पिठ्यूँमा नाइलनको झोलाभरि किताब अनि आँखाभरि सपना बोकेर मेरा कलिला गोडाहरूले थाकेको गोरेटो नापिरहेका हुन्थेँ। मन धूलोमा फूल बनेर फुलिदिन्थ्यो भने तन पुतली झैँ धुलैमा रहेको पदचापसँगै टास्सिएरै जागृत हुन्थ्यो। जब म स्कूलमा पढ्थेँ तब देशमा आमूल परिवर्तन ल्याउनेछु भन्ने भावना बौरिएको हुन्थ्यो।
सरकारी स्कूलबाट अध्ययन गरेर एसएलसी परीक्षामा राम्रो अंक ल्याएपछि प्लस टुमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट छात्रवृत्ति पाएर विज्ञान विषय लिएर अध्ययन गर्ने सुअवसर मिल्यो। कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै मनमा केबल एउटै प्रश्नले सताइरह्यो, अब के पढ्ने? त्यति बेला मेरो बुवाको इच्छा मलाई राष्ट्रको कुशल डाक्टर बनाउने थियो तर आफ्नो जीवनमा मैले डाक्टर बन्ने सपना कहिल्यै बुनिनँ।
किनकी सानैबाट मेरो अन्तर्मनको रुचिको विषय कानुन, मनोविज्ञान वा राजनीति शास्त्र थियो। २०६९ जेष्ठ ५ गते कक्षा १२ को अन्तिम परीक्षा सकियो। बुवालाई आफू काठमाडौँ एमबिबिएसको प्रवेश परीक्षाको तयारी गर्न साथीहरुसँग जान भनी अनुमति लिएँ। बुवाले बिना कुनै रोकावट हुन्छ भन्नुभयो।
बुवाले देख्नु भएको सपना तुहाउने प्रण मैले पनि गर्न सकिनँ। अनि लागे काठमाडौँ तिर। त्यसै दिन कुनै राजनीतिक दलको नवलपरासी जिल्ला बन्दका कारण हामी पोखरा हुँदै काठमाडौँ जानुपर्ने भयो। पोखराको सुन्दरतासँग अलिकति लुकेरै प्रेम गरियो। हुन त बसको झ्यालबाट चियाएर हेरेको नै हो। प्रेमिल सहर हुँदै आएको यात्रा निकै लामो र यादगार पनि रह्यो।
सुरुमा हामी सबै साथीहरु मिलेर न्यू-प्लाजातिर होस्टेलमा बस्यौँ। त्यति बेला बुवाले दिनमा तीन-चार पटकसम्म फोन गर्नु हुन्थ्यो। कति बजे उठ्यौ? क्लास गयौ? खाना खायौ? के खायौ? के गर्दैछौ भनेर दिनानुदिन सोध्ने गर्नुहुन्थ्यो। प्लस टु पछि पहिलो पटक यसरी घर छोडेको थिएँ। घरि-घरि मन त उतै घरतिर छाडेर आएको जस्तो लाग्थ्यो। सुरु-सुरुमा त एकदमै एक्लो महशुस हुन्थ्यो तर पछि-पछि विस्तारै एक्लोपन नै निकट साथी बन्दै गयो र एक्लोपन नै प्यारो लाग्न थाल्यो।
काठमाडौँ संघर्षको महासागर हो भन्ने कुराको आभास भइसकेको थियो। यति ठूलो सागरमा जिन्दगीमा संघर्षको यात्रा केबल सुरु मात्र भएको थियो। मनमा एउटै सपना पूरा गर्ने सोच र अठोट थियो- कुशल डाक्टर बन्ने। कम्तिमा एक वर्ष भित्र एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने योजनाका साथ तयारी गर्दै थिएँ।
शिक्षा मन्त्रालयको परीक्षामा ९२ अंक ल्याएँ। तर बिडम्बना! उच्च प्रतिस्पर्धाका कारण मेडिकल शिक्षाको प्रवेश परीक्षामा निकै उत्कृष्ट अंक ल्याउदा समेत जित हासिल गर्न सकिनँ। मनमा एकदमै निराशाको बादल छायो। बुवाको विशाल सपनामाथि तुषारापात भयो। परिवारको आर्थिक अवस्था नाजुक भएकोले लाखौं पैसा तिरेर एमबिबिएस पढ्न सक्ने हैसियत पनि थिएन।
मन थाम्न नसकेर बुटवल घर फर्किएँ। एक दिन राति बुवासँग अब एमबिबिएसको प्रवेश परीक्षामा नाम निस्किने कुनै टुंगो नभएको हुँदा बरु कानुन विषय लिएर अध्ययन गर्छु भनेर बुवासँग विमर्श गर्दै थिएँ। सुरुआतमा बुवा त्यति सन्तुष्ट हुनु भएन तर पछि तलाई जे गर्दा भविष्यमा आफू खुसी हुन्छु जस्तो लाग्छ, त्यही गर भनेर सल्लाह प्रकट गर्नुभयो।
त्यतिबेला बुवाको एउटा मात्रै सर्त थियो- कानुनको विषयमा सधैं अब्बल र उत्कृष्ट हुने। पछि फेरि काठमाडौँ फर्किएँ। नेपाल ल क्याम्पसमा अत्यधिक प्रतिस्पर्धा हुने हुँदा स्नातक तहमा कानुन अध्ययन गर्न समेत मेरिटमा नाम निकाल्नु पर्ने बाध्यता थियो। केवल एक हप्ताको छोटो अवधिको तयारीले प्रवेश परीक्षामा नाम निकाल्न सफल भएँ। बुवाले त्यो घटना पत्याउन सक्नु भएको थिएन।
उहाँ एकदमै अचम्मित पर्नुभयो। पाँच वर्षको स्नातक तहको पढाई राम्रैसँग चलिरहेको थियो। बुवा पनि मेरो पढाईको प्रगतिले उत्साहित हुनुहुन्थ्यो। २०७५ सालको माघसम्म आइपुग्दा पाँचौ वर्षको पढाई समेत पूर्ण रुपमा सकिसकेको थियो। अब फेरि अर्को चिन्ताले मनमा डेरा जमाउन थाल्यो। अब के गर्ने?
