तपाईले आफू बालिका हुँदा कोहीबाट आफ्नो शरीरमा अस्वभाविक स्पर्ष गरेको वा चिमोटेको अनुभव गर्नु भएको थियो? के त्यो मानिसले तपाईलाई जबरजस्ती तपाईका गोप्य अंगहरुमा छुएको वा उस्का अंगमा तपाईलाई छुन लगाएको थियो?
पोर्न फिल्म तथा फोटोहरु देखाएको थियो? तपाईको स्वीकृति बिना नै जबरजस्ती चुम्बन गरेको वा गर्न लगाएको थियो? अंकमाल गर्ने प्रयास गरेको थियो? वा यस्तो परिस्थितिको सामना गरेको बारे तपाईका छोरीहरुले तपाईलाई भनेका छन्? यदि छन्, भने तपाई र तपाईका छोरीहरुले बाल यौन दुराचारको सामना गर्नु भएको छ।
अधिकांश महिलाहरुले आफ्नो बाल्यकाल र किशोरी अवस्थामा कुनै न कुनै प्रकारका यौन दुर्व्यवहारको सामना गर्नु परेको हुन्छ। धैरै त यौन हिंसाका शिकार नै भएका छन्। पीडित छोरीहरुलाई पीडा सहन र पीडकको मनोबल बढाउन लागि परिरहेका हुन्छन्, समाज र स्वयम् अभिभावकहरु।
आफ्नै बाबु, काका, फुफा, दाजु, भिनाजु, भाइ, साथी, प्रेमि र नातामा कोही नपर्ने पुरुषहरुबाट हुने यौन हिंसाका कर्तुतहरुलाई डर, धम्की, त्रास र लालसा देखाई गुमसुम बनाइदै आईरहेको छ। यो उमेरमा पीडामा परेकाहरु मध्ये केहिले मात्र यसको प्रतिकार गरेका थिए या छन्। तर अधिकांशले मलाई के गरिरहेका छन् र किन? भन्ने कुरा नै थाहा पाईरहेका हुँदैनन्।
शारीरिक मानसिक रुपमा अपरिपक्क यो अवस्थामा प्रतिकार गर्ने न साहस उनीहरुमा विकसित भैसकेको हुन्छ, न ज्ञान नै हुन्छ। अक्सर साहस बटुलेर जब आफन्तलाई बताउँछन्, त्यतिबेला साथ पाउनुको सट्टा कर, बल र लोकलाजका डरले इज्जतको हवाला दिएर मौन बस्न राजी वा बाध्य बनाइन्छ।
एन्टेना फाउन्डेसनले सुर्खेत, कैलाली र उदयपुरको बालिका यौन हिंसाको घटनाका कथाहरु युट्यूबमा सार्वजनिक गरेका छ। ती घटनाहरु आफन्तबाट घटित घटना हुन्। दोषीहरु साइनोले पीडितका आफ्नै बाउ, मितबाउ, मामा पर्नेहरु छन्। जसमध्ये दुईजना बालिकाले आफ्नै बाबु र मितबुबाको बच्चा नै जन्माएका छन्।
केहि वर्ष अगाडि एक पत्रकारले आफ्नो छोरीलाई बारम्बार यौन शोषण गरेको कुरा सार्वजनीक भएको थियो। यो कुरा पीडित बालिकाको आमाले थाहा पाएसँगै सो व्यक्तिलाई कानुनी दायरामा ल्याउने कदम चालेपछि यो कुरा सार्वजनीक भएको थियो। हालै सार्वजनीक भएको इटहरीको घटनामा एक पीडितलाई उनी कक्षा २ मा पढ्दादेखि नै आफ्नै काकाले यौन हिंसा गरेको बताउँछिन्।
सो हिंसा ४ वर्ष अघिसम्म पनि निरन्तर भोगिरहेको कुरालाई उनले आफ्नै इन्स्टाग्राम मार्फत पोष्ट गरेकी थिइन्। बाल्यकालदेखि भोगेको यस्तो घटनाका कारण आफूलाई अझै पनि मानसिक तनाब भईरहेको बताएकी छिन्। हिंसाको आरोपीत व्यक्ति शिक्षण पेसामा आबद्ध रहेको खुलासा पनि गरेकी छिन्।
यौन दुर्व्यवहारजन्य घटनाका कारण पीडितहरु मानसिक तनाब (डिप्रेसन) मा पर्दछन्। सधै डराईरहने र पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था आउछ। केहिले आत्महत्याका प्रयासहरु गर्ने गरेका घटनाहरु पनि बाहिरिएको छ। कलिलै उमेरमा भएका यी घटना र घटनाका परिणामहरुले उनीहरुमा शारीरिक अस्वस्थता हुने गरेको पाइएको छ।
अर्को तर्फ यस्ता घटनाका जिम्मेवारहरु समाजमा खुलेआम निर्भिर घुमिरहेका हुन्छन्। तर पीडितहरुलाई मौखिक रुपमा समर्थन र सद्भाव देखाएतापनि व्यवहारीक रुपमा सामाजिक बहिष्कार गरिन्छ। सामान्य मानव सरह जीवन निर्वाह गर्न निकै संघर्ष गर्नु परेको हुन्छ। धेरैले त पारिवारीक साथ पनि पाउदैनन्।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अंग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ।
निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ। तर यस्ता घटनाका कसुरदारहरु पद, पैसा र पावरका कारण कानुनी सजायबाट उम्कन सफल बन्दछन्। केही घटनाहरु राजनितिक शक्तिको आड्मा ढाकछोप गरिएका निर्मला पन्तको सामुहिक बलात्कारको मुद्धा जस्तै बनाइन्छन्। न्यायका लागि प्रतिकारमा उभिएका अभिभावहरुलाई पागल बनाइन्छ।
माथिका प्रतिनिधि घटनाहरु सबै आफन्त वा चिनेजाने मानिसहरुबाटै भएका छन्। यी सबै घटनाहरुलाई नियाल्दा यौन हिंसा कुनै क्षेत्र, वर्ग, समुदाय, धर्म वा जातिका मात्र समस्या हैनन्। विश्वभरी नै सामाजिक, राजनैतिक, धार्मीक रुपमा मौलाईरहेको समस्या हो। पित्तृसत्तात्मक संरचना मुख्य जड हो, जस्ले महिलालाई मानवको रुपमा गणना गर्दैन।
महिलालाई मानवभन्दा साधनको रुपमा मात्र व्यवहार गर्ने पितृसत्तात्मक सोचले हामी सबैलाई यति अभ्यस्त बानाईसकेको छ कि हामी महिला पुरुष दुवै यसको परिचालक बनेका छौँ।
यौन हिंसाको महशुसीकरण
म जब ५/६ कक्षामा पढ्दै अवस्थामा थिएँ, काका भन्ने गरेको एकजाना छिमेकी अक्सर हाम्रो घरमा आउने गर्दथे। छिमेकमा निकै मिलनसार स्वभावका उनी पेशाले नेपाल आर्मीमा कार्यरत थिए। तर तिनको यौनको आशक्ति कहिलेकाही हामी छोरीचेलीलाई जबरजस्ती गालामा चिमोटेर, ढाड अस्वभाविक रुपमा सुम्सुमाउने गरेर पोखिन्थ्यो। घटनालाई मैले र मेरा साथीहरुले कहिले अभिभावकलाई भन्ने आँट गरिनौँ।
कक्षा ५ मा पढ्दै गर्दाको घटना हो। मेरी एकजाना समकक्षी साथीले आफूलाई सरले विभिन्न बाहानामा ढाँड सुम्सुमाउने, गाला चिमोट्ने, चाकमा पिट्ने गरेको बताउँथिन्। उनी सक्दो ती सरदेखि भाग्ने गर्दथिन्। सरको व्यवहार सुनेर हामी पनि सक्दो आफूलाई बचाउने गर्दथ्यौँ। तर हामी कसैले त्यो सरको कम्प्लेन गरेनौँ।
न ती साथीले नै गरिन्। कम्प्लेन गर्दा झन् आफूलाई दुर्व्यवहार गर्छ भन्ने डर हामीमा थियो। यस्ता घटनाहरु छोरीहरुलाई यति धेरै हुन्छन् कि सार्वजनिक सवारी साधन चढ्दा होस्, अध्यारोमा हिड्नु पर्दा होस् वा एक्लै कतै जानु पर्दा वा कुनै दिन एक्लै घरमै बस्दा किन नहोस्, सहज र बिना त्रास बसेको घटना कमै हुन्थे। अझै पनि समय उस्तै छ, सबै छोरीहरुका लागि।
यी घटनाहरु आफूलाई परिरहँदा पनि यो यौन हिंसाको स्वरुप हो भन्ने हामी कसैलाई लागेकै थिएन। हामीले यौन हिंसाको बारेमा सुनेकै थिएनौँ। न अभिभावकले बताउनु भयो न विद्यालयमै यसबारे कुनै जानकारी गराइएको थियो। संचारको साधनले पनि यस्ता विषयका कार्यक्रम संचालन गरेको थाहा भएन।
अहिले बुझ्दा आफूले पनि हिंसामा परेको रैछु, भन्ने कुराले क्रोध बढाउने गर्दछ। त्यतिबेला कसैले आफ्ना छोरीहरुलाई दुर्व्यवहार गरेको भनेर कोही पीडक विरुद्ध प्रतिकारका लागि उभिएका घटना सुन्नमा आएन न देख्नै पाइयो। बरु मदिरा सेवनका कारण भएको झगडा सुनियो देखियो। चोरीका घटना र बैठक सुनियो।
जग्गाको किचलो सुनियो तर बालबालिका हिंसा विरुद्ध कुनै बैठक बसेको सुनिएन। यो मानेमा लाग्थ्यो शान्ति छ गाँउघरमा। बालिका र किशोरी हिंसाको कुनै गुन्जायस नै छैन। तर यस्ता घटनाहरुलाई लागमर्दो विषयका रुपमा समाजमा स्थापित गरीएका कारण बाहिरिदैनथे। अर्को तर्फ यो विषय सामाजिक प्रतिष्ठासँग जोडिएको हुँदा कतिपय घटनाहरु स्वयम् पीडितका परिवारबाटै सार्वजनीक गराईदैनन्। वर्गिय रुपमा हेर्दा धनी वर्गमा बढी प्रतिष्ठाका नाममा हिंसा पीडितहरुलाई चुप रहन बाध्य बनाइन्छ।
