घटना १
१२ फ्रेबरी २०२० मा भारतका ५० वर्षीय कोरोना संक्रमित बालकृष्णनले अखबारमा प्रकाशित समचारमा कोरोनाले मानिसको मृत्यु भएको र सहजै सर्छ भन्ने बुझाइका कारण र आफू पनि संक्रमित भएको हुँदा आफ्नो परिवारमा कोरोना सर्छकी भन्ने डरले अन्ततः आत्महत्या गरे।
घटना २
८ अप्रिल २०२० मा जर्मनीका अर्थमन्त्री तथा अर्थशास्त्री ५४ वर्षका थोमस शेफरले कोभिड-१९ ले संसारभर गरिएको लकडाउनले श्रृजित आर्थिक मन्दीका कारण थलिएको अर्थतन्त्र उकास्न र जनताको अपेक्षा पूरा गर्न नसक्ने देखेर तनाव व्यवस्थापन गर्न नसकी आत्महत्या गरे।
घटना ३
१७ श्रावण २०७७ का दिन धनुषा निवासी ३५ वर्षका विश्वेश्वर यादवले आफूलाई कोरोना संक्रमण भएको कारण घर परिवार आफन्तजनबाट भए गरेको दुर्व्यवहार सहन नसकी आत्महत्या गरे।
कोभिड-१९ ले निम्त्याएको आत्महत्याको प्रतिनिधिमुलक घटना उपरोक्त बमोजिम देखिएका केही हुन्। विश्व स्वास्थ्य सँगठनले चीनको वुहानमा डिसेम्बर १९१९ मा कोभिड-१९ देखा परेको र सुरुका दिनमा यसको प्रभाव चीनको वुहान प्रान्तमा देखिएता पनि यसले विश्वको अन्य मुलुकमा समेत महामारीको रुप लिन सक्ने सम्बन्धमा जानकारी गरायो तर यस सम्बन्धमा विश्वका अधिकांश मुलुकले यो चीनको मात्र समस्या हो भन्ने सोच तथा यसले अरु मुलुकलाई खासै फरक पार्दैन भन्ने सोचका कारण यो महामारी सम्बन्धमा कम चासो राखेका थिए।
अझ अमेरिकी राष्ट्रपतिले त यसलाई चाइनिज भाइरस भनि खिसिट्युरी समेत गरे। सुरुमा चीन र त्यसपछि इटाली र इरानमा धेरैको ज्यान लिएको यस महामारीले आज भाद्र ६ गतेसम्म विश्वभरी २ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने आठ लाखभन्दा बढी मानिसको ज्यान लिएको छ।
अर्थात्, आहिले हरेक १५ सेकेन्डमा एक जनाको ज्यान लिएको अवस्था छ। यस मध्ये अमेरिकामा मात्र विश्वमा सबैभन्दा बढी सन्ताउन्न लाखभन्दा बढी संक्रमित र एक लाख ८० हजारभन्दा बढीको ज्यान गैसकेको छ। अमेरिकालाई पछ्याउदै यो रोग ब्राजिल र भारतमा बढ्दो रुपमा फैलिदै छ भने नेपालमा नयाँ वर्षको सुरुमा छिटफुट देखिएको यस महामारीले १५० भन्दा बढी मानिसको ज्यान लिईसकेको छ।
नेपालमा पनि ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। बढ्दो संक्रमण र मृत्युको कारण कोभिड-१९ ले मानव समुदायमा ठूलो सत्रास जन्माएको छ। एकातिर कोरोना महामारीले मानिसको स्वास्थ्य स्थिति बिग्रने तथा आफू, घर परिवारजन वा आफन्तको मृत्युको डर छदैछ भने अर्कोतिर पटक-पटकको लकडाउन तथा संक्रमित स्थानको सिल गर्ने सरकारले अपनाएको उपायले उद्योग व्यवसाय कलकारखाना होटेल आदि बन्द हुनुले बेरोजगारी बढेको छ।