बुवाको सोच छोरा न्यायाधीश बनेको देख्न पाए हुँदो हो भन्ने थियो। यता मैले वकालत पेशामा रहेर उदाहरणीय कानुन व्यवसायी बन्छु भन्ने सपना बुनेको थिएँ। बुवाको आग्रहका कारण लोकसेवाको तयारीमा जुटेँ। मलाई नाम निकाल्न सक्छु भन्ने पक्का विश्वास थियो र त्यही अनरुप मेहनत समेत गर्दै थिएँ।
दिनहरु सामान्य रुपमा बित्दै थिएँ। यही दौरानमा काम विशेषले बुटवल जानुपर्ने भयो। २०७५ सालको दशै पश्चात् बल्ल घर पुगेको थिएँ। घरमा सबै जना हर्षित हुनुहुन्थ्यो। एक दिन घरमा बुवा र म मात्रै थियौ। दिउँसोतिर मेरो कोठामा आएर, बाबु! मैले अब विश्राम लिने बेला आएको छ, सबै जिम्मेवारी तेरो हातमा छ, ख्याल गर भनेर राम्ररी सम्झाउँदै हुनुहुन्थ्यो।
म बुवाको कुरा सुनेर छक्क परेँ। किन यस्तो कुरा गर्नु भएको भनेर बुवालाई सोधेँ। तर कुनै उत्तर फर्काउनु भएन। एक्कासी रुन पो थाल्नुभयो। बुवालाई सम्झाउन निकै कोशिस गरे तर पनि आफूलाई सम्हाल्न एकदमै गाह्रो पर्यो। साँझ ४ बजेको सेरोफेरोमा फोनमा कल आयो। बाबु! म लुम्बिनी अञ्चल हस्पिटलको आकस्मिक कक्षमा छु, छिटो आउँ भनेर फोन राखिदिनु भयो।
हत्तपत्त दौडिएर एक्लै हस्पिटल पुगेँ। सामान्य केही भएको होला भन्ने लागेर आमालाई केही भनेको थिइनँ। देब्रे छाती एकदमै दुखेर आफै हस्पिटल आउनु भएको रहेछ। केही समयको जाँचपछि डाक्टरहरुले ग्यास्ट्रिकको दुखाई हो भनेर अनुमान गरी दुखाई कम गर्ने सुई लगाएर घर पठाइदिए।
चैतको महिना चलिरहेको थियो। केही दिनपछि काम सकेर काठमाडौँ फर्किने योजना बनाएँ। होलीको भोलिपल्ट दिउँसो फेरि देब्रे छाती दुख्यो भनेर बुवा आत्तिन थाल्नुभयो। घरमा आमा र म मात्रै थियौँ। फेरि पनि लुम्बिनी अञ्चल हस्पिटलमै लग्ने भनेर गयौँ। बुवा छातीको दुखाईले छट्पटी रहनु भयो।
डाक्टरहरुले यो दुखाई कतै हृदयघातको त होइन भनी शंका गरे र यकिन गर्न ट्रोपो-आइको टेस्ट गर्न लगाए। रिपोर्ट आउनासाथ डाक्टरहरु आफै आत्तिए। पछि हामीलाई बोलाएर उहाँलाई हृदयघातको झट्का आएको भनी बताए र तत्काल औषधि दिएर जति सक्दो चाडो मुटु हस्पिटल लैजान सल्लाह दिए। आमा र म झसंगै भयौ। दुवैजना एकदमै अत्तालिएका थियौँ।
बुटवलमै स्थित गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलमा लग्यौँ। त्यहाँ इमर्जेन्सीमा रहँदा बुवाको स्थिति ठिकै थियो। इमर्जेन्सीका एक जना डाक्टरले बुवालाई कडा खालको हृदयघात आएको जानकारी गराए। डाक्टरले छातीको दुखाई छातीभन्दा माथितिर सरिरहेको र विगत दश वर्षदेखि बुवा मधुमेह र उच्च रक्तचापको समेत बिरामी भएकोले हृदयघात फेरि दोहोरिएर आउन सक्ने खतरा हुन सक्ने भनी बताए।
भोलिपल्ट एन्जियोग्राफी गर्यौँ। रिपोर्टमा मुटुका मुख्य तीन नलीहरु ठाउँ-ठाउँमा ८०-९० प्रतिशत साघुँरिएको कारण मुटुको नलीहरुमा रगत सजिलै पास गर्न नसकेको पत्ता लाग्यो। परामर्शका क्रममा डाक्टरहरुले यसको विकल्प बाइपास सर्जरी रहेको बताए। बुटवलमा बाइपास सर्जरी गर्न संम्भव थिएन। त्यो सेवा काठमाडौँमा मात्र उपलब्ध रहेछ। तत्काल काठमाडौँ लैजान सबै आफन्तजनले राय दिनुभयो।
तर डाक्टरहरुले भर्खरै हृदयघातको झट्का आएको हुँदा तुरुन्त कतै नलैजान र पाँच दिनसम्म त्यही हस्पिटलमा राख्न सुझाव दिनुभयो। उपचारमा डा. समीर गौतम लगायतको टीम संलग्न हुनुहुन्थ्यो। डाक्टरहरुकै निर्देशनमा चल्ने भनेर निर्णय गर्यौँ। हामीले उहाँहरु माथि पूर्ण रुपमा सकारात्मक विश्वास राखेका थियौँ।
