आज कुशे औँशी अर्थात् बाबाको मुख हेर्ने दिन, सर्वप्रथम सम्पूर्ण पूजनीय बाबाहरुमा उच्च सम्मान सहित कुशे औँशीको शुभकामना। शरीरको जन्मदिने र संस्कारको पहिलो बीज रोपी दिने आदरणीय आमा-बाबा हजुरहरुको कहिल्यै नथाक्ने हामी सन्तानप्रतिको मिठो माया, मुस्कान, आशिर्वाद, सकरात्मक उर्जा र यो साथले आज हामीले जुन जीवन बाँचेका छौँ, हामी आफू बन्न पाएका छौँ र संसार देख्न पाएका छौँ।
हजुरहरुभन्दा महान् हाम्रो लागि अरुको हुनसक्ला र धर्तीमा प्रवेश गरेसँगै उघारिएका मेरा आँखाले जब संसार देख्न र भोग्ने अवसर पाए यसको लागि बाबा-आमा प्रति सम्मान गर्ने मसँग शब्द नै छैन। भनिन्छ, मन्दिरका देवतालाई भेटी चढाउनुभन्दा आफ्नो घरका साक्षात भगवान रुपी बाबा आमालाई खुसी राख्न सके यसमा नै ठूलो धर्म र पुण्य हुन्छ।
आज विशेषगरी बाबाको मुख हेर्ने दिन, बाबा प्रति केही शब्द कोर्न चाहेँ। दुई अक्षरले बनेको बाबा शब्द सुन्दा र भन्दा जति सरल र सहज छ, एउटा असल बाबाको परिचय दिन पक्कै सजिलो र सान्दर्भिक छैन। हामी सन्तान र परिवार प्रतिको जिम्मेवारी दायित्वबोधलाई व्याख्या र वर्णन गर्दैमा जन्मदिने बाबाको परिचय एउटा सिर्जनामा अटाउन कहाँ सम्भव छ र!
सगरमाथाको उचाई र महासागरको गहिराईभन्दा हजारौँ गुणा सरल र शक्तिशाली जीवनको पहिलो र पूर्ण लेख बाबा आफैमा एउटा पुस्तक हुनुहुन्छ जुन पुस्तकलाई पढ्न र बुझ्न सक्यौं भने हामी एउटा असल र आदर्श सन्तान बन्न सफल हुन्छौँ। संस्कार र स्वाभिमानको मार्ग निर्देशनमा समर्पित जीवनको पहिलो र बलियो मियो हुनुहुन्छ बाबा।
जिन्दगीको सुरुआत रुदै हाँस्दै, लड्दै र उठ्दै गर्दाको सिकाइबाट भोलि जिन्दगीका हरेक चुनौतीहरूसँग यसैगरी मुकाबिला गर्नुपर्छ। आफै उठ्न जान्नुपर्छ, हिड्नलाई सामर्थ्यका जगहरु खन्दै दृढताका खम्बाहरु गाड्दै र सुरक्षाका बारहरू बनाउँदै सिङ्गो जिन्दगी पार गर्नुपर्छ भन्ने जीवनभर सम्झनलायक तपाईले सिकाएको पूर्व अभ्यासको पाठले आज हामी यहाँसम्म आइपुगेका छौं।
बामे गराउँदा हजुरले सिकाएको कखराले आज हिँड्न र बोल्न सक्ने भए, वास्तविक जीवन भोगाइको मूल्य र महत्व छुट्टाउन सक्ने भए, सामर्थ्य र साहससँगै जिन्दगी जीउने कला सिकेँ, नैतिक शिक्षा र संस्कार के हो बुझ्न सक्ने भएँ, जीवनको आरोह अवरोह भोग्न जानेँ, प्रेरणाका महत्वपूर्ण पाठहरु र जीवनका उत्कृष्ट चिजहरु चिन्न सक्ने भएँ तर अपसोच एउटा असल बाबाको ठोस परिभाषा र महानतालाई बुझ्न र बुझाउन सकिरहेको छैन।
एउटी आमा अर्थात् नारीको जीवन कहानीको वकालत गर्दै कति नाटक र सिनेमाहरु बने, कति गितहरु गाइए, जीवन गाथाका लेखहरु धेरै पढिए, सुनिए तर आमासँगै हजुरलेभोगेका आत्मवृतान्तहरु, परिवारको सहयात्री भएर भोगेका उतारचढावहरू, सन्तानको मुहारमा खुसी ल्याउन फाँसी चढाएका तपाईका करोडौं चाहनाहरु आज कता लुप्त छन्? तपाईका हर कहानीहरु किन सामान्य बनाइन्छन्? के तपाई परिवारको सहायक पात्र मात्र हो र? तपाईले भोगेका जीवन कहानिहरु किन नगन्य बनाइन्छ?
अभावलाई पूरा गर्न गरिएका संघर्ष र पसिनालाई किन लुकाइन्छ? कहिल्यै पढिएनन् बाबाका अनुहारमा सल्बलाएका दुःखका वक्र रेखाहरु, कहिल्यै सुनिएनन् सुइया सुस्केराहरु, आमालाई धर्ती भन्नेहरु बाबालाई आकाश भन्न किन सक्दैनौँ? जिम्मेवारीको चर्को घामले पोलिरहँदा कल्पना नगरेका परिस्थितिहरुले बार-बार टक्कर लिइरहँदा पनि तपाईका आफ्नो कैयौँ सपनाहरु मनभित्रै तुहाएर हरेक चुनौतीलाई सामान्य सम्झिदै साहस र बहादुरीका साथ असल अभिभावकको पहिचान दिन कैले डग्मगाउनु भएन।
घरमा पेटभरी खाने अन्न नहोस्, पानी थेग्ने छानो नहोस् तर आफ्नो सन्तानलाई डाक्टर, पाइलट र आफूभन्दा ठूलो असल र उदाहरणीय मान्छे बनोस् भन्ने सपना देख्नु र देखाउनु भयो, तपाईको यो बहादुरी र महानतालाई कुन ठाउँमा राखेर हेरुँ?