परिणामतः आर्थिक स्थिति सरकरको मात्र हैन हरेक व्यक्ति परिवारको कमजोर बन्दै गैरहेको छ, सीमित साहुमहाजनमा बाहेक। कोरोनको कहर र यसले निम्ताएको त्रासले अनिश्चित भविष्यको बादल छाएको छ। कोरोना संक्रमित भएकाहरुले कोरोंनालाई जितेर आइसोलेसनबाट हटेपछि पनि घर परिवार, नाता, साथीभाइ तथा छरछिमेकीबाट गरिने सामाजिक विभेद र दुर्व्यवहारको कारणले यो महामारीबाट धेरै मानिसमा त्रास बढेको पाइन्छ।
अझ घर परिवार तथा आफन्त नभएका बेसहारा व्यक्तिलाई कोरोना संक्रमण भएमा रोगि जिन्दगी बाच्नुभन्दा मर्नु नै निको मानेर आत्महत्याको बाटो रोज्ने सम्भावनालाई नकार्न मिल्दैन। पछिल्लो घटनाको प्रतिनिधित्व भारतमा मजदूरी गरी फर्किएका खण्डत्छन्न गाउपालिका- ७ का १८ वर्षका शेर राउतले पिसिआर जाँचमा पोजिटिभ रिपोर्ट आएपछि करेन्टइनमै आत्महत्या गरेकोलाई लिन सकिन्छ।
१६ औँ शताब्दिमा युरोपको इटाली, अस्ट्रिया, बेलायत लगायतका मुलुकमा प्लेग महामारीले धेरैको ज्यान लिएको थियो र यस रोगबाट बच्न त्यो समयमा पनि घर परिवार, समाजबाट अलग बस्ने (क्वारेन्टाइन र आसोलेसन) प्रचलन रहेको थियो अरुलाई नसरोस् भन्नका लागि। संसारभरी कोभिड-१९ ले लिएको महामारीबाट बच्न तथा थप फैलिनुबाट रोक्ने उपायको लागि अहिले संसारभरका प्राय: सबै मुलुकमा विश्व स्वास्थ्य सँगठनको सुझाब बमोजिम लकडाउन, करेन्टाइन, आइसोलेसन, सामाजिक तथा भौतिक दूरी जस्ता उपाय अवलम्बन गर्ने गरीएको छ।
यसको साथसाथै मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने, हात मिलाउने वा अंकमाल गर्नुको सट्टा टाढाबाटै नमस्कारको आभिवादन गर्ने, स्वास्थ्यवर्दक खाना खाने, उच्च मनोबल राख्ने जस्ता सुरक्षात्मक उपायबाट यस महामारीलाई जित्ने उपायहरु अवलम्बन गर्न प्रेरित गरीएपनि व्यक्तिको सामर्थ्य तथा चेतना एवम् अन्य कारणले सुझावको पूर्णपालना गरीएको पाइदैन।
बरु रोगको महामारीबाट संक्रमण हुन सक्ने त्रास र यसमा पनि अझ नजिकको आफन्तको यस महामारीले ज्यान लिएको खण्डमा त आश्रित मानिस चेतनाशून्य जस्तै हुनसक्ने श्रृजित अवस्थाले आत्महत्याको जोखिम बढाउने सम्भावना देखिन्छ। कोरोना महामारी र यसले निम्ताउने आर्थिक, सामाजिक, राजनैतिक र वातावरण एवम् शिक्षा, स्वास्थ्यको क्षेत्रमा पार्ने प्रभावका सन्दर्भमा दिनदिनै सम्बन्धित क्षेत्रका विज्ञहरु बीच बहस भै रहेका छन्।
मानसिक विज्ञहरुका अनुसार कोरोना महामारीका कारण अहिले विश्वमा धेरै मानिसहरुमा तनाव, उदासिनता, दुखाइको आक्रमण, भोक तथा निन्द्रा नलाग्ने, बेचैनी, मनोवैज्ञानिक त्रास तथा अनेक प्रकारका स्नायु सम्बन्धी रोग बढेको पाइएको छ भने महामारीबाट निश्चित हुने निहुँमा रक्सि, चुरोट जस्ता मादक पदार्थ सेवन गर्नेको संख्या बढ्नु र परिणामस्वरूप मानसिक रोगीको संख्यामा बृद्धि हुन थालेको र समयमै मनोपरामर्श हुन नसकेमा वा मनोपरामर्श अभावमा मानिसले आत्महत्या जोखिम लिने सम्भावनालाई देखेका छन्।
