तिजको दर खाने दिनदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भयो। निजी सवारीमा जोरबिजोर प्रणाली पहिलादेखि नै कायम थियो। आफ्नो स्कुटर जोर नम्बरको भएकाले बाको मुख हेर्ने दिन (३ गते) माइत जान मिलेन, तर त्यसो भन्दैमा दर खाने दिन (४ गते) सम्म कुर्ने कुरा भएन। तिजको मुखमा माइत जान कम्ती हतार हुँदैन ‘चेलीबेटी’ लाई, सबैले बुझेकै कुरा हो। त्यसैले २ गते नै हान्निएँ ढुक्कले।
तर (फुपू) दिदीहरू आउन पाउनु भएन, कारण उहाँहरूसँग निजी सवारी थिएन, सार्वजनिक यातायातमा जोखिम लिन चाहानु भएन। त्यसमाथि हजुरबा बितिसक्नु भएकाले औँशीका लागि उहाँहरूले हतार गर्नु भएन होला, तिजका लागि दर खाने दिन माइती जाने योजना थियो होला। तर त्यही दिनदेखि ‘लकडाउनभन्दा कडा’ निषेधाज्ञा भएपछि न निजी सवारी काम लागे, न सार्वजनिक।
'चार जना छोरी छन्, र पनि तिजको चाडमा समेत घर पूरै शून्य’ हजुरआमाले कति पटक गुनासो गर्नुभयो, गनिनँ मैले। आक्कल-झुक्कल उहाँले 'धन्न कसो गरी एउटी नातिनी आइपुगी' भन्दा मख्ख पर्ने बाहेक अरू विकल्प थिएन मसँग।
मेरी हजुरआमालाई यो लकडाउन वा निषेधाज्ञा किन लागू भइरहेको छ भन्ने विषयमा स्पष्ट जानकारी छैन। नयाँ रोग आयो रे भन्ने त उहाँले सुन्नु भएको छ, तर त्यो रोग र यातायात सञ्चालनको सम्बन्ध उहाँले बुझ्नु भएको छैन। सायद् सोच्नु हुँदो हो, गाडी चढेर आउने रहेछ क्यारे नयाँ रोग!
सोह्रश्राद्ध सुरु भयो, दशैँ र तिहार आउँदै छन्। कमसेकम मेरो र मेरा बाआमाको पुस्ताले बुझिसकेको छ कि यसपालिको दशैँतिहार पनि पोहोर परार जस्तो खुला हुने छैन। आत्मीय निकटता झल्काउने पर्वहरूमा ‘सामाजिक दूरी’ को बाध्यता हुनेछ।
तर, सबैभन्दा पीडामा त्यो अग्रज पुस्ता हुनेछ जसले आजसम्म यस्तो ‘दूरी’ मा बाँच्न जानेकै छैन, जसलाई सामीप्यको निरन्तर आवश्यकता छ, मानसिक मात्र नभई शारीरिक सुस्वास्थ्यका लागि समेत। चाडपर्वको माहोल बढ्दै जाँदा सबैभन्दा बढी उनीहरूले ‘मिस’ गर्नेछन् आफ्नाहरूको निकटता।
म हरेक चोटि माइतबाट फर्कने बेला ‘अब कहिले आउँछेस्’ भनेर बोल्दै रुने र रुँदै बोल्ने हजुरआमाले आफ्ना छोराछोरीलाई दशैँमा टिका लाइदिन पाउनु भएन भने उहाँको मनले के सोच्दो हो? तर, बुढाबुढीले चाहे भन्दैमा अब यी सबै ‘दूरी’ का नियमहरू भत्काइदिनु पर्छ भन्ने अवस्था रहेन। बरु हाम्रो पुस्ताले उहाँहरूलाई सम्झाउनु पर्ने अवस्था छ।
झन् उमेरका कारण उहाँहरूमाथि ‘नयाँ रोग’ को जोखिम अझ उच्च छ। अब चाडबाडमा घरमा जोजो जम्मा हुन्छौँ, सबै मिलेर ज्येष्ठ नागरिकको पुस्तालाई यस रोगबारे कुरा बुझाउनु पर्ने आवश्यकता छ।
