अगस्ट ५ मा पूर्वी अफ्रिकाको बुरुन्डीबाट संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीहरुलाई लिएर डब्लुएफपीले चार्टर गरेको जहाज उडान तालिकाभन्दा ४ घण्टा ढिलो इथियोपियाको एडीस अबाबा तर्फ उड्यो। एडीस अबाबा आइपुग्दा कनेक्टिङ जहाज छुटिसकेको थियो। त्यसैले दुई रात त्यहीँ स्काई लाईट होटेलमा बास बस्नु पर्योI
अगस्ट ७ मा अफ्रिका इथियोपियाको एडीस अबाबाबाट दुबई हुँदै मलेसियाको क्वालालम्पुर आएँ र एयरपोर्टको सामा-सामा होटेलमा बसियो।
यात्रा अनुभव
कोरोना कहरको गम्भीर अवस्थामा चार्टर गरेको जहाज भएकाले सामाजिक दूरीको राम्रो व्यवस्था मिलाईएको थियो। तर जहाजमा खाना खान भने आँट आएन। हातमा सेनिटाइजर लगाएर आफैले ल्याएको खानेकुरा खाएँI
अगस्ट ७ मा एडीस अबाबाबाट दुबई हुँदै मलेसीयातर्फ उड्न लाग्दा बुवाले फोन गर्नु भएको थियो। मैले मेरो उडान तालिका बताएँ, उहाँ हास्नु भयो तर बुवाको रुन्चे हँसाइले मेरो मन विचलित भयो। बुवाले छोरीलाई यात्रामा मनोबल बढाएर साथ दिन चाहनु हुन्थ्योI
१२ वर्षको छोरा मनायुलाई सधैं उसकै रोजाइको चकलेट ल्याइदिने गरेकी थिएँ। यो पटक दुबईमा आइपुग्दा मलेसिया जाने जहाजको अनुमती पत्र थिएन, त्यसैले किन्न पाइनँ। मैले छोरालाई यसपटक मिठिमिठि नआउने सन्देश पठाएँ आइएमओ मार्फत।
जहाज आफ्नै गतिमा हुँइकिइरहेको थियो। जब जहाजको नक्सामा भारतको मुम्बई नजर पर्यो, मेरो मन भारी भएर आयो। किनकी जहाज हाम्रो गन्तब्य काठमाडौँ तर्फ नगई पूर्व तर्फ मोडिएको थियो। म आफ्नो देशभन्दा ५ घण्टा पूर्वतर्फ गैरहेकी थिएँ। आफूलाई कहिले घर पुगेर सन्तोषको श्वास लिउँ जस्तो भइसकेको छ। परिस्थिति प्रतिकुल भएपछि कस्को के लाग्दो रहेछ र!
हवाई जहाजको लामो र पट्यारिलो उडानमा मनमा धेरै उतार चडाव र तुफान त आउने नै भए। म मनमा निरन्तर नानाथरी तर्कना गरेर एकोहोरीइ रहेकी थिएँ।
म निःशब्द एकोहोरो झ्याल बाहिर अन्तरिक्षमा पंख लगाएर उडेछु। यो मन कहिलेकाहीँ ज्यादै सानो कुराले उत्साहित र हर्षित हुन्छ भने कहिलेकाहीँ एउटा सानो झट्काले पनि निकै हतोत्साही र दुखीत बनाइदिन्छ। एउटा प्राप्तिले जीवनकै ठूलो खुसी दिएर जीवनलाई उत्सवमय बनाइ दिँदो रहेछ। मैले मातृवात्सल्यता दिन पाउँदाको सुख घरिघरि नयनमा आइरहन्छ।
मुटुभरी माया दिने श्रीमानसँग हुने आकाशवाणीले पनि निकटता महशुस भइरहन्छ। परिवारलाई केही होस्टेहैंसे होस भनेर मैले सुदूर भूगोललाई कर्मभूमि बनाएँ। अविचलित र पूर्ण मन त कस्को पो होला र! तथापि मनमा बसेको प्रियतम र पुत्रलाई समेत छाडेर सुदूर भूगोलमा जानू पर्दा मनमा धेरै खल्लो भएको थियो।
