देशमा कोभिड-१९ को कहर रफ्तारमा बढ्दो छ। पोजिटिभ देखिएकाको सम्पर्कमा आएकाको टेर्सिङ अब हाम्रो ल्याकतले भेट्ने त दूर, आफै जाँच गरौँ न त भनेर लाइन लाग्नेको जाँच पनि सरल ढंगबाट हुन सकेको छैन। भेडिगोठे क्वारेन्टाइन, झुलसम्म नभएको आइसोलेसन सेन्टर, जीवनजल नपाएर आइसोलेसनमै मृत्यु र कारेन्टाइन भित्रै आत्महत्या जस्ता समाचार असरल्ल छरिएकै छन्।
यी समाचारले तपाईको टाउको रनक्क रन्कन्छ, त्यसमाथि सामाग्री खरिदमा सरकारबाटै भएको भष्टाचार। अब तपाईको दाँत पनि किट्किटाउन थाल्छ। यो त अति भो। जेको नि एउटा सीमा हुन्छ। जिरोबाट तल झरेपछि माइनसमा नापिन थालिन्छ। तर माइनस पनि कति सम्म? त्यसको नि त सीमा हुन्छ।
तर देशको यो हविगतमा, सत्तासिन दल आफैबीचको खिचातानि हेरौँ। उनीहरूको सचिवालय र स्थायि समिति नामक, सर्कस सेन्टरको रमिताको खबर सुनौँ। तब तपाई एक्कासि आफै चिच्चाउनु हुन्छ। इनफ इज इनफ।
हामी सबैको स्वरको प्रतिनिधित्व गर्दै सामाजिक सन्जालबाट इनफ इज इनफ घन्कन थाल्यो। जनतामा आक्रोश यति थियो कि, त्यसले सामाजिक सन्जालको बार तोड्यो। अनि सडकमा पोखियो र देशलाई ढाक्यो। देशका अधिकांश ठाउँमा सरकारको अकर्मण्यता र असक्षमता खुलेर विरोध भए।
यो आन्दोलनको केन्द्रबिन्दुमा पुकार बम, ईः लगाएतका युवाहरू थिए। जसले कोभिडको महामारी समुदाय स्तरमा फैलन नदिन शतप्रतिशत पिसिआर प्रणालि अपनाउनु पर्ने, टेष्टको दायरा बढाउनु पर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्नु पर्ने लगाएत माग राखेर दुई–दुई चोटि अनसन बसिसकेका छन्। स्वयम् प्रम गएर भेटघाट गरे पनि, आरडिटी परीक्षण रोक्किनु सिवाय, ठोस रूपमा यो समूहको माग सरकारले सम्बोधन गरेको अनुभूति हुँदैन।
तर इनफ इज इनफ समूहको आन्दोलनले, आम नेपालिमा रहेको आक्रोशलाई सतहमा ल्याईदिएको छ। आन्दोलनको शक्ति र युवाहरूको चेतलाई जाग्रित गरेको छ।
यस अभियानका अभियन्ताहरू मुलतः शिक्षित सहरीया युवाहरू हुन्। सामाजिक संजालको कलात्मक प्रयोगमा पोख्त, नेस्नल–गोबल इस्यूहरूमा अपडेटेड, सही गलत परख गर्न सक्ने र स्वतन्त्रा र पारदर्शीतालाई मनबाटनै माया गर्ने। त्यही बानीलेनै उनीहरूलाई सामाजिक संजालमा खबरदारी गर्ने बनायो र सडकमा उतार्यो।
कुनै प्रसंगमा इनफ इज इनफ अभियानका एक अभियन्तालाई प्रश्न गरियो, तपाईहरू कहाँबाट परिचालित? यसमा उनको जवाफ थियो, हामी उचित उपचार नपाएर गाडिएका लाशबाट परिचालित।
कहाँबाट परिचालितको प्रश्न उठ्नु स्वभाविक छ। किनभने यस समूहले गरेको आन्दोलनमा केही विदेशी नागरिकको पनि सहभागिता देखियो र गृह मन्त्रालय अनुसार त्यस आन्दोलनबाट ८ जना विदेशी पनि गिरफ्तार गरियो। त्यति मात्र नभएर, केही विदेशिले त, फेसबुकमा स्टाटस राखेर हाम्रो देश, नेपालाई जुन विषयमा खर्च गर्न भनी पैसा दिन्छ, त्यसको एक-एक हिसाब हामीलाई देखाउनु पर्छ।
