कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रहिरहेको र मनसुनको कारण भिषण वर्षाले अधिकांश विद्यालयहरु प्रभावित रहेका छन्। यस अवस्थामा नियमित पठनपाठन नभएसम्म शिक्षण सिकाइ सूचारु गर्न शिक्षामा सबै उमेरका मानिसहरुका लागि सिकाइ अवसर प्रदान गर्न आजको आवश्यकता हो।
यसको क्षेत्रभित्र आधरभूत, माध्यमिक, प्राविधिक, व्यवसायिक, उच्च र प्रोढ शिक्षा, आदि पर्दछन्। आपतकालीन अवस्थामा दिइने गुणस्तरीय प्रविधिमुखी शिक्षाले शारीरिक, मनोविज्ञान र वौद्धिक संरक्षण प्रदान गर्छ। जसले जीवन कायम राख्न र बचाउन मद्दत गर्छ।
शिक्षाका अवसरहरुले नियमितता, स्थायित्व, संचनाको सृदृदीकरण गर्दै भविष्य प्रति आशावादी बनाई द्वन्द, रोग र विपदबाट सिर्जित मनोसामाजिक असरहरुलाई कम पार्ने गर्दछन्। समस्या समाधान गर्ने र समस्याको सामना गर्ने सीपहरुको सवलीकरण गरेर आपतकालमा शिक्षाले सिकारुलाई जोखिमपूर्ण वातावरणमा आफू कसरी बाच्ने र अरुको हेरचाह कसरी गर्ने भन्ने बारे समूचित निर्णय गर्न सक्षम तुल्याउँदछ।
गुणस्तरीय प्रविधिमुखी शिक्षाले आपत परेको बेलामा आईपर्ने जोखिम र शोषणबाट भौतिक र मानवीय संरक्षण प्रदान गरेर जीवनलाई बचाउँछ। आपतकालमा दिईने शिक्षाले जीवनोपयोगी सीपहरु र समस्या समाधान गर्ने क्षमता प्रदान गर्नुका साथै जीवनका स्वास्थ्य, सरसफाइ र सुरक्षा लगायत आदि सम्बन्धी जानकारी प्रदान गर्दछ। महामारी रोग, द्वन्द र विपदबाट पीडित करोडौँ बालबालिकाहरु तथा युवाहरुको लागि आपतकालमा दिइने गुणस्तरीय प्रविधिमुखी शिक्षाले विषेश महत्त्वपूर्ण अर्थ रहन्छ।
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा शिक्षाको आवश्यकताः
- शिक्षा प्रतेक व्यक्तिको अधिकार हो। नेपालको वर्तमान संविधान, नीति तथा कार्यक्रमहरुले शिक्षालाई अधिकारकारुपमा सुनिश्चित गरेको छ।
- आपतकालीन अवस्थामा शिक्षा नाजुक हुन्छ। जब विद्यार्थी, शिक्षक र सहजकर्ताहरु शिक्षण सिकाइबाट बञ्चित हुन्छन् तब तिनीहरुको राम्रो भविष्यको आशा पनि सकिन्छ।
- आपतकालीन र सङ्कटपरेको बेलामा शिक्षाले शारीरिक, मनोसामाजिक र बौद्धिक सुरक्षा प्रदान गरी जीवन यापन गर्नमा मद्दत पुर्याउँदछ।
- रोग, द्वन्द र विपद परेको अवस्थामा शिक्षाले खास गरी प्रभावित बालबालिका, किशोर-किशोरीहरु र युवाहरुलाई सिकाइका लागि सुरक्षित स्थान उपलब्ध गराई पहिचानको लागि समेत सहयोग पुर्याएर जीवनयापन गर्न मद्दत गर्छ।
- रोग, द्वन्द र विपद परेको बेलामा शिक्षाले मनोसामाजिक असरलाई सहज बनाउँदै सामन्य अवस्थामा फर्काउन र भविष्यप्रतिको आशा जगाउँदै स्थायित्व प्रदान गर्न तथा भविष्यमा हुने आर्थिक स्थायित्वको लागि महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।
- शिक्षाले आपतकालमा बाच्न चाह्ने समान्य सरसफाइ र स्वास्थ्य सम्बन्धित ज्ञान तथा सीपहरु प्रदान गर्दछ जुन कुरा आपतकालमा एकदमै महत्त्वपूर्ण हुन्छ। शिक्षाले प्रभावित बालबालिकाहरुलाई दुर्ब्यव्यवार, यौन तथा लैङ्गिक हिंसा लगायतका शोषण हुनबाट जोगाई जीवन रक्षा गर्दछ।
- शिक्षा निरन्तर चल्ने एउटा प्रक्रिया हो जो रोग, द्वन्द र आपत विपद परेको बेलामा पनि अवरुद्ध हुनुहुन्न। यैही शिक्षाको माध्यमबाट दिगो विकास, शान्ति, उन्नति र प्रगतीको परिकल्पना गर्न सकिन्छ।
