कोरोना भाइरस रोग ‘कोभिड १९’ तीव्र रुपमा फैलिएर संक्रमण पुष्टि मृत्युका घटनाहरू द्रूत रूपमा बढ्दै वर्तमानमा १३७ पुगेका छन्। साउन ६ पछि कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरू ४० बाट करिब २.५ गुणा वृद्धि भई हाल १३७ पुष्टि भएका छन्।
विगत हप्तामा ३८ कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरू पुष्टि भएका छन्, जुन संक्रमणमा ०.७८ प्रतिशत हुन आउँछ र बढ्दो गतिमा देखिएको छ। हिजो मात्रै ११ जनाको मृत्युका घटनाहरूले वर्तमानमा कोरोनाको जोखिम उच्च बिन्दुमा रहेको सजिलै आँकलन गर्न सकिन्छ। जसलाई तलको लेखाचित्रले अझै प्रष्ट पारेको छ।
कोरोनाको तीव्र संक्रमणबाट हाल नेपालको जनस्वास्थ्य, आर्थिक, र सामाजिक क्षेत्रहरूलाई आन्क्रान्त पारेको देखिन्छ। अहिले कोरोना प्रसारण र संक्रमण दक्षिण एसियामा ‘रेड जोन’मा छ। कोभिड-१९ को ताजा तथ्याङ्कलाई विश्लेषण गर्दा संक्रमितको सङ्ख्याको आधारमा श्रेणीकरणमा विश्वमा नेपाल ६५ स्थानमा, बाङ्लादेश सोह्रौं स्थानमा, पाकिस्थान पन्ध्रौं स्थानमा र भारत तेस्रो स्थानमा छन्।
नेपालमा कोरोनाको तथ्याङ्कलाई विश्लेषण गर्दा २०७६ माघ दोस्रो हप्ताको सुरूमा चीनबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएपश्चात् करिब सात महिनापछि कोरोना संक्रमण घटनाहरू तीस हजारभन्दा बढी उकालो लागेको छ।
नेपालमा कोरोनाको पहिलो संक्रमणबाट दस वटा संक्रमितको सङ्ख्या पुग्न ८० दिन (२०७६ चैत ३०), सय संक्रमितको सङ्ख्या पुग्न १०७ दिन (२०७७ वैशाख २७), एक हजार संक्रमितको सङ्ख्या पुग्न १२७ दिन (२०७७ जेठ १६), र पाँच हजार संक्रमितको सङ्ख्या पुग्न केवल १४१ दिन (२०७७ जेठ ३०) मात्र लाग्यो।
साँच्ची नै दस हजार संक्रमितको सङ्ख्या पुग्न १५२ दिन, बीस हजार पुग्न १९२ दिन र तीस हजार पुग्न केवल थप १९ दिन मात्र वा २११ दिन (२०७७ भाद्र ५) लागेको छ। (हेर्नुहोस्: तलको लेखाचित्रले अझै प्रस्ट पारेको छ)।
विगत दुई महिनामा तीन गुणा संक्रमणमा वृद्घि र विगत तीन महिनामा छ गुणा संक्रमणमा वृद्घि हुनुले कतै कोरोना नेपालमा समुदायक प्रसारणको चरणमा डडेलोझैं फैलिरहेको अवस्थामा पुगिसकेको हो भन्ने पूर्वानुमान गर्न सकिने प्रश्न चिन्न उतिकै छ।
नेपालमा कोभिड-१९ प्रसारण र संक्रमणको अवस्थालाई विश्लेषण गर्दा
पहिलो संक्रमितबाट दस हजार संक्रमित पुग्न- १५२ दिन (पाँच महिना अवधि)
परीक्षणमा संक्रमण दर = ५.४ प्रतिशत
प्रतिदिन औसत पिसिआर परीक्षण = १,२२६
दस हजार संक्रमितबाट बीस हजार संक्रमित पुग्न - ४० दिन (एक महिना र दस दिन अवधि)
परीक्षणमा संक्रमण दर = ५ प्रतिशत
प्रतिदिन औसत पिसिआर परीक्षण = ५,१२३
बीस हजार संक्रमितबाट तीस हजार संक्रमित पुग्न = १९ दिनको अवधि
परीक्षणमा संक्रमण दर = ५.४ प्रतिशत
प्रतिदिन औसत पिसिआर परीक्षण = ९,८२३
तर, विगत एक हप्ता (श्रावण ३० देखि भाद्र ५) सम्म नेपालमा कोभिड -१९ प्रसारण र संक्रमणको अवस्थालाई विश्लेषण गर्दा
प्रत्येक दिन औसतमा
पिसिआर प्रयोगशाला परीक्षण : १२,१८४
कोरोना सन्क्रमित पुष्टि : ७०५ जना (५.८% पिसिआर परीक्षणमा)
निको भएकाको संख्यामा : १५१ जना (२१% कोरोना सन्क्रमित पुष्टिमा)
सक्रिय केसहरू थपिने संख्या : ५३७ जना
कोरोना संक्रमण पुष्टि मृत्यु संख्या : ५.५ जना
यस एक हप्ता निको हुने संख्याभन्दा सक्रिय केसहरूको संख्या लगभग चार गुणा भन्दा बढी हुनु र दैनिक पाँचभन्दा बढी मृत्युको घटनाले कोरोनाले मृत्यु दर भारत (१.९%) झैं पुग्ने गति लिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ। नेपालीहरूको प्रतिरोधात्मक क्षमता उच्च भएकोले कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरू कम भएको भन्ने परिकल्पना पनि विस्तारै विफल हुँदै विश्लेषणको लागि पर्याप्त तथ्याङ्क पुगेपछि यकिन निचोडले पनि दक्षिण एसियाकै मृत्युदरको चलन पछ्याउने लहर देखिएको छ।
अफवाहको पछि नलागी वर्तमान परिस्थितिमा नागरिकहरूले कोरोनाविरूद्धको लडाइँलाई परास्त गर्न संक्रमणको रोकथाम लक्षित सुरक्षा नीतिहरू कडाइ साथ पालना गर्नुपर्ने देखिन्छ। साथै देश वा स्थानीय अधिकार निकायले स्वास्थ्य सेवासुविधा र उपलब्ध स्रोतहरू यथाशीघ्र जुटाउनु पर्ने, संक्रमितको रोकथाम र उपचार लक्षित सुरक्षा नीतिहरू तयारी गर्नुपर्ने, सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै उचित आपतकालीन निवारणको लागि द्रूत गतिविधिहरू र जिम्मेवारीहरू बहन गर्नुपर्ने अहिलेको आवश्यकता नै कोरोनाको लागि अमृतवाण हुनसक्छ।
(आनन्दवन अस्पतालमा अवस्थित कोभिड-१९ डायग्नोस्टिक प्रयोगशालाका प्रमुख तथा अनुसन्धान वैज्ञानिक डा. दुलालले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट-डक्टरल फेलोसिप गरेका छन्।)