तसर्थ खबरदारीको लागि आन्दोलनमा जाउँ भनेर आह्वान गरेको पनि भेटियो। अब यस विषयलाई पारदर्शीता सग्गंमात्र जोडेर हेर्न कत्तिको मिल्छ वा यसको अन्य पहेलि पनि छन् खोट्याउनु पर्ने देखिन्छ।
तर, विदेशी नागरिक आफ्ना साथीहरुलाई, हवाई उढान रोकिएको बेला, साधारण हिसाबले प्रर्दशनमा हौसला बडाउन गएका पनि हुन सक्छन्, यदि इनफ इज इनफको फेसबुक पेज सामाजिक संजालमा हल्ला चले जस्तो कही कतैबाट बुष्ट भएको होइन र यसको लोकप्रियताको श्रेय केपी सरकारको अकर्मण्यता र असक्षमता अनि अभियन्ताको कलात्मकतालाई मात्र जान्छ भने।
यस आन्दोलनको मुख्य विषय, कोभिडको महामारी समुदायमा फैलन नदिन जे जस्तो प्रयास गर्यो, त्यो निकै अनुसरणीय र प्रशंसा युक्त कार्य हुँदै हो। थप यसले सहरीया एक खास वर्गमा आन्दोलनको आवश्यकता र यसको औचित्य प्रष्टाउन मद्धत पनि गरेको छ।
म प्ल टु पढ्दा कक्षा सकेर सधै घर फर्कदाँ, शान्तिबाटिकामा कुनै न कुनै समूहले भाषण गरिरहेकै हुन्थे। धेरै सुनिने दलाल राज्यसत्ता र देशी विदेशी शक्ति हामी साथीहरू माझ खुब फेमस थियो। मलाई लाग्थ्यो शान्तिबाटिका भाषण गर्नकै लागि बनेको हो।
हरेकलाई आफू त्यहाँ प्रतिनिधित्व जनाउँदा आफ्नो मागको सार्थक प्रयास गरिरहेको महशुस हुँदो हो। तर हामी किनाराबाट हेर्नेलाई भने एकछिनको रमिता बाहेक केही लाग्दैन थियो। त्यसको विषयले हामीलाई छुन सक्दैनथ्यो।
पछि ल पढ्न थालेपछि, आफै आन्दोलनमा सहभागी हुन थालियो। कुनै विषयमा बोल्नु, आवाज उठाउनु श्वास फेर्न जत्तिकै जिउदो मान्छेलाई आवश्यक छ भन्ने बोध भएपछि, प्ल टु पढ्दा हरेक दिन लगा्इएका नाराहरू कति महत्वका थिए र त्यसले कसरी देशलाई जोगाईरहेको थियो भन्ने महशुस भयो।
आज पनि जब राष्ट्रियताको विषयमा लैनचौरमा खबरदारी गर्दा होस् वा माइतिघरमा प्लेकार्ड लिएर उभिदाँ, कहिलेकाहीँ लाग्छ, हतारमा बाटो हिँडिरहेकाहरूको आँखाले खिस्साईरहेको, बेकम्मा र वाइयात युवाहरूको हुल ठानिरहेको।
हुन पनि हाम्रो राजनीतिक चेत र सामाजिक विषय पहिलाउने आखिझ्याल यस्तरी टम्म छ कि, हामी धेरैलाई आफ्नो तगारो बाहिरको संसारको खासै वास्ता हुँदैन। आफूलाई नपर्दासम्म त्यसको संवेदनशीलताले छुन सक्दैन।
इनफ इज इनफ, क्याम्पियनको फोटो सियर गर्दै गायिका सम्बृद्धि राईले अल्लि अघि लेखिन्, सच्चा युवाको जागरूकता त यस्तो हुन्छ। पक्कै पनि यो देखेर हामीले २०६४ साल तिर देख्नेगरेको मासु र रक्सीमा बिक्ने बिकाउ आन्दोलनकारी र विद्यार्थी संगठनहरू असुरक्षित महशुस गरिरहेका होलान्। यो एक व्यक्तिको धारणा मात्र होइन। सहरका एक वर्गको प्रतिनिधि विचार हो।
इनफ इज इनफ आन्दोलनकै सेरोफेरोमा अर्का आन्दोलन पनि सडकमा जोडतोडका साथ उठिरहेको थियो। रूकुम नरसंहारको विरूद्ध। र त्यस आन्दोलनमा जात व्यवस्था मुर्दावाद भन्ने तिनै २०६४ सालदेखि अस्कल र त्रिचन्द्रमा नारा लगाउने विद्यार्थी थिए। उनीहरू कराईरहेका थिए जात व्यवस्थाको जातोमा पिल्सिरहेकाको हकका निमित्त।
