'सर, यी डाँडा पाखाहरूमा विकास सम्भव होला त?' उहाँको यस प्रश्नमा छुट्टै गहनता थियो। यसले प्रत्येक ग्रामीण भेगका मानिसमा भएको विकासको तीव्र चाहानालाई उजागर गर्दथ्यो।
मैले देखेका विकसित डाँडापाखाले भरिएका भूपरिवेष्टित देशहरू अस्ट्रिया र स्विजरल्याण्डको विकास सम्झँदै भनेँ, 'होला नि दाइ, पालो आउँला नि। अस्ट्रिया र स्विजरल्याण्डको पनि यस्तै त हुन् नि! विकास भएकै छन्।'
मेरो उत्तर भुइँमा खस्न नपाउँदै मरो गाउँले दाइले कुरा थप्नु भयो, 'सर, आफूले त छोराछोरीलाई अस्ट्रेलिया, अमेरिका, युरोप त के काठमाडौँ, पोखरा पठाउन पनि सक्दिनँ होला।
छुट्टी भिन्नपछिका १० वर्ष खाडीमा बिताएर जोडन सकेको यही एउटा घरबारी र सडकले नछोएको त्यो १० मुरी धान दिने खेत हो,' भिरालो फाटका खेतका गरो देखाउँदै उहाँले कुरा थप्नु भयो, 'छोरो ३ वर्षको लाग्यो, यो जवान हुँदा म जस्तै जीविका उपार्जनका लागि खाडी जान नपरोस्। मेरो रहर मेरो सन्तानले यिनै आफ्ना डाँडा पाखामा, आफ्नै माटोमा गौरवका साथ बाँच्न सकोस् भन्ने हो।'
नेताहरू खै कुन-कुन जाती देश बनाउँछु भन्थे त! खै त के भयो विकास देशमा, गाउँमा? स्कुलको गुणस्तर उस्तै छ, बाटा घाटा उस्तै छन्, मानिसहरू श्रम गर्न दिनहुँ विदेश जानै परिरहेको छ। डाँडापाखा चिथोर्दै पहाडका टुप्पामा डोजर त पुर्याए तर फेरि त्यही काम गर्न अर्को वर्ष पनि गर्नु पर्यो भने के अर्थ भयो? राजनीतिक प्रणाली परिवर्तन भनेको आफ्ना आसेपासे पोस्ने कुरा मात्र त रहेछ नि, सर।'
म अवाक् भएँ। मैले उहाँसँग प्रतिवाद गर्ने हिम्मत गरिन। उहाँको भनाइको मर्म म बुझ्दथेँ किनकि स्थानीय स्तरमा क्षमता/ संसाधन र मानिसका अपेक्षाहरूबिच ठुलो खाडल छ। उहाँले भने जस्तो राजनीतिक, नीतिगत, संवैधानिक वा वस्तुगत विकास चाहिँ नभएको चाहिँ अवश्य होइन, तर जुन गतिका साथ हुनुपर्ने हो त्यो गतिका साथ भएन।
१० वर्षमा पाँच गुणाको आर्थिक हैसियत, गाउँका सबै ग्रामीण सडक कालोपत्रे, घर-घरमा रोजगारी, धनी-गरिब बीचको खाडलको अन्त्य, तीव्र गतिमा आर्थिक संवृद्धि हुने जस्ता गुलाबी सपनाहरूले नेपाली जनतालाई आशा जगाएका हुन्। तर विडम्बना, राजनीतिक नेतृत्वले बाचा गरेका कायापलटका सपनाहरूलाई नेपाली जनताले खासै मूर्त रूपमा महशुस गर्न सकेनन्।
देश विकास गर्न सबैभन्दा पहिले त नेतृत्व तहमा रहेका नेताहरूमा स्पष्ट लक्ष्य र सो हासिल गर्ने यथार्थपरक कार्यदिशा हुनुपर्छ। तर अहिले, हामीकहाँ राजनीतिक वृत्तमा दिगो विकासको बारेमा यथार्थपरक विश्लेषण नै हुन सकेको छैन। अझ, देश विकासको महत्त्वाकांक्षालाई सामर्थ्यले पुष्टि गर्न सकेन।
हामी कुन गतिले विकास गर्न सक्छौँ, कति विकास गर्न सक्छौँ? हाम्रो क्षमता कति हो भन्ने कुरा जनतालाई स्पष्ट रूप यथार्थ परक रूपमा हाम्रो नेतृत्वले भन्न सक्यो त? अनि जब यी राजनीतिक वाचाहरू पूरा हुने लक्षण देखिँदैनन्, जनताले नेतृत्व प्रति कुण्ठा किन व्यक्त नगरुन्? 'देश बिगारेको यी नै नेताहरूले हो!' यसले हामीलाई बढेको कर, भत्केको सडक, फेल भएका विद्यार्थी, ढिलो भएका योजना मात्र देख्ने बनायो।
फेरि उहाँले थप्नु भयो 'सर, अनि विदेश फेरि कहिले जाने, काठमाडौँ किन नबसेको?' उहाँको प्रश्नको भाव गाउँका थुप्रै अरूको जस्तै गाउँमा मैले समय बरबाद पारिरहेको छु भन्ने थियो। तर मलाई त जरो बुझ्नु थियो। मेरो परिचय दिने जरो अनि उहाँले चाहेको विकासको जरो।