सन् १७९८ मा प्रकाशित माल्थसको जनसंख्या सिद्धान्तले पृथ्वीको जनसंख्या ज्यामितिय ढंगले बढ्दै जान्छ र यसलाई नियन्त्रण गर्न प्रकृतिले महाविपत्तिहरु जस्तै बाढी, आधिँबेरी, महामारी रोगहरु आदि श्रृजित हुन्छन भनेका छन्। यस अर्थमा हेर्दा कतै कोभिड-१९ को महामारी पनि उनको सिद्धान्त बमोजिम श्रृजित त होइन भन्ने जिज्ञासा हुनसक्छ तर उनको सिद्धान्त प्रमाणित हने कुनै आधार देखिदैनन्।
तापनि बस्तुगत रुपमा विश्लेषण गर्दा कोरोना भाइरसको स्वरूप परिवर्तन र यो सहजै सर्न सक्ने भएको, हालसम्म धेरैको प्राण लिईसकेको र यसको औषधी तथा खोप पत्ता लागाइनसकेको वर्तमान अवस्थामा संसारभरका मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुनु स्वाभाविक नै हो।
अहिले कोरोनाको कारण लकडाउन, असामयिक मृत्यु, बेरोजगारी, संकुचित अर्थव्यस्था आदिको कारणले मानिसको जीवनमा जताततै लथालिंग भएको र मानिसले आफू, परिवार, आफन्तजनमा पर्न गएको खराब असरको स्वयम मूल्यांकन गरी आत्महत्याको जोखिम बहन गरेको प्रसँगमाथि उल्लेख गरेको प्रतिनिधि पात्रको उदाहरणबाट बुझ्न सकिन्छ।
आत्महत्या सम्बन्धमा संसारभर ३० हजारभन्दा बढी लेखहरु प्रकाशन भैसकेका छन् भने दिनहुँजसो सो सम्बन्धमा बहस भैरहन्छन् तर यस सम्बन्धमा फ्रेन्च दार्शनिक तथा समाजशास्त्री इमाइल दुर्खीमले सन् १८९७ मा समाजको ढाँचा र बनोट अनुरुप तथ्यांकविधि बमोजिम अध्ययन गरी प्रकाशन गरेको पुस्तक 'ले सुसाइड' लाई मुख्य आधार पुस्तकको रुपमा लिने गरिन्छ।
किनकी उनले त्यो समयमा हुने आत्महत्यालाई समाजको बस्तुगत बनोट, धर्म, लिंग, वर्ग, भौगोलिक स्वरूप, मौसम, उमेर समूह आदिलाई आधार लिएर विश्लेषण गरी पुस्तकमा आफ्नो विचार व्यक्त गरेका छन्। उनको अनुसार आत्महत्याको जोखिम मानिसले देहायका चार कारणले गर्दा मोल्ने गर्दछ।
क) अधिक इर्ष्या
ख) व्यक्ति वा संस्थामा पूर्ण समर्पण
ग) सामाजिक मूल्य वा मान्यतामा अधिक ह्रास वा अस्थिरता
घ) कडा कानुनी शासन वा नीति नियम
आत्महत्याका लागि माथि उल्लेखित जुनसुकै कारक तत्व भएता पनि आत्महत्यामा मुलतः सामाजिक नीति नियम र समाजले दिने आत्म सम्मान वा समाजमा प्रत्येक व्यक्तिलाई समेट्न गरिने कार्यको घटीबढीले बढी भूमिका खेल्ने कुरामा उनले जोड दिएका छन्। इमाइल दुर्खीमका अनुसार तत्कालीन समयमा पनि आत्महत्या मानिसको मनोवैज्ञानिक कारण थियो र अहिले पनि यस्लाई मनोविज्ञाहरु मूल कारकनै मान्दछन्।
यसैगरी हरेक व्यक्तिमा मनोपरामर्शका लागि जोड दिन्छन् तथापि उनी आत्महत्यालाई सामाजिक कारक र यसलाई सामाजिक बनोट, हावापानी, भूगोल, शैक्षिक स्थिति, उमेर, लिंग, वर्ण आदिले समाज र यसले गर्ने कार्यमा प्रभाव पर्ने कुरामा विश्वास गर्छन्। मानिस समाजमा बस्ने र समाजमा गरिने विभिन्न क्रियाकलापमा सामाजिक न्याय, प्राकृतिक स्रोत साधनको बाडफाड, मानविय सम्बन्ध, माया, दया, करुणा, आत्मसम्मान, सामाजिक पुँजी आदिको भूमिका रहने र यसको प्रयोगले आत्महत्याको दर बढ्नु वा घट्नुमा फरक पर्ने राय व्यक्त गर्छन्।