उता बुवा आइसियूमा हुँदा मलाई बोलाएर बाबु किन मलाई यहाँ राखेको? मलाई एक पटक काठमाडौँ गएर राम्रोसँग चेक गराउन मन छ, छिटो काठमाडौँतिर जाऔँ भनेर आग्रह गर्नुभयो। मैले काठमाडौँ जाने व्यवस्था हामी मिलाउदै छौ भनेर सम्झाएँ। हस्पिटलमा बुवालाई दिनानुदिन भेट्न आउने आफन्तजन र साथीभाइहरुको ठूलो ताँती लागेको देखेर हस्पिटलका डाक्टर र कर्मचारीहरु समेत अचम्मित हुन्थे।
क्याथ वार्डमा हुँदा समेत बुवा अरु बिरामीहरुभन्दा धेरै तगडा र सक्रिय हुनुहुन्थ्यो। नर्सहरुसँग राम्रै बोल्ने र खाना खाने गर्नुहुन्थ्यो। रातिमा बुवाले अप्ठ्यारो मान्ने हुँदा मलाई क्याथ वार्डको नजिकै सुत्ने व्यवस्था हस्पिटलले मिलाइदिएको थियो। बुवा दिनहुँ मलाई काठमाडौँ लैजान भनी आग्रह गरिरहनुन्थ्यो। म छिटोभन्दा छिटो पाँच दिन सकियोस् र बुवालाई हस्पिटलबाट डिस्चार्ज गरेर काठमाडौँ लैजान पाइयोस भनेर कामना गरिरहन्थेँ।
हस्पिटलमा कुर्दा २०६८ सालमा म बस दुर्घटनामा परेको बखत काठमाडौँको बी एण्ड बी हस्पिटलमा काटेका कठोर दिनहरु झलझली याद आउँथे। त्यस बखत म शरीरको आन्तरिक गहिरो चोटका कारण मरणासन्न अवस्थामा पुगिसकेकोमा, निकै कष्ट गरेर बुवाले मेरो प्राण जोगाउनु भएको थियो। अहिलेको मैले दोस्रो जीवन पाउनुमा बुवाको अतुलनीय योगदान छ। उहाँको त्यो गुन म चाहेर पनि भुल्न सक्दिनँ।
दिनहरु निकै कष्टकर रुपमा बित्दै थिए। हाम्रो आफन्त पर्ने मुटु शल्य-चिकित्सक डा. भगवान कोइरालासँग काठमाडौँमा सिधै चेक गराउने व्यवस्था मिलाइसकेका थियौँ। भोलिपल्ट चैत्र १५ गते बुवालाई हस्पिटलबाट डिस्चार्ज गर्ने दिन थियो। सधै हस्पिटलमा मेरै साथमा रहनु हुने आमा भोलि एकैपटक डिस्चार्ज हुने बेला आउँछु भनेर अघिल्लो दिन हस्पिटल पनि आउनु भएको थिएन।
त्यो रात एक्लै थिए। बुवालाई रातिको खाना खुवाएर म पनि सुत्न गएँ। राति करिब १२ बजेतिर हस्याङ-फस्याङ गर्दै हतारिदै नर्सले बुवा आत्तिनु भएको छ, छिटो भित्र आउन भन्नुभयो। हत्तपत्त दौडिएर बुवाको बेड नजिकै पुगेँ। मलाई देख्नासाथ, बाबु! मलाई श्वास फेर्न गाह्रो भयो भन्नुभयो। बुवालाई नआत्तिन भनेँ। एकैछिनमा पिसाब लागेको छ भन्नुभयो।
अरु दिन मेरो सहारा बिना बेडबाट उठ्न नसक्नेमा तर त्यो दिन मैले पिसाब गर्ने भाडो ल्याइसक्दासम्म आफै बेडबाट उठेर बस्नु भयो। उहाँ एकदमै छट्पटी रहनु भएको थियो। पिसाब गराउन खोजेँ तर गर्नु भएन। त्यत्तिकैमा आत्तिएर भुइँमा लड्नु भयो। नर्स र डाक्टरहरु मिलेर बल्लतल्ल उहाँलाई उठाएर बेडमा राख्यौँ। डाक्टर र नर्सहरु समेत आत्तिए। अक्सिजन फुल लगाइदियौँ।
मेरो नजर भित्ताको मनिटरमा पुग्यो। बुवाको मुटुको चालको गति करिब प्रतिमिनेट २५०-३०० जति पुगेको देखेँ। डाक्टर र नर्सहरु बुवालाई बचाउन आफ्नो प्रयास गरिरहेँ। म बुवालाई अंगालो मारेर हावा हम्की रहेको थिएँ। विचरा मेडिकल अफिसर डाक्टर र नर्सहरु समेत असीनपसीन भए। तर अहँ! बुवा झन धेरै आत्तिन थाल्नुभयो।
‘डाक्टर साहेब! मलाई बचाउँनुहोस! म अब गए’ भनेर आवाज निकाल्नु भयो। बिस्तारै उहाँको आवाज विलीन हुन थाल्यो। मेरो मन सम्हालि नसक्नुभयो। त्यति राति हस्पिटलमा विशेषज्ञ डाक्टरहरु कोही थिएनन्। बाहिर गएर डा. समीर गौतमलाई कल गरेँ। उहाँलाई बुवाको अवस्थाबारे जानकारी गराएर संम्भव भए हस्पिटल आउन अनुरोध गरेँ।
