कोरोना कहरले पूरा विश्वनै आक्रान्त छ। लाखौँले ज्यान गुमाईसकेका छन् भने करोडौँ संक्रमित छन्। यो महामारीबाट नेपाल पनि अछुतो छैन। नेपालमा पनि करिब तीस हजार मानिस संक्रमित भईसकेका छन् र १५० जनाले ज्यान गुमाइसकेका छन्। यो महामारीबाट मानव जीवन कहिले हो पार पाउने केही ठेगान छैन।
मानव सभ्यता कै लागि एउटा चुनौतीको रुपमा यो रोग देखा परेको छ। यसले मानवको जीवनशैलीलाई नै पूर्ण रुपेमा प्रभावित गरेको छ। एक हिसाबले उथलपुथल नै ल्याएको छ। आज मानिसहरु मानिससँगै डराउनु पर्ने भएको छ। परिवारको सदस्यहरुसँग पनि भौतिक दूरी कायम गरी बस्नु परेको छ।
खानपिनमा परिवर्तन ल्याउनु परेको छ। कार्यालय नगई कार्य सम्पादन गर्नु परेको छ। सम्पूर्ण आर्थिक जगत धर्मराएको छ। बालबालिका स्कुल जान सकेको छैन। विद्यालयहरु पूर्णतया बन्द भएको ५ महिना भईसकेको छ। सिकाईको प्रक्रिया परिवर्तन भएको छ। बालबालिका, महिला एवम् जेष्ठ नागरिकहरुको जीवनशैली सबैभन्दा बढी प्रभावित भएको छ।
गत ५ महिनादेखि अनवरत एउटा कोठामा थुनिएर बस्नु पर्दा र स्कुल जान नपाउँदा बालबालिकाहरुको मनोविज्ञानमा नकारात्मक असर परेको छ। बालबालिकाहरु खेलकुद गर्न नपाउँदा र साथीहरुसँग समय बिताउन नपाउदा मानसिक रुपले खुल्न सकेको छैन। सहरी बालबालिकाहरुको ठूलो हिस्सा सानो कोठाहरुमा वा फ्लाइटमा थुनिएर बस्नु परेको छ।
शारीरिक व्यायाम गर्न नपाउँदा पनि बालबालिकाहरु एकांकी हुनु पुगेको छ। धेरै समय बालबालिकाहरु मोबाइल फोन र टेलिभिजनमा बिताउने हुँदा र खानपिनको समय तालिका नामिलाउँदा मोटोपनको समस्या पनि देखिएको छ। जेष्ठ नागरिकहरु समेत घरै बस्नु पर्दा व्यायामबाट बन्चित, दौतरीहरुसँग भेटघाटबाट बन्चित साथै औषधीहरुको अभाव र नियमित स्वास्थ्य जाँचबाट समेत बन्चिती हुनु पर्दा मनोवैज्ञानिक रुपले कमजोर एवम् त्राशबाट गुज्रिनु परिरहेको अवस्था पनि छ।
कतिपयको केसमा बृद्ध बा-आमा मात्रै नेपालमा छन् र छोराछोरीहरु विदेशमा हुँदा त्यस्तो जेष्ठ नागरिकहरु मानसिक रुपले अत्यन्तै कम्जोर एवम् भयको वातावरणमा बस्नु परेको छ।
कोरोना कहरमा घरपरिवारको सबै सदस्यहरु एकै ठाउँमा बस्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि हुनपुगेको छ। तर यो सौभाग्य सबलाई कहाँ प्राप्त छ र? कामकाजी जीवन र छोराछोरीको शिक्षाको लागि आफू सहर बस्दा वा विदेशिनु पर्दा बृद्ध बा-आमा वा सास-ससुरा गाउँमा बस्न बाध्य छन्। यो कोरोना कति समयसम्म रहने वा यसबाट पार कहिलेसम्म पाउने भन्ने निश्चितता नहुँदा केही निर्णय लिन नसक्ने अवस्था छैन।
सहर वा कामकाज छोडेर गाउँ नै जाउँ भने फेरि फर्किनु त सहर नै हो जस्तो लाग्छ। दिनहु बृद्ध बा-आमा वा सासु-ससुरालाई ढाडस दिई बस्नु परेको छ। अर्कोतिर कामधाम बन्द भएर तलब नपाउँदा सहरको बसाई नै कष्टकर हुन् पुगेको र धान्नै नसक्ने भएको छ। यस्तो चौतर्फी तनावको माहोलमा अझ बाँच्ने हो कि होइन? सन्तानलाई केही होला कि? भन्ने डरको मनोविज्ञानको बीच घरपरिवार रुपी गाडी कुशलताको साथ चलाउनु निकै कठिन कार्य हुन पुगेको छ।