दूरी कायम गर्नुपर्ने आवश्यकता किन पर्यो भन्ने जानकारी दिनु पर्नेछ। भौतिक रूपमा टाढा भएका परिवारका सदस्यका सट्टा घरमै हुने सदस्यहरूले बुढाबुढीप्रति थप आत्मीयता देखाउनु पर्नेछ। ‘सामाजिक दूरी’ कायमै रहे पनि ‘पारिवारिक सामीप्य’ लाई बढाउनु पर्नेछ।
अहिलेको सबै पुस्ताका सबै जनाले जे छ, त्यसमै खुसी हुनुपर्ने अवस्था छ। यसपालि यो रोग नियन्त्रणमा आयो भने, अर्को वर्षसम्म हुँदा त भरपर्दो उपचार पनि पत्ता लाग्ला, त्यति बेला हाम्रा चाडबाडका सम्पूर्ण पक्षहरू पुरानै पक्षमा फर्केलान् भन्ने आश गर्नु पर्नेछ। आफ्नो ज्यान रह्यो भने चाडपर्व रहन्छन्, खुसी रहन्छ भन्ने बुझ्नुपर्नेछ। नयाँ पुस्ताले यी सबै कुरा पुराना पुस्तालाई सम्झाउनु पर्नेछ।
दशैँमा कुन आफन्त कहाँ कसरी जाने, जाने कि नजाने, अहिलेको जस्तै निषेधाज्ञा रहिरह्यो भने कहाँकहाँ जाने अथवा कहाँ चाहिँ छाडिदिने भन्ने बहस घरघरमा सुरु भइसकेको छ। शताब्दीयौँ अगाडिदेखि नै देशकै सबैभन्दा ठूलो चाड मानिएको दशैँको स्वरूप नै बदलिने अवस्थामा यस्तो चिन्ता स्वाभाविक पनि हो।
तर, अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘होप फर द बेस्ट, बट प्रिपेयर फर द वर्स्ट।’ निस्सन्देह, हामीले कामना गर्ने, आशा गर्ने त राम्रोकै लागि हो, हाम्रो देश मात्र नभएर सिङ्गो संसार नै कोभिड-१९ को महामारीबाट सकेसम्म छिटो मुक्त होस् भन्ने नै हो। तर बुझ्नुपर्ने छ, यो कुरा हाम्रो नियन्त्रणमा छैन। त्यसैले त हामीले खराबभन्दा खराब अवस्था आइहाल्यो भने पनि त्यसलाई सामना गर्ने गरी तयारी गर्नुपर्नेछ।
तर यथार्थबारे विचार गर्दा यस वर्षका दशैँतिहार ‘बेस्ट’भन्दा ‘वर्स्ट’ तिर बढी नजिक हुने देखिन्छन्। त्यसैले खाँचो ‘होप’ भन्दा पनि ‘प्रिपेरेसन’ को छ। त्यसमा सबै पुस्तालाई समेट्नुपर्ने छ। सक्षम पुस्ताले ‘वर्स्ट केस सिनारियो’ मा चाडपर्व मनाउन आफूलाई तयार राखी आफ्नो परिवारका ज्येष्ठ नागरिकहरूलाई पनि त्यसका लागि तयार बनाउनु पर्ने छ।
भनिन्छ, अपेक्षा नै असन्तुष्टिको बाटो हो। त्यसैले हालको अवस्थामा अपेक्षा त्याग्नु नै तयारीको एक उपयुक्त बाटो हुन सक्छ। मैले त मेरी हजुरआमालाई सम्झाइसकेकी छु, 'तिज र सोह्रश्राद्धमा मात्र होइन, दशैँ र तिहारमा पनि छोरीहरू आएनन् भने यसपालिलाई पिर नगर्नू। बरु हरेक चाडको दक्षिणा एकै ठाउँमा जम्मा गरेर राख्नू, पछि एकमुस्ट दिँदा एकमुस्ट मजा हुन्छ।'