यी जराहरू बुझ्ने रहर चार वर्ष अघि नै सुरु भएको थियो। त्यो यस्तो समय थियो जहाँ म जीवन, जगत् र विकासको बारेमा जिज्ञासा राख्दथेँ। इन्जिनियरिङ पढ्न अमेरिका गएको म मेरो देश र अमेरिकाको विकासको अन्तरले यति प्रभावित बनायो कि, मलाई विकास पद्दति बुझ्न मन लाग्यो र लम्किरहेको गोरेटो मोडेर राजनीति शास्त्र र अर्थतन्त्र केन्द्रित 'लिबरल आर्ट्स' संकाय रोजेँ।
यो निर्णयको प्रक्रियामा दुई कुराले मुख्य भूमिका खेले। मेरो पहिलो बुझाई यो रह्यो कि खुसी जीवनको सार हो र हाम्रो खुसी हामीले ख्याल गर्ने व्यक्तिहरूको खुसी/सुखको माध्यमबाट आउँछ। मैले गरेको दोस्रो अनुभूति यो हो कि हाम्रो जीवन एक सन्देश हो, यात्रा हो तर गन्तव्य होइन। मैले मनन गरेँ कि २००-किमी प्रति घण्टा I-२० लेनमा मर्सिडीज चलाउँदा मलाई खुसी हुँदैन, जब मेरा नातेदारहरूले एक जोडी चप्पल किन्न संघर्ष गर्नुपर्छ।
राम्रो जिपिए प्राप्त गरेर वा स्थिर आम्दानी मात्र खुसीको स्थायी स्रोत हुँदैन, जब समान शैक्षिक योग्यता भएका विद्यार्थीहरूले मध्य पूर्वी देशहरूमा घोटिनु पर्दछ। पढाई सकिएपछि पनि म विकासको जरो बुझ्न सरक्कै गाउँमा बसेँ। दुई विद्यालयमा स्वयंसेवक शिक्षक भएर दिनको ६ घण्टी पढाएँ। यस अनुभवले मलाई ग्रामीण क्षेत्रको राजनीति, सामाजिक-अर्थव्यवस्था, शिक्षा, स्थानीय शासन र उनीहरूको आपसी सम्बन्ध बुझ्न मद्दत पुर्यायो।
मेरो कोरा किताबी ज्ञानको एक थरी 'स्कुल अफ थट्सले' भन्थ्यो- विकासका लागि स्रोत, समावेशिता, समान हक र अधिकार, प्रतिस्पर्धा, राजनैतिक स्थिरता र शिक्षित जनशक्ति आवश्यक हुन्छ। तर मैले गाउँमा अझै पनि महिलामाथिको दमन देखेँ, दलितमाथिको विभेद देखेँ, शिक्षा प्रतिको वितृष्णा देखेँ, अनि आसेपासे तन्त्र देखेँ।
हाम्रो व्यवस्था फेरिए पनि मूल कुरा विकासका जरो स्थापित गर्ने सोच, व्यवहार र पद्द्तीहरुमा परिवर्तन ल्याउन एकदमै जरुरी रहेछ। नेपालमा अवसर धेरै कम, प्रतिस्पर्धा धेरै छ। राम्रो अवसर को खोजीमा गाउँबाट सहर पस्नु पर्ने, अनि सहरबाट विदेशिनु पर्ने बाध्यता छन्। आसेपासे तन्त्र डरलाग्दो तरिकाले गाडिएको छ।
सानो विकास योजनाको सदस्यको नियुक्तिदेखि ठुला ठेक्कापट्टा पनि राजनीतिक पहुँचको आधारमा हुने गर्छन्। पहुँच हुनेलाई सजिलो, नहुनेलाई धेरै गाह्रो। अनि पलायन हुन खोज्यो भनेर गुनासो गर्ने ठाउँ नै पनि कहाँ रह्यो र?
केही हप्ता अगाडि उही दाइले फेसबुकमा एउटा मेसेज पठाउनु भो। 'सर, देशमा त के हुने भयो खै? देश नै बेच्न खोजे। ऋण मात्र बढ्यो भन्छन्। पढे लेखेका सबै बाहिर, यी नेताहरूको त कामै भएन।'
तर उही विकास चाहने दाइले फेरि किन कुरा बुझ्न सक्नु भएन त। किनभने हामी विरोधाभासमा बाँचिराखेका छौँ। हामी धनी हुने चाहना राख्छौँ, तर ऋण चाहन्नौँ। हामी विकसित हुन चाहन्छौँ तर सहयोग लिन चाहँदैनौ। हामी दक्ष जनशक्ति नेपाल फर्किउन पनि भन्छौँ, तर मन को सानो कुनामा यहाँ धेरै नबसुन् भन्ने पनि चाहन्छौँ। हामी दोष नेतालाई थुपार्छौ अनि आफूलाई दूधले नुहाएको सम्झन्छौँ। हामी लक्ष्य राख्छौँ तर लिनुपर्ने बाटो नाप्न विलम्ब गर्छौँ। मोही माग्छौँ, ढुङ्ग्रो लुकाउँछौँ।
मेरो कोरा ज्ञानले यो पनि भन्छ- अब विश्व अर्थतन्त्रको गुरुत्व एसियातर्फ ढल्कँदै छ। छिमेकी भारत र चीनको विश्व अर्थतन्त्र र राजनीतिमा बढ्दो हैसियतसँगै स्थिर, अखण्ड र समावेशी नेपाल केही दशकमा पश्चिमी युरोपका समृद्ध देशहरूका बीचमा रहेका भूपरिवेष्टित देशहरू जसरी नै सेवा प्रदायक अर्थतन्त्रको आडमा विकसित देश बन्न सक्छ।
त्यसैले कम्तीमा म आशावादी छु। मेरा लागि, मेरा गाउँका दाइका सन्ततिहरूका लागि, आज को भोलि होइन लामो दौरानमा। तर, यसका लागि हामी पनि सुध्रनु नि पर्छ, आफ्नो माटोको विकासका लागि।