यस्तो परिस्थितिमा घरको मुली गृहिणी महिलाको नेतृत्व अत्यन्त महत्वपूर्ण हुन आउछ। छोरा-छोरी, सासु-ससुरा वा बा-आमासँगै श्रीमानको सम्पूर्ण जिम्मेवारी उठाउनु परेको हुन्छ। घरपरिवारको आर्थिक बजेट मात्रै होइन, आपसी सद्भाव एवम मायाको वासलात समेत तयार गर्नु पर्ने र कठिन परिस्थितिमा झनै विश्वासको मौज्दात बढी देखाउनु पर्ने दायित्व समेत घरको मुली गृहिणीकै हुन आउछ।
यी सम्पूर्ण दायित्वहरुको बोध हुँदा हुँदै पनि परिवार भित्रका सदस्यहरु अनुशासित र बुझ्ने सहयोगी भावनाको हुँदा अभावमा पनि स्वर्ग नै हुन्छ घर तर यसको ठिक बिपरित कुनै एक सदस्य पनि अनुशासनहीन र कुलतमा परेको छ भने यो बन्दाबन्दीको परिवेशमा घर नै नर्क समान हुने निश्चित छ।
अझ घरको श्रीमान जिमेवार नभएको र जाँड रक्सीको कुलतमा परेको छ भने घरको स-साना नानीहरु समेत प्रभावित हुने र सबैभन्दा बढी मानसिक तनाब घरको श्रीमतीलाई हुनु स्वाभाविक नै हो। अझ कामकाजी महिलाको लागि त झनै घर र कार्यालयको जिमेवारीबीच सन्तुलन मिलाउनु पर्ने हुन्छ। घरको सदस्यहरु सहयोगी र सद्भाव देखाउने भएन भने झनै तनाब बेहोर्नु परेको हुन्छ। कोरोना मात्रै बाट मानिसको मृत्यु हुँदैन। अन्य रोग, गरिबी, तनाब, आत्महत्या लगायत अन्य कारणले समेत हुने गर्छ।
महिलाको जीवन र सम्बन्ध अत्यन्त संवैदनशील हुन्छ। अपवाद बाहेक महिलाहरुको सहनशक्ति धर्ती माताको जस्तो हुन्छ। महिलाहरु आफ्नो संवेदनाहरुलाई श्रीमान, सन्तान र घरको इज्जत जोगाउने नाममा अव्यक्त रुपमा राखेको हुन्छ वा उत्सर्ग गरिरहेको हुन्छ। जीवनको अन्तिम साँस रहुन्जेल आफ्नो परिवारको खुसीको लागि योगदान पुर्याई रहेको हुन्छ।
यो सब हुँदा हुदै पनि महिला हिंसा, हत्या, आत्महत्या, बलात्कार, छोडपत्र आदिको शिकार महिलाहरु हुनु परेको छ। अहिलेकै बन्दाबन्दीमा समेत महिलाको आत्महत्या बढेको छ, क्वारैण्टिनमा समेत महिला बलात्कृत हुनु परेको छ, घरेलु महिला हिंसा बढेको छ। सबैभन्दा बढी निजी क्षेत्रमा जागिर गुमाउने महिलाहरु नै छन्।
तसर्थ हामीले परिकल्पना गरेको सभ्य समाज के महिला बिनाको हो? लैंगिक विभेद कहिलेसम्म कायम राख्ने? थुप्रै परिवारहरुमा महिलाहरु कामकाजी नहोला तर के परिवार निर्माणमा तिनको योगदानलाई कम आंकलन गर्न सकिन्छ? महिला बिनाको परिवार कल्पना गर्न सकिन्छ? यी प्रश्नहरुको उतर हरेक श्रीमान, बा, र दाजु-भाइले दिन सक्नु पर्छ।
यदि इमान्दार र प्रतिबद्ध भएर जुन परिवारको पुरुष सदस्यहरुले यी प्रश्नहरुको उतर दिन्छन्, ती परिवारहरुबाट लैंगिक विभेद, महिला हिंसा, हत्या र बलात्कार जस्ता मानवता बिरोधि अपराधहरु सदाको लागि निर्मूल हुनेछ। यो अभियान परिवारबाट हुँदै समाज र समाज हुँदै समग्र देशमा फैलिने छ। अनि मात्रै हामीले परिकल्पना गरेको सभ्य समाजको निर्माण हुने छ।
अन्त्यमा, यो बन्दाबन्दीमा परिवार भित्र रहेका महिला सदस्यहरुको सम्मान र हरेक क्रियाकलापमा सहभागीताको प्रतिबद्धताको अपेक्षा राखेको छु।
(लेखक प्राध्यापक हुन्।)