२०६५ साल असारको महिना। त्यसैपनि रमाइलो हुने महिना हो असार। गाउँमा प्रायः सबैका रोपाई असारमै हुने भएर पनि होला म जान्ने भएदेखि नै मलाई असारसँग रमाइलो लाग्थ्यो। अझ भनौँ गृष्मयामको उजाडतामा सुन्दरता सिर्जना गर्ने सिर्जनशील महिना पनि हो असार।
यसपालीको असार मेरा लागि झनै स्वर्णिम थियो, किनकी मेरा बाआमा र मेरो लगानीको १० वर्षे प्रतिफल देखिएको असार थियो यो। मसँग कुनै खुसीको सीमा थिएन। एसएलसी (हालको एसइई) पास गर्दा, उसै त फलामे ढोका भनेर चिनिन्थ्यो एसएलसीलाई।
यति धेरै खुसीले पहिलोपल्ट बहार बसायो जिन्दगीमा। सायद आमा र बहिनी पनि म जतिकै थिए, त्यो महशुस मैले गर्नसक्थेँ। तरपनि कतिकति बेला मन खिन्न भएर आउथ्यो, कारण बा। किनकी बा हामीभन्दा टाढा कालापार (भारत) रोजगारीको सिलसिलामा हुनुहुन्थ्यो।
यति ठूलो खुसीमा बाको सहभागीता नहुँदा मन विचलित हुन पनि स्वभाविक थियो। जसकारण खुसी मनाइरहँदा पनि खुसी लुटिएजस्तो लाग्थ्यो, यो त एउटा उदारहण मात्रै हो। यस्ता सयौँ खुसीहरुमा बा कहिल्यै सामेल हुन पाउनु भएन।
हाम्रा अगाडि गरिबीको पर्खाल यसरी खुसीको बाधक बनिदिन्थ्यो हर वर्षका चाडबाडहरुमा। फरक यति हो, यसपाली एकैपटक दश वर्षे खुसीमा बाधक बनेर आयो, अरुबेला जस्तै आमा, म र बहिनी हाम्रा दिन फिर्ने कुराको कल्पना गर्दै कल्पनामै भएपनि बालाइ यो दश वर्षे खुसीको निम्ता दियौँ।
तर बाको सहभागीता पनि कल्पनामै सीमित भयो।
अहिले कहिलेकाही सम्झदा लाग्छ, उबेला अहिलेको जस्तो गाउँघरमा फोन, मोबाइल भैदेको भए, नेट चल्देको भए यस्ता कति खुसीहरुमा बा पनि भौतिक रुपमा नभएपनि हामीले बालाई दृश्यावलोकन गरेरै भएपनि चित्त बुझाउथ्यौँ होला।
अझ यो बेलामा बाको अभाव मलाई धेरै महशुस भयो। हुन त म स्वभावले पनि बाभन्दा आमा प्रति नजिक थिएँ र छु पनि, सबैको यस्तै हुन्छ होला पनि। तर मैले धेरै बाको अभाव फिल गरेको यो नै पहिलो पट्क थियो। त्यसपछिका प्रायः अधिकांश ठूला ठानिएका समस्याहरुमा बाको अभाव अलिक बेसि नै फिल गर्छु, तर सेयरिङ चाँहि आमासँग गर्छु। यसकारण पनि म बाआमा दुवैको मायाको उत्तिकै कदर गर्छ जस्तो लाग्छ।
बाको अनुपस्थितिमा म अब उच्च शिक्षामा के अध्ययन गर्ने, कहाँ गर्ने, निर्णय गर्न सकिरहेको छैन। आमासँग भनूँ त के भनूँ लाग्थ्यो। असार ९ गते नतिजा आएको असार सकिएर साउन लाग्यो तर के पढ्ने, कहाँ पढ्ने केही टुंग्याउन सकिएन।
सायद यो असार मेरा लागि पहिलो अन्योलको असार भयो। अझ भनौँ नरमाइलो असार भयो। कतिबेला लाग्छ मेरा बाले त हरेक वर्ष १२ वटा अन्योलग्रस्त असार पार गरेका छन्। मलाई किन एउटा पनि भारी भएको होला।
