प्रिय नित्से,
तिमीले देवता मरेको घोषणा गर्यौ, जसका लागि तिमीले देवतालाई मार्यौ। तिमीमा त्यस्तो सामर्थ्य आयो, जसलाई म तिम्रो भाग्य मान्छु। सामर्थ्य हुनु नै भाग्यमानी हुनु हो। तर हामी त्यो सामर्थ्य राख्दैनौं या हाम्रो दुर्भाग्य भनौं, हाम्रा देवताहरू चाहिँ जन्मिरहेका छन्।
भर्खरै एउटा देवता हाम्रो देशमा जन्मिएको पत्ता लागेछ र सरकार उनका लागि आवासगृह बनाउन लागिपरेको छ।
देवताको हत्या गरी तिमीहरू नयाँ आदर्शको खोजीमा लागिपर्यौ। तर, हामी चाहिँ परापूर्वकालीन आदर्श नै अवलम्बन गर्न बाध्य छौं। त्यसैले हामी अत्यन्त पुरानो रक्सीजस्तो भएका छौं, जो त्यही नशामा आफूलाई मस्त बनाइराख्नुमा आनन्द ठान्छ।
तिमीलाई चिन्ता थियो, देवता मरेपछि समाजलाई निर्देशित गर्ने आदर्शको आधार अभाव हुनेछ। तर, हामीलाई त्यस्तो कुनै आदर्श सम्बन्धित आधारको चिन्ता कहिल्यै भएन। किनकि हामी निर्जीव देवताहरूको आदर्शलाई पूजाको निरन्तरता दिनमै व्यस्त छौं। निर्जीवताले सजीवतालाई डोहोर्याइरहेको उदाहरण हामीसँगै यथावत छ, जसलाई तिमीले दुई शताब्दी अगाडि नै तोडेका थियौ।
हाम्रा देवता अत्यन्त शक्तिशाली हुँदै गएका छन्, जसका अगाडि मार्क्स र माओहरू घुँडै टेक्न बाध्य भएका छन्। हाम्रामा त कम्युनिस्टहरू नै देवताका सबभन्दा ठूला पुजारी भएका छन्। त्यसैले लाग्न थालेको छ हाम्रो देवता मर्ने छैनन्, मारिने छैनन्। देवताका लागि खतरा मानिएको कम्युनिस्टबाटै देवताको रक्षा हुन थालेपछि अब हाम्रो देश देवताको क्रिडास्थल बन्नेछ र थरिथरिका ताण्डव नाच हेर्न हामी बाध्य हुनेछौं।
हाम्रा देवता आफूलाई यो ब्रह्माण्ड, पृथ्वी, जल, जमिन, जीवनको निर्माणकर्ता आफैं हुँ भनेर घोषणा गर्छन्। अस्तित्वको श्रोत आफू मात्र एक हो र सबै मै हुँ भन्छन्। सृष्टिकर्ता मात्र होइन, संहारकर्ता पनि आफू नै हो भनेर देवताले हामीभित्र डर स्थापित गरिदिएका छन्। हामीले उनको गुणगान गाएनौं र विशेष भाउ दिएनौं भने हाम्रो क्षति र विनाश हुन्छ भन्ने अवधारणा हाम्रो मनोविज्ञानको अवचेतनामा स्थापित भइदिएको छ।
यसर्थ सदियौंदेखि देवताको पाउमा आफ्नो शिर झुकाउन बाध्य हामी मनोवैज्ञानिक दासत्वमा बाँचिरहेका छौं। अझ त्यसमाथि देवता अदृश्य भइदिनाले त अनन्त त्रास हामीमा गढेको छ। कोरोना भाइरससँगै अहिलेको समयमा हामी झन् त्रसित छौं।
हाम्रा देवता मूलतः मृत्युको भय र मृत्युपछिको लाभको ललिपपको जगमा आफूलाई स्थापित गरिरहेका हुन्। त्यसैले त भय र लोभ हाम्रो मनोविज्ञानको केन्द्रमा क्रियाशील छ। देवताले टोलटोलमा आफ्नो मूर्ति बनाउन लगाएर राखेका छन्, ताकि हामीलाई निगरानी गर्न सक्नेछन्। लाग्छ, पुलिसजस्तै मौन भएर पाप र धर्मको चियो गर्न टोलटोलमा बसेका हुन्।
देवताकै कारण हामी अमानव अस्तित्वलाई अत्यन्त महत्व दिने भएका छौं। मानिस गौण विषय भएको छ। महानायकजस्ता भएका देवताले सबैभन्दा बढी हाम्रो विवेकमाथि प्रहार गरेर त्यसलाई अपांग बनाइदिएका छन्। हामी खोजमूलकभन्दा पनि सम्झौतापरस्त भएका छौं, जड भएका छौं। हामीलाई पूर्ण मानव हुन दिइएको छैन। यो हामीमाथि देवताको षडयन्त्र हो।
हामी भक्त बनेका छौं, त्यो देवताको जित हो। देवताको जितमा हामी मानिसको हार हुँदो रहेछ। किनकि भक्तहरूले प्रश्न गर्दैनन् र देवता प्रश्नसँगै डराउँछन्। जब मानिस देवतालाई प्रश्न गर्न थाल्छ, तब देवता नांगिन्छन् र त्यो अपमान सहन नसकेर आत्महत्या गर्नु बाहेक विकल्प हुँदैन देवताहरूसँग।
त्यसैले प्रश्नको अस्तित्वलाई नै समाप्त गरिदिन देवताले अनेकन प्रपन्च रच्छन् र त्यही अनुरुपको ज्ञान, अध्यात्म, धर्म, पाप, शास्त्रहरूको जादुयी महारचनाको महाखेल खेलिन्छ। कथाहरूको रोमाञ्चकतामा मानिसहरूलाई भुलाइन्छ। हाम्रो देवता यसमा डिस्टिङ्सन हासिल गर्न सफल छन्।
