गोधुली साँझ कत्तिलाई रमाइलो लाग्दछ। अनि झन् ५५५ को संयोग झनै रमाइलो लाग्दछ मान्छेहरुलाई। जसरी चुरोट खानेलाई ५५५ राम्रो लाग्दछ। रमाइलो नै नरमाइलो त हो जीवनमा। भदौ २ गते बेलुकीको पाँच बजेर पचपन्न मिनेटमा सल्केको चुरोट जस्तै सकियो जीवन।
जीवन उम्रनु रमाइलो। सकिनु नरमाइलो। हो, नरमाइलो बनेर आयो यो दिन। कारण थियो, एक मन पर्ने मान्छेसँग त्यही दिनदेखि बोल्न नपाइने, भेट्न नपाइने भयो। यो सबै कालले गर्यो। काल चिज नै यस्तै छ। अरु अनेक प्लान गर्दछन्।
उ एक प्लान गर्दछ। जित उसको हुन्छ। हामी सबै हार्दछौँ र उसँगै जान्छौँ। आजसम्म यही भएको छ। जतिपल्ट जिते भने पनि त्यो हाम्रो भ्रम हो। सत्य त त्यही काल हो जसले संसारका चराचर जगतका जीवनहरु लिएर जान्छ।
हाम्रो र हामी भन्ने कति मान्छेलाई यही कालले जित्यो। हामीले र हाम्राले हारिरहयौँ। जन्मेदेखि नै सुरु हुने यो खेल मृत्युपछि सकिन्छ। तैपनि हामी जीवन क्या वा गज्जब भन्दै हिँडिरहेका छौँ। हिडिरहने छौँ।
एक दिन मैले राष्ट्रकविसँग सोधेथेँ। राष्ट्रकविज्यु जीवनको रस के हो? उहाँले तत्क्षण भन्नु भयो। रहस्य। यो जत्ति मज्जा के छ। भोलि कहाँ के हुन्छ कहिल्यै थाहा नहुने। यदि भोलि मेरो यो शत्रु बन्छ भन्ने मात्र मान्छेले थाहा पाउने हो भने यो संसारमा कहिल्यै कोही रहँदैन।
किनकी एकले अर्कालाई त्यो मेरो शत्रु बन्छ भन्ने थाहा पाउने बित्तिकै सकाउँछ। अनि एक व्यक्तिले अर्का व्यक्तिलाई। एक गाउँले अर्का गाउँलाई। एक जिल्लाले अर्का जिल्लालाई र एक देशले अर्का देशलाई अहिल्यै सकाउँछन् अनि को रहन्छ यो संसारमा? लौ भन्नुस् त?
उहाँले लौ भन्नुस त भन्नु भयो, मैले भन्न सकिनँ। रहस्य बारेमा बोल्दा उहाँको अनुहारमा आएको चमक हेरेर म चम्किलो बनेर बसेँ। अनि सम्झने स्वादिलो कुरा यही रहस्य त छ। अझ रहस्य मृत्युमा छ। कुनबेला कसरी कहिले आउछ केही थाहा हुदैन। मान्छे मर्न चाहदैन। बाँच्न चाहन्छ।
कविवर १०२ वर्षको हुनुभयो भन्ने हामीलाई थाहा छ। तैपनि अझै २०/२५ वर्ष केही हुँदैन झै लागिरहन्थ्यो भेट्दा। उहाँ पनि मर्न चाहनु हु्न्थ्यो। डर मृत्यु देखि छैन भने पनि र सत्य भए पनि यो संसार छाडेर जान मान्छेलाई मन हुँदैन र त तरक्क मर्नु अघि हरेक मृत्यु हुने मान्छेले दुई थोपा झार्दछ।
दुई आँखा बन्द गर्नु अघि झरेको अन्तिम दुई थोपाले धेरै कुरा बोलेको हुन्छ। मर्नु अघि यो मैले धेरैमा देखेको छु। हामी ओछ्यानमा मर्नु हुँदैन भनेर हत्तपत्त तुलसीको मोठमा लैजान्छौँ। यसको कारण धर्म र धार्मिक कुरासँग होला।
तर राष्ट्रकविको चाहना रहेछ मृत्युवरण ओछ्यानमै गर्ने। जीवनको सत्यता बुझिसकेको र परमार्थको पनि ज्ञान भएको उहाँले ओछ्यानमै किन मर्न चाहनु भयो? यो मैले बुझेको छैन।
बेलुकी ६ बजे मैले उहाँको घरमा फोन गरे। के योजना रहेछ न असत्य हो कि यो खबर। असत्य भईदिए पनि हुने भन्दै डराई डराई सोधे थेँ। ल्यान्ड लाइन उहाँको छोरी मन्जु अधिकारीले उठाउनु भयो र भन्नु भयो 'हो यही सत्य हो।'
अनि सोधेँ 'अब के प्लान छ?'