योभन्दा बढी सोच्न सकेन मेरो बाल मस्तिष्कले अनि सुरु भयो आमासँग पढ्नका लागि अनेकन तर्कना। मैले जति नै तर्कना गरेपनि आमाले के भन्नुहुन्थ्यो र उसै त हाम्रो पुरुष प्रधान समाज त्यसको प्रभाव मेरी आमामा पनि थियो। बाको अनुपस्थितिमा आमा प्रायः अनिर्णित नै हुनुहुन्थ्यो, सानातिना कुराहरु बाहेक।
म भने जसरी नि पढ्न पर्छ भन्ने थियो अनि आमालाई पढ्नलाई पैसा दिनु, म पढ्न जान्छु भन्थेँ। आफूसँगैका साथीहरु कोही दाङ, कोही नेपालगंज त कोही काठमाडौँ गईसकेका थिए, नभए सदरमुकाम नै भएपनि गएका थिए।
म भने आमासँग घुर्कि लगाएर बसिरहन्थेँ।
म पास हुँदाको त्यो खुसीका धर्साहरु आमाको निधार हेर्दा पनि बिलिन भएजस्तो लाग्थ्यो। सायद उहाँलाई पनि मलाई कसरी पढाउने भन्ने चिन्ता थियो। जसोतसो नजिकैको उच्च माविमा कक्षा ११ मा विज्ञान विषय पढ्न सुरु गरियो। त्यति सहज नहुँदो रहेछ आफ्नो इच्छाविपरित चल्न पनि, नचली पनि सुख थिएन।
मेरो इच्छा र पढाइको तालमेल मिलेन। हुनत मजस्ता त्यहाँ सयौँका संख्यामा थिए तर मलाई त्यतिबेला मेरै समस्या ठूलो लाग्यो। गरिबले चाहाना मात्रै गरेर नहुने रहेछ भन्ने त्यतिबेलै हो मैले थाहा पाएको।
बेलाबेला बा समझन्थेँ। बा घरमा आएको भए सायद मैले चाहेकै विषय पढ्न पाउथेँ होला? मनि सहर जान पाउथेँ होला। फेरि बालाई पनि खबर नै नगरेको हैन, चिठी लेखेर मेरो सबै इच्छासहित पठाकै हो। बाले चिठीको जवाफ नै फर्काउनु भएन?
मेरो समस्यालाई गम्भीरताका साथ नलिएका होलान् त बाले? यस्तै-यस्तै सोचहरुले बारम्बार मनमा तरंग पैदा गर्थेँ। फेरि लाग्थ्यो बासँग चिठी पुगेनकी? नत्र त बाले मोबाइल पनि किन्दिन्छु भन्नु भाथ्यो, एसएलसी पास भए त।
यसो भन्ने मान्छेले चिठी पुगेत खबर गर्नुपर्ने। अब यसै चल्छ भनेर चित्त बुझाउन सुरु गरियो भनिन्छ निधारमा भावीले छैठींको दिनमा जे लेखिदियो त्यहीं भोग्नपर्छ भनेर। सोही बमोजिम आफूलाई ढाल्न सुरु गरेँ। बालाई म पास भएको खबरसहितको चिठी भदौको २७ मा पुगेछ। अनि बाको रिप्लाई सहितको चिठी दशैँको घटस्थास्पनाको दिन घर आइपुग्यो झण्डै अढाइ महिनामा हाम्रो दुईतर्फि सम्पर्क त भयो।
तर यसपाली पनि बा दशैँ र तिहारमा पनि घर नआउने खबर पठाउनु भएको रहेछ। आमा, बहिनी र म साह्रै खिन्न भयौँ। मलाई लाग्यो बा यसपालीको दशैँ र तिहारमा आको भए हुने नि? हाम्रो खुसीको मतलब छैन बालाई? मात्र पैसासँग छ तर हाम्रै लागि रहेछ। बाले पैसा कमाउने पनि भन्ने पछि थाहा पाएँ।