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षाका आधारभूत मापदण्डहरुः
पहुँच तथा सिकाइ वातावरण
- समान पहुँच
- सिकाइ वातावरण
- सुविधा र सेवाहरु
शिक्षण तथा सिकाइ
- पाठ्यक्रम
- तालिम, व्यावसायिक विकास तथा सहयोग
- शिक्षण र सिकाइ प्रकृयाहरु(वैकल्पिक पद्धतिबाट हुने सिकाइ प्रकृयासमेत)
- सिकाइ उपल्पब्धीको मुल्याँङ्कन
अभिभावक, सहजकर्ता, शिक्षक तथा अन्य शिक्षाकर्मी
* अभिलेखीकरण, तथ्याँङ्क सङ्कलन, भर्ना र छनौट
* काम गर्ने सर्तहरु
- सहयोग र सुपरीवेक्षण
शिक्षा नीति
- कानुन तथा नीति निर्माण
- योजना तथा कार्यान्वयन
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षाका लागि भएमा प्रयासहरु
(नीतिगत व्यवस्था)
- दैवी प्रकोप(उद्धार) ऐन, २-३९
- संक्रामक रोग ऐन, २-२-
- खोप ऐन, २-७२
- बालबालिका सम्बन्धी ऐन, २-७५
- बाल श्रम(निषेध र नियमित गर्ने ऐन, २-५६
- स्वास्थय बीमा ऐन, २-७४
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २-६४
- विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिक कार्ययोजना(२-७५)
- विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका (२-६४)
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन (२-७४)
- स्थानीय सरकार सञ्चालन ऐन (२-७४)
- विद्यालय क्षेत्र विकास योजना (२-७३/७४-२-७९/८-)
- नेपालको संविधान (२-७२)
* बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति (२-६८)
- आवधिक योजनाहरु
- जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २-६९
- बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २-७५
- स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २-६८
- वैकल्पिक पद्धतिको माध्यमद्वरा शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २-७७
(संस्थागत व्यवस्था)
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
- पाठ्यक्रम विकास केन्द्र
- मन्त्रालयको केन्द्रीय परियोजना कार्यान्वयन इकाई
- प्रदेश तहको सामाजिक विकास मन्त्रालयहरु
- शैक्षिक तालिम केन्द्रहरु
- शिक्षा विकास निर्देशनालयहरु
- शिक्षा तथा समन्वय इकाईहरु (७७ वटै)
- स्थानीय तहहरु (७५३ वटै)
- विद्यालयहरु
- सामाजिक संघसंस्थाहरु
- शिक्षासँग सम्बन्धित विपद् जोखिम न्यूनीकरण समितिहरु, आदि।
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षा व्यवस्थापनमा अभिभावकलाई दिनुपर्ने मनोसामाजिक सहयोगः
- सहजकर्ता, शिक्षकले अभिभावकहरुसँग प्रत्यक्ष भेटी बालबालिकाहरुको बारेमा बुझ्नुपर्दछ।
- अभिभावकहरुको पीडा, व्यथा, आर्थिक अवस्था, प्राविधिक क्षमता र भावनालाई सन्ने कदर गर्ने काम गर्नुपर्दछ।
- हरेक अभिभावकहरुको वर्तमान अवस्था, समस्या र आवश्यकता पहिचान एवम् मनन गरी आफ्नो ठाउँबाट गर्न सक्ने सहयोगको पूर्वतयारी गर्ने।
- रोग, द्वन्द र विपदबाट बालबालिकाहरुमा पर्न सक्ने शारीरिक, मानसिक र मनोविज्ञानिक असरको स्थितिलाई प्रष्ट पार्दै आवश्यक सहयोग गर्ने।
