बा ! मैले गाएका र गाउन बाँकी सबै धुन तपाईंको नाममा।
बा! यतिखेर मसँग मनमा अटेसमटेस भाव छन्। तर, सही शब्द चयन गर्न सकिरहेको छैन। म लेखक त होइन। तर, आफ्ना केही शब्द पोखाएर मनभित्रको दुःखको पहाड एक छिन बिसाउन चाहन्छु।
सधैं अगाडि नै हेर्छु तर बेलाबेला तपाईंका गाढा तस्बिरले मलाई विचलित बनाउन खोज्छ। तपाईंले कसैको नराम्रो गर्नुभएजस्तो लाग्दैन। तपाईं नेपाली कांग्रेसमा आस्था राख्नुहुन्थ्यो। कांग्रेस भएकै कारण मारिनुभयो। तपाईंको हत्या भएको १९ वर्ष भएछ। हामी चार छोराछोरीलाई टुहुरो बनाउने त्यो घटनाको यति लामो समयपछि पनि ती दृश्यहरू हिजैका झैं लाग्छन्।
तपाईंलाई परिवारका सदस्यहरूबीच आफनै घर–आँगनबाट ‘राता मानिस’ हरूले लगेका थिए। हतियारधारी ती डरलाग्दा मान्छेहरूले भनेका थिए- ‘एक छिन कुरा गर्नु छ । हामी फर्काइदिइहाल्छौं।’
हामी रोइकराई गर्दै पछि–पछि गएका थियौं, अँधेरी खोलासम्म।
हेर्दाहेर्दै ती मानिसहरूले तपाईंलाई पारि नुवाकोटतिर लगेका थिए।
आँखाले देखुन्जेल हामीले हेरिरह्यौं। तपाईंलाई पुल नकटाउन्जेल हाम्रो आलाप–बिलापले डाँडा भन्ज्याङ नै चित्कारमय भएको थियो।
झम्के साँझमा हामी केटाकेटीलाई लिएर अगाडि बढ्ने साहस आमासँग पनि थिएन सायद। हामी त उसै केटाकेटी थियौं नै।
के गर्ने/के नगर्नेको दोधारमा हामी फर्किन बाध्य भयौं। तर आशा भने बलियो थियो– भोलि उज्यालो हुनेछ र तपाईं सकुशल फर्किनु हुनेछ।
अहिलेसम्मकै अनिदो र लामो रात थियो, त्यो। अत्यासलाग्दो पर्खाइपछि बिहान भयो। अनि आमा र म तपाईंलाई खोज्न निस्कियौं।
पुलपारि पुग्दा एक जना व्यक्तिले भन्यो– ‘कता जान लागेको ?’
हामीले आफ्नो उद्देश्य भन्यौं।
फेरि यसले थप्यो– ‘को मान्छे होला, म त खबर भन्न आको। यस्सो अनुहार हेर्दा उतैको मान्छेजस्तै लागेको। तर, राम्ररी हेर्न सकिँदैन ।’
हामीलाई झन् डर र शंका पैदा हुन थाल्यो। आत्तिएर अगाडि बढ्यौं।
घटनास्थल पुग्दा तपाईंको अवस्था क्षतविक्षत थियो, बा। झुलुक्क देख्दा म अवाक् भएँ। तपाईंको वीभत्स शव देखेर मेरो मानसिकता खलबलिन्छ भनेर होला, मलाई हेर्न रोकियो। आमा बेहोस् हुनुभयो। त्यस बेलाका घटनावली लिपिबद्ध गर्न म असमर्थ छु, बा।
यत्ति थाहा छ– त्यसपछि हाम्रा शब्द र वाक्यहरू अशक्त हुँदै गए। हाम्रो बीचमा अजंगको मौनता आएर बस्यो।
मेरो कलिलो दिमागले खिचेको त्यो भयानक चित्र अझै आलै छ, ताजै छ। त्यो चाहेर पनि कहिल्यै भुल्न सक्दिनँ, सायद।
बा! आजभोलि ती राता मान्छेहरू मुकुन्डो धारण गरेर यत्रतत्र सर्वत्र निस्फिक्री हिँडिरहेका छन्, चैनका साथ।
तर, इतिहासले हिसाबकिताब गर्ला नै। आज बुवाको मुख हेर्ने दिन धेरै मान्छेहरू आ–आफ्नो बासँग दुःख–सुख साट्दै होलान् तर म भने खाडीको चर्को घाममा केबल तपाईंको सम्झनामात्रै बोकेर बाँचिरहेको छु।
तपाईं अरूको नजरमा कति असल कति खराब हुनुहुन्थ्यो, त्यो मलाई थाहा छैन।
