प्राविधिक शिक्षा भन्ने वित्तिकै विज्ञान र गणितको प्रयोगबाट परम्परागत रुपमा गर्दै आएका विभिन्न क्रियाकलापहरुलाई सहज तरिकाले सम्पन्न गर्नका लागि नयाँ तरिकाहरुको खोज/अनुसन्धान गर्न/गराउन सिकाउने शिक्षा भन्ने बुझ्नु पर्दछ। अहिलेको २१ औँ शताब्दीलाई विज्ञानको युग पनि भन्ने गरिन्छ।
विज्ञानको युगमा धेरै कामहरु एकदमै सहज भएका छन् र त्यो सहज बनाउने काम वैज्ञानिक आविस्कारका साथै प्राविधिक शिक्षाले गरेको हामीहरुलाई अवगत नै छ। त्यसैको फलस्वरुप नेपालमा पनि केही दशकदेखि विश्वविद्यालय तहमा प्राविधिक शिक्षा अगाडि बढिरहेको छ भने हालै केही वर्षदेखि एक स्थानीय तह कम्तिमा एक प्राविधिक विद्यालयको अवधारणा ल्याई नेपाल सरकारले त्यसको व्यापक कार्यान्वयनमा लागेको देखिएकै छ।
यसै अन्तर्गत हाल सहरीदेखि ग्रामीण क्षेत्रसम्म शिक्षा विभाग अन्तर्गत डिप्लोमा तह (कक्षा ९–१२) को विभिन्न प्राविधिक विषय अध्यापन हुने विद्यालयहरुको नाम हामीले पनि बाक्लै सुन्ने अवसरहरु पाएका छौँ। साथै प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका प्राविधिक शिक्षालय र टेक्स कार्यक्रम चलाएका विद्यालयहरुको संख्यामा पनि कमि छैन।
यसो हेर्दा विद्यालय स्तरमा डिप्लोमा तहको विभिन्न प्राविधिक विषयहरुका कार्यक्रम सञ्चालन अनुमति दिनका लागि शिक्षा विभाग र प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बीच होडबाजी नै चलेको देखिन्छ र यो होडबाजीले ग्रामीण क्षेत्र पनि अछुतो रहन सकेको छैन।
विभिन्न निकायहरुबीच गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न प्रतिस्पर्धा हुनु र न्यसको फलस्वरुप गाउँ-गाउँमा प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालयहरुको संख्या बढ्नु आफैँमा राम्रो कुरा हो। यसले कुनैबेला हुनेखाने र सहरी क्षेत्रमा बसोबास गर्नेहरुको पक्कडमा रहेको प्राविधिक शिक्षाको पहुँच गरिब, विपन्न, पीछडिएका वर्ग/क्षेत्रहरुमा पुगेको देखिएको पनि छ।
प्राविधिक शिक्षालाई स्वरोजगारको प्रर्यायभन्दा पनि फरक नपर्ला। आजका दिनमा आम मानिसको चासो प्राविधिक शिक्षा नै रहेको छ। प्राविधिक शिक्षा आजको मुख्य आकर्षणको विषय बन्नुमा पनि मुख्य हात यो शिक्षा प्राप्त गरेपछि पाउने र सृजना हुने रोजगारीको अवसर नै हो। अन्य शिक्षाको तुलनामा हेर्दा प्राविधिक शिक्षा केही महङ्गो र संवेदनशील पनि छ।
अहिलेको युगमा प्रविधि र प्राविधिक बिनाको समाज कल्पना गर्न पनि नसकिने अवस्था छ। गाउँगाउँमा प्राविधिकको अभावले सृजना हुने विभिन्न प्राविधिक कठिनाईहरुको समाधान गर्न पनि ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षा अपरिहार्य रहेको छ।
किन गाउँगाउँमा प्राविधिक शिक्षाको आवश्यकता छ त?
नेपाल कृषि प्रधान देश हो र कृषि उत्पादन हुने अधिकांश भूभाग ग्रामीण क्षेत्रमा पर्दछन्। परम्परागत कृषि प्रणालीले उत्पादनमा वृद्धि नभएको कारण कृषि क्षेत्रमा आधुनिकीकरणको आवश्यकता खड्किएको छ र आधुनिकीकरणका संवाहक प्राविधिक नै हुन्।
कृषि उत्पादन बढेपछि या भएका उत्पादन सडकको आभावले खपत हुने स्थानसम्म पुग्न सकेका छैनन्। ग्रामीण सडक मर्मत तथा विस्तारका लागि स्थानीय स्तरमा प्राविधिक नपाउने समस्या स्थानीय तहहरुले भोगिरहेकै छन्। यसले पनि गाउँ-गाउँमा प्राविधिक शिक्षाको आवश्यकता खड्किएको देखाउँछ।
नेपाल भूकम्पिय जोखिमले हेर्दा विश्वको ११ औँ स्थानमा रहेको छ। विसं २०७२ सालमा गएको भूकम्पको क्षेति सहरी क्षेत्रमा जनघनत्व बढी हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा बढी भएको देखिन्छ। यसको मतलब ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधक संरचनाको निर्माण न्यून छ। त्यसको फलस्वरुप भूकम्प प्रतिरोधक संरचना निर्माण गर्न गाउँ-गाउँमा सम्बन्धित क्षेत्रका प्राविधिकहरुको उल्लेख्य मात्रमा आवश्यकता रहेको देखिन्छ।
हाल कोभिड-१९ को संक्रमणले गर्दा सबै क्षेत्र ठप्प प्रायः छन्। त्यसमाथि पनि शिक्षा क्षेत्रको कुरै नगरौँ। सरकारले वैकल्पिक शिक्षालाई जोड दिनुको विकल्प छैन भन्ने निष्कर्ष निकालेता पनि सूचना तथा सञ्चार क्षेत्रको विकास ग्रामीण भागहरुमा भैनसकेको कारण सम्भव देखिएको छैन। त्यसको विकासका लागि ग्रामीण भागहरुमा सम्बन्धित क्षेत्रका प्राविधिकहरुको ठूलो संख्यामा आवश्यकता रहेको छ।
माथि उल्लेखित प्राविधिक शिक्षाको आवश्यकताका केही उदाहरण मात्र हुन्। माथिका बुदाँहरुले पनि प्रष्ट हुन्छ कि ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको आवश्यकता र महत्व कति छ। तर यति धेरै आवश्यकता र महत्व हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्न र गरिरहेका विद्यालय तथा शिक्षालयहरुले धेरै चुतौतीहरुको सामना गर्नु परेको छ र कतिपय विद्यालयहरुलाई त यो कार्यक्रम 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार' सरह भएको छ।
के छन् त ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षा सञ्चानलका चुनौतीहरु?
