कोभिड–१९ को महाव्याधि फैलिएसँगै करिब ४ लाख जनसंख्या र ७० हजार घरधुरी भएको विराटनगर संकटमा फसेको छ। प्रदेश–१ को राजधानी विराटनगर कोभिड–१९ को हटस्पट भएको छ। गत श्रावण ७ गतेबाट संघीय सरकारले लकडाउन खोलेसँगै विराटनगर महानगरपालिका सहित आसपासको क्षेत्रमा संक्रमितको संख्या ह्वात्तै बढेको छ।
सुरुका दिनमा विराटनगरमा देखिएका संक्रमितहरु भारत र तेस्रो मुलुकबाट फर्किएर क्वारान्टाइनमा बसेकाहरु थिए। ३० जना मात्र संक्रमित थिए। तर आजको दिनसम्म विराटनगरमा संक्रमितको संख्या ५६६ र मृतकको संख्या ७ पुगेको छ। मृतक ६ पुरुष र १ महिला हुन। संक्रमित हुनेहरु सर्वसाधारणदेखि डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारी, प्राविधिक तथा प्रशासनका कर्मचारी आदि रहेका छन्।
हिजोआज दैनिक सरदर ६० जना संक्रमित बढदै छ। करिब एक सय संक्रमित उपचार पश्चात घर फर्किएका छन्। अधिकांश संक्रमितको ट्राभल हिस्ट्री देखिदैन। अहिले संक्रमण समुदायमा फैलिएको छ। संक्रमण माहानगरको १९ वटै वडामा फैलिएको छ। कोभिड–१९ नियन्त्रणका लागि भन्दै विराटनगर महानगरले साउन १६ गतेदेखि दुई साताका लागि लगाएको लकडाउन भदौ ५ गतेसम्म बढाएको छ।
विराटनगरमा संक्रमण फैलीएसँगै प्रदेश–१ सरकार र विराटनगर महानगरपालिका अलमलमा देखिन्छन्। प्रदेश सरकार र महानगरपालिकाले संक्रमण नियन्त्रणको स्पष्ट खाका ल्याउन सकेका छैनन्। अत्याधिक संक्रमणका कारणले कोभिड अस्पतालहरु भरिएका छन्।
संक्रमितहरु घरमै आइसोलेसन बनाएर बस्न बाध्य भएका छन्। संक्रमित करिब ९० प्रतिशत होम आइसोलेसन छन्। तर सीमित कोठा हुने घर र डेरामा बस्नेहरुमा संक्रमण फैलिएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ। प्रदेश सरकार र स्थानीय सरकार व्यवस्थापन गर्न चुकेका छन्। समयमै प्रदेश सरकार र विराटनगर महानगरले संक्रमितहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था नगर्ने हो भने होम आइसोलेसनले झनै संक्रमण विस्तार गर्न सक्छ।
प्रदेश–१ सरकारले कोभिड–१९ संक्रमितको उपचार गर्न विराटनगरमा कोभिड–१९ अस्पताल गत चैतमा निर्माण गरेको थियो। गत वैशाख ५ गतेबाट संचालनमा छ। तर अस्पतालको लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामाग्रीको अभावमा अस्पतालले संक्रमितहरुलाई सही ढंगले उपचार दिन सकेको छैन।
अस्पतालमा ६ वटा भेन्टिलेटर भएपनि कुनै चालु छैन। संचालन गर्न आवश्यक पर्ने न्यूनतम औषधी र प्राविधिकको कमी रहेको छ। अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर भएपनि त्यसलाई संचालन गर्ने पाइपलाइन जोडिएको छैन। आइसीयू बेडको कमि देखिन्छ। प्रदेश सरकारले कमिकमजोरीलाई तत्काल सच्याएर संक्रमित नागरीकको जीवन रक्षा गर्नुपर्छ।
भर्खरै प्रदेश सरकारले प्रदेशभरिका कोभिड–१९ संक्रमितको उपचारको लागि १ करोड ३० लाख छुट्याएर सकारात्मक काम गरेको छ। रकम सही ढंगले खर्च गर्नु पर्छ। भ्रष्टचार हुन सक्छ। भ्रष्टचार नियन्त्रण गर्नु पर्छ। यसलाई आइसियू बेड निर्माणमा खर्च गर्नुपर्छ। भेन्टिलेटर थप खरिद गर्नुपर्छ। विज्ञ जनशक्ति थप्नु पर्छ। क्वारेन्टाइन र आइसोलेसन थप निर्माण गर्नुपर्छ।
विराटनगर महानगरले पनि आफूलाई सच्याउनु पर्छ। केही दिन अगाडि महानगरका प्रमुख भीम पराजुली प्रदेश सरकार र संघीय सरकारले महानगरलाई स्वाब परीक्षणमा विभेद गरेको भन्दै बिलौना गर्दै थिए। यो समय बिलौना गर्ने र एकअर्कालाई आक्षेप लगाउने समय होइन।
विराटनगर महानगर आफै स्थानीय सरकार हो। माहनगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो क्षमता र योग्यता देखाउनु पर्छ। महानगरले रुवाबासी गर्नुभन्दा संक्रमितहरुको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन र किट किन्नु पर्छ। भेन्टिलेटर खरिद गर्नुपर्छ। आइसीयू बेड निर्माण गर्नु पर्छ। क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्नुपर्छ। स्वाब परीक्षण विज्ञ नियुक्ति गर्नुपर्छ। संक्रमित नागरिकको सेवामा महानगर समर्पित हुनुपर्छ।
यस्तो संकटको बेला सरकारको महत्वपूर्ण भूमिका हुनुपर्छ। संघीयताको भावना र मर्म अनुरुप सरकारहरु क्रियाशील हुनुपर्छ। नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउनु पर्छ। जनतालाई सरकार चाहिएको नै यस्तै संकटको बेला हो। सामान्य अवस्थामा त जनतालाई सरकार के काम? जनताले कर तिरेका छैनन् र?
