लेखको सुरुआत गाउँघरबाटै गरौँ न त। पहाडी या तराई,जहाँ ग्रामीण बस्ती छ। खेतीपाती, कुटो कोदालो, हलो, बस्तुभाउ, प्रायः पुस्तौदेखिका नियमित दिनचर्याहरु छन्। त्यही हो युवा जनशक्तिको कमि छ। महिला, जेष्ठ नागरिकहरुले अनि आफ्ना जग्गा जमिन नभएका तर हुनेहरु कहाँ यी कामहरु गरेर धानिरहेका छन्।
शारीरिक गाह्रो अप्ठ्यारोहरु छन् तर नियमितता देखिन्छ र महामारीको त्रास झट्टै अनुहारमा देखिदैन्। (यो पनि परिवारका सबै सदस्य एकै ठाउँमा भएमा।) कम्तिमा खुला आकाश र स्वच्छ हावाको अनुभव गर्न पाईराखेका छन्।
सहरहरुमा
लकडाउन भनिएको छ। बिहानै ९ बजेभन्दा पहिला नै विशेष व्यापारिक क्षेत्रहरुमा मानिसहरुको जमघट बाक्लो देखिन्छ। बेच्नेलाई बेचेर आम्दानी गर्नुछ अनि घरमै बसेर केही काम नभएकालाई नि भोक लागिहाल्ने। अनि थुनिएर बस्नेहरुलाई खाद्यान्न किन्नु पर्याछ। जे होस् धेरैले मास्क लगाएका छन् आजकाल।
भत्किएका गल्लीहरुलाई बनाउन यसपाली बजेट त थियो तर काम गर्ने मजदूर भेटिएन भन्छन् टोलका प्रतिनिधिहरु। प्रत्येक गल्लीका धेरै सटरहरुमा 'बिक्रीमा' भन्ने प्रिन्ट टाँसिएका छन्। दुग्धजन्य तथा तरकारी, र अन्य खाद्यान्नका थोक तथा खुद्रा विक्रेताहरु ९ बजेसम्म पूरै दिनभरीको बिक्री गरिसक्ने दाउमा हस्याङ-फस्याङ गरिरहेका छन्।
मन्दिरका गेटहरु बन्द छन्। अनि गेटहरुका अगाडि लस्करै माग्न बस्नेको लाइन पनि लामै छ। ती लाइनमा मादक पदार्थ खाएर लरखराउँदै राति त्यतै बाटो गल्लीमा सुत्नेदेखि लिएर, भरिया तथा असक्त , जेष्ठ उमेरका महिलाहरु पनि छन्। कसै कसैको नाकभन्दा मुन्तिर मास्क झुण्डिएको छ तर हात धुनेवाला नीति यहाँ लागू हुँदैनन्।
दृष्य यस्तो पनि देखिन्छ
लुटपाट गरे या पकेट मारे या अरु नै कुनै बदमासी गरे एक व्यक्तिलाई प्रहरीसँगै अर्को एक नागरिकले सायद थुनामा लाँदै होलान् तर त्यो मानिसको कम्मरभन्दा माथि कपडा छैन र प्रहरीसँग भएको अर्को व्यक्तिले उसलाई मरणासन्न पिटिपनि रहेको छ। अरु मानिसहरु रमिता हेरिरहेका छन्।
प्रहरीको जिम्मा लगाईसकिएको व्यक्तिलाई अपराधी नै भए पनि सार्वजनिक ठाउँमा यसरी शारीरिक दण्ड दिइनु पनि त मानवता भित्र पर्दैनन होला। हुनसक्छ उसले अर्को आफूजस्तै मान्छेलाई असाध्यै दुख दिएको। तर पनि विवेक गुमाएकाहरुलाई कुटपिटबाट यथास्थानमा ल्याउन सकिएला र? यो दृष्यलाई टुलुटुलु हेर्न शिवाय केही गर्न नसकेकी एक दिदीले भन्दै थिइन्- कुटपिट र हिंसा हेर्न नसक्ने मान्छेहरु पनि त यो समाजमा हुन्छन् नि।
बोरा तथा नाङ्गलोमा पसल राख्ने महिलाहरुको कुरा
पसल राखेर पुलुक्क कोही ग्राहक आउँछन् कि भन्दै हेरेर बस्ने महिलाहरु पनि छन् निकै यस सहरमा। कोही जँड्याहा श्रिमानले छोडेका, कोही श्रिमानले आत्महत्या गरी मृत्युवरण गरेकाहरु। कमाउने खाने कुनै जायजेथा नभएका तर जसरी नि बाँच्नै पर्ने अवस्था भएकाहरु बाटो छेउछाउ, कहिले यो कुना कहिले उ कुना गर्दै आफ्नो पसल थापिरहे छन्।
उनीहरु कहिले यो कुनो कहिले उ कुनो खोज्दै आफ्नो पसल राख्न दौडधुप गरिरहे छन्। कही प्रहरीले लखेट्ने कही ठूला पसलेले लखेट्ने गर्दा गर्दै कतै फोहोरी, कुचुक्क परेको कुनो भेट्टाएपछि उनीहरु थचक्क बसेर आफूले ल्याएका तरकारी बेच्छन्। अनि 'ग्राहकहरु' पनि उनीहरुका सब्जीमाथि चर्को मोलमोलाई पनि गरिरहेकै छन्।
