कुशे औँशी अर्थात् जीवन मार्गदर्शकलाई श्रद्धापूर्वक नमन गर्ने दिन। जसले आफ्नो सपना छाडी सन्ततीको सपना पूरा गर्ने संकल्प सहित दृढ रहन्छ, त्यस्ता महान् पुरुषका लागि जीवनभरको श्रद्धा सम्मान पनि अपुरो हुन्छ। अधुरो हुन्छ। तैपनि त्यो विशेष दिन, बाबाका लागि।
ठ्याक्कै दुई वर्षअघि बुबाको मुख हेर्ने दिन बिहान ६ बजे मेरो ढोकामा आएको ढकढक आवाजले ब्यूँझाइदियो। ढोका बाहिर उभिएको भाइले त्यस दिनको लागि हामीले बनाएको योजना मस्तिष्कको आसपास ल्याईपुर्याइ दियो।
सदाझैँ बाबा ल्यापटपको साथमा केही कुराको अध्ययनमै तल्लीन हुनुहुन्थ्यो। भाइ, बहिनी अनि म, तीनै जनाले एकै स्वरमा ‘ह्याप्पी फादर्स डे’ भनेर उपहार दियौँ। आफूसँग सञ्चित रुपँयाबाट बुबाका लागि ल्याएको दौरा-सुरुवाल, मैले उहाँलाई दिन सक्ने सबैभन्दा महंगो उपहार थियो त्यस दिन। तर, मैले कल्पना गरे जति खुसी हुनु भएन बाबा।
‘आहो, ल धन्यवाद’ बाबाको प्रतिकृया यतिमात्रै थियो।
अलि अप्ठ्यारो माने जस्तो गरेर सोधेँ- ‘बाबा, राम्रो लागेन र?’
जवाफ दिनुभयो- ‘मलाई यस्तोभन्दा पनि अर्कै किसिमको उपहार राम्रो लाग्छ।’
मनमा प्रश्नहरु तछाडमछाड गरिरहेका थिए। यत्तिकैमा मैले सोधेँ- ‘कस्तो उपहार?’
अकल्पनिय जवाफ निस्कियो- ‘तिम्रो शाखा अधिकृतको नियुक्ति पत्र।’ सरकारी जागिर खानुपर्छ भनेको त पटक-पटक सुनिराख्थेँ तर खासै महत्व दिएको रहेनछु। त्यस दिन त्यस्तो अचम्मको उपहारको बारेमा सुन्दा, म निशब्द भएँ, मौन नै बसेँ।
मेरो ध्यान भने बाबाको रसाएका आँखातिर गएछन्। अरु केही कुराले पनि हत्तपत्त फरक नपर्ने बाबालाई छोराछोरीको विषयले कत्ति चाढैँ भावुक बनाउँदो रहेछ। केही खास क्षणसँग जोडिएका बाल्यकालका अविस्मरणीय सम्झनाहरु अझै पनि ताजै छन्।
काठमाडौँ उपत्यकाकै एक गाउँमा जन्मिएकी हुर्किएकी भएपनि कता-कता छोरी र छोराबीच भिन्नता छरछिमेकमा देखेकी थिएँ। दिदीबहिनीहरु कहिलेकाहीँ गट्टा, चुग्गी खेल्थेँ र धेरैजसो घरकै काममा आमालाई सघाउन व्यस्थ हुन्थेँ भने दाजुभाइहरु चाहिँ खेल्नमै।
‘ममी केही सहयोग गरौँ?’ भन्ने मेरो प्रश्नमा जवाफ सदैव एउटै रहन्थ्यो, ‘पर्दैन, जाउ खेल्न।’
एकदिन खेल्दै गर्दा मेरै उमेरको एउटा भाइले उसको बाबाले केही दिनमा नयाँ साइकल किनिदिने कुरा सुनायो। मैले पनि घर आएपछि बाबालाई भनेँ- ‘बाबा म पनि साइकल चढ्छु।’
केही दिनपछि त्यो भाइको र मेरो साइकलसँगै आयो। सन्तानबीचको समान दृष्टिकोणको अनुभूतिले प्रकृतिको सिर्जनालाई निर्धो र बलियोको संज्ञा दिँदै सिर्जित लैगिंक विभेद विरोधी आवाजहरु मेरा मनसपटलमा एकत्रित हुनै गएका थिए।
अलि ठूलो भएपछि वरपर छोरा मान्छेले खेतमा कोदालो चलाएको, काम गरेको देख्थेँ। छोरीहरु घरमा खाना बनाउने, खेतमा खाजा पुर्याउने गर्थे। तर, म अलि फरक वातावरणमा हुर्किएको थिएँ।