- रोग, द्वन्द र विपदबाट परेको आपतकालीन अवस्थामा के कस्ता किसिमका पठनपाठन र मनोसमाजिक सहयोगका क्रियाकलाप गर्न लागेको र त्यसबाट बालबालिकाहरुलाई पुर्याउने फाइदाको बारेमा स्पष्ट पार्ने।
- बालबालिकाहरुको समस्याको बारेमा अभिभावकहरुसँग सोध्ने र पछि पनि निरन्तर भेटघाट गरी छलफल गरिरहनु पर्ने छ।
- रोग, द्वन्द र विपदको समयमा बालबालिकाहरुको मनलाई शान्त राख्न निम्न कार्यहरु गर्न सुझाव दिने।
१. ध्यान
२. योग
३. चित्र कोर्ने र रङ भर्ने
४. खेलहरु
५. बालगीत, कविताहरु सिर्जना गर्न लगाउने
६. कथा, निबन्ध, प्रबन्ध र विभिन्न चिठीहरु लेख्न लगाउने
७. नाटक तथा अभिनय
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षा व्यवस्थापनमा विद्यालयको भूमिकाः
१. रोग, द्वन्द र विपदबाट परेको असरलाई न्यूनीकरण गर्न आपतकालीन समयमा उपयोग गर्न सक्ने गरी विपद व्यवस्थापन कोषको स्थापना गर्ने।
२. विद्यालयलाई अस्थायी आश्रयस्थलका रुपमा उपयोग गर्न नसके अस्थायी सिकाइ केन्द्रहरु समुदायको खुल्ला र सुरक्षित स्थानमा स्थापना गर्न स्थानीय सरकारसँग सहयोग माग्ने।
३. प्रकोपअनुरुप विशिष्ट कार्यविधि तयार गर्ने र विद्यालयमा सबैले देख्ने स्थानमा राख्ने।
४. विपद समयका लागि प्रहरी स्वास्थ्य सेवा प्रदायक रेडक्रस सोसाइटी र अन्य सहयोगी संस्थाहरुको नाम, ठेगाना र सम्पर्क विवरणसहितको सूची तयार गर्ने।
५. विद्यालयले प्रत्येक विद्यार्थी, तिनको अभिभावकको सम्पर्क विवरण वा फोन नम्बर सहितको सूची तयार र अद्यावधि गर्ने।
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षा व्यवस्थापन सम्बन्धी समस्याहरुः
* शिक्षासँग सम्बन्धीत परेको विपद पूर्वतयारी, रोकथाम, अल्पीकरण, सिकाइ व्यवस्थापन र सिकाइ मुल्याँङ्कनका लागि दीर्घकालीन नीति नहुनु।
* शिक्षासँग सम्बन्धीत परेको विपदबाट सामाजिक, आर्थिक विकासमा परेको प्रभावका बारेमा गहिरो अध्ययन अनुसन्धान कार्य नहुनु।
* रोग, द्वन्द र विपद जोखिम न्यूनीकरणका किर्याकलापहरु धेरै निकायहरुमा छरिनु जसले गर्दा काम कारवाहीमा समन्वय हन नसक्नु।
* रोग, द्वन्द र विपद जोखिम न्यूनीकरणलाई संघीय, प्रदेश र स्थानीय विकास योजनामा मूलप्रवाहीकरण गर्दै, गुणस्तरीय प्रविधिमूखि प्रयाप्त बजेट नहुनु।
* रोग, द्वन्द र विपद जोखिम व्यवस्थापनका चक्रका सबै पक्षलाई समेट्ने कानुनी व्यवस्था नहुनु।
* प्रयाप्त शिक्षा र जनचेतना र पूर्वचेतावनी दिने आधुनिक प्रणालीको अभाव हुनु।
* विगतको रोग, द्वन्द र विपद घट्नाबाट अनुभव र शिक्षा (लेसन लर्न्ट) लिई भविष्यमा आउने रोग, द्वन्द र विपदका समयमा प्रयोग नगरिनु।
* संघीय, प्रदेश, स्थानीय र विद्यालय बिच अत्याधिक समन्वय साझेदारी र सहयोग नरहनु।
* रोग, द्वन्द र विपदको सामना गर्न स्रोत साधन र गुणस्तरिय प्रविधिको अभाव, क्षतिग्रस्त हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गर्न नसक्नु।
* रोग, द्वन्द र विपद परेको बेलामा विद्यार्थीमैत्री र सहभागीतामूलक सिकाइ वातावरण सिर्जना गर्न नसकेमा लैङ्गिक हिंसा, यौनजन्य अपराधिक कार्यहरु, बेमेल, द्वन्द, कुटपिट, झैझगडा, डाह, रिस, इर्ष्या, चोरी, डकैती जस्ता विकृतिहरु बढ्ने सम्भावना हुन्छ।