हाम्रा देवताको अस्तित्वलाई गहन तरिकाले अध्ययन गर्दा ती सबै कथामार्फत् प्रस्तुत पात्र हुन् जो प्रायः सत्ताका शासक हुन्छन् या उनीहरूको सम्बन्धमा रहेका पात्र हुन्छन्। जो कुनै न कुनै रूपमा सत्ताको कुर्सीका हकदार हुन्छन्। तसर्थ शंका गर्नुपर्ने हुन्छ, शासकहरूको चाहना वा प्रभावमा कथाकारहरूले शासकहरूलाई महानायीकरण गरेर देवतालाई जन्माएका हुन्।
देवताहरू शासकको अर्को रूप हो भन्दा फरक नपर्ला र ती कथाकारहरूले विशेष बुद्धि पुर्याएर चिन्तन गरेर लेखेका ज्ञान र चेतनाको महाग्रन्थ बनेर पुस्ता दर पुस्ता प्रचारप्रसार र पढाउँदै आएको देखिन्छ। त्यही कारण हो, हाम्रा शासकहरू देवतालाई काखी च्याप्छन्।
देवताहरूको मनोविज्ञान अध्ययन गर्दा के बुझ्न सकिन्छ भने देवताको मुख्य चरित्र भनेको ‘निर्धारक’ हो। सत्य–असत्य, पाप–धर्म, न्याय–अन्याय, ज्ञान–मूर्खता, सही–गलत, राम्रो–नराम्रो आदि सबैको निर्णय गर्ने निर्धारक। त्यसैले देवतासँग विशेष सम्बन्ध हामीमा स्थापित छ र त्यो सम्बन्धको पूर्वाधारमा रहेको उक्त विशेष तत्वहरूको डरलाई आफ्नो मुठ्ठीमा पार्न केही मानिस देवता बन्ने महत्वाकांक्षाका साथ रणभूमिमा होमिएका देखिन्छन्।
त्यो रणभूमि सत्ताको रणभूमि हो र त्यहाँ विजय भएपछि देवता बन्न पाइन्छ भन्ने अभीष्टता बोकेर मैदानमा दौडिरहेका, लडिरहेका, लडाइरहेका, मानिसहरूको भीड हामी प्रत्यक्ष देख्न सक्छौं।
देवता बाँचिरहेकै कारण एउटा समूहलाई प्रशस्त फाइदा भइरहेको छ। उसले देवताको नाममा आशीर्वादको व्यापार गरिरहेको छ। जसमा नाफाको प्रतिशत अकल्पनीय गुणा छ। देवताको आशीर्वाद पाएपछि जस्तो कर्म गरे पनि आफूलाई राम्रो नै हुने गहिरो विश्वास आममानिसमा छ, त्यसको लागि ऊ पूजा गर्छ र दानदक्षिणा टक्राउँछ।
यो एक विशेष प्रकारको घुसको व्यवस्था हो, जहाँ मानिस देवतालाई भ्रष्टाचारमा लिप्त हुन दिएर आफ्नो दुनो सोझ्याइरहेको छ र देवता पनि आफूलाई उपहार चढाउन आउनेलाई काखी च्यापेर अतृप्त आनन्दमा मग्न छन्। त्यसैले निर्धारक मानिएका देवता मानव समाजमा जस्तोसुकै दुःख आपत, अन्याय, अराजकता भए पनि आँखा चिम्लेर बसिदिन्छन्। किनकि त्यसका मतियार उनका भक्त हुन्।
देवताले नै घुस खाने भएपछि घुस खुवाउन जानेहरू खुलमखुल्ला घुस खान उत्प्रेरित भएका छन्। देवताको आशीर्वाद पाएकाहरू आफू पनि आशीर्वादको गोरखधन्दा चलाइरहेका छन्। देवताको सिखोमा मौलाएको यो भ्रष्टाचारले मानव समाजलाई यसरी थिलथिलो पारिदिएको छ।
मानिस देवताको विरुद्ध आवाज उठाउनै सक्दैन। किनकि देवताविरुद्ध आवाज उठाउनेबित्तिकै ती भ्रष्टाचार गर्न, नाफा कमाउन आशीर्वाद पाएकाहरू जाइलाग्छन् र आवाज दबाइहाल्छन्। त्यसका लागि उनीहरूसँगै साधन–स्रोत, भीड र सत्ता उपलब्ध छ। त्यही क्रममा एउटा समूहचाहिँ यो जीवनमा जे जस्तो दुःखद् यथार्थ छ, त्यसको कारण आफूले देवतालाई खुसी बनाउन नसकेको हुनाले हो भनेर मौन र स्विकारोक्तिमा जीवन बिताउन समझौता गर्छ।
ऊ अर्को जुनीमा राम्रो जीवन पाउने आशासहित देवतालाई खुसी बनाउन आफ्नो अहिलेको जीवन समर्पण गर्छ।
यसरी हरक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल र हाम्रो जीवनको दुःखको मूल कारण बन्न सफल हाम्रा देवताको आयु झन् झन् लम्बिँदै छ। हामी गहिरो संकटमा छौं, देवताको भ्रमको जालोले सबैतिर अन्धकार बनाउँदैछ।
त्यसकारण म तिमीलाई त्यो अदम्य साहसको गोप्यताभित्रबाट एउटा कुरा खुसुक्क हाम्रो कानमा बताइदिन आग्रह गर्छु- तिमीले आफ्ना देवताको हत्या कसरी गरेका थियौं?