सामाजिक पुँजीका सन्दर्भमा उनी भन्छन्, सबै मानिसलाई समेटिएको र कानुनी शासनमा आधारित सुखी र खुसी समाज नै उत्कृष्ट सामाजिक पुँजी हो। अर्थात् नेपाली संस्कृति र इतिहास अनुसार रामराज्य वा अंशुबर्माको शासन कालमा सामाजिक पुँजी उच्च स्तरको रहेको अनुमान गर्न सकिन्छ। सामाजिक पुँजीमा समाजमा मानिसको सोच सकरात्मक रहने, भरोसा र विश्वासमा पूर्णता तथा आर्थिक र सामाजिक स्थिति उन्नत रहन्छ फलस्वरूप समाजमा मानिसको उन्नति र प्रगति अविछिन्न अग्रगतिमा बढिरहेको हुन्छ।
भोक, त्रास, बेचैनी, अनिन्द्रा, गरीबी, बेचैनी आदि नकारात्मक सोच र अवस्थाले मानिसमा बास गर्दैन। परिणामत: आपराधिक कार्यको अतिरिक्त आत्महत्याको दरमा पनि कमि हुन आएको हुन्छ जुन कुनै समाजमा पनि। दुर्खीमले भने जस्तै सामाजिक पुँजीको सन्दर्भमा संयुक्त राष्ट्र संघ विकास कार्यक्रम २०१० को मानव विकास प्रतिवेदनमा पनि शिक्षा, शान्ति, फलदाई जीवन, आत्मसंस्तुष्टी, व्यक्तिको खुसी, रुचिपूर्ण जिवन, पारस्परिक सुसम्बन्ध, एक-अर्कामा विश्वास र भरोसा, सम्मान र सामाजिक सम्बन्ध जस्ता गुणले भरिएको खुसीपूर्ण मानव जीवनलाई सामाजिक पुँजीको रुपमा लिएको छ।
र यसै सूचांकलाई हेर्दा सामाजिक पुँजी राम्रो नभएका मुलुकमा मानव सम्बन्ध विवादित हुने, समाजमा तनाव र त्रास को सिर्जना हुने, हत्या, आतंक एवम् आपराधिक क्रियाकलाप तथा आत्महत्य्को जोखिम बढ्न सक्ने सम्भावना प्रचुर हुन्छ।
अहिलेको २१ औं शताब्दीको समाजलाई हामी आधुनिक समाज भनेर चीन्दछौँ र यो समाज बृहद परिवारमा भन्दा सीमित परिवारमा बस्न रुचाउने प्रवृतिको हुन्छ जहाँ भौतिक पूर्वाधार प्रयाप्त हुन्छन्। मानिसहरु गाउँभन्दा सहरमुखी हुन्छन् र सहरी समाज बसोबासको हिसाबले एकत्रित हुन्छ। साथै मानिसको समूह पनि ज्यादै ठुलो हुन्छ।
दुर्खीमले सहरी समाजमा सामाजिक मूल्य मान्यतामा कमि आउने मान्यता राख्छन। यस समाजमा मानिस व्यक्तिगत जीवनलाई मात्र महत्व दिने हुँदा सामाजिक जीवनमा नसमेटिएका मानिसले एक्लोपनको अनुभूति गर्न थाल्छन्। यदि राज्यले प्राकृतिक स्रोतसाधनको बाडफाड तथा उपयोग, उचित रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता जीवनसँग सिधै सरोकार हुने कुरामा समेत सबैलाई समेट्न सकेन भने।
यसको अतिरिक्त प्राकृतिक बिपत्ति, रोग ब्याधिको महामारी आदि प्राकृतिक तथा मानव श्रृजित भय र त्रासले झन् गरिबी तथा बेरोजगारी बनाउन सक्छ सहरी समाजमा। जसले आत्महत्या जोखिम बढाऊन सहयोगी भूमिका खेलेको हुन्छ। दुर्खीमले आत्महत्याको सम्बन्धमा हावापानी, मौसमी तापक्रम, भौगोलिक बनोट, धर्म, लिंग, राजनीतिक प्रणाली आदिको गहिरो तथ्यांकात्मक विश्लेषण गरी सुझाव दिएका छन्।