* आपत विपद परेको बेलामा गुणस्तरिय आपतकालीन शिक्षा दिन नसकेमा विद्यार्थीहरु फुर्सदिला भई कुलत, कुसंस्कार, कुबाटो, कुकार्य गर्न तर्फ अग्रसर हुने सम्भावना बढ्न थाल्छ।
* विद्यार्थीहरु बीच हुने खिसीट्युरी र एकअर्का माथि हुन सक्ने हिंसाबाट विद्यालयलाई शून्य सहनशीलता कायम गर्न कठीन हुन सक्छ।
महामारी रोग, द्वन्द र आपत विपद परेको बेलामा दिइने शिक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरुः
१. रोग, द्वन्द र विपदसँग सम्बन्धीत नयाँ समय सापेक्ष विपद व्यवस्थापन ऐनको तर्जुमा र सोको प्रभावकारी कार्यान्वयन।
२. प्रयाप्त स्रोत साधनको व्यवस्था र अस्थायी गुणस्तरिय सुरक्षित सिकाइ केन्द्रहरुको स्थापना।
३. प्रतिकार्यमा शैक्षिक प्रभावकारीताका लागि प्रचलित ऐन नियममा सरलीकरण।
४. विपद सम्बद्ध निकाय एवम् ती निकायमा कार्यरत जनशक्तिको क्षमता विकास।
५. रोग, द्वन्द र विपदका समयमा प्राप्त हुने मानवीय सहायतालाई एकीकृत रुपमा परिचालित गर्ने व्यवस्था गर्ने।
६. रोग, द्वन्द र विपदको असरबारेमा अभिभावक, विद्यार्थी र समुदायलाई सचेत गराउने।
७. विपद व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि एवं भूउपग्रह पद्धतिको अवलम्बन गर्नुपर्ने।
८. विपद पश्चात्को लेखाजोखालाई यथार्थमा आधारित बनाउने।
९. विपद न्यूनीकरणका लागि विद्यालयहरु र स्थानीय तहहरुको क्षमता विकास गर्ने।
१०. राष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचा प्रभावकारी कार्यान्वयन।
११. बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्याविधि, २-७५को अवलम्बन गर्नु पर्ने।
१२. दैनिक जीवनमा फर्किन सहयोग गर्ने क्रियाकलापहरु गर्न जोड दिने।
निष्कर्ष
महामारी रोग, द्वन्द र विपदको जोखिम कम गर्न सकिन्छ भन्ने मान्यताको विकासपश्चात यो अवधारणाले विश्वव्यापीमान्यता पाएपश्चात जोखिम न्यूनीकरणका उपायहरुको खोजी सुरु भएको हो। नेपालमा पनि रोग, द्वन्द र विपदको समयमा आपतकालीन शिक्षा दिइने पहलहरु भएका छन्।
प्राथमिकता अनुरुप कोभिड-१९, बाढी, आगलागी, सितलहर र द्वन्दको समयमा शिक्षालाई सूचारु गर्न विभिन्न व्यवस्थाहरु गरिएका छन्। विपद जोखिम न्यूनीकरण गर्न समुदायका व्यक्तिहरु विभिन्न स्वास्थ्य र सुरक्षाका मापदण्डभित्र रही सावधानीका कार्यहरु गर्दै आइरहेका छन्।
अबको नेपालको विपद जोखिम व्यवस्थापनमा पनि विपद जोखिम न्यूनीकरणका लागि प्रथमिकता अनुरुप विपदको जोखिमलाई बुझ्ने, विपद जोखिम व्यवस्थापन गर्न विपद जोखिम शासन सुदृढीकरण गर्ने र उत्थानशीलताका लागि विपद जोखिम न्यूनीकरणमा लगानी गर्ने र प्रभावकारी प्रतिकार्य र पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण, पुनःविद्यालय सञ्चालनका लागि आवश्यक मापदण्ड तोकी स्वास्थ्य सामग्री, विद्यालय सरसफाइ, विद्यालय निर्मलीकरण गर्नका लागि आवश्यक देखिन्छ।
आपतकालीन अवस्थामा बालसंरक्षण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा जोड दिनुपर्छ। शारीरिक र मनोवैज्ञानिक असर परेका विद्यार्थिहरुलाई मनोसामाजिक परामर्श दिई आपतकालीन समयमा दिइने शिक्षा गुणस्तरीय प्रविधिमुखी बालकेन्द्रितरुपमा शिक्षा दिनु वर्तमान समयको आवश्यकता हो।
(लेखक शिक्षा विकास तथा समन्वय इकाई, धनुषाका शाखा अधिकृत हुन्।)