तर उहाँले मलाई हस्पिटल आउनै १५/२० मिनेट लाग्छ, म त्यहाँ आएर समेत केही हुँदैन भनेर जवाफ फर्काउनुभयो। मन अमिलो भएर आयो। फेरि भित्र जाँदै गर्दा मनिटरको एकोहोरो रुपमा बजेको आवाज कानमा पस्यो। मैले अब बुवा जानुभयो भनेर आँकलन गरिसकेको थिए। मुटुको धड्कन शान्त भइसकेको थियो। हेर्दाहेर्दै केही क्षणभरमै देहत्याग गर्नुभयो।
जब बुवाले भौतिक शरीर त्याग गर्नुभयो, तब मनमा अनेकौँ विचारहरुले डेरा जमाएर बसेका थिए। मन एकाएक विचलित भयो। अनि बल्ल थाहा पाए- बुवाको केही समय अघिको त्यो हतार र छटपटाहट कालको थियो भनेर। मैले आफ्नो जीवनमा पहिलो पटक काललाई यति नजिकबाट नियालेको थिए।
वार्ड भित्र बस्नै सकिन र बाहिर आए। अनि सबैभन्दा पहिला आमालाई सम्झिएँ। कसरी भन्ने अब आमालाई? मैले आमालाई कल गरेर बुवाको बारेमा बताउने आँट समेत गर्न सकिनँ। सबैभन्दा पहिला मैले आफ्नै बुवासरह मान्दै आएका म पढेको स्कूलका प्राचार्य घनश्याम पाठक र कलेजका प्राध्यापक ॠषिराम भुषाल सरलाई कल गरेँ।
उहाँहरु मैले त्यति राति फोन गर्दा अचम्म मान्नुभयो र एकैछिनमा आउने वचन दिनुभयो। मेरा हात कामिरहेका थिए। मोबाइलको अक्षर तिरिमिरी देखिरहेको थिए। कसलाई कल गरुँ? कसलाई नगरुँ? मनले केही सोच्नै सकेको थिइनँ। आवाज लडबडाएको थियो। मैले याद भएसम्मका आफन्तजनहरुलाई हतारिएर फोनबाट सबै जानकारी गराएँ।
केही समयपछि ॠषिराम सर र घनश्याम सरलाई हस्पिटलको परिसरमा देख्नासाथ अंगालो मारेर रुन थाले। उहाँहरुले मलाई कत्ति सम्झाउन खोज्नुभयो तर कसैको कुरा सुन्न समेत सकेको थिइनँ। हस्पिटल बस्दा नजिकिएका केही नर्सहरु समेत आएर मलाई बुझाउने प्रयास गर्दै थिए। मनमै पहिरो गएको थियो, टेकेको पाइला समेत भासिएको जस्तो भान भयो।
एकैछिन पछि भुइँमै लडे र बेहोस भए। सरहरुले मलाई समाएर राख्नु भएछ। लाग्थ्यो म शून्यमा हराएको थिए। चारैतिर अँध्यारो देख्थेँ। केही बोलु भन्छु तर अथक प्रयासका बावजुद पनि केही बोल्न सकिनँ। शरीरबाट चिटचिट पसिना आइरह्यो। हात र शरीरका अंगभरि कम्पन छुट्न थाल्यो।
मुख जिब्रो पूरै सुकिसकेको थियो। मुटुको गति एकाएक बढ्न थाल्यो। दिमागमा हजारौं सोचहरु ढ्याङग्रो ठोकिरहेका थिए। त्यतिबेला सोच्न त परै जाओस्, सामान्य चेतना समेत अनुभूत गर्न सकेको थिइनँ। एक घण्टाको अन्तरालमा थुप्रै जना इष्टमित्र तथा आफन्तजन जम्मा भईसक्नु भएको रहेछ। ‘यति ठूलो भएको मान्छे यसरी रोएर, कराएर, चिच्याएर हुन्छ? अब आमा र दिदीहरुलाई सम्झाउने तिमीले हो’ भनेर सबैले सम्झाउने प्रयास गर्नुभयो।
केही घण्टापछि शान्त र मलिन भए। अब घरमा कसरी जाने भन्ने समस्या भयो। सबैजनाको छलफल पश्चात् सबैजना मिलेरसँगै जाने कुरा भयो। त्यति राति आमाहरु निन्द्रामा हुनुहुन्थ्यो। बुवाको निधन भएको खबर सुनेर कसरी सहनुहुन्छ होला भनेर मन पोलिरहेको थियो। घर पुग्दा आमा र दिदी दुवै जना बेहोस अवस्थामा देखेँ।
उता कोठाबाट आमा ठूलो स्वरमा कराउनु भयो। बाबु! बुवा खोइ? म तरिङ्गित भए। बेस्सरी समाएर आमालाई अंगालो मारे। मुखबाट केही आवाजै आएन। आत्तिदै कराए अनि भने- हामीलाई छोडेर जानुभयो। फेरि केहीबेर पछि म रुदै बोल्दै थिए अब जिन्दगी सकिने भो! बेहोसको सुरमा पागलझैं चिच्याउन थालेँ।
