मलाई कोरोना संक्रमण भयो भनेर सम्बन्धित सरकारी निकायबाट भदौ १ गते फोन आयो। म आफैंले कोरोना जाँच गराए पनि पोजेटिभ छ भने रिपोर्ट हात नपर्दै सम्बन्धित सरकारी निकायमा खबर पुगिसक्ने रहेछ।
स्वास्थ्य निर्देशनालयबाट मलाई कुनै पनि लक्षण नभएकाले अस्पताल लान नमिल्ने कुरा आयो। म होम आइसोलेसनमै बसेँ। एक हिसाबले ठिकै हो, म जस्तो लक्षण नभएकालाई हस्पिटल लगे गाह्रो-साह्रो हुनेलाई कहाँ लाने त?
तर होम आइसोलेसनमा बस्दा सामाजिक भयको पाटो बेग्लै हुने रहेछ।
कोरोना संक्रमण हुनेबितिक्कै मैले फेसबुकबाट सबैलाई जानकारी गराएँ। यसमा लुकाउने कुरा के थियो र!
धेरै साथीहरूले त्यो पोस्ट सेयर पनि गर्नुभयो। त्यो थाहा पाएर, मलाई फोन र फेसबुकमा मेसेज गरेर आफू पनि संक्रमित भएको तर विभिन्न भयले बाहिर भन्न डर लागेकाबारे केही साथीहरूले बताउनुभयो। उहाँहरूलाई थाहा थियो, यसलाई लुकाएर हुने केही होइन। पीडा जति बाँड्यो त्यति कम हुन्छ।
तर अफसोच, सबैलाई सामाजिक भयकै चिन्ता छ। पछि समाजमा छिःछिः दुरदुर हुने कि भन्ने पीरले लुकाउनु परेको छ।
म त भन्छु, जसले एकअर्काको पीडा बुझ्दैन, त्यस्ता साथी, छिमेक र आफन्त के काम! समाजले तपाईंलाई बहिष्कार होइन, त्यस्तो समाजको सोचलाई हामीले बहिष्कार गर्नुपर्छ।
यस्तो आँट कहाँबाट ल्याउने भनेर धेरै साथीहरू मलाई सोध्नु हुन्छ।
आखिर हामी कोसँग डराइरहेका छौं? यो रोग अहिले केही व्यक्तिलाई भएर मात्र नौलो लागेको हो, केही हप्ता कुर्नुस्, धेरै सामान्य लाग्नेछ।
मलाई लाग्छ हामी कोरोना भन्दा पनि, अरूले के भन्छन् भन्ने सोचेरै डराएका छौं। तर अरूको सोचले तपाईं आफ्नो सोच बदल्नुहुन्छ भने, तपाईं कोरोना त के सामान्य रोगलाई पनि जित्न सक्नु हुन्न।
आफूसँग भएको सकारात्मक सोच र उच्च मनोबल खस्किन दिनुभएन। हामीले पहिला आफैंसँग लड्न सिक्नुपर्छ। कोरोनाजस्ता रोग अझ बाँचुन्जेल कति आउलान्, जालान्। पहिला आफूमाथि विजय हसिल गर्नुस्, रोगसँग लड्ने तागत आउँछ। आफू कमजोर भए रोगले पनि हेप्छ। त्यसैले डटेर लड्नुपर्छ।
हप्ता दिनको आइसोलेसन बसाइः
मैले आइसोलेसन अवधिभर कुनै औषधि खाइनँ। केही औषधि सँगै राखेको थिएँ, धेरै गाह्रो भए खाउँला भनेर। तर सकेसम्म शरीरलाई नै लड्न दिएँ।
तातो पानी भने १-१ घण्टाको अन्तरालमा पिइरहेँ। धेरै जटिल समस्या नदेखिएकाले आइसोलेसन बसेको ६ दिनमा फेरि परीक्षण गराएँ। भदौ ७ गते रिपोर्ट नेगेटिभ आयो। तर म धेरै खुसी थिइनँ।
मसँगै मेरो बुवा, आमा र भाइलाई पनि कोरोना पोजेटिभ थियो। त्यसै दिन भाइको पनि नेगेटिभ आयो। त्यसको चार दिनपछि आमा र अर्को दिन बुवाको पनि नेगेटिभ रिपोर्ट आयो। अब भने बल्ल म खुसी भएँ।
धेरैले प्रश्न गर्नु हुन्छ, घर तथा समाजले हेर्ने दृष्टिकोण कस्तो रह्यो?