उहाँले भन्नु भयो 'आर्मीहरु आउदैछन्, हामी परिवार पनि जम्मा हुँदैछौँ केहीछिनमा थाहा हुन्छ, सायद आज हुँदैन होला अन्तेष्टि।'
मैले नेपालमा घोष्ट राइटिङ् नेपाल चलाउन थालेपछि हरेक दुई तीन ब्याच मिलाएर कविवरको घरमा लटरम्म मान्छे लिएर जान्थेँ। उहाँको अनुभव सुन्न नेपाली साहित्यको नयाँ पुस्ता लिएर जाँदा उहाँ खुसी हुनुहुन्थ्यो। हाम्रो लागि उहाँको घर तिर्थस्थल जस्तै थियो।
तिर्थ भित्रको देवता पनि उहाँ नै हुनुहुन्थ्यो। कविवरलाई देवता मानेर उहाँको वाणी सुन्न मन लाग्थ्यो। मज्जा आउथ्यो। सबै साथीहरु रमाउनु हुन्थ्यो। म पनि त्यसै पुलकित हुन्थेँ।
सबैले घरमा आएर फोटो हाल्नु हुन्थ्यो। आज घोष्ट राइटिङ नेपालको तर्फबाट हामीले सधैँ भेटन खोज्ने मान्छेलाई भेटन पायौँ। धन्यवाद घोष्ट राइटिग नेपाल र कमल ढकाल भनेर। भदौ २ गते बेलुका पनि फोटा सबैले हाल्नु भयो। कसैले फोटो क्रेडिट दिनु भयो, कसैले दिनु भएन। फोटो त्यही थियो। सम्झना त्यही गर्न खोजे पनि लेखिएको अक्षर फरक थियो। हार्दिक श्रद्धान्जली अनि त्यसपछि उहाँका कविताका केही हरफ वा आफ्नै मनका गुम्फनहरु थिए।
लाग्यो एकै फोटोले पनि कति वटा अर्थ दिँदो रहेछ। स्वादिलो जीवन बाँचेर बेस्वादिलो बनाएर जानु भयो। मान्छे भन्ने चिज नै यस्तै छ। काललाई पनि जित्न खोज्छ र योजना बुनिरहन्छ। राष्ट्रकवि पनि योजनामा हुनुहुन्थ्यो सय वर्ष नाघेपनि वा १०२ पुगेपछि पनि। ऋतम्भरा लेखेर मर्ने कुरा गर्दा उहाँ भन्नु हुन्थ्यो 'मान्छेले योजना बनाईरहनु पर्दछ, उद्देश्य बनाईरहनु पर्दछ, नत्र उ बाहिर हैन भित्रै मर्दछ।'
उहाँको बारेमा फेसबुक रंगिए। केही दिन पत्रिका रंगिन्छन्। केही सरकारले घोषणा गर्दछ र अनि सकिन्छ व्यक्तिगत रुपमा उहाँको सम्झना। तर कृतिगत रुपमा उहाँलाई नेपाली समाजले बिर्सनै सक्दैन। नसम्झौँ भने पनि बाडुल्की लागिरहन्छ नेपाली समाजलाई।
कारण त्यही त हो, उहाँको निरन्तर कर्म। धर्मो रक्षति रक्षित मात्र हैन कर्मोे रक्षति रक्षित हुँदो रहेछ भन्ने उहाँलाई भेटदा लागिरहन्थ्यो। कोठाभरि कस्तो मज्जाले सिस्टमेटिक पाराले राखिएको उहाँको प्रमाणपत्रहरु, पदकहरु देखेर गज्जब मज्जा लाग्दथ्यो। फुर्तिलो चेहरा, रसिक बोली, कोकिल कन्ठि त्यो आवाज कानमा गुन्जिरहेछ। उहाँ हुनुहन्न भन्न परिरहेछ।