* विद्यालयहरुमा प्राविधिक शिक्षामा देखिएको पहिलो र मुख्य चुनौती यसको व्यवस्थापन गर्न नसक्नु नै रहेको छ। व्यवस्थापन अन्तर्गत प्रशिक्षक खोज्ने, उनीहरुलाई विद्यालयमा टिकाउने, प्रायोगशालाको व्यवस्थापन, प्राक्टिकलको लागि फिल्ड व्यवस्थापन इत्यादी।
* ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको आवश्यकता र महत्व बारे जानकारीको कमि हुनु फलस्वरुप लक्षित विद्यार्थीहरु प्राविधिक शिक्षाको पहुँचमा नआउनु,
* सरकारी विद्यालयलाई हेर्ने नजर निजी विद्यालयको तुलनामा फरक हुनु र त्यसको भ्रम समुदाय स्तरमा चिर्न नसक्नु,
* प्राविधिक शिक्षा अध्ययनका लागि गणित तथा विज्ञान विषयमा अब्बल हुनुपर्ने भएता पनि विद्यार्थीको आकर्षण यि विषयहरुमा कम हुनु,
* धेरै जस्तो विद्यालयहरुमा विद्यार्थी संख्या नपुग्ने कारण कोटा पूर्ति गर्न जस्तो पनि विद्यार्थी भर्ना गर्न बाध्य हुनु र अनुदानका लागि कोटा पूर्ति गर्न अयोग्य विद्यार्थी पनि भर्ना गर्नु,
* विद्यालय प्रशासन र विद्यालय सञ्चालन समितिहरुमा प्राविधिक शिक्षा सञ्चालन सम्बन्धी ज्ञानको कमी हुनु, प्राविधिक शिक्षा र अन्यमा सञ्चालनको दृष्टिकोणबाट फरक देख्न नसक्नु,
* प्राविधिक शिक्षाको कार्यक्रम विद्यालयमा ल्याउनु नै विद्यालय सुधार गर्न सक्नुको एकमात्र विकल्पदेखि बिना पूर्वाधार, विना जनशक्ति कार्यक्रम सञ्चालन अनुमति लिनु र दिनु,
* प्राविधिकहरुको पहिलो रोजाई शिक्षण पेशा नहुनु र शिक्षण पेशालाई पार्टटाइम जागिरको रुपमा लिनु,
* कार्यक्रम सञ्चालन भइरहेका विद्यालयहरुको अनुगमन गरी व्यवस्थित बनाउन नलागि अन्य विद्यालयहरुमा कार्यक्रम मात्र थप्नु, अनुगमन प्रभावकारी नहुनु
* कोभिडको कारण प्राविधिक शिक्षाका सैद्धान्तिक विषयहरु बैकल्पिक विधिबाट अध्ययन/अध्यापन गराउन केही सम्भब भए तापनि प्रायोगात्मक कक्षा सञ्चालनमा कठिनाई हुनु।
माथि उल्लेखित जस्तै धेरै चुनौतीहरु सामना गर्नु परेता पनि प्राविधिक शिक्षाको विकल्प नरहेको सर्वस्वीकार्य छ। साथै ग्रामीण क्षेत्रमा सबैको पहुँचमा प्राविधिक शिक्षा पुग्नु अपरिहार्य रहेको छ। सम्बन्धित सबै पक्षहरुले आ-आफ्नो क्षेत्रबाट नैतिकतापूर्वक जिम्मेवारी बहन गर्ने हो भने माथिका चुनौतीहरुलाई पाखा लगाउँदै ग्रामीण क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न असम्बभ छ्र्रैन र देखिदैन पनि।
यदि यसो गर्न सकियो भने साच्चै नै देशको कुनै पनि क्षेत्रमा अब्बल प्राविधिकको समस्या हुने थिएन र नेपाल सरकारले विसं २१०० सम्ममा पूरा गर्न राखेको 'सुखी नेपाली, संवृद्ध नेपाल' को लक्ष्यलाई साकार पार्न पनि टेवा पुग्ने थियो। अतः सम्बन्धित सबै पक्षलाई गम्भिर भै प्राविधिक शिक्षामा जोड दिन सथै यसको गुणस्तर र विश्वासनीयता बढाउन आ-आफ्नो क्षेत्रबाट लाग्नु हुन अनुरोध छ।
(लेखक सिभिल इन्जिनियर हुन्।)