घरबेटीलाई कोरोना पोजेटिभ आएकै दिन मैले भने पनि साथ र सहयोग खासै पाएनौं। थाहा पाएर सानो चित्त गरेपछि हामीले नै ठूलो मन बनाउँदै उहाँहरूको सल्लाह बमोजिम अन्तै बस्यौं। अरू केही समस्या पनि भोगेनौं।
सम्बन्धित नगरपालिकाबाट निको हुनुभन्दा एक दिनअगाडि फोन आयो र होम आइसोलेसनमै बस्न तथा नेगेटिभ रिपोर्ट आएपछि जानकारी गराउन भनियो। हामीले जानकारी गराइसकेका छौं।
मेरो दैनिकी
उचित आहार, प्रशस्त पानी र उच्च मनोबलले हामी सपरिवारले नै कोरोनालाई जित्यौं। हामीले निम्नानुसार दैनिकी अपनाएका थियौं जसले अरूलाई पनि मद्दत होला भनेर बाँडेको छु।
समय | मात्रा | बिस्तार |
बिहान ६:०० | २ ग्लास | मन तातो पानी + २ पोटी लसुन |
६:३० | १ ग्लास १ घण्टा | कागती पानी (तातो) योग + ध्यान |
७:३० | १ ग्लास | १ चम्चा धुलो (जिरा+ज्वानो+मरिच+ल्वाङ+मेथी+दालचिनी+तुलसीपत्र+गुर्जुको लहरा) - तातो पानीमा नास्ता (२ अण्डा+ सुप + ४ पिस बिस्कुट) |
८:०० | १ ग्लास | अदुवा पानी (तातो) सन्चो हालेर वाफ लिने (५ मिनेट) |
९:०० | १ ग्लास | १ चम्चा धुलो- तातो पानीमा |
१०:०० | | खाना (दाल+भात+तरकारी+सलाद) |
११:०० | १ ग्लास | अदुवा पानी (तातो) |
१२:०० | १ ग्लास | १ चम्चा धुलो- तातो पानीमा |
दिउँसो १:०० | १ ग्लास | अदुवा पानी (तातो) सन्चो हालेर भाप (५ मिनेट) |
२:०० | | खाजा (फलफूल + सुप + पास्ता/चाउचाउ/हलुवा (कुनै एक) |
३:०० | १ ग्लास | १ चम्चा धुलो- तातो पानीमा |
४:०० | १ ग्लास | अदुवा पानी (तातो) |
५:०० | १ ग्लास | १ चम्चा धुलो- तातो पानीमा |
६:०० | १ ग्लास १ घण्टा | अदुवा पानी (तातो) योग + ध्यान |
७:०० | | खाना (दाल+रोटी+तरकारी+सलाद) |
८:०० | १ ग्लास | १ चम्चा धुलो- तातो पानीमा सन्चो हालेर भाप (५ मिनेट) |
९:०० | १ ग्लास | अदुवा पानी (तातो) |
१०:०० | १ ग्लास | तातो दुधमा बेसार |
घरमा झन् बढी सतर्क हुनुपर्ने रहेछः
बदलिँदो मौसममा रुघाखोकी र ज्वरो आउनु सामान्य हो। हामीलाई पहिला पनि आएको छ। त्यस बेला पनि हामी तातो पानी पिउँथ्यौं र वाफ लिन्थ्यौं। धेरै ज्वरो आए आफैं सिटामोल र साइनेक्स किनेर खान्थ्यौं। ज्वरो र रुघाखोकीले पूरै नगाजुञ्जेल हामी नेपाली बिरलै अस्पताल जान्थ्यौं। अहिले पनि धेरै समस्या भएको छैन भने यसरी नै लड्ने कोशिश गरौं।