आजभोलि कहिलेकाही आमाले भन्नुहुन्छ, म सानोमा ७/८ वर्ष हुँदा 'आमा-बाले दशैँ तिहार मान्दैनन है?' भनेर प्रश्न गर्थे रे! सायद बा हर दशैँ तिहारमा हाम्रा लागि कालापार बस्नुहुन्च भन्ने म बुझ्दिनथेँ। यो वर्ष पनि बा झण्डै एक वर्षमा कालापार (भारत) बाट घर आउनु भयो, कान्छिमाईतेर (फागुन १ गते) मान्नलाई।
मेरो मानसिकताले बाको दुख देखेपनि त्यति महशुस गर्थेन सायद। बालाई देखेपछि किन-किन बाले मोबाइल किन्दिन्छु भनेको चित्र मस्तिष्कमा घुम्थ्यो। उसो त मोबाइल भएपनि नेटवर्कले काम गर्थेन हाम्रो गाउँमा त्यतिबेला, खै किन मलाई भने मोबाइलको हुटहुटिले छोडेन।
वर्ष २०६६ वैशाख १ गते नयाँ वर्षमा बाले भनेको कुरा नसम्झाको पनि हैन तर बाले खासै वास्ता नगरेजस्तो लाग्यो। अब के गर्ने बाले आफैले भनेको सर्त किन बिर्सनुभयो भनेर आमासँग कुरा पनि गरियो, आमाले बालाई पनि भन्नु भएकै हो तर आमाले मेरा लागि औपचारिकता मात्रै निभाउनु भको रहेछ।
किनकी आमालाई बाको विवशता थाहा थियो, सायद मेरो अज्ञानता बुझाउन खोज्नुहुन्थ्यो बा-आमा मलाई। कुनै उपाय नलागेपछि कक्षा ११ को परीक्षा दिएर म बासँगै कालापार जान्छु भनेर अड्डि कसेँ। सुरुमा त हुँदैन-हुँदैन भन्नु भो। तर मेरो जिद्धिको अगाडि बा-आमाको केही लागेन। विसं २०६६ जेठ २३ गते कालापार जान लागियो बुवा सँगसँगै।
आमा भने आँखाभरि टिलपिल आँसु पारिरहनु भएको थियो सायद आमालाई चिन्ता थियो कि म पनि बाजस्तै बन्छु। थप खुसी यसकारण गुमाउन चाहानु हुन्थेन आमा। वर्षौदेखिका खुसीहरु फर्काउने आश थियो आमाको ममाथि। तर बा-आमाको विवशतासँग जुध्नु बाहेक विकल्प थिएन।
मैले धेरै कुराको पहिलोपल्ट अनुभव गरेँ त्यो बेला। पहिलोपल्ट मेरा लागि आमाको आँखामा आँसु, पहिलोपल्ट जिल्ला छोड्नु, पहिलोपल्ट गाडीको यात्रा, पहिलोपल्ट विदेशयात्रा तर यी सब मेरा लागि फिक्का भैदिए मोबाइलका कारण।
अनेकन तर्क गर्दै गर्दा मनमा त्यतिबेला अनयासै खिन्नता छायो जब नेपाल भारतको बोर्डर क्रस गरियो सबैमा एकखालको सन्नटा थियो, जति सन्नटा कसैलाई थिएन घर छाड्दा। मलाई यहि घटनाले हो पहिलोपल्ट देशप्रेम जागेको। झन् मेरा लागि सबै चिज नौला थिए- मान्छे नौला, स्थान, भाषा भेष, हुँदाहुँदा प्रकृति समेत नयाँ लाग्यो।
भारतको सिमाना छोएपछिको झण्डै ४८ घण्टाको बस यात्रापछि गन्तव्य पुगियो जहाँ मेरो मोबाइल किन्ने सपना थियो। भारतको हिमाचल प्रदेश, नेपालको भन्दा कठिन भौगोलिक अवस्था तर विकास हेर्दा लाग्थ्यो। नेपाल १०० वर्ष पछाडि छ अझैँ।
त्यहाँ पुगिसकेपछि काम सुरु गरियो सुरुको १ महिना त सहजै बित्यो किनकी कोदालो खन्ने, घाँस काट्ने यस्तै काम गरियो। यस्ता काममा त्यति भार पर्दो रहेनछ, टाउकोमा बोक्दा जस्तो। स्याउ थुर्पै फल्दोरहेछ त्यहाँ। स्याउको सिजन साउन महिनाको ८/९ गते यानकि जुलाई अन्तिमबाट सुरु हुने रहेछ। त्यसपछि पो थाहा भयो कालापार किन भनिदो रहेछ।