आमा पनि भक्कानो छोडेर रुन थाल्नु भयो। चारैतिरको माहोल रुवाईको चिच्चाहटको गुन्जले भरिन थाल्यो। मेरो आवाज कसैले सुनेन। पीडाले हार खाइसकेको थिए। घरमा कोलाहल छाएको थियो। आफन्त र समाजका मान्छेहरुको ठूलो भीड लाग्यो। कोही आँसु पुछ्दै थिए त कोही खासखुस गर्दै थिए। पृष्ठभूमिमा आमाले मलाई पनि कसैले विष ल्याएर देऊ म पनि सँगै जान्छु भन्दै कराउँदै हुनुन्थ्यो।
त्यो पल मेरो लागि अत्यन्तै असह्य र भावविह्वल थियो। अनि रन्थनिएर बाहिर निस्किएँ। बुवाको मृत्युले गर्दा हामी जिउँदो लास सरह भएका थियौँ। मन यतिसम्म पग्लिसकेको थियो कि आफू बाँचेको महशुस समेत गर्न सकिरहेको थिइनँ। स्वर्गबास बुवाको भएको थियो, तर मृत्यु हाम्रो पूरै परिवारको। निधारमा चिटचिट पसिना आएर पूरै भिजेको थियो।
आँखाबाट आँसु निरन्तर रुपमा बगिरहेका थिए। श्वास स्वाःस्वाः भइरहेको थियो। चाहान्थे त्यो क्षण विस्मृत होउन् र अन्ततः सपना भइदिए हुन्थ्यो तर परिस्थिति बेग्लै थियो। समय हाम्रो काबुभन्दा धेरै टाढा पुगिसकेको थियो।
बिहान झिसमिसे उज्यालो भइसकेको थियो। बाहिरबाट बाँस चिरेको आवाज सुनेर आमा झन जोर-जोरले गहँभरि आँसु लिएर चिच्याउन थाल्नुभयो। काठमाडौँमा बस्ने कान्छी दिदीलाई बुटवल कसरी बोलाउने अन्यौल पर्यो। उहाँलाई घटनाको बारेमा केही जानकारी नै नगराई बुवा अलि सिरियस हुनुहुन्छ बुटवल आउनपर्ने भयो भनेर बोलायौँ।
करिब ११ बजेको सेरोफेरोमा दिदी पनि घर आईपुग्नु भयो। हामी रुवाईको चिच्याहाटले मुर्छिएका थियौँ। बुवाको पार्थिव शरीरलाई स्पर्श गर्न खोजेँ, तर सुरुमा त छुन पनि सकिनँ। हात कामेर हावामा सलबलाइ रहे। हार खाएर भुइँमा पल्टिए। अनि पुर्पुरोमा अडिएर सोच्न बाध्य भएँ। पुराना स्मृतिहरुले मनलाई उथलपुथल गराइरहेका थिए।
बुवाको निधारमा चुमेँ। म अर्धचेत अवस्थामा थिएँ। भित्रैबाट झनै गाह्रो भएर आयो। मुख सुकिसकेको थियो। त्यो पलको एक सेकेण्ड पनि एकदमै असह्य भइरहेको थियो। आफैदेखि धिक्कार र पछुतो लागेर आयो। आफूलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ। बुवाको मृत्युले अन्तर्मनलाई शिथिल पारी दिएको थियो।
हरेक क्षणको समय एकदमै ढिलो बितिरहेको जस्तो लागिरह्यो। चारैतिरको माहोल अप्राकृतिक र विचित्रको जस्तो लाग्यो। सबैथोक लथालिङ्ग भद्रगोल र छरप्रष्ट। केही बेर छ्ट्पटाए अनि शान्त भए। आँखा बन्द भए- चारैतिर अंन्धकार र शून्यता छायो।
अन्तिम दाहसंस्कारका लागि परम्परा अनुसार पाल्पाको रिडी लैजाने कुरा भयो। अन्तिम शव-यात्रामा हिंड्दा मन निकै कुण्ठित र मार्मिक थियो। लाग्थ्यो बुवालाई कतै लामो यात्रामा लैजादैछौ जहाँबाट उहाँ कदापि फर्किनु हुने छैन। शव-यात्राभर बुवासँग बाल्यकालदेखिका स्मृतिहरु मानसपटलमा प्रतिबिम्बित भइरहे।
बुवालाई निस्वस्त्र केबल कात्रो कपडामा देख्नै सकिनँ। मुखमा दागबत्ती प्रदान गर्दा अत्ति नै कठिनाई भयो। सो क्षणको स्मरणले आजसम्म पनि मन छियाँ-छियाँ भएको छ, मुटु विरक्तिएको छ। लासलाई एकोहोरो नियालिरहेँ। आफन्त र साथीभाईहरुको अन्तिम बिदाईमा म कैयौँ पटक मसानघाटमा पुगेको थिएँ। तर आफूलाई पर्दा थाहा भयो, संसार कति क्षणिक छ।
हिजो थियो, आज छैन। आज छ, भोलि छैन। वैराग्यले छोपी सकेको थियो। केही घण्टाको आगोको लपेटाले जलेर बुवा आँखा अगाडि नै खरानी हुनुभयो। अनि सोचमा मग्न भएँ। यो मृत्यु के हो? मरेपछि के सब थोक सकिन्छ? के जलेपछि सबथोक जल्छ अथवा केही चिज बाँकी रहन्छ? कि यो घटनाले केहीथोक सिकाएर बिदा हुन्छ? बुवा कसरी हामीलाई छोडेर जानुभयो?