समयले धेरै टाढा पुर्याए पनि अब मिलन निकट छ। निकटताको कल्पनाले यो मन प्रफुल्ल भएको छ। एक्लो हुनु पर्दाको पीडा अनौठो हुँदो रहेछ। मैले दूर जगतमा सपिङ मलमा गएर मन परेको लुगा किनिनँ, पुस्तकालयमा गएर मन परेको लेखकले लेखेको गहकिलो पुस्तक किनिनँ। न कतै रेष्टुरेन्टमा गएर मनपसन्द भोजन नै लिएँ किनकि परिवारबाट टाढा हुनुपर्दा म मन मनै खुसी थिइनँ।
तर अर्को प्रसंगमा म निकै हर्षित पनि थिएँ। संयुक्त राष्ट्र संघ जस्तो मर्यादित संस्थाको एउटा अंग बनेर मानवीय सेवामा समर्पित हुन पाउनु मेरा लागि एउटा सुअबसर हो।
यो मन पनि अचम्मको हुँदो रहेछ। म जहाजमै रहेपनि यो मन अदृश्य भएर उतै कतै आफ्नाहरु नै भएको ठाउँ काष्ठमण्डप, दमकमा घरिघरि पुगिरहन्थ्यो।
जहाजको एकोहोरो लामो उडानले थकान पनि भएको छ। भुसुनाका भयले मनमा त्रास पनि त्यत्तिकै छ। अरुबेला यात्रा अलि सहज नै लागेपनि यसपटकको उडान भने एकदमै सकसपूर्ण लागेको छ।
मधु श्रावणीको महिना छ। मेरा मनमा धेरै कुराहरु सल्बलाई रहेका छन्। सुदूर गगनको लम्बे उडानमा प्रित कल्पनामा डुबुल्की मारिरहेछु। यो प्रिति पनि कस्तो अचम्म... यो मन कता हराएछ।
मनमा उकुसमुकुस भएको थियो। मलेसिया आइपुग्नासाथ घरमा फोन गरेँ, छोरा दौडेर फोनमा बोल्न आयो। म छोराको आँखामा चक्लेटको माग पढिरहेकी थिएँ, उस्का अबोध नयनमा मिठिको आश महशुस गरीरहेकी थिएँ। मैले बोल्न चाहिनँ, मनमनै 'माफ गर ल' भनेँ।
'बाबु यसपटक चकलेट ल्याउन पाइनँ है' भनेँ। छोराले के भनुन् र! 'राम्रोसँग आउनु है माते' भनेर शिघ्र मिलनको लालच जनाए।
होटेलको अनुभव
डरभन्दा ठूलो केही रहेनछ, अहिले विश्व अदृश्य जीवाणु चपेटामा छ। होटेलमा बस्दा कुनै समान छुने आँटै आएनI आफैले ल्याएको तौलिया साबुन इत्यादि प्रयोग गरेँI विशेषगरी धेरै गाह्रो भयो खाना खान। तारे होटेलमा पकाएको खाना, त्यहाँका सुख, सुबिधा सबै मेरा लागि उपयोगहीन भए।
खाना ल्याउनेले घन्टी बजाएपछि हात धोएर खाना ल्याउँथे, मेचमा राखेर फेरि हात धुन्थें, खाना छोपेका बिर्काहरु/र्यापिङ खोलिसकेर फेरि पनि हात धुन्थेँ अनि डराइ डराइ खाना खान्थेँ। खानामा विशेषगरी काँचा नकाटेका फलफूल मगाएर आफैँ काटेर खाएँ। यसमा पनि अदृश्य शत्रु छ कि उसमा पनि छ कि, जतिबेला पनि डर मात्रै लागि रह्योI
उता पतिदेवलाई जागिरे मुजुंगो (फरेनर इन अफ्रिका) कहिले आइपुग्छिन्, प्रतिक्षा थियो नै। यता म मिलनको छट्पटीमा हडबडाइ रहेकी थिएँ नै। तर हाम्रा हतारले हुन्छ र? उहाँका श्वर संकेतहरु सुनेर यात्रालाई सहज बनाइ रहें। परिवारका सदस्यहरुसंग बातचित पनि गरीरहें।
बेलाबेलामा कर्णप्रिय मधुर गानहरु पनि सुनी रहें तथापि ती सात दिन कटाउन मलाई धेरै वर्ष बिताउनु परे झैं लाग्यो। नलनगोस पनि कसरी? मधु श्रावणीको मधुरता त मनमा कुँदिएको छ। यो युवा तन सोह्र श्रृंगारले श्रृंगारित छ! मन मिलनको कल्पनामा तरंगीत भएको छ। मानौँ आँखीझ्यालबाट सडकमा कसैको आहट पर्खिरहेको छ!