उदयपुरमा भएको छोरीलाई बाताल्कार गर्ने बाबुले '…कसैलाई भनिस् भने काट्छु’ भन्दै देखाएको डरले काम गर्यो। डरका कारण कसैलाई भनिनन् पीडित छोरीले। त्यसैकारण पटक-पटक बालात्कार गर्न हिम्मत मिल्यो, पीडकलाई। हाल पीडक कारागारमा सजाय भोगिरहेका छन्। तर आफ्नै बाबुको बच्चा जन्माएर जिउनु पर्दाको पीडा, सामाजिक दुर्व्यवहारलाई सहेर जिउनु पीडितलाई निकै कठिन भएको छ।
पीडितले जबसम्म प्रतिकार गर्दैनन्, तबसम्म अपराध भईरहेको जानकारी कसैलाई हुँदैन। पीडितको मौनता पीडकको लागि अपराध गर्ने साहस बन्दछ। जस्लाई आफू हिंसामा परेको छु, भन्ने कुरा नै थाहा हुँदैन भने पीडित भएर पनि प्रतिकारको कुनै सम्भावना नै हुँदैन। यसर्थ हिंसामा परेको कुरालाई हिंसा हो भन्ने महशुसीकरणका लागि ज्ञान दिन आवश्यक पर्दछ। आफ्नो मन्जुरी बिना गरिएका यौन क्रियाहरु यौन हिंसा हो, भन्ने व्यवहारीक शिक्षा प्रदान गर्न जरुरी देखिन्छ।
अभिभावकको दायित्व
युगौदेखि छोरीहरुले परिवारको इज्जत धानीदिई रहनु परेको छ। घरको काममा सिल्पी बन्नेर, नम्र बोलेर, लजालु र मायालु व्यवहार गरेर, घरपरिवारका सबैलाई रिजायर, समाजले निर्धारण गरेका बस्त्र उनीहरुकै मापदण्ड अनुरुप पहिरीएर, मानवीय स्वतन्त्रताको उपभोग र व्यक्तिगत अधिकारको माग नगरी खुरु खुरु भनिएको मानेर गरेर अनि सबै प्रकारका हिंसालाई मौन सहेर।
र परिवारजनहरु छोरीहरुले बेहोरी रहेका शरीरिक र मानसिक चोटलाई इज्जतको अडम्बरी खोल ओडाएर हिंसालाई प्रसय दिईरहेका छन्। यो श्रृङ्खला सदियौबाट चलिआईरहेको छ। नेपालको हर घरमा संस्कारको नाममा छोरीलाई बाल्यकालबाटै छोराभन्दा फरक तरिकाले पालनपोषण गर्दै हुर्काईन्छ।
छोरीहरुलाई विशेष लादिएको पारम्परीक संस्कारहरुमा कुनै सवाल नगरी चुपचाप अनुसरण गर्न बाध्य बनाइन्छ। छोरीले खानेदेखि सुत्ने सम्मका गर्न नहुने कामका सूचि निकै लामा हुन्छन्, गर्ने कुरा सीमित। तर छोरालाई सानैबाट स्वतन्त्रता प्रदान हुन्छ।
छोराहरुलाई सानैबाट शक्तिमान पुरुष बन्न तयार गराइन्छ। लड्न सिकाइन्छ। त्यही निर छोरीलाई सहन सिकाइन्छ। अब अभिभावकले छोरीलाई पनि हिंसा नसहने र छोरालाई पनि हिंसा नगर्न सिकाउन अत्यन्त आवश्यक भएको छ।
सुर्खेतमा भएको बालिका बलात्कारको घटनालाई कानुनी दायरमा ल्याउन अभिभावक तयार रहदै गर्दा पीडकले 'मैले २० वटा बिहे गरेपनि मेरो इज्जत जादैँन, तिम्रो छोरी कै जाने हो’ भनेर धम्काएका रहेछन्। यो धम्काईमा सामजले पुरुषलाई मनपरी गर्ने लाइसेन्स दिएको कुरालाई इशारा गर्छ।
महिलाको चरित्रमाथि हरदम औला उठाउन तल्लिन समाजले पुरुषको जस्तोसुकै चरित्रलाई मान्यता प्रदान गरेको छ। यस्ता विचारधाराले यौन हिंसाका घटना बाहिर निकाल्न गाह्रो बनाएको छ। यस्तो विभेदपूर्ण संस्कारलाई परिमार्जन गर्न प्रत्येक अभिभावकहरुको प्रयास जुट्न जरुरी छ।
करिब ५ वर्ष अघिको घटना हो। गर्मी याम थियो। धरानमा राति १ वर्षको बच्चालाई सुताई राखेर अभिभावक हावा खान निस्किए। कोही नभएको अवस्थामा घरमा छिरेर करिब ५५ वर्षका छिमेकी पुरुषले ती बच्चालाई करणी गरेको घटना बाहिरीयो। यो घटनामा करणी गर्ने त निसन्देह अपराधी हो नै तर १ वर्षको बालिकालाई एक्लै घरमा छोड्ने लापरबाही गर्ने अभिभावक दोषी छैन र?