हावापानी र आत्महत्याको सन्दर्भमा उनी भन्छन, जब आकाशमा कालो बादल मडारिएको हुन्छ र दिउँसै अँध्यारो हुन्छ र वायुमण्डलको तापक्रम घट्न सुरु गर्छ। त्यो समयमा मानव जीवनमा असहज महशुस हन गइ व्यक्ति आत्महत्याको जोखिम लिन सक्दछ। त्यसैगरी मौसमी आधारमा आत्महत्याको सम्भावना जाडो मौसममा भन्दा गर्मीमा बढी हुने गर्दछ।
सन् १८७० मा इटालीको वार्षिक हजार आत्महत्याको संख्यामा ५९०–६०० सम्म गर्मी मौसममा भएको थियो भने बाँकी अन्य मौसममा। फेअरी र मोर्सेलीले यस सम्बन्धमा के निष्कर्षमा पुगेका छन् भने मौसमी तापक्रम र अनुकूल हावापानीको कारणले मानिसलाई आत्महत्या तर्फ उत्तेजित बनाई रहेको हुन्छ उसको स्नायूप्रणालीमा।
त्यसैगरी दिनरातको २४ घण्टा मध्ये आत्महत्याको लागि प्रेरित गर्ने समय दिउँसोको समयलाई औँलाएका छन् किनकि यो समयमा मानिसले सामाजिक जीवनका विभिन्न कठिनाइँ र समस्या भोगिरहेको हुन्छ भन्ने तर्क उनी गर्छन्। धर्म र संस्कृति अनुसार आत्महत्या दर फरक रहेको तर्क उनी गर्छन्।
तत्कालीन समयामा सबभन्दा कमि आत्महत्या जैन धर्म सम्प्रदायका मानिसहरु थिए भने त्योभन्दा बढी क्याथोलिक धर्म सम्प्रदायका र सबैभन्दा बढी प्रोटेस्टेन्ट धर्मका अनुयायीहरु रहेको तथ्य उनी प्रस्तुत गर्छन्। जबकी क्याथोलिक धर्ममा भन्दा बढी व्यक्तिगत स्वन्त्रता प्रोटेस्टेन्ट धर्म सम्प्रदायमा रहेको हुन्छ भन्ने मान्यता रहेको छ। उमेर समूहका आधारमा कम आत्महत्या हुने उमेर भनेको १५ वर्षभन्दा कमि र ८० वर्षभन्दा माथिको उमेर समूह रहने दलिल उनी पेस गर्छन् भने लिङ्ग को आधारमा हेर्दा महिलामा भन्दा पुरुषमा बढी आत्महत्या दर रहेको पाउछन् उनी।
उनको निस्कर्ष छ, महिलाले आत्महत्याको प्रयत्न गरेका हुन्छन् भने पुरुषले प्रतिवद्धता गरेका हुन्छन्। महिला र पुरुषको आत्महत्या अनुपातको सम्बन्धमा पुरुषको आत्महत्या दर महिलाको भन्दा ३/४ गुणा बढी रहेको तथ्य पेश गर्छन उनी। जस्तै सन् १८५८-६० मा इटालीमा महिलाको आत्महत्या दर एक हजार हुँदा पुरुषको २,५४६ रहेको थियो। त्यस्तै अमेरिकामा शिक्षित महिला र शिक्षित पुरुषको सम्बन्धमा हेर्दा गोरा महिलाले भन्दा निग्रो महिलाको आत्महत्या अनुपात कम रहेको थियो।
यस सन्दर्भमा उनी भन्छन्, मानिसले सिक्न खोज्दछ हरेक कुराको, सिकाइ र अभ्यासले उसको दक्षतामा वृद्धि गर्छ जब धार्मिक समाजले उसले सिकेको कुरालाई नकार्न थाल्दछ तब मानिसमा बेचैनी उत्पन्न हुन थाल्दछ। फलस्वरुप मानिस आत्महत्या तर्फ उन्मुख हुन सक्दछ। त्यसैले मानिसलाई नाश गर्ने एउटा अवयव धार्मिक समाज पनि हो भनेर उनले समाजको आलोचना गरेका छन्।
किनकी समाजले बनाएका नियम, कानुन, निर्देशन र अभ्यास प्रायः गरी धर्म र सामाजिक र संस्कृतिक विश्वासका आधारमा बनाइन्छ र समाजको आदेश पालना गर्नु हरेक मानिसलाई बन्धनकारी मानिन्छ। जब मानिसले परम्परगत मान्यता र विश्वासको डोरी चुडाल्न खोज्दछ तब उसले विभिन्न कठिनाइ भोग्नु पर्दछ। यही डर र त्रासले मानिसलाई आत्महत्याको बाटो रोज्न बाध्य परेको हुन्छ।
