बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो। संसारको हरेक कुनामा गएर खोजेता पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुवा घरको जग हो, बुवा नै परिवारको उज्ज्यालो हो। संसारको आठौँ आश्चर्य बुवा हो, जसलाई दिन मात्र आउछ, सन्तानबाट कहिल्यै लिन आउदैन।
मेरो बुवा भन्ने गर्नुहुन्छ- जिन्दगी जीउनको लागि दुई तरिका सधैँ अपनाउनुः
१. जे भइराख्या छ हुन देउ, सहँदै जाउ, चुक्क नबोल, दबेर बस
२. र अर्को: आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने, आफ्नो जिम्मेवारी आफै उठाउ, आत्मबल दह्रो बनाउ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि।
बुवा जब खुसी हुनुहुन्छ तब आफ्नो सन्तानलाई आफ्नो काँधमा बोक्नुहुन्छ। काँधमा बसाउनुको पनि छुट्टै कारण छ। बुवा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस् जुन कुराबाट म सदैब बन्चित थिए।
हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्। बुवा हिम्मत हो, बुवा नै सन्तानको सुरक्षाकवच हो। बुवा सहारा हो, बुवा सन्तानको पहिलो मार्गदर्शन हो। मेरो बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली हो। मेरो बुवा नै मेरो परिवार हो। मेरो बुवा नै मेरो घरको जग हो।
बुवा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने। आमाको ओठको मिठो हाँसो बुवा हजुर हो। बुवा नै आमाको अभिमान हो, स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पूरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी।
बुवा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनु हुन्थ्यो। केही पुराना याद कल्पन मन लाग्यो- म फतक्कौ गल्दा हजुर मलाई आफ्नो काँधमै बोक्नुहुन्थ्यो, आफूले नदेखेका कुराहरु पनि मलाई देख्यौ? देख्यौ? भन्दै सोध्नु हुन्थ्यो।
त्यति बेला मलाई लाग्थ्यो, मेरो बुवा त मलाई कति माथिसम्म उचाल्न सक्नुहुन्छ, मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला। बुबाले दिनरात नभनी घरमाथि परिवारमाथि नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नु भयो। बुवाले आफ्ना साना भाइ बहिनीलाई सदैब माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनु भयो।
केही पाइन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिन जस्तो होइन सम्बन्ध, एकोहोरो भएपनि उमेरको अनुभव र भोगाईले आफ्नो भाइ-बहिनीलाई सुबिधा दिनुपर्छ भन्नुभयो।
मैले मेरो बुवाले गरेको मेहनत राम्रोसँग देखेकी छु। बुवा बिहानै कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लग्थे। म भ्यागुता जस्तै उफ़्रिन्थे, मेरो हातको सबै खाजा पोखिएर खाना मात्र रहन्थ्यो। मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै आफ्नो चिसो कुवाबाट बग्दै गरेको पानीले मुस्दै खानुहुन्थ्यो।
मेरो बुवाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहाँ फोरुवाले बाउसे गर्दै बस्नुहुन्थ्यो। त्यो फोरुवाले बुवाको हातमा फोकै-फोका हुँदा पनि त्यही फोरुवाको बिडले नै बुवाको फोका फुटाउथ्यो। हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो। त्यसैले त आज हामीले हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौँ। जति नै दुख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुवा। हजुरको न कुनै दराज छ, न कुनै मदुस। यति धेरै दु:ख हजुर कहाँ लुकाएर राख्नु हुन्छ?
दुखेको त्यो खुट्टाले सकी-नसकी झिजै-झिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनु भयो। तरकारी राम्रो होस् भनि डोकाकै डोका मल खन्याउनु भयो, त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरी विभिन्न फलफूल फुलेका छन् नि है बुवा?
मेरो सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियाँसँग कति झुक्नु भयो होला है? तर आज हजुरकै सन्तानले महेनत नै नगरी भाग्यलाई दोष दिदैँ बस्दा हजुरको सपना त बन्द सटर भित्र खापिदै खापिदै ढुसी लाग्दौ गुम्सेको पो रहेछ।
बुवा हजुर बजार जानहुन्थ्यो तर कैयौँ दिनको पसिनाको कमाइले आमालाई सारी ल्याइदिने सपना राख्नु हुन्थ्यो। बुवा हजुरको खल्तीमा पैसा नहुँदा पनि त्यही सारी हेर्दै जाने, हेर्दै आउने गर्नुहुन्थ्यो। कामदेखि घरमा आउन एकमुष्ट पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसी छर्नको लागि किन्देको त्यो सारी हेर्दा मलाई लाग्छ मेरो बुवासँग टन्नै पैसा छ।
त्यो सारी त्यति बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्को सारी फेरौ न भनेर बुवालाई कहिल्यै भन्नै सक्नु भएन। म अझै दोधारमै छु, आमाको सारी निकै बाक्लो थियो? या बुवाको खल्ती पातलो? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन?
हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन्। बुवाले बारम्बार झक्झकाउने पनि गर्नु भएको छ। आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्नु पर्दछ भनी, बुवा आमाको आशमा कहिल्यै नबस्नु। जति नै हुनेखाने भएपनि माइतीको धाक नलगाउनु, माइतीको सम्पत्ति भनेको मुतको न्यानो मात्र हो।