न्याय र विभेदपूर्ण भेदभावको डोरी चुडाली फाल्नको निमित्त। तर विडम्बना, यस्तो विषयमा उठेको आन्दोलनमा एक्येवद्दता त दूर, बेरोजगार युवाको धन्दा सिवाय केही नठान्ने जमात यो सहरममा ठूलो छ। इनफ इज इनफ क्याम्पियन चल्दै गर्दा, रुकुम नरसंहार घट्यो। तर त्यस आन्दोलनमा, त्यस घटना संलग्न सम्बन्धित नारा भेटिएनन्।
पक्कै पनि, मुभमेन्टले उठाएका माग सान्दर्भिक थिए। समुदायस्तरमा कोभिड फैलियो भने हविगत के हुन्छ भन्ने दृष्टान्त युरोप र अमेरिकाले सिकाईसकेका थिए। तर अमेरिकामा कुनै काला जातीका एक पुरूषको हत्यामा ब्याक लाइफ म्याटर्स भन्नेहरूले रूकुमको त्रासदिमा चुईक्क नबोल्नु अनौठो विषय हो।
उसो त लेखक सरस्वति प्रतिक्षाले भनेझै, एउटा डाक्टरबाट सबै रोगहरूको उपचार सम्भव नभएजस्तै विद्रोह हुनको लागि हरेक विषय वा मुद्दामा बोल्नै पर्छ भन्ने हुँदैन। फेरि सबै विषय सबैलाई उत्तिकै बिझ्छ भन्ने पनि छैन। कसैलाई झिरझै उधिनेको मुद्दा कसैलाई आल पिनको घोचाईसम्म पनि नदुख्न सक्छ।
गणतन्त्र प्राप्ति पछिको यो एक दशकलाई हेरौँ। यो बीचको बेथितिको फेरहिस्त निकालौँ। विद्यार्थी संगठनहरूले गर्दै आएको खबरदारी र त्यस आन्दोलनको उपलब्धिलाई जोखौँ। सार निस्कन्छ, जति सशक्त आन्दोलन उठ्नु पर्थ्यो त्यो पक्कै उठेन। अविच्छिन्न प्रतिपक्ष समूह आफ्नो माउ पार्टी सरकारमा हुँदा त्यसको गल्ति ढाकछोप गर्ने छाता संगठन मात्र भएकै हुन्।
तर जे जति बोलिए, त्यति पनि नभएको भए यो समाजमा आलोचनात्मक चेत कुन् कुनामा पुगिसकेको हुन्थ्यो? यो लोकतन्त्रको प्राण आज जसरी ढुकढुकसम्म त गरिरहेको छ, त्यो कहाँ विलाईसकेको हुन्थ्यो? अनि जुन् आन्दोलनको बलमा स्थापित नेताहरू आज मूल राजनीतिमा हस्तक्षेप गर्न खोज्दैछन्, त्यो चाधिको घेरा कालो बादलले ढाक्न नदिएको पनि त यही दशकको आन्दोलन र हस्तक्षेपले न हो।
अझ मुख्य आज पुकार र ईः हरू जुन् प्ल्याट्फर्म प्रयोग गरिरहेछन्, त्यो आजका दिनसम्म पनि जोगाईदिएको त्यहि विद्यार्थी आन्दोलनले नै होइन र? आन्दोलनको शैली र स्वरूप समयको गति अनुसार परिवर्तन हुन्छनै। आज प्रविधि मैत्रि र मास अपिल गर्न सक्ने कलात्मक शैली सहित विद्यार्थी संगठन आफ्नो आवाज मुखरर गर्न नसकेकौ कारण आफै कुइरोको काग बनी हराईरहेको छ।
६२/६३ पछि आन्दोलनको शैलीमा सकारात्मक परिवर्तन आए। अब आन्दोलन टायर बाल्नु, चक्काजाम गर्नु, भित्ते लेखन, गाडी ठप्प पार्नु वा बन्द गर्नुभन्दा पनि आकर्षक पोष्टर, क्याच्चि नारा, गित संगीत र माग अनुसारको विभिन्न प्रतिक्रात्मक शैली अपनाईन थालियो।
तर सधै झैँ आन्दोलनको केन्द्रमा आज पनि विद्यार्थीहरूनै हुने गरेका छन्। दैनिक जिविकाको सवालदेखि, राष्टियता, शिक्षा,रोजगार लगायत बेथितिमा सडकमा नारा लगाउन विद्यार्थी सदैव तयार नै रहन्छन्। विद्यार्थीलाई बोध छ, बोल्ने हाम्ले हो। हाम्ले बोलेनौँ भने सरकारको हरेक निकम्मापनमा स्वीकृतीको लाह छाप लाग्ने डर हुन्छ।