हाम्रो जिन्दगीको प्रेरणाको स्रोत तपाई, जीवन देखाउने पथरक्षक, आफू जलेर अरुलाई प्रकाश दिने आफू, घामपानी सहेर हामीलाई शीतल छहारी र न्यानो ओत दिने कयौं अभावका हुरीहरुलाई पर्खाल बनेर छेकिदिने सन्तानको इच्छा पूरा गर्न उधारोमा मागेका कैयौं खुसीहरु हामीलाई सित्तैमा दिनुहुन्छ। आफूभित्रको झन-झननावट दुखाइ र पसिनालाई परिवारको खुसी र प्रेमसँग साटेर रमाउन जान्ने मुस्कुराएको अभिनय गर्नसक्ने कस्तो कला वा बाबा!
तपाईको यो खुबीलाई कुन शब्दले सम्मान गरुँ? तपाइको यो वास्तविक अभिनयले मलाई हरबखत स्तब्ध बनाउँछ। बाबा पूर्वार्धको त्यो सिँढी चढ्दै यहाँसम्म आइपुग्दा कति ठाउँमा लड्नुभयो? सानाठूला अभावहरुले थिची कति रात ऐंठनले बर्बराउनु भयो? कति सुन्नै नसकिने जिन्दगीका सकसहरु पार गर्दै यहाँसम्म आइपुग्नुभयो? तपाईको वास्तविक भोगाइ र जीवन कहानी न कसैले बुझ्न सकेँ न कुनै प्रश्नकारले प्रश्न गर्न नै सकेँ न कुनै मूल्यांकन कर्ताले लेखाजोखा नै गर्नसकेँ।
परिवारको लागि त्याग र समर्पण नै एउटा जित हो, यसैलाई प्रकृतिको उपहार र इश्वरको बरदान ठान्ने सन्तानको लागि झुक्न र चुक्न सामान्य मानिदिने वा बाबा! म शब्द बिहीन छु। तपाईलाई सल्लाहकार भनूँ या साथी भनूँ या अभिभावक या भगवान्? कहाँबाट कसरी जन्म भयो तपाईको सहनशीलताको त्यो पत्थर जस्तो छाती? त्यो उर्जावान र सकारात्मक सोच?
माया, प्रेम, गाली, हौसला र स्याबासीसँगै आज हामी ठूला भयौँ। घर सम्पत्ति जोड्न नाम कमाउन व्यस्त बन्यो, हाम्रा सपनाहरु कत्रा-कत्रा देखेका छौं होला तर सम्झेका छौँ कि छैन, यो सब बाबाआमाको कारण सम्भव भएको छ। हामीलाई उहाँको सन्तान भएर जन्मने अवसर फेरिपनि मिल्छ या मिल्दैन हामीले हाम्रो जीवन बुझ्न उहाँहरूको वास्तविक भोगाई र मुस्कान भित्र लुकेको मर्म पढ्न जान्यौँ कि जानेनौँ?
हामीले हाम्रो सपना पूरा गर्न जुन ठूलो दौड ठानेका छौँ, यो एकदिन अवश्य पूरा होला तर बाबा आमासँग रमाउने तिता मिठा अनुभव बाँड्ने समय सधैं नआउन सक्छ। उहाँहरूको उत्तरार्धको समयमा धनको लौरीभन्दा मायाको लौरी टेकेर चयन र आनन्द लिन पक्कै मनलाग्छ होला। बाबा आमाले बुझिदिने भाषा र व्यवहारमा माया सम्मान गर्न सिकौँ।
कुनैपनि बाबाआमा सन्तान जन्माएको पश्चातापमा यिनै सन्तानको बोझ भएर वृद्धाश्रम जान नपरोस। उहाँहरुले मिठो खान राम्रो लगाउन कुनै विशेष दिन कुर्न नपरोस्। चाडपर्वहरुलाई जगेर्ना र हस्तान्तरण गर्नको नाममा एकदिन मात्र सामाजिक सञ्जालमा मिठा परिकार र रंगीन तस्बिरहरु सजाएर उत्सव मनाउँदैमा बाबाआमा प्रतिको माया र कर्तव्य पूरा भएको नठानौँ।
जति शिक्षा र प्रविधिले फड्को मार्दै छ, त्यतिनै हामीले सिक्ने संस्कार र नैतिक शिक्षा पछि पर्दैछ। आफ्नोपन हराउँदै गएको छ। जिन्दगीका सिकाइहरू किताबी ज्ञानबाट मात्र पूरा हुँदैनन्, हामीले हाम्रा सन्ततिहरुलाई यीनै कुरा बुझाउन सकियो भने हामी पनि एउटा सफल अभिभावक बन्न सक्छौँ। फेरि पनि सम्पूर्ण बाबाहरुमा कुशे औँशीको शुभकामना।