सरकार जनताको मालिक हैन, सेवक हुनु पर्छ। तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, नागरिक समाज सबै एक भएर महामारीलाई पराजित गर्नुपर्छ। संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई सही ढंगले यो महामारी विरुद्ध परिचालन गर्न सक्नु पर्छ। स्थानीय सरकारले आफूलाई खरो रुपमा प्रस्तुत गर्नुपर्छ। जनताको सच्चा प्रतिनिधी भएको भूमिका देखाउनु पर्छ।
स्थानीय सरकार जनताको सरकार भन्ने प्रमाणित गर्नुपर्छ। स्थानीय सरकार जनताको सुख–दुखको सरकार भन्ने प्रमाणित गर्नुपर्छ। यसको गरिमा र महत्वलाई बढाउनु पर्छ। तीनै तहका सरकारले संकटका बेला जनताको मन जित्ने काम गर्नु पर्छ। प्रदेश सरकारले आफूलाई जनताको समस्या समाधान गर्न बलियो रुपमा प्रस्तुत गर्नुपर्छ। संघीय सरकार र स्थानीय सरकारबीच रहेको खाडललाई पूरा गर्न प्रदेश सरकारले आफूलाई पुलको रुपमा प्रस्तुत गर्नुपर्छ।
नेपालीमा एउटा कथन छ- अनिकालमा बीउ जोगाउनु आपतकालमा जीउ जोगाउनु। महामारीको कारणले जीउ र बीउ जोगाउनु आजको प्रमुख कार्य भएको छ। स्थानीय सरकारले जीउ र बीउ जोगाउन लकडाउन गरेको छ। जनताहरु पनि कोभिड–१९ महामारीको संक्रमणबाट जीउ र बीउ जोगाउन लकडाउनलाई पूर्णरुपमा पालना गर्दैछन्।
लामो समय लकडाउनमै बितेको छ। कोभिड–१९ को उपचारको औषधी पत्ता लागिसकेको छैन। विश्वका वैज्ञानिकहरु यसको उपचार पद्धति र औषधी पत्ता लगाउन व्यस्त देखिन्छन्। आशा गरौँ औषधी चाडैं पत्ता लाग्नेछ। रुसले औषधी पत्ता लगाको दाबी पनि गर्दैछ। यो महामारीबाट बच्न अहिलेको उपचार भनेको सामाजिक दूरी, लकडाउन, क्वारेन्टाइन र आइसोलेसन नै हो। सबैले यसको पालना गरौँ र गराऔँ।
महामारीबाट बच्न अति आवश्यक काम बाहेक घरबाट बाहिर निक्लिनु हुँदैन। निस्कनै परेमा मास्क अनिवार्य रुपमा लगाउनु पर्छ। कोरोना संक्रमण जहाँ र जुनसुकै अवस्थामा पनि हुन सक्ने भएकोले सजग र सर्तक हुनुपर्छ। कुनै चिज छोएपछि अनिवार्य रुपमा साबुनपानी वा स्यानिटाइजरले हात धुनु पर्छ। भीडभाड गर्नु हुँदैन। भीडभाडमा जानु हुँदैन।
कोरोना भाइरस चीनको हुवेइ प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटी फेला परेको थियो। जंगली जीवजन्तुको मासु सेवनबाट यो भाइरस मानिसमा संक्रमित भएको आशंका गरियो तर अहिलेसम्म यसको स्रोतबारे स्पष्ट भएको छैन। कोरोना भाइरसको महामारीबाट सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडमा गुज्रिरहेको छ।
विश्वका अधिकांश मुलुकहरु यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। विश्व नै महासंकटमा फसको छ। विश्व मानव जीवन र मानव स्वास्थ्य अकल्पनीय संकटमा छ। एसियाका धेरै देशहरुले यो महामारीलाई नियन्त्रण गरेता पनि भारत र नेपालमा बढ्दो क्रममा छ। भारतमा संक्रमितको संख्या बृद्धि भएसँगै नेपालमा पनि संक्रमितको संख्या बृद्धि भएको छ।
विराटनगर भारतसँग सिमाना जोडिएको सहर हो। सरकारले खुला सिमानालाई कडाइ गर्न नसक्दा विराटनगरमा भयाभव स्थिति सृजना भएको छ। सरकारले बोर्डरहरुलाई पूर्णरुपमा बन्द नगर्ने हो भने विराटनगर लगायत तराईका सबै स्थानहरुमा अकल्पनिय क्षति मुलुकले ब्यहोर्नु पर्छ।