ईः को स्कुलिङ कमल थापा पाठशालबाट भएको हो। ईः आफै कूलीन, राजपरिवार निकट, उपल्लो वर्गीय परिवारबाट प्रतिनिधित्व गर्छन्। सायद त्यसैले भूगोल घुमेका भए पनि, समाजको पिँधमा बस्नेले जुन् दलन, बहिष्करण र अन्याय दिन दैनिकिमा भोग्छन्, त्यो उनी उत्तिकै गहन रूपमा महशुस गर्न सक्दैनन्। फलस्वरूप उनको आन्दोलनमा विभत्स रूकुम हत्याकान्डलाई लिएर कुनै नारा भेटिएनन्।
यो कुनै सुनियोजित योजना थिएन, मात्र उनीहरूको दिमागले त्यस घटनाको गहिराई पहिल्यान नसक्नुको परिणाम थियो। उनीहरूलाई त्यसले डामेन वा त्यस घटनाको दाजोमा शतप्रतिशत पिसिआर नै उनीहरूलाई मुख्य एजेन्डा भईदियो।
यस सँगसँगै अको प्रश्न पनि खडा हुन्छ। जसरी इनफ इज इनफको आन्दोलनले सारा देश ढाक्यो र ठाउँठाउँमा आन्दोलनहरू भए। त्यतिकै मात्रामा किन रूकुम हत्याको आवाज मुखरित हुन सकेन? जवाफ सजिलो छ, जसरी इनफ इज इनफले प्रविधि मैत्रि आन्दोलन गर्यो, जसरी युवाहरूको मुटुमा बस्न सक्ने नारा छनोट गर्यो, जसरी विषयलाई बुझाउन जुन् शैली, कला र प्रविधिको प्रयोग गर्या त्यो रूकुम हत्याकान्ड त्यही जोडतोडले गर्न सकेन।
उनीहरू आन्दोलनमा निलडाम हुने गरी पिटाई खाए, हात भाच्चियो, करेन्ट लगाईयो तर विषयको गहनतालाई नबुझ्नेहरू समझ बुझ्ने गरी लगेर, आम जन अपिल प्राप्त गर्न भने चुकिरहे। अहिले हुँदै आएको आन्दोलन सुधारमुखी आन्दोलनहरू हुन्। यही व्यवस्थाका खराब अवयहरूलाई सुधार्दै जनमुखी शासन प्रणालीको निर्माण यस्ता खालका आन्दोलनका धेय हुनेगर्छ।
तर यस व्यवस्थानै फेर्नु पर्छ भन्नेहरूबाट पनि अब पहिलेको जस्तो युद्ध नभई सहर केन्द्रीत विद्रोहबाटै यो भ्रष्ट व्यवस्था फेर्न सकिन्छ भन्ने विचार प्रकट हुने गरेको छ। र त्यो सम्भव छ भन्ने पछिल्लो दिष्टान्त इनफ इज इनफ क्याम्पियन हो। जसको जलपमा हामीले समाजका पिधमा रहेका मुद्दाहरू भर्नु पर्ने छ।
अन्त्यमा,
अल्लि अघि वातावरण संरक्षणको आवाज उठाउदा दिलिप महतोको ज्यान गयो। यता काठमाडौँका केही साथीहरूले उक्त हत्याको विरोधमा, विरोध प्रर्दशन राख्नु भयो। हामी केही साथीले हत्याको विरोधमा बोल्यौँ। बेलुका एक साथीले म्यासेज गर्नु भयो।
यस्ता एक दिने विरोधले केही हुन्छ जस्तो मलाई चै लाग्दैन। हुन पनि हो, यो अजंगको बेथिति एक दिन एकछिन, माइतिघरमा उभिएर अन्त्य हुने त होइन। तर, त्यही एकछिन पनि नउभिने हो भने? कसैले पनि उक्त हत्याको विरोध नगरेको भए? यो समाज कस्तो हुन्थ्यो?
केही नगर्नुभन्दा केही गर्दै जानूु र अझ थप गरिरहने प्रयत्नमा जुट्नुनै प्रगतिशीलता हो। केही हुँदैन काही पुग्दैन भनेर ताल बनी जम्नुभन्दा, स्यानो कुलेसोनै सही, बाटो पहिल्याउदै बगिरहनु सार्थक जीवन हो। तसर्थ बोल्दै गरौँ, मुठ्ठि बजार्दै, दारा किट्दै जिन्दावाद र मुर्दावाद भनौँ।
सरकारको हरेक अन्याय विरुद्ध कुनै न कुनै रूपमा आन्दोलन गरौँ। तर अहिलेलाई भने सडकमा नआई, घरमै बसी खबरदारी गरौँ।