मसँग केवल प्रश्न नै प्रश्न थिए तर जवाफ एउटा पनि थिएन। कदापि हुन नसक्ने घटना घटेको थियो। मेरो जीवनको हालसम्मको सबैभन्दा ठूलो झुट सायद यही नै थियो।
अन्तिम संस्कारको सबै कार्यहरु सकेर राति करिब ८ बजेतिर घर फर्कियौा। १३ दिनसम्म किरिया बस्दाको अनुभव मेरो लागि जीवनमा पहिलो नै थियो। ती दिनहरुमा मलाई संयमता अपनाउन निकै कठिन हुन्थ्यो। उज्यालो सरह चलिरहेको जीवनमा चारैतिर केबल अन्धकार देखिरहेँ। म पूर्णतः चिन्तामा डुबिसकेको थिएँ। आफ्नो र परिवारको चिन्ताले मन घेरिसकेको थियो र दु:खलाई अझ बढी जलाइराखेको थियो। खाना केही मन हुन्थेन।
गाँस निल्दा नै घाँटीमा अमन भए जस्तो हुन्थ्यो। पूरै शरीर भतभती पोलि मात्र रहन्थ्यो। बुवाको यादमा डुबेर झसंग-झसंग तर्सिन्थेँ। कहिले आधा रातमै बिउँझिन्थे त कहिले आँखा बन्द समेत गर्न सक्थिनँ। कहिले कसैले घाँटी थिचिरहेको जस्तो हुन्थ्यो। आँखा खोल्छु त देख्छु चारैतिर शून्यता। कति भिन्न-भिन्न रुप हुँदा रहेछन् जिन्दगीका, बल्ल बुझ्दै थिएँ।
पहिला बुवा साथमा हुनुहुन्थ्यो, एउटा रुप अनुभूत गर्थेँ, पछि बुवा साथमा हुनुहुन्थ्यो अर्को रुप अनुभूत गर्दै थिएँ। लाग्थ्यो त्यो छटपटीले ठूलो विचलन निम्ताएको थियो।। मेरो जीवनकालमा एकदमै हड्बडाएको पल र कठिन आपत्तिको समय नै किरिया बस्दाका ती दिनहरु थिए।
जीवनको यात्रामा आपत्ति र अभाव भन्दा ठूलो अरु कुनै शिक्षा नहुने रहेछ। मनुष्यको वास्तविक धैर्यको परीक्षा दु:ख-आपत परेको समयमा आउँछ। जिन्दगीमा कष्ट सहेर नै गहिरो अनुभव प्राप्त हुने रहेछ। संकटले हामीलाई झन व्यवहारिक बनाउन सिकाउँछ। कष्ट सहेपछि नै हामीलाई अनुभव हुन्छ। दु:ख एउटा त्यस्तो क्षण हो जसले हामीलाई सिक्न अवसर दिलाउँछ।
जीवनको यात्राको क्रममा आइपर्ने आपत्तिले व्यक्तिलाई दृढता प्रदान गर्ने रहेछ। आपत्तिले हामीलाई आत्मज्ञान तथा बोध गराउँछ कि हामी कुन हैसियतका हौँ। आपत्तिलाई गहन र सघन तवरले बुझ्न सकियो भने त्यसले असल मानिस बन्न सघाउ पुर्याउँछ। सुखले हामीलाई एउटा पक्ष देखाउँछ भने जीवनको यात्रामा आइपर्ने प्रारम्भिक दु:ख-आपत्तिहरुले त्यो चित्रको दोश्रो पक्षलाई समेत दर्शाउँछ। आपत्ति, वेदना, दु:खलाई सहज रुपमा स्वीकार गर्न त सकिदैन तर प्रयास चाहिँ गर्नुपर्दो रहेछ।
मान्छेहरुलाई वास्तविक रुपमा चिन्ने भनेकै दु:ख र वियोगको घडीमा रहेछ। सुखमा त कसैलाई खासै मतलब हुँदो रहेनछ तर पीडाका बखत कसले साथ दिन्छ भन्ने कुरा यस्तो बेलामा थाहा हुने रहेछ।
पहिल्यैबाट नै बुवा अलि कडा स्वभावको हुनुहुन्थ्यो। ठूलो स्वरमा बोल्ने गर्नुहुन्थ्यो। हाम्रो लागि धेरै कुरा गर्नुभएको थियो। आफ्नो क्षमता अनुरुप सबथोक गरी राख्नुभएको थियो। कहिल्यै कुनै कुराको अभाव हुन दिनु भएको थिएन। आफ्नो कडा पसिना सिँचेर परिवार पाल्नुभएको थियो। आफ्नो सपना रित्ताएर हामी माथि पूर्णतः लगानी गर्नुभएको थियो। हामीलाई कैँयन कुरा परोक्ष वा अपरोक्ष रुपमा हजारौं हजार पटक सिकाउनुभयो, सम्झाउनुभयो र बुझाउनुभयो।