वैवाहिक सम्बन्ध र आत्महत्याको सन्दर्भमा, उनको अध्ययनमा अविवाहित मानिसको आत्महत्या कमि रहेको हुन्छ किनकी अविवाहित मानिसको जीवन सहज र डर, त्रास रहितको हुन्छ। सन् १८७३-७८ मा फ्रान्समा विवाहित र पारिवारिक जीवनमा रहने १६ हजार २६४ जनाको आत्महत्याको घटना भएको थियो भने अविवाहितको संख्या ११ हजार ७०९ रहेको थियो।
यस सम्बन्धमा उनी भन्छन्- विवाहितभन्दा बढी बिधवा वा बिदुरले आत्महत्या गर्ने गर्छन्। मानसिक रोग विशेषज्ञा डा. सरोजप्रसाद ओझा तनावलाई अप्राकृतिक घटना मान्नुहुन्छ। मानिसमा असाधारण परिस्थितिले तनाव सृजना गराउँछ। जस्तैः अहिले कोभिड-१९ ले गरीरहेको छ र यसलाई हेर्ने दृष्टिकोण पनि व्यक्ति पिच्छे फरक फरक हुन्छ।
जब कोभिडले उब्जाएको जुन सन्त्रास मानिसको मनमा छाएको छ, त्यसले मानिसमा सकारात्मकभन्दा नकारात्मकतिर मात्र सोच्ने भएको खण्डमा उक्त व्यक्तिमा मानसिक समस्यामा भइ समयमा मानोपरामर्श भएन भने उक्त मानिसमा आत्महत्याको जोखिम बढी हुन् सक्छ। नेपालको सन्दर्भमा पनि स्वस्थाकर्मीहरु जो फ्रन्ट लाइनमा रहेर कम गर्छन्, उनीहरुमा एक किसिमको एन्जाइटी तथा मानसिक त्रासको समस्या बढेको देखिन्छ।
कारकमा व्यक्तिगत सुरक्षा सामग्रीको अप्रयाप्तता तथा उपकरणको कमि, स्थानको समस्या, समाजले स्वस्थकर्मी माथि हेरिने दृष्टिकोण तथा अरुले गर्ने हेलचक्र्याइ आदि। कोरोनाले अहिले मानसिक त्रास यति धेरै बढेको छ कि यो लाग्यो भने अब हामी मरीहाल्छु भन्ने। एकातिर कोभिडले मानसिक त्रास, भय, अनिन्द्रा ल्याएको छ अर्को तिर बारम्बार भैरहने लकडाउन, बेरोजगारी, शैक्षिक तथा स्वस्थको क्षेत्रमा तहसनहस, साथीभाइ नातेदारहरुसँगको भेटघाटमा कमि, आर्थिक अवस्था खस्किनु र कतिपय घरपरिवार भोक, रोग र सोकमा रहनुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मानसिक समस्यामा पर्ने स्थिति रहेको देखिन्छ।
जसले गर्दा आत्महत्याको जोखिम बढ्ने सम्भावनालाई नकार्न सकिदैन। कोभिडको असर कहिलेसम्म पर्ने हो भन्ने यकिन गर्न सकिने अवस्था छैन किनकी कोरोना संक्रमण घट्न खोपको विकास र व्यापक प्रयोग नहुन्जेलसम्म यो महामारीबाट मानव समुदाय त्रसित हुने अवस्था छ र यो अवस्था अनिश्चित रहेकोले कोरोनासँगै जनजीवन समन्यकारण गर्नुको विकल्प छैन र यसमा संयमता र सुरक्षा अपनाउँदै मानव जीवनलाई सहजीकरण गर्नु नै आजको आवश्यकता हो।
कोभिड-१९ को महामारी प्रपोकमा आत्महत्या जोखिम हुन सक्ने मुख्य कारक तत्वहरु:
१) सामाजिक दूरी राख्नुपर्ने हुँदा संक्रमित व्यक्तिले आफूलाई समाजबाट दुर्व्यवहार गरेको अनुभूती गर्नु
२) बारम्बार हुने लकडाउन, निषेधित क्षेत्र तोकिनु, संक्रमित स्थान सिल गर्नु जस्ता कार्यले आर्थिक बिचलन हुने, बेरोजगारी बढ्ने, गरिबी बढाउदै जाने हुँदा मानसिक त्रास बढ्दै जानु
३) फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा कार्यबोझ बढी हुनु तथा बारम्बार कोरोना बिरामी सँगसँगै रही काम गर्नु पर्दा संक्रमण हुने डरका कारण फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिमा बढी तनाव, अनिद्रा तथा बेचैनी बढ्नु।
४) कोरोना संक्रमित भएका व्यक्तिलाई माया, स्नेह र सहनाभूती दिनुको सट्टा घर परिवार तथा समाजले अपमान तथा घृणा गर्नु, संक्रमितको नजिक नपर्नु, बोलचालनै नगर्नु र दुर्व्यबहार गर्नु।
५) राज्यले जनतालाई उचित समयमै आस्पताल, आइसोलेसन वार्ड, आवश्यक बमोजिमको चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन नसक्नु तथा जनताको भरोसा योग्य कार्य गर्न नसक्नु।
६) गरिबी, भोक र शोकमा परेका जनतालाई राज्यबाट उचित समयमानै राहत दिन नसक्नु आदि।
समाधानका उपायहरु:
१) सामाजिक संजालमा कोरोना संक्रमितको सिकिस्त भइ भेन्टिलेटरमा राखेको बिरामी, मानिसको मृत्यु पश्चात चिहानमा गाडेको, मृत्यु हुनेको संख्यामा वृद्धि, आफन्तको मृत्यु पश्चात आश्रितको पीडा आदिको भिडिओ, तस्बिरहरु आदि शेयर गर्नाले मानिसमा नकारत्मक भाव सिर्जना हुन सक्दछ। यसर्थ, नकारात्मक भाव सिर्जना हुने सामग्री शेयर नगर्ने र सकारात्मक सोच बढाउने उपायहरुलाई प्रोत्साहन गर्ने।
२) कडा खालको मानसिक रोग (साइकोसिस) भएका मानिसमा बढी आत्महत्या हुने सम्भावना हुन्छ भन्ने गरिन्छ र मनोचिकित्सक अनुसार साइकोसिस भएकामा पनि करिब १० प्रतिशत बिरामीले आत्महत्या गर्छन् भन्ने छ। यसर्थ साइकोसिस भएका बिरामीमा सकारात्मक सोचको विकास गराउनु पर्छ। तसर्थ त्यस प्रकारका बिरामीका लागि मनोचिकित्सकबाट निशुल्क सेवा उपलब्ध गराउने,
३) कोरोना महामारीले बेरोजगारी बढ्ने, आर्थिक, शैक्षिक, स्वास्थ्य, धार्मिक, सामाजिक र संस्कृतिमा व्यापक परिबर्तन हुन् जाने हुँदा यसको व्यवस्थापनका लागि सम्बन्धित विशेषज्ञहरुबाट समाधानका उपायहरु पहिचान गरी कार्यन्वयन गर्ने।
४) संक्रमित व्यक्ति र मृत्युदरको ग्राफ एकअर्कोमा अन्तरसम्बन्ध हुन्छ, जब संक्रमण दर र मृत्युदर बढ्यो भने मानिसमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने, आत्मबलमा कमि आउने हुन्छ। यसर्थ यो दरमा कमि गराउन जनचेतनामुलक कार्यक्रम इन्टरनेट भिडियो, रेडियो र टेलीभिजन मार्फत गीत संगित, प्रहसन, नाटक आदिको माध्यम ले सचेतना बढाउन सकिन्छ। यस प्रकारको उपाय अहिले भियतनामले अपनाएको छ र त्यहाँ कोरोना संक्रमण बढ्न सकेको छैन।
५) मनोवैज्ञानिक डर, त्रास, भोक नलाग्ने, अनिद्रा हुने जस्ता समस्या भएका व्यक्तिहरुलाई मनोपरामर्श सेवा टेलिफोन, भिडिओ कन्फेरेन्स मार्फत उपलब्ध गराउन सकिन्छ। यसैगरी मानसिक समस्या हुन नदिन बढी समय घर परिवारसँग बिताउने गर्नु पर्छ।
६) संक्रमण दर घटाउन घरबाट काम गर्ने, इ बैँकिङ, इ-शपिङ आदि उपाय गरी कम यात्रामा बढी काम लिने उपाय अवलम्बन गर्न सकिन्छ।