सरकारले लकडाउनको घोषणा गर्यो। श्रीमती, छोरी र छोरा काठमाडौंबाट मामाघर लमजुङ गए। जागिर भएकाले म जान सकिनँ। प्राय:कोठामा आफैं खाना पकाउँथें। व्यस्त भएको बेला भने अफिसको क्यान्टिनमा। यस्तै गरी वैशाख, जेठ, असार महिना बिते।
साउन १२ गते १००.२ डिग्री ज्वरो आयो। भोलिपल्ट पनि निको हुने छाँटकाँट नै देखिएन। मनमा डर र त्रास बढ्यो कोरोना संक्रमणको।
श्रीमती, भाइ, सहकर्मीलाई सुनाएँ आफ्ना समस्या। उनीहरूले कोरोना परीक्षण गर्न सुझाए। १३ गते परीक्षण भयो। नतिजा पोजेटिभ आयो। भीडभाडमा गएको छैन। कार्यालयमा त्यस्तो धेरै भीडभाड हुँदैनथ्यो। क्यान्टिनमा पनि धेरै मान्छेहरूको आवतजावत थिएन। चिन्ता थपियो। आखिर कसरी म संकरमित भएँ??
१५ गते महाराजगञ्जमा रहेको एक अस्पतालको बेड नम्बर ११३ पुगियो। त्यसको भोलिपल्ट १६ गते केएमसीको बेड नम्बर ९४।
पहिलेदेखि चिसो भयो भने खोकी लागिहाल्थ्यो। संक्रमण भएपछि झन् श्रीमती, छोरा, छोरीको धेरै याद आउँदो रहेछ।
वैशाखदेखि परिवारबाट टाढा रहेकाले मनमा अल्लिनै बढी पीडा भयो। एक्लो महशुस भयो। आइसोलेसनमा बस्दा झ्यालबाट बाहिर हेरिरहन्थें। परिवार र आफन्तहरूसँग भेट्न र कुरा गर्न मन लाग्थो। बाहिर संसारसँग साक्षात्कार गर्न मन लाग्थ्यो। मनलाई खुला बनाएको त्यही झ्याल पनि पछि बन्द भयो।
सडकमा मान्छेहरू मास्र्क नलगाई हिँड्थे। खाना राख्नका लागि टेबुल थियो तर मान्छेहरू खाना भुईंमा राखिदिन्थ्ये। जस्तो व्यवहार पनि सहनै पर्ने।
परिवार, नातेदार कोही भेट्न आएनन्। आउन पनि कसरी। सबैतिर बन्दै बन्द छ। खाना खाने, सुत्ने, ज्वरो परीक्षण गर्नेबाहेक अरु केही काम भएन। दिनचर्या यसरी नै बित्थे।
खाली दिमाग सैतानको घर भने झैं मनमा अनेक कुराहरू खेल्थे। आफन्त, साथीभाइ आत्तिनु हुँदैन भन्ने प्रेरणा दिन्थे तर एक्लो हुँदाको मन कसले पो बुझ्यो र! हाँस्न खोज्छु हाँस्न सक्दिनँ।
कोहीसँग बोल्न खोज्छु सबै डराउँछन्। टाढा भाग्छन्। कस्तो बिरामी हो यस्तो कोहीसँग पनि बोल्न नपाउने! विस्तारै मनमा खुसी कसैले खोसेको जस्तो भान हुन्थ्यो। मन उदास हुन्थ्यो।
सामान्य बिरामी भए नातेदार र साथीभाइ, इष्टमित्र भेट्न आउँछन्। तर कसैको अत्तोपत्तो छैन। साथीहरू भेट्न आउने खोज्थें तर पहिले आउन डराउँथे।
नातेदारहरूको सहयोगमा मैले फोनबाटै परामर्श पनि लिएँ। मनका सबै पीडा पोख्थें। अनि विस्तारै मनका भावनाहरूलाई कवितामा उतार्न थालें। मन लाई बहलाउन विस्तारै कविता लेख्न सुरू गरें।
मास्क र पञ्जा लगाए पनि दोबाटोमा कुर्दे बसेको कोरोना संक्रमित भएँ म।
हातधोई सेनिटाइजर लगाए पनि १८ हजार ७ सय २७ मध्येको एक भएँ म।
तातो पानी बेसार पानी पिएर पनि बच्न नसकेर प्रभावित भएँ म ।।।
गुलाफको फूलको पनि सुगन्ध नआउने जिब्रोले पनि स्वाद थाहा नपाउने संक्रमित भएँ म ।।।।
मलाई देख्दा सबै जना टाढा टाढा भाग्छन् अछुत कोभिड १९ प्रभावित भएँ म ।।।।।
२०७७ साउन २१ गते (आठौं दिन)
सबैसँगै भन्न पनि नहुने रैछ।
पीडा पोख्दा मन चंगा हुने रैछ ।। १
आफ्नोलाई देख्न मन लाग्ने रैछ ।
भेट्न आउनेलाई झ्यालबाटै भए पनि
हात हल्लाउन मन लाग्ने रहेछ ।। २
जीवनमा लेखिएको मात्र हुने रहेछ ।
गुनगुनाउन सहज होला, गीत नै
गाउन कठिन हुने रहेछ । । ३
डाक्टर, नर्स, आफन्त र सार्थीभाइको प्रेरणा आवश्यक पर्ने रहेछ ।
आत्मबल, मनोबल, आवश्यक पर्ने रहेछ।
आत्मबल, मनोबल, आवश्यक पर्ने रहेछ । । ४
२०७७ साउन २२ गते (नवौं दिन)
यस्तै यस्तै धेरै भावना पोख्दै गएँ। १४ दिनपछि अस्पतालबाट मुक्त भएँ। तर कहाँ जाने ?कोरोना परीक्षण पनि गरेको थिएन।
परीक्षण नगरी घर जाने कुरा भएन।अब एक साता घरमा बसे पछि मात्र कोरोनाको परीक्षण गर्ने रे। भाइसँग सल्लाह गरी एक होटलमा बस्न गएँ। होटेलमा पनि सिधै बास नदिने रहेछन् । बिदेशबाट आएको हो। एक साता क्वारेन्टिनमा बस्न आएको भनि कुरा मिलाइयो। होटेलमा आएको पहिलो दिन अल्लि मन शान्त भयो। कोठा एकान्त भएकाले निन्द्रा राम्रो लाग्यो।
भाइको कोठा नजिकै भएकाले भाइले खाना ल्याउँथ्यो। टाढैबाट छोडेर जान्थ्यो। एक दुई दिन ठीकै भयो।
तेस्रो, चौथो दिन फेरि ज्वरो आयो। होटेलको कोठामा बाहिर निस्किन पनि मिलेन। केही समस्या भयो भने के गर्ने होला मनमा झनै पीडा भयो। जसो तसो ज्वरो ठीक भयो। होटलमा बसेको सातौं दिनमा भदौ २ मा चिनजानको अस्पतालमा गएर कोरोना परीक्षण गरियो। ३ गते रिपोट नेगेटिभ आयो। मन शान्त भयो। दोस्रो जीवन पाएजस्तो लाग्यो।
सामान प्याकगरी भाइको कोठातर्फ लागें। खाना खाई आफ्नै कोठातर्फ हानिएँ। कोठा धेरै दिन नखेलेकाले ढुसी आएछ। सरसफाइ गर्न पूरै दिन लाग्यो।
एक दिन बाहिर गएर तरकारीहरू किनेर ल्याएको छु। आज १० गते भयो कतै निस्केको पनि छैन। कसैलाई भेटेको पनि छैन। श्रीमती, छोराछोरी लमजुङ। आफन्तहरू पनि ढाटा ढाटा। जीवन मरणको अवस्थामा सहयोग चाहिने तर अझै पनि एक्लै छु। कोरोनाका कारण फेरि निषेधाज्ञा छ।
समुदायमा संक्रमण फैलिएकोले म जस्ता कैयौं व्यक्तिले दु:ख पाउनेछन्। कहिले कोरोनाको समस्या समाधान होला र श्रीमती, छोराछोरीसँग अंगालो मार्न पाउँछु भन्ने लागिरहेको छ।
कोरोना संक्रमण भएर मुक्त भएका नाताले यहाँहरूलाई केही सल्लाह दिन चाहन्छु।
आइसोलेसनमा रहँदा गर्न सकिने केही कुराहरू:
नियमित कागती पानी पिउने
मनमा डर लिनु नहुने रहेछ। जति बढी डर, चिन्ता लियो त्यति शरीर गल्ने रहेछ।
आफैंलाई माया गर्ने। नियमित व्यायाम र अभ्यास गर्ने। जसले गर्दा शरीर र मन स्वस्थ्य रहन सहयोग गर्ने रहेछ ।
घरमा आएपछि …
आफू बसेको घरमा कोही मान्छेहरू पनि बोल्न आएनन्। अझै पनि टाढा टाढा भइरहेका छन्। भाग्ने गर्दछन्। अझै पनि कोरोना सर्छ जस्तो गर्दछन्। यो रोग जो सुकैलाई पनि लाग्ने गर्दछ। आज मलाई लाग्यो। निको भयो। तर भोलि उनीहरूलाई लाग्न सक्छ। त्यसैले योरोग सम्बन्धी गलत बुझाइलाई हटाउन हामी सबैले सहयोग गर्नुपर्छ।
संक्रमितलाई सामाजिक घृणा होइन माया र सद्भाव चाहिने रहेछ। मेरो आफन्त र परिवार टाढा छन् अझै पनि व्यक्तिहरूले मप्रति हेर्ने दृष्टिकोण नकारात्मक छ।
आफूले आफैंलाई माया गरौं। टाढा भए पनि परिवार र आफन्तहरूसँग सम्पर्कमा रहिरहौं। विस्तारै समस्या कम हुँदै जानेछ।