प्रसंग १
फेसबुक स्टोरीमा एउटा साथीले सिन्धुलीको सेल्फी डाँडामा उभिएर खिचेको एउटा फोटो राख्यो। क्याप्सनमा लेखिएको थियो, ‘काठमाडौं आईएम कमिङ’।
‘लौ, सारा संसार लकडाउन भएकोबेला यो कसरी जाँदैछ काठमाडौं’, अचम्ममा परें। फोन गरे अनि सोधें, तिमी कता हो? उसले भन्यो, ‘म अहिले काठमाडौं जाँदैछु’।
मैले फेरि सोधे, “हैन होला, यो अवस्थामा तिमी कसरी जाँदैछौ”? उसले सहज जवाफ दियो, “विराटनगर बस्दाबस्दा दिक्क लाग्यो, काठमाडौँमा काम केही पनि छैन। त्यै पनि मेरो फुपाजू नेता हो, फुपाजूलाई भनेर पास बनाउन लगाएर आएको। दुईचार दिनमा त्यता नै आउछु, यता दिक्क लागेपछि, राम्रोसँग बस्दै गर”।
वाह! बिना काम यो संकटको घडीमा काठमाडौं त उसको लागि पानीपँधेरो भएछ। केहीदिन अगाडिमात्र विराटनगर आएको थियो, फेरि गएछ।
विशेष कामका लागि हिँडडुल गर्नलाई पास बनाउन जाँदा कर्मचारीको गाली र पुलिसको लाठी खाएको धेरै घटना सुनेको छु यसबीचमा। तर बेकामे मान्छे,दिक्क लाग्दा काठमाडौँ अनि वाक्क लाग्दा विराटनगर आउजाउ गर्छ।
प्रसंग २
आज मज्जाले सुत्ने हो, कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। फेसबुकको वालमा एउटा साथीले लेखेको थियो। म छक्क परें, यसको कोरोनाको टेस्ट किन भएछ भनेर। मेसेज गरें, “बधाई छ, सुरक्षित बस”।
प्रतिउत्तरमा धन्यवाद आएपछि मैले सोधें, “तिमी त घरमै बसेको मान्छे, किन टेस्ट गराएको?”।
उसले भन्यो, “के मुला रैछ, फ्रीमा भेटेकोबेला गरिहाल्ने हो। मामा अहिले नगरपालिकामा हुनुहुन्छ, मामाले भान्जा मौकामा गरिहाल, पछि कि पैसा तिर्नपर्छ, कि किट नभएर परीक्षण नै हुँदैन। यस्तो मौका कहाँ छोड्नु यार “। मैले ए भन्ने जबाफ दिएर ऊसँगको कुराकानी बन्द गरें।
आहा, यहाँ बिरामीहरूले अस्पताल पुग्दासम्म नपाउने सुविधा नेता र कर्मचारीहरूका लागि रमाइलो गर्ने माध्यम बनेको छ आजभोलि।
प्रसंग ३
काठमाडौंको एक निजी अस्पतालले कोरोनाको बिरामीलाई एकरात राखेको २६ लाख लिएपछि मात्र उसको शव आफन्तलाई दियो। दियो पनि के भन्ने, सेनालाई जिम्मा लगाएर आर्यघाट लगेर अन्तिम संस्कार गर्न लगायो। परिवारले अन्तिमपटक अनुहारसम्म पनि हेर्न पाएनन्।
यो समाचार मेरो एउटा साथीले फेसबुकमा शेयर गरिन्, दया र रिस मेरो मनमा एकैपटक आयो। तर मैले गर्नसक्ने केही थिएन, दिक्क लाग्यो।
त्यो साथीलाई भन्न मन लागेको थियो“सरकारले गरिरहेको छ त, तिमीलाई पनि मोतिबिन्दु भयो कि के हो? यस्तो समाचार शेयर गर्ने”? तर, यथार्थ यही हो।
प्रसंग ४
ज्वाईसाप तपाईंको कोरोनाको रिपोर्ट पोजेटिभ आयो। केही समयपछि तपाईंलाई र परिवारलाई लिन गाडी आउछ तयार भएर बस्नू । उनले भने “म घरमै बस्दा हुँदैन, म यही सुरक्षित तरिकाले छरछिमेकीलाई जानकारी गराएर बस्छु नि! खै आइसोलेसन राम्रो छैन भन्ने सुनेको छु। उताबाट जवाफ आउछ, “तपाईंको निम्ति मैले अघि मेयरसँग कुरा गरेर एकदम राम्रो ठाउँमा व्यवस्था गरेको छु, चिन्ता नलिनू, घरमा भन्दा त्यै राम्रो हुन्छ। खानेबस्नेको राम्रो कुरा भएकोछ।”
यहाँ मेरो जनप्रतिनिधि, आशलाग्दो केटो जेठाजू पर्यो।
यी त केवल प्रतिनिधि प्रसङ्ग मात्र हुन्।
अब अर्को एउटा फरक प्रसंग,
फुर्सदको समयमा स्वीडेनको नागरिक साथीसँग कुरा गरेर बसेको थिए। आजकल प्राय: सबैसँग हुने कुराहरू नै कोभिडको अवस्था र आफूले गर्दैगरेको कामको कुरा हुन्छन्।
मैले कुराकै सिलसिलामा उसलाई सोधे, “तिम्रो काम कस्तो चल्दैछ, अफिस आउनेजाने क्रममा सहजता छ”?