एकजना हामीसँगैको दाइले भन्थे- काललाई जितेर आएकोले कालापार भनेको रे! मतलब मृत्यु जितेर नेपाल फर्केको। हाम्रो ग्रुपमा जम्मा ६ जना थियौँ, त्यसमा पनि मेरो बा अलि सबैभन्दा जेठो र त्यहाँको जिम्दार (मालिक) हरुसँग राम्रो सम्बन्ध भएकाले उहाँले सबैलाई काम गर्न प्रेरित गर्नुहुन्थ्यो।
बिहान ३ बजे उठाउनु हुन्थ्यो। साँझ झण्डै ८/९ बजेसम्म स्याउका पेटि बोक्नुपर्ने, कहिलेकाही त रातको ११/१२ पनि बज्थ्यो।
स्याउका पेटि बोक्न सुरू गरेको करिब एक हप्तामै मेरो खुट्टाको छाला उत्रिएर हिड्न नसक्ने भए। तर कसैलाई भनिनँ। यतिबेलासम्म मैले मोबाइल बिर्सिसकेको थिएँ बरु बाले भोगेको पीडा फिल गर्न सक्थेँ जसले मलाई जिन्दगीको अर्थ महशुस गराउथ्यो।
जबरजस्त हिँडिरहे किनकी मलाई मेरो खुट्टाको छाला उत्रिएको भन्दा मेरा बाको चिन्ता लाग्थ्यो। 'बा हरेक वर्ष यसरी गधाजतिकै जीवन कसरी काट्छन होला!' झण्डै २५ केजीका स्याउका पेटि, त्यो पनि ३/३ वटा बोक्दा करिब २ हप्तामा मेरो ढाडको छाला पनि उत्रियो अनि त्यतिबेला पनि म आफ्नो छाला उत्रेको भन्दा बाको परिकल्पना गर्न थाल्थेँ र चोटहरलाई सामान्यीकरण गर्दै १ महिना सकियो।
त्यसपछि बालाई के लाग्यो कुन्नी 'तँ अब घर जा' भन्नुभो मलाई। मैले सँगै जाउला अब भनेँ तर बाले मान्नु भएन, र भन्नुभयो- अब पनि यस्तै अटेरी गरिस् भने मेरोजस्तै टाउको छाला पनि उत्रन्छ। बाले पहिलो पटक मसँग आफ्नो पीडा पोखेझैँ लाग्यो।
बालाई त के, सँगैका ६ जनामध्ये कसैलाई मैले मेरो ढाड र खुट्टाको छाला गयो भनेर भनेको छैन तर बालाई कसरी थाहा भो म अच्चमित भएँ। पछि पो था पाएँ, यो नियति यहाँ कामका लागि आउने सबै नेपालीले भोग्छन्।
बाले मलाई मोबाइल पनि ल्याईदिइसक्नु भएछ, सायद बालाई मोबाइल नभए यो घर जान्न कि भन्ने चिन्ता थियो। अनि मैले बालाई भनेँ 'दुई बाबु छोरा नै जाम उसो भए।' यो भन्दा भन्नुभो 'मेरो जिन्दगी त यसरी नै गयो र जान्छ पनि, तँ जा। तेरो लागि मैले साँचेका सपना पूरा गर्न लाग्! धेरै जिद्धि नगर्।'
अनि मैले भारी मन बनाउदै हुन्छ भने। त्यसको दुई दिनपछि नेपाल फर्कने कुरा भयो। बालाई त्यहीँ छोडेर फर्कन मन त छैन तर के गर्नु, बाले मान्नु पनि त हुन्न। यति पीडा त म घर छोड्दै गर्दा आमाको आँखामा आँसु देख्दा पनि भएन। फेरि नेपाल फर्कनेबेला बा रुनु पनि भएन। त्यो देश आफ्नो पनि थिएन तर पनि मेरो आँखाबाट आँसु आयो।
बालाई केही भन्न सकिनँ र गाडी चढेँ। आँखाले देख्नेबेलासम्म बाले मलाई हेरिरहनु भयो।