इटहरीमा भएको आफ्नै काकाबाट हिंसा (माथि चर्चा गरिएको घटना) भएको खुलासा गर्ने पीडित बहिनीले आफूलाई घटेको घटनाबारे पहिलो चोटी आमालाई बताउँदा आरोपितले लामो समयसम्म पुनः हिंसा गर्ने आँट नगरेको तर यसबारे प्रतिकारमा कोहीले कुरा नगरेपछि पुनः घटना दोहोरीएको बुझिन्छ।
यदि घटनाका सम्बन्धमा पहिलो पटक आमा सुनाउँदा नै उनकी आमा प्रतिकारमा उभिदिएको भए के तिनले यति लामो समयसम्म यौन हिंसा सहनु पर्थ्यो? यस्ता घटनाहरुको सामना गरेका बालिकाहरु आफूलाई नै नराम्रो ठान्लान् भन्ने डरले पीडितहरु यसबारे खुल्दैनन्।
अभिभावकले विश्वास गर्दैनन् र साथ दिदैँनन् भनेर धेरैले आफूलाई भएको दुर्व्यवहार र हिंसा भन्ने गरेका छैनन्। चुपचाप बसिदिँदा निरन्तरर उनीहरुले दुर्व्यवहार सहनु पर्ने सम्भावना बढ्छ। आजकाल बालकहरुलाई पनि यौन हिंसा गर्न थालेका घटनाहरु आउन थालेका छन्। गैरद्धयसांखिक बालबालिकाहरुको विषयमा त अझै चर्चा नै भएको पाइदैन।
यस कुरामा अभिभावकले सजगता अपनाउन जरुरी देखिएको छ। सन्तानलाई मानसिक रुपमा बलियो बनाउन र परिस्थिगत घटनाहरुसँग सामना गर्न बलियो साथ र प्रेरणाको रुपमा भूमिका खेल्नपर्ने भएको छ।
हिंसाको विरुद्धमा बोल्न, हिंसा भएको समयमै बोल्नु अत्यन्त सही समय हो। कानुनी प्रकृयामा अभियोग पुष्टि गर्न आवश्यक प्रमाण जुटाउने सन्दर्भमा पनि उपयुक्त हुन्छ। तर कतिपय अवस्थामा महिला र पुरुषको सामाजिकीकरण र सामाजिक संरचनाका कारण यस्ता घटनाहरु तुरुन्तै बाहिरिदैनन्।
अझ बालिकाहरुको सन्दर्भमा घटना पत्ता लगाउनै पनि कठिन बन्ने गर्दछ। तर तत्काल बाहिरिन नसकेका घटनाहरु पीडितलाई महशुसीकरण भएपश्चात् बाहिरिनु पनि दुर्व्यवहर रहित समाजका निर्माण गर्नको लागि व्यक्तिगत पहल हुन्छ। ढिलै भएपनि सामाजिक संजाल मार्फत ती बहिनीले गरेको साहसले समाजमा लुकेर मौलाईरहेको अपराधलाई उदाङ्गो बनाएको छ।
यस घटनाले अभिभावकहरुलाई जिम्मेवार बन्न सन्देश दिएको भने पक्कै छ। यो घटनाले कानुनी रुपमा न्यायिक निरुपण पाउला/नपाउला तर सामाजका यस्ता अनुहारलाई उदाङ्गो पार्दा अपराधीहरु झस्केको हुनुपर्छ। तर यतिमै चित्त बुझाएर बस्ने अवस्था भने पक्कै होइन।