एक धीर पुरुषको वास्तविक निशानी हुनुहुन्थ्यो। जीवनको पहिलो गुरु हुनुहुन्थ्यो जसले अगाडि बढ्न सहयोग र सही बाटो देखाउने सहारा दिनुभयो। यस धर्तीमा टेक्ने अवसर प्रदान गरेर संसार देखाउनुभयो। म सानो छँदा, सधै सत्यको बाटोमा हिंड्नुपर्ने, अरुलाई खान दिएर मात्र आफूले खानुपर्ने, पराइको सेवा गर्नुपर्ने, अरुको चित्त दुख्ने वचन बोल्न नहुने, झुट बोल्न नहुने, इमानदार बन्नुपर्ने, आफ्नो स्वाभिमान गिर्न नदिने, कसैको शिर झुक्ने काम गर्न नहुने, कसैलाई पनि ढाटेर-ठगेर खान नहुने, गलत कर्म गरेर धन कमाउन नहुने, सदा विराट लक्ष्य लिएर हिड्नुपर्ने जस्ता मूल्यवान अर्ति उपदेश दिनुहुन्थ्यो।
परिश्रमी र रचनात्मक मानिससँग मित्रता बढाउनु, स्व-शरीरबाट कसैलाई पीडित नगर्नु, आफ्नो असल कर्म र आचरणबाट समाज र राष्ट्रमा चिनारी बनाउनु जस्ता कुरा सिकाउनु हुन्थ्यो। म चाहिने-नचाहिने कुरामा जिद्दी गर्थेँ तर मेरा हरेक जिद पूरा गर्न खोज्नुभयो। म भित्र केही कमीकमजोरीहरु हुँदा समेत सधै मलाई राम्रो देखाउन खोज्नुभयो।
आफ्नो पीडा लुकाएर मेरो हर खुसीमा आफूलाई खुसी देखाउनुभयो। कैयौँ गल्तीहरु गर्दा ती गल्तीहरु लुकाई आफूलाई गलत देखाउनु भयो। मेरो प्रेरणाको स्रोत र हौसला हुनुहुन्थ्यो। यो दुनियाँमा आफ्नो हरेक पीडा लुकाइदिने, निस्वार्थ र शर्तरहित विशुद्ध माया दिने बुवा-आमा बाहेक सायद कोही छैन।
समस्त मानव जगतको पहिलो गुरु नै आमा-बुवा हुन, जो सदा-सर्वथा पूज्य हुन्छन्। आमा-बुवाको ममताको एक थोपा, अमृतको समुद्रभन्दा धेरै मिठो हुन्छ जुन अनन्तकालसम्म रहिरहन्छ। पिताको महिमा शब्दमा वर्णन गर्न सकिदैन, त्यसलाई केबल अन्तर्मनले महशुस मात्र गर्न सकिन्छ। पिता आदर्श र जिम्मेवारीको जननी हो। पिता संघर्षको प्रतीक हो। पिताको आदर्श कहिल्यै नष्ट हुँदैन।
पिताको आदर्श नै छोराछोरीका लागि आशाको केन्द्र हो। पिताको आदर्शले जीवनमा प्रगति तथा साँचो जीवनको वास्तविक संम्भावना जीवित राख्छ। संसारमा जन्म लिनु ठूलो कुरा होइन, जन्मेर बाँच्नुको अर्थ के हो? आफ्नो प्रिय सन्तानलाई हरेक पिताले सिकाउने कुरा यही हो। पिता आमाको असल जीवनसाथी मात्र होइन, सृष्टिको पहरेदार पनि हो। पिता केबल एउटा शब्द मात्रै होइन, सत्य अनि शक्ति पनि हो।
पिताको सम्बन्ध हरेक सन्तानको भावना र भरोसासँग गहिरो रुपमा जोडिएको हुन्छ। उज्जवल भविष्य निर्माणका लागि संघर्षको पाठ सिकाउने प्राणी पिता हो। कति दु:ख, पीडा लुकाएर अनि अनेक अपजस र अपमान पनि चुपचाप सहेर उसले सन्तानलाई खुशी बाड्ने प्रयास गरिरहेको हुन्छ।
मृत्यु एक प्रशन्नतापूर्वक निद्रा हो, जसपछि जागरणको आगमन हुन्छ। आत्माको स्वरुप पुनित हुनु नै मृत्यु हो। यो ब्रह्माण्डमा कोही पनि अनमोल छैन, समयले सबैलाई माटो बनाइदिन्छ। मृत्यु कसैको अभावको प्रकट रुप हो। आत्मा अमर छ, न त यसको जन्म हुन्छ न त मृत्यु। यो प्रकृतिको चक्रमा अनित्य छ। मान्छेको आयु केवल दुई दिनको रहेछ।
जसरी नदी लगातार बग्दै जान्छ, त्यसैगरी मानिसको आयु पनि गइ रहन्छ। कालको लहरले कसैको प्रतीक्षा गर्दैन। कालले कहिल्यै कसैसँग सौदा गर्दैन। संसारमा सबैको मृत्यु अनिवार्य छ, यसबाट कोही पनि उम्कन सक्दैन। जस्तोसुकै अप्ठ्यारो लागेतापनि मृत्युलाई सहनु र स्वीकार गर्नुको कुनै विकल्प रहेनछ। प्रकृतिको नियम अगाडि कसैको केही नलाग्दो रहेछ।