जेष्ठ नागरिकहरु यो कोरोना कहरमा
उमेरसँगैका छटपटी, विभिन्न दीर्घरोगहरु, टहल्न नपाएर कोठाभित्रै थुनिनु परेको व्यथा। अनि आफ्नै सन्तानसँग परिवारका सदस्यसँग खुलेर बोल्न, मिल्न, मनका कुरा भन्न हिचकिचाउने। त्यसमाथि नियमित खाईरहने औषधी सकिदा पनि आफ्ना छोराछोरीलाई ल्याउन भन्न नसकेको पनि देखियो।
सम्बन्धका रिक्तता आफ्नैभित्र बढी देखिने कुरा एउटै घरभित्र पनि छलछाम, ढाँटढुट अविश्वास, असमझदारीहरु पनि यो कहरमा कता कताबाट छर्लङ्ग भईरहेछन्। मिलाउन नसकेका , मिल्न नसकेका कुरा त कति हुन कति।
युवाहरुलाई त झन् कति हो कति जिम्मेवारीका कुराहरु। परिवारको लालनपालन, जेष्ठ नागरिकका हेरचाह, व्यवसाय र आम्दानीको कुरा। झन् ऋण धन गरेर सञ्चालन गरिएका बन्द व्यवसायहर यो लकडाउनले र महामारीले तहस नहस बनाएको छ। यसैले कयौँ युवाहरु निराश छन्, आन्दोलन गरौँ भन्छन्, व्यवस्था फेर्नेसम्मको कुरा नि गर्छन्। बग्रेल्ती समस्याहरुमाझ निकै अप्ठ्यारो र संकटबाट गुज्रिरहेका छन् युवाजनहरु।
जो युवाहरुले यो समस्याले निम्त्याएको परिस्थितिलाई बुझेका छन्, उनीहरुले संयमित नै भएर अगाडि बढेका छन् तर कोही भने, झैझगडा, मादक पदार्थको अत्यधिक सेवन, आत्महत्या, चोरी डकैतीसम्म पनि गर्न पुगेका छन्।
यसरी बिहान एक घण्टा यसो बाहिर निस्केर हिड्दा यस्ता दृष्यहरु अवलोकन गर्दै मनन् गर्दै थिँए। घरमा आएर मेसेन्जरमा सुन्दर लाग्ने सन्देश एकजना प्रिय मित्रले पठाएका रहेछन्। जुन सन्देशको सार पनि यहाँ उल्लेख गरिहालौँ न।
* घोडाले पानी पिएको ठाउँको पानी पिउ किनकी घोडाले फोहोर ठाउँको पानी पिउँदैन।
* बिरालो सुत्ने ठाउँमा आफू सुत्ने ठाउँ बनाउ किनकी बिरालो फोहोर ठाउँमा सुत्दैन्।
* विभिन्न किराहरुले छोएको खाना खाउ, किनकी कीराहरुले कहिले पनि विषालु खाना खाँदैनन्।
* कीराहरुले जमिन खोतल्ने ठाउँमा रुख विरुवा लगाउ किनकी त्यस जमिनमा राम्रो फसल आउने र बिरुवा सप्रने गर्दछ।
* चरा सुत्ने समयमा सुत र चरासँगै उठ। सुत्ने र उठ्ने समय एउटै बनाउ।
* माछा जस्तै पानीमा पौडिउ। माछा जस्तै हल्का र जीवित महशुस गर्नेछौँ।
* बारम्बार आकाशलाई हेर्ने गर। तिम्रो विचार आकाश झैं प्रष्ट र सुन्दर हुनेछ।
* शान्त रहने कोशिस गर , थोरै बोल, तिमी आफ्नो हृदय, दिमाग र आत्मामा पनि शान्ति महशुस गर्नेछौ।
मनै आनन्द बनाउने खालका मन्तव्यले एक पटक भने पनि जिन्दगीलाई सकारात्मक ढंगले सोच्न बाध्य बनाउँछ। प्रकृतिसँग मिलेर बाँच्ने कुरा अहिलेको महामारीले सिकाएको सुन्दर पाठ हो। र पनि प्रकृतिप्रद्धत्त हुनको लागि पनि त सबभन्दा पहिले मान्छेले भोक मेटाउनु पर्यो, आम्दानीको लागि काम पाउनु पर्यो।
आफ्नो शरीरको बारेमा जान्नु पर्यो, परिवारको सदस्यको बारेमा सचेत हुनु पर्यो। समाजका सबै वर्गका मानिसहरु सचेत हुनु पर्यो। त्यसका लागि राज्यको व्यवस्था र नेतृत्वजनले भुइँमान्छेका समस्या र व्यथालाई पनि त सम्बोधन गनुपर्यो। समृद्धिका सपनाभन्दा पहिले सचेतनाका विपनाहरु आउनु पर्यो। बल्ल आउला अरु सिद्धान्त, अनि सिद्धान्तमा बहस, विचार र वादका कुरा। यस्तै यस्तै लाग्दैछ आजकाल यो शून्य समयमा।