म जहिल्यै भन्ने गर्दछु। महापुरुषहरु सूर्य जस्तै लाग्दछन्। हरेकको हृदयमा उस्तै गरी बास बसिरहेका हुन्छन्। उहाँ पनि धेरै नेपालीको हृदयमा गाढिएर बस्नु भएको छ। बसिरहनु हुनेछ। मृत्यु चिज नै समसामयिक कहिल्यै हुँदैन। असमायिक नै हुन्छ।
कारण हो, सबैले आफ्नो मान्छे सधै आफैसँग रहिरहोस भन्ने चाहन्छन्। चाहे जिवेत शरदम शतमः नै पार गरेको हाम्रो राष्ट्रकवि नै किन नहुनु। उहाँको निधन अहिले पनि असमायिक नै भयो। अनि हरेक मृत्युमा आउने दिमागका तरंग जस्तै उहाँको निधनमा पनि दिमागमा उही मृत्युका तरंगले हान्यो। जो आफन्तको मृत्युमा उठ्दछन्।
मृत्युका चार चरण हुन्छन्। पहिले त सुन्ने बित्तिकै मान्छेले अस्वीकार गर्दछ। कहाँ हुन्छ नभएको कुरा गर्ने भन्न नै थाल्दछ। गलत कुरा गर्ने भनेर उ मान्दै मान्दैन। अनि केही छिनपछि दोस्रो चरणमा प्रवेश गर्दछ। त्यो मान्छेले के गर्यो के गरेन मेरो जीवनमा?
बाँचेको भए के के गर्दथ्यो यति सोच्दा सोच्दै उसले गरेको कुरा सम्झेर उ तेस्रो चरण अर्थात दिक्दारीको चरणमा प्रवेश गर्दछ। हेत्तेरि यति असल मान्छेलाई भेटन म काहाँ जाउँ अब? कहिले भेट नहुने भयो है? ओहो! मैले आवाज पनि सुन्न पाउँदिनँ अब, बरु म पनि मर्न पाए पनि हुने जस्ता अनेक विचार दिमागमा आउदा आउदै उ अन्तिम चरणमा पुग्दछ।
त्यो हो स्वीकारोक्ति। हो, त नि यो संसार मर्ने चोला हो सबै मर्दछन्। उहाँ पनि जानु भयो। अब के गर्ने बाँच्नेले उहाँले दिएका कुरामा भुलेर जीवन बिताउने हो। म त उसको लागि त्यसको लागि पनि बाँच्नु पर्दछ मर्ने मरेर गईहाल्यो भनेर त्यो चरणमा मान्छेले स्वीकार्दछ।
स्विकार्नै नसक्ने मृत्यु पनि हामीले स्वीकारिरहेका हुन्छौँ। थाहा छ धुँवा उडिरहेको छ। हरेक दिन फरक मान्छेको। थाहा छ यो जगतमा जीवन फर्केर आउँदैन। तैपनि पीडा मनमा लिएर सधैव बसिरहनु पर्दछ। बाँच्नेको पीडा यही हो। मर्नेको पीडा अहिलेसम्म बुझिएको छैन। त्यो मुक्त हुन्छ वा धर्तीमा आउछ? श्रद्धेय राष्ट्रकवि फर्केर आए त हुन्थ्यो भन्ने हामी ठान्छौँ।
उहाँलाई सच्चा श्रदान्जली भनेको उहाँको कृतिको रक्षा गरेर युगयुगान्तर र देश परदेशमा फैलाउनु हो। यही नै उहाँ प्रति सच्चा श्रद्धान्जली हुनेछ। श्रद्धान्जली श्रद्धेय माधवप्रसाद घिमिरे। राष्ट्रकवि, नेपाली जनमनको कवि।