उनले भनिन्, “मैले कोरोनाको महामारी सुरू भएदेखिनै काम गरेको छैन, घरमा बुढीआमा हुनुहुन्छ, मलाई कोरोना संक्रमण भएमा उहाँलाई पनि गाह्रो पर्छ, त्यसैले काममा गएको छैन”।
मैले फेरि सोधें, “अनि खर्चको व्यवस्थापन कसरी गरेको छौ त”?
“मैले बेरोजगारको फारम भरेर बुझाएको छु र बेरोजगार हुने कारण पनि उल्लेख गरेको छु। म काममा जाँदा मेरो घरमा हुने अफ्ठ्यारो परिस्थितिलाई मूल्यांकन गरेर मलाई बेरोजगार भत्ता उपलब्ध हुन्छ, त्यसले मलाई खर्च गर्न राम्रोसँग पुग्छ। मेरो देशले मलाई अवस्था सामान्य नहुन्जेलसम्मलाई जिम्मा लिएको छ ।”उनले जवाफ दिइन्।
राज्यले नागरिकको जिम्मा लिने? सुन्दा नै अचम्म लाग्ने, तर वास्तविकता हो।
उनले मेरो देशको र मेरो अवस्थाको बारेमा पनि धेरै कुरा सोधिन्, मैले कत्ति कुरा देशको बेइज्जत हुन्छ भन्ने ठानेर केही भन्न सकिनँ। बरू मनमनै भनें, कठै मेरो देश।
म आज मेरो देशलाई तुरून्तै विकसित मुलुकसँग दाज्ने मुडमा छैन। तर पनि, म मेरो राज्य नागरिकप्रति जिम्मेवार भएको, नागरिकले राज्य र सरकारको जयजयकार गरेको हेर्ने मुडमा चै छु। तर मलाई यो पनि थाहा छ, त्यो तत्काल हुनेवाला पनि छैन।
केहीदिन अगाडि विराटनगरका मेयरले लेखे,“पिसिआर रिपोर्ट चाँडो गराइदिनु पर्यो भनेर क-कसको चाकडी गर्नुपर्ने ? हरेक कुरामा असहयोग यो त अति भो?”उनको यो संकेत प्रदेश सरकारलाई थियो।
मैले बुझेको सरकार त एउटा गाउँपालिका र नगरपालिका पनि हो। तर मेयरले यस्तो कुरा गर्दा मैले आफूले बुझेको सरकारको परिभाषा नै परिवर्तन गर्नेबेला भयो। आखिर को हो त सरकार?
महानगरपालिकाको मेयर लाचार भएको देशमा बसेर म आमनागरिकले के ठूलो कुराको अपेक्षा गर्नसक्छु? मेयरको कुरा सरकारले नसुनेकोबेला, एउटा गरिब मानिसको चित्कार कुन अस्पतालले सुनेर ढोका खोलिदिन्छ होला?
अस्पताल डुल्दाडुल्दै एउटा बिरामी मर्छ। उसको निम्ति न त्यहाँ राज्य छ, न जनप्रतिनिधिहरू।
जनप्रतिनिधिहरू तकिया र सिरानेको खोलको मूल्य मिलाउन ब्यस्त छन्। कतै मूल्य थोरै राखेर कर्मचारीले बिल बनाउने त हैन र मेरो कमिसन थोरै हुने हैन भनेर तैनाथ बस्छन्।
देवी भागवतमा उल्लेख गरिएको छ कि, सत्ययुगका राक्षसहरूले कलियुगमा राज गर्छन्। मलाई आज आएर त्यो कुरा प्रतिविश्वास लाग्न थालेको छ। कतै हामी त्यै गुण भएका व्यक्तिहरूबाट शासित भएका त छैनौ?
म ८०० पर्ने रासयनिक मल लिनलाई ६घण्टा साइकल चलाएर भारतको सीमानासम्म गएर १५०० तिरी ल्याएर केही मुरी भएपनि धान फलाएर सहरमा बस्नेहरूलाई खुवाउने किसानको छोरो हुँ। आज मेरो पसिनाले फलेको अन्न खानेहरूले ममाथि जंगे शासन गर्दैछन्, जनप्रतिनिधिको खोक्रो आडम्बर ओढेर । चुनावको बेला युवाले युवालाई समर्थन गर्नपर्छ भन्दै आउने मेरो जनप्रतिनिधि आज मलाई भन्दैछ, “केटाकेटी भएर धेरै जान्ने भएको पनि राम्रो हैन”।
यो देश पैसा र पावर हुनेको देश रहेछ, पहिला सुन्थे आजकल महशुस गर्दैछु। तिमीसँग पैसा छैन भने तिमीलाई नेपाल भन्ने देशमा बाच्ने अधिकार पनि छैन। खानपाउने र बाच्न पाउने अधिकार त हुनेहरूको लागि संबिधानमा लेखिएको हो, हुँदा खानेहरूको लागि हैन।
हरेक दिन कोरोनाको सन्त्रास बढेको छ, जिम्मेवार पदमा बसेका मान्छेहरू कोरोनासँग कसरी लड्ने भन्दा पनिआफन्तलाई कसरी खुसी बनाउने धुनमा लागेकाछन् ।
मैले एकपटक मेरो हातलाई हेरें, थुक्न मन लाग्यो। त्यो हातलाई गाली गरेर भन्न मन लाग्यो, थुक्क कस्तो मनमा मानवता नभएको र कामप्रतिको कर्तब्य बोध नभएको मान्छेलाई भोट हालेछु। मलाई माफ गरिदिनु नेपालआमा।