यात्राको तयारी
२ वटा झोला, करिब ५ केजी अटाउने भिर्ने झोलाको एउटा गोजीमा खाने कुरा, अर्को गोजीमा मास्क र पन्जा, बाहिरी गोजीमा हात धुने रक्सी र कागजे रुमाल, अर्को करिब २ केजी अटाउने झोलाको एउटा गोजीमा सुसांख्य (ल्यापटप) अर्को गोजीमा तौलिया, केही आवश्यक कपडाहरु र बाहिरी गोजीमा जहाजको टिकट र राहदानी।
यात्राबाट सिकाई
एउटा झोला बोकेर सबै समान एकै ठाउमा राख्दा खानेकुरा कपडाहरुमा जथाभावी छुइन गई किटाणु सर्न सक्छ तर २ वटा बेग्लाबेग्लै झोलामा समान ल्याउँदा हात सफा नगरी कपडा र खाने कुरा छुनबाट जोगाउन सकिने रहेछI
स्वस्थ सहकर्मीले उमालेको पानीको बाफले श्वासप्रश्वास नलीको भाइरसलाई मार्न सहयोग गर्छ। अलि लामो श्वास तानेर लिएको बाफले फोक्सो सम्मकै भाइरसलाई पनि निस्क्रिय बनाउछ भन्नु भएको याद आयो।
होटेलमा बसुन्जेल दिनमा दुई पटक उम्लिएको पानीको बाफ लिएँ। यसो गर्दा आत्मबल बढ्दो रहेछI
१२ अगस्टमा ११ः३० बजे जहाज अवरतण भयो। काष्ठमण्डपमा सधैं इमिग्रेसन सकेर बाहिर निस्कदाँ एउटा न्यानो इच्छित अभिवादन लिनै पर्थ्यो। तर यसपटक त्यस्तो भएन। भाइरसले त्यो नयन मिलनमा भाँजो हालिदियो। यसपटक उहाँसँग सुकेधारामा मात्रै नजर जुध्यो। सबै सरकारी प्रक्रिया पूरा गरी सरकारी सिमकार्ड लिएर हामी ट्याक्सी चढेर आलय तर्फ गयौँ।
सधैँ ट्याक्सीमा चड्नासाथ मेरो शिरले कुमको सिरानी पाउथ्यो नै, अडेस लाएर घरमा आउँथेI तर यो पटक पापी जिवाणुले उफ... मेरो शिर ट्याक्सीको सिसामा अडेसा लगाउन बाध्य बनायो। घर आइपुगेर पनि कहाँ सुख र? अब १४ दिन एकान्त बास त बस्नु नै छ। तर अब मेरा पियाराहरुलाई हेर्दै, गफ गर्दै १४ दिनको एकात्मक बास १४ मिनट जस्तै गरेर बिताउनेछु।
अन्त्यमा, कहाँ आइपुगेउ बुहारी भन्दै सोधखोज गर्नु हुने नीतिरमण हजुरबुवा, आमा-बुवा, घर परिवार, आफन्त, साथीहरु, छोरा मनायु र बुझकी स्वामि राजालाई यात्रा सहज बनाइदिनु भएकोमा नमन गर्दै नेपाल सरकारलाई पनि धेरै-धेरै धन्यवाद दिन चाहन्छुI स्वर्गीय ससुराबुवा पण्डित शिवप्रसाद गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली।