अहिले धेरै मान्छेहरू घरमै आइसोलेसन वा सेल्फ क्वारेन्टाइनमा बस्नु भएको छ। यसरी बसेका व्यक्तिबाट उत्सर्जन भएका फोहोर कहाँ-कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौल धेरैलाई हुन सक्छ।
यसबारेमा निम्न उपायहरू अपनाउन सकिन्छ।
घरमै आइसोलेसन वा सेल्फ क्वारेन्टाइनमा रहेको स्थानमै गर्नुपर्ने:
- श्रोतमै कम गर्नेः
सकेसम्म फोहोर उत्पादन स्रोतमै कम गराउनुपर्छ। वस्तुहरू प्रयोग गर्दा प्याकेजिङ नभएका प्रयोग गर्दा फोहोर कम आउँछ। व्यक्तिगत सुरक्षाका उपकरण प्रयोग गर्ने र राम्रो तरिकाले सफा गर्न तथा संक्रमण मुक्त पार्न सकिने सामग्रीहरू बढी प्रयोग गर्ने।
- श्रोतमै वर्गीकरणः
दैनिक रूपमा प्रति व्यक्ति वा बेडबाट उत्पादन हुने वस्तुहरू उपचाररत व्यक्ति आफैंले कुहिने खानेकुरा, संक्रमणयुक्त र संक्रमणमुक्त नकुहिने फोहोर छुट्याएर राख्ने व्यवस्था गर्ने। संक्रमणमुक्त नकुहिने र कुहिने फोहोरलाई राम्रोसँग प्लास्टिकमा मुख बाँधेर राखी फोहोर संकलन गर्न आउनेलाई दिनु पर्छ।
- संक्रमित फोहोरको व्यवस्थापनः
o बिरामी स्याहारमा प्रयोग हुने पन्जा, मास्क, र अन्य फोहोर बिर्को भएको फोहोर संकलन गर्ने भाँडामा बिरामीको कोठाभित्रै राख्ने र संक्रमित फोहोरको रूपमा अलग्गै राख्ने। उक्त संक्रमणयुक्त फोहोरलाई ७२ घण्टासम्म छुट्टै राखेर मात्र फोहोर संकलन गर्न आउने गाडीलाई दिनु पर्छ।
o संक्रमणयुक्त फोहोर जथाभावी रूपमा चलाउन नदिन उक्त फोहोर राखेको प्लाष्टिकमा राम्रोसँग देखिने गरी लेख्ने वा बायो हजार्ड ब्याग प्रयोग गर्नुपर्छ। संकलन गर्नेलाई सुरक्षित तरिकाले दिनुपर्छ।
फोहोर संकलन कर्ता वा फोहोर व्यवस्थापन सेवा प्रदायक संस्था कम्पनीहरुले व्यवस्थापन गर्नुपर्ने तरिकाः
- फोहोर संकलकले उक्त फोहोरलाई पहिले स्वास्थ्यजन्य संक्रमित फोहोरका रूपमा जस्तै संक्रमणमुक्त पार्ने प्रविधिहरू जस्तै अटोक्लेभ, माइक्रोओभन आदि प्रयोग गर्नु पर्छ। संक्रमण मुक्त भइसकेपछि मात्र पुनःवर्गीकरण गरी पुन: प्रशोधन गर्न मिल्नेलाई पुन: प्रसोधन गर्न पठाउनु पर्छ।
बाँकी पुन: प्रसोधन गर्न नसकिने वस्तुहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी अन्तरिम निर्देशन बमोजिम कोभिड १९ महामारीको आपतकालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनमा जनाएअनुसार नजलाउने र धारिलो खालका वस्तु भएमा संक्रमणमुक्त भइसकेपछि आवश्यक तवरले सिमेन्ट प्लास्टर गरिएको खाल्डोमा पुर्ने वा सिमेन्ट कंक्रिट मिसाई कुनै ड्रममा नझर्ने गरी डल्लो बनाई बिसर्जन गर्नुपर्छ।
स्थानीय निकाय तथा नगरपालिकाले गर्नुपर्नेः
- सेवा प्रदायक संस्था, कम्पनी वा नगरपालिका आफैंले त्यस्ता फोहोर संकलन गर्ने सेवा प्रदान गर्दै आएको भए उचित निरीक्षण, अवलोकन गरी उक्त फोहोर व्यवस्थापनबाट थप संक्रमण नबढाउने सुनिश्चित गर्नुपर्छ।
(लेखक नविन विकास महर्जन, फोहोरमैला व्यवस्थापन संघ नेपालका प्राविधिक सल्लाहकार तथा ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत हुन्।)