म अलिअलि राम्रो–नराम्रो छुट्टाउन सक्ने भइसकेको थिएँ। मेरो नजरमा भने तपाईं विचारशील मान्छे हुनुहुन्थ्यो।
अरूको सेवा गर्नु नै हाम्रो धर्म हो भन्नुहुन्थ्यो। आफू कहिले गल्ती नगर्नु, सधैं अरू र आफैंप्रति पनि सकारात्मक सोच राख्नुपर्छ भन्नुहुन्थ्यो।
आज तपाईं हामीबीच रहनु भएको भए हाम्रो जीवन अर्कै उचाइ हुन्थ्यो होला भन्ने कल्पनाले पनि मनमा के-के भाव उर्लेर आउँछ। तपाईंको अभावमा हाम्रो शिक्षादीक्षा पनि प्रभावित भयो। परिणाम– मेरा दिदी, बहिनी र भाइ पनि विदेशी भूमिमा श्रम गर्न बाध्य छन्।
जन्मेपछि मृत्यु स्वभाविक प्रक्रिया हो। तर, तपाईंको मरण हदै दर्दनाक रहेको सम्झँदा मेरो शरीरमा हाइ भोल्टेज पीडा दगुर्छ। त्यो सम्झिन चाहन्नँ म। बिर्सेर सामान्य हुन खोज्छु तर तपाईंको यादको चस्काले व्यतित भइरहन्छु।
तपाईंको देहावसानपछि हजुरबा र हजुरआमा बिस्तारै थलिदै जानुभयो। एकमात्रै छोरोलाई त्यो हदमा गरिएको हत्याले उहाँहरू दुवैलाई निकै गलाएको थियो।
बुढेसकालको लौरी भाँचिएको दुखाइ उहाँहरूको आँखामा प्रस्टै देख्थे। र, अन्ततः उहाँहरू पनि बित्नुभयो पालैपालो। आमा पनि लामो समयदेखि बिरामी हुनुहुन्छ।
जब–जब अप्ठ्यारोमा पर्छु, तब म यहाँहरूलाई एकमुस्ट सम्झिन्छु। अनि कतै दूर क्षितिजमा हेरेर मौन संवाद गर्छु। जान–अञ्जानमा भएका गल्तीप्रति माफी माग्छु।
तपाईंका सकारात्मक कुरा र मार्ग निर्देशन सम्झेर आफ्ना नकारात्मक भावहरू पखाल्ने कोशिस गरिरहन्छु। अरूको भलो चाहन्छु। अरूलाई पनि सक्दो सहयोग गर्ने भाव मनमा आउँछ। तत्कालीन विद्रोही पक्षका लागि तपाईं एक जना भोजबहादुर गुरुङमात्रै रहनुभयो। तर, हाम्रा लागि त तपाईं धुरी हुनुहुन्थ्यो। छोटोमा भन्दा मेरा लागि तपाईं सर्वस्व हुनुहुन्थ्यो बा।
एक छिनलाई मान्यौं– देशको लागि तपाईंले देश बलिदानी भयो रे। तर प्रश्न जाग्छ–देशले अहिले झेलिरहको बेथिति बोलाउनको लागि तपाईंजस्ता बाहरूको बलि चढाइएको थियो? विडम्बनाहरूको घेराबन्दीबाट उम्किन मजस्ता लाखौं युवा विदेशी भूमिमा पसिना झार्न विवश छन्।
सोचिएको थियो– अत्यासलाग्दो हत्या–हिंसाको विश्रामपछि मुलुकको मुहार फेरिनेछ। समृद्धि र सुशासन देख्न पाउनेछौं। वर्षौं बितेर गयो। तर, मुठ्ठीभर मान्छेको पञ्जामा देशको भविष्य कैद छ।
बा! तपाईंजस्ता हजारौं नागरिकले बित्थामा ज्यान गुमाउन पर्यो, कोही माओवादीको नाममा, कोही सुराकीको आरोपमा। त्यो गलत नै थियो। एकाध दशकभित्रै नेतृत्वलाई हेर्ने हो भने सकारात्मक भाव पलाउने कुनै आधारभूमि छैन, बा।
बा! खाडीको ५० डिग्री घाममा कहिलेकाहीँ आक्रोशको आगो दन्किन्छ मनमा। र, नेतृत्वलाई चेतावनी दिन मन लाग्छ– अब पनि देशको युवाले यसरी नै दुःख पाइरहेमा एकचोटि फेरि विद्रोहको ज्वाला दन्किने छ। चेतना भया।
बा ! आज बुवाको मुख हेर्ने दिन। तपाईंलगायत देशमा रगत बगाउन बाध्य ज्ञात–अज्ञात बाहरूलाई हार्दिक श्रद्धा सुमन। अनाहकमा बगेको रगत मेरो पुस्ताको ऊर्जा बनोस्। बस यत्ति।