कहिलेकाहीँ बाबाले भन्ने गर्नुहुन्थ्यो, ‘ल छोरो हिँड, खेतमा काम गर्न सिक्नुपर्छू। परीक्षा नजिकिएको बेला, स्कुल-कलेज भएको बेला कहिले पनि काम गर्न दिनुहुन्न थियो। हरेक आवश्यकता परिपूर्ति र मेहेनतपूर्वक अध्ययनबीच एक प्रकारको सम्झौता जस्तै थियो हामी माझ।
घरको जेठो सन्तान हुँ। सधैँ यस घरको उत्तराधिकारी महशुस गरेकी छु। भाइ जन्मिदा बाबा एकमन खुसी हुनुभयो, अर्को मन कतै छोरीहरुलाई नराम्रो त लागेन भनेर अलमल पर्नुभएको थियो। हाम्रो खुसीका लागि बाबा सधैँ सजग रहनुहुन्छ।
खेलकुदमा धेरै रुची राख्ने भएपनि खेल्ने क्रममा म स-साना चोट लाग्दा आत्तिन्थेँ। ‘तिमीहरु जस्तो उमेरमा त्यस्तो घाँउ त कति हुन्थ्यो कति, यस्ता दुखाइलाई सफलताको सिढीँको रुपमा परिणत गर्नुपर्छ’ जस्ता शब्दहरुले सधैँ हौसला र थप उर्जा दिन्थ्यो। तिमी छोरी हौ, यो काम गर्न सक्दिनौ भनेको कहिले पनि सुनेकी छैन। त्यसैले होला आजको दिनसम्म सबै कार्य आफ्नो क्षमताभित्रै छन् जस्तो लाग्छ।
स्नातक पश्चात बाबाको सुझाव अनुसार लोकसेवाको तयारी तर्फ केन्द्रित हुँदै गएँ। मेरो माग बिना नै अध्ययनको प्रशस्त अवसरहरु सिर्जना भइरहे। अध्ययनका लागि आवश्यक किताब, डक्युमेन्ट, पत्रपत्रिका तथा जुनसुकै सामाग्री जुटाइदिनु हुन्थ्यो। लेखाइको सुरुआती चरणहरुमा मैले कालो कलमले लेखेभन्दा पनि सच्याइएका राता अक्षरहरु धेरै हुन्थे उत्तरपुस्तीकामा।
धेरै प्रयासपछि, सायद उत्तरको सेट बुझाएको अन्तिम दिन थियो, बाबाले जाँच गर्दै गर्दा उहाँको अनुहारमा मेरो सफलताको झलक त्यस दिन नै देखेँ। मेरो लागि लोकसेवा मैले त्यही दिन पास गरेको थिएँ। खास परीक्षा हलमै दिएको वास्तविक लोकसेवाको परीक्षा त्यती ठूलो लागेन। सायद यस्तै परीक्षा कयौँ पटक घरमै दिएको भएर होला।
समयसँगै लिखित परीक्षाको नतिजा हाम्रै पक्षमा आयो। अपरिचित मानिसको सामुन्ने निर्धक्क प्रस्तुत हुन हिचकिचाउने म मौखिक परीक्षाको अभ्यासका क्रममा प्राप्त बाबाको प्रेरणाले कसैको सामुन्ने जवाफ विहीन हुन्न भन्ने आत्मविश्वास बढ्दै गयो। मेरा लागि बाबा र सफलता सधैँ पर्यायको रुपमा रहनु भयो।
गत वर्षको बुबाको मुख हेर्ने दिनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शाखा अधिकृतको नियुक्ति पत्र उपहार स्वरुप दिएको थिएँ। अघिल्लो पटक रसाएका बाबाका आँखा यस पटक प्रफुल्लित देखिन्थ्यो। त्यस क्षणमा जति खुसी बाबालाई सायद कहिले पनि देखेको थिइनँ।
आज पनि त्यो दिन र त्यस उपहारको सम्झना आउँछ, त्यो उपहार मैले बाबालाई मुख हेर्ने दिनको लागि दिएँ कि बाबाले मलाई दिनुभयो जीवनभरका लागि!