मानवको शरीर अनित्य छ, सम्पत्ति शाश्वत छैन, सबैको नजिक मृत्यु बसिरहेको छ। बुवाको मृत्यु मेरो लागि अत्यन्तै भयानक थियो किनकी उक्त घटना मेरो कल्पनाभन्दा निकै बाहिरको थियो र मैले कहिल्यै मृत्युसँग घनिष्ठ परिचय गर्ने प्रयास समेत गरेको थिइन।
रोएर चाहेको पुग्ने भए संसार पहिल्यै आँसुमा डुबिसक्थ्यो होला। मृत्युले एक थोक लिएर आएको थियो तर सबैथोक लिएर गयो जस्तो लाग्थ्यो। बुवाको स्मृतिका एकाध पलहरु मस्तिष्कमा घुमिरहन्छन् र नशा-नशामा भित्रदेखि चिथोर्न थाल्छन्। त्यो पीडादायी पल। उफ! म सम्झिन पनि सक्दिनँ। कति कहाली लाग्दो, कति भयानक।
बुवाको अभावमा मेरो जीवन स्तब्ध र मर्माहत भएको छ। पितृ वातसल्यताबाट बञ्चित छु। मन अझैसम्म पनि शोकाकुलमै डुबेको छ र मनभित्र दर्दनाक व्यथा दबिएर बसेका छन्। त्यो चोटहरुमा मलहम पट्टि पनि लगाउन नखोजेको होइन तर मेरो सम्पूर्ण प्रयासहरु विफल भएका छन्। अब जीवनको जिउने र मर्ने एक मात्र आधार उहाँको सम्झना मात्र रह्यो।
समयसँगै चल्नु मान्छेको बाध्यता र जिन्दगीको नियम रहेछ। पीडाको आवाज मौनताले मात्र प्रकट गर्न सक्दो रहेछ। अतीतलाई सहनु बाहेकको अरु कुनै विकल्प रहेनछ। बुवालाई बचाउन सकिन भनेर मनले आफैलाई धिक्कार्छ। डाक्टरहरुले अलि पहिल्यै काठमाडौँ लैजाने अनुमति र सल्लाह मात्र दिएको भए सायद बुवा आज हामीहरु माझ जीवित हुनुन्थ्यो होला। यही कुराले आजसम्म पनि एकदमै पिरोल्छ र सताइरहन्छ।
जीवन आफ्नै रुपले अगाडि बढ्छ, एक्लै उभिने साहस गर्नुपर्छ। तर आमा-बुवा बिना त्यो यात्रा पनि एक्लो र अधुरो लाग्छ। हामीले मृत्युको बोध सही रुपले गर्न सक्यौ भने बल्ल जिन्दगीमा रंग ल्याउन सकिन्छ। कहिलेकाही कठिनाई पनि जीवनमा जिउन काम लाग्दो रहेछ। बुवाले मलाई सपना दिनुभयो जसबाट मैले आफ्नो भविष्य देख्न सकेँ।
बुवाको अभावमा आज जीवनमा धेरै जिम्मेवारीपनाको बोध भएको छ जुन कुरा मैले पहिले त्यति गहन रुपमा अनुभव समेत गर्न पाएको थिइनँ। मनुष्यको अमरत्वको मधुर आशा कुनै नामबाट सृष्टि हुँदैन, बरु उसको कर्म र देनले हुन्छ। मैले आफ्नो बुवालाई यस धर्तीबाट गुमाएँ, तर बुवाले जीवनभर सिकाउनु भएको ज्ञान, संस्कार, शिक्षा-दीक्षा आजसम्म पनि संग्रह गरेर राखेको छु।
बुवाको धार्मिक निष्ठा, उदार भावना, सद्भावपूर्ण व्यवहार, मिजासिलो स्वभाव र कल्याणकारी भूमिका नै मेरा लागि स्मरणको अस्तित्व बनेको छ। उहाँको भौतिक शरीर विलाप भए पनि उहाँको अस्तित्व गुमेको छैन। उहाँ सदा मेरो मनमस्तिष्क तथा मानसपटलमा बाँच्नु हुनेछ।
जतिबेला मसँग बुवा हुनुहुन्थ्यो, त्यस बेला मैले बुवालाई बुझिनँ। जतिबेला मैले बुवालाई बुझें, त्यति बेला उहाँ मसँग हुनुहुन्नथ्यो। तर पनि उहाँसँगको साथ अहिले गहिरो हुँदै गएको छ। अहिलेसम्मका धेरै सफलता तर्फ डोर्याउन बुवाका ज्ञान अधिक मात्रामा पथप्रदर्शक बनेका छन्। उहाँको त्याग, तपस्या, समर्पण र मायाको सदैव ऋणी रहनेछु। आजका दिनसम्म बुवासँगका क्षणहरुलाई जीवन्त राख्ने धेरै घटनाहरु मेरो स्मरणमा छछल्किरहेका छन्।
उहाँको अभाव नै मेरो आगामी दिनको समस्त शक्ति र सामर्थ्य हुनेछ। बुवा बिना जीवन कोरा कागज जस्तै छ तर उहाँको अनुपस्थितिमा हृदयको उत्कंण्ठा अझ तीव्र भएका छन् जसले मलाई मेरो बाँकीको जीवनकालमा केही राम्रो गर्न उत्प्रेरणा दिइरहन्छ।