छु।
(मेकानिकल इन्डस्ट्रियल ईन्जिनियर खतिवडा हाल अमेरिकाका मोटर र मोटर पार्टस् उत्पादन गर्ने उद्योगहरूसँग आबद्ध छन्।)