धेरै विश्वका शक्तिशाली भनिएका देशहरु पनि यो महामारीको चपेटामा नराम्ररी फँसेका छन्। संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ। मानिसहरु भय, त्रास र आतंकपूर्ण जीवन बाँचिरहेका छन्। कोरोना भाइरसले मानवजातिले आजसम्म गरेको प्रगति, अनुसन्धान विकास र प्रविधिलाई नै चुनौती दिएको छ। मानव सभ्यता र आधुनिक विज्ञानलाई नै कडा चुनौती दिएको छ।
यो महामारिको कारणले विश्वको अर्थ राजनीति र विद्यमान शक्ति सन्तुलन नै खल्बलिने र नयाँ शक्ति सन्तुलन निर्माण हुने आंकलन गर्न थालिएको छ। यो महामारी विरुद्ध चीन आक्रामक देखिन्छ तर अमेरिका रक्षात्मक भएको छ।
कोभिड–१९ को फैलावटसँगै विराटनगरको जीवनशैली बद्लिएको छ। एक किसिमको जेल जीवन मानव समाजले अनुभव गर्दै छन्। खानपिन, सुताई, उठाई, बसाई, पढाई, लेखाई, खेलाई टिभी हेराई, फेसबुक, युट्यूब आदि दैनिकी भएको छ। मानिसहरु घरभित्र उकुसमुकुसपूर्ण जीवन बिताइरहेका छन्।
विराटनगरका बाहिरी वातावरण सुनसान छ। बजारका चौक गल्ली सबै सुनसान छ। विराटनगरको वडा नं ७ र ९ सिल गरिएको छ। अस्पतालहरु सिल गरिएका छन्। केही अस्पतालहरुले आकस्मिक सेवा संचालन गरेका छन्। उत्पादन र वितरण सबै ठप्प छ। केही अत्यावश्यक सामाग्रीका पसलहरु बिहान बेलुका खुल्छन्। पसलहरुमा अत्यावश्यक सामानहरु अभाव देखिन्छ। पसलहरुमा मानिसहरुको भीडभाड देखिन्छ। दिनभरी बाहिरी वातवरण सन्नाटापूर्ण छ।
बजारमा अत्यावश्यक सामाग्रीको अभाव देखिन्छ। मूल्य वृद्धि अत्याधिक छ। कालोबजारीको कारण उपभोक्ताहरु मारमा परेका छन्। कालोबजारी नियन्त्रण गर्न सरकार असक्षम देखिन्छ। कालोबजारी नियन्त्रणको लागि कठोर कदम चाल्नुपर्दछ र कालोबजारी गर्ने विरुद्ध हदैसम्मको कारवाही गर्नुपर्दछ। सरकारले उपभोक्ताको समस्यालाई ध्यान दिई सहज र सुलभ पसलहरु यथाशिघ्र सञ्चालन गर्नुपर्दछ।
आफ्ना नागरिकलाई कोभिड–१९ को महामारी रोगबाट मात्र हैन भोकबाट पनि बचाउने दायित्व सरकारको हो। स्थानीय सरकारहरुले महामारी विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु संचालन गदै राहत वितरण गर्नुपर्छ। सर्वोच्च अदालतले पनि श्रमिकको पहिचान गरी उनीहरुलाई खाने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरिसकेको छ।
नेपालको संविधान २०७२ को धारा ३६ ले पनि प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हकको व्यवस्था गरेको छ। खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित गरिएको छ। लकडाउनका कारणले विराटनगरमा दैनिक ज्यालादारी गरी खाने वर्ग यतिबेला रोगभन्दा चर्को भोकमा डुबेको छ। उनीहरुको काम मात्र हैन माम पनि गुमेको छ।
उनीहरु भोकमरीको चपेटामा फसेका छन्। धेरै मानिसहरु गरिबीको रेखामुनि पुगेका छन्। तिनीहरुसँग भएको खाने अन्नपानी र रुपैयाँ पैसा सकिएको छ। तिनीहरुको घरमा चुल्हो बल्न छाडेको छ।
(लेखक समाजवाद अध्ययन केन्द्र विराटनगरका अध्यक्ष हुन्।)