यसो भन्दैमा सावधानी अपनाउन भुल्नु हुँदैन। आफूलाई ज्वरो र रुघाखोकी छ भने अरूबाट अलग्गै बस्नुपर्छ। रुघाखोकी, ज्वरो छ भने घरमै पनि मास्क लगाउनु पर्छ। यसले तपाईंलाई कोरोना लागेको रहेछ भने पनि अरूलाई सार्नबाट रोक्छ।
हामी घरबाहिर सतर्क रहन्छौं तर आफ्नै घरभित्र कुनै सावधानी अपनाउँदैनौं। म जस्ता लक्षण नभएकाहरू तपाईं पनि हुन सक्नुहुन्छ। फरक यति हो, मैले पिसिआर परीक्षण गराएँ र मलाई कोरोना पोजिटिभ देखियो। समस्या तपाईंलाई नहुन सक्ला तर घरमा भएका दीर्घ रोगी, ६० कटेका बुवाआमा वा साना बच्चालाई हुनसक्छ।
भाइरस घरबाहिर लाग्ने तर तपाईंको आफ्नै घरभित्र नहुने हुँदैन। हामीलाई खतरा आफ्नैबाट पनि हुन सक्छ। बेलैमा सचेत बनौं। तपाईंको सानो गल्तीले तपाईंको परिवारको ज्यानै जान सक्छ।
तनाव लिनु हुँदैनः
कोरोना लागे पनि तनाव भने लिनु हुँदैन भन्नेबारे हामीले पढेका-सुनेका छौं। किनभने तनावलाई औषधिले निमिट्यान्न पार्न सकिँदैन। यो त मजबूत आत्मबल र सकारात्मक मनोभावद्वारा निर्मूल पार्ने कुरा हो।
मानौं, हामीलाई रुघाखोकी र ज्वरो आयो। हामी कुनै परीक्षण नगराई आफूलाई कोरोना लागेको छ कि भनी तनाव लिएर बसेका पनि छौं। तनाव भएपछि खाना रुच्दैन, एकोहोरिन थाल्छौं, मनगढन्ते कुरा खेलाउछौं, अरूसँग खासै बोल्दैनौं र एक्लै बस्न रुचाउँछौं। खान मन नलागेपछि शरीर कमजोर बन्दै जान्छ। र अब भने हामी झन् झन् बिरामी हुँदै जान्छौं।
कोरोना आफूलाई लागेको छ कि सोचेरै हामी शिथिल भइसक्छौं। यस्तो कमजोर मनोबलले हामी रोगसँग सहजै हार्छौं। त्यसैले निको हुनेका कथा सुन्नुस्। कोरोनासँग डराउने होइन, जोगिने उपाय सोच्नुस्।
म कोरोना पोजेटिभ थिएँ र पनि हाँसेर तपाईंसँग कुरा गर्न तयार छु भने तपाईंको अनुहार मलिन किन? यो रोगको औषधि नभएकाले यसलाई जित्ने भनेको आत्मबल र सकारात्मक विचारले नै हो।
याद राखौं, संक्रमितले थाहा नदिई हिँड्दा वा समाजको डरले लुक्दा संक्रमण झन् फैलिने जोखिम बढ्छ। रोगसँग नडराऔं, केवल सजग र सुरक्षित रहौं। शारीरिक दुरी पालना गरौं। मास्क अनिवार्य लगाऔं।
लुकेर होइन, कोरोनाबारे खुलेर कुरा गरौं, एकअर्कालाई बुझेर रोगसँग लड्न सक्ने बनाऔं। आफू पनि बचौं, अरूलाई पनि बचाऔं।