कोरोना भाइरस २ सय १५ देशमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनको भदौ १७ सम्मको तथ्यांक अनुसार विश्वभर गरी ८ लाख ६१ हजार ५ सय १५ जनाले ज्यान गुमाए। तर पनि विभिन्न देशले सावधानी सहित लकडाउनलाई खुकुलो पार्दै लगे। कारण विश्व आर्थिक मन्दीको दल दलमा फस्दै गएकाले लकडाउनलाई खुकुलो पार्न बाध्य भए।
नेपालमा पनि विभिन्न चरणमा गरिएको लकडाउन पाँच महिना पुगिसक्यो। बन्दाबन्दीका कारण राज्यको ढुकुटी रित्तियो नै। प्रायः गरिबहरूको घरमा आगो जल्न छोड्यो। कैयौँ ज्यालादारी गर्नेहरूको पेट रितियो। सहयोगीहरूले केही समय पेट भर्न मद्दत गरे। तर, सधैँ दाताले दिएको सहयोगले अरूको पेट भर्न सम्भव भएन। विस्तारै सामुहिक भान्छाहरू बन्द भए। गाउँ फर्कन सक्ने मजदुरहरू हिडेर र केही लकडाउन खुकुलो भएको मौका छोपी गाउँ गए।
सरकारले पछिल्लो चरणमा लकडाउन अलि खुकुलो बनायो। लाग्छ, कर उठाउन मात्र लकडाउनलाई खुकुलो पारिएको पो हो की? विज्ञहरूको सुझाव भन्दै लकडाउनको सट्टा सटडाउन अघि सरेको थियो। तर त्यसको पनि खास अर्थ रहेन। यसभन्दा अघि भएको लकडाउनको समीक्षा गर्नुपर्थ्यो।
लकडाउनमा धेरै कालाबजारीहरू भए। तिनैले लकडाउनको फाइदा लिए। तर, दुई छाक खान मजदुरी गर्नेहरू मारमा परे। नियमित हस्पिटल पुगेर चेकजाँच गर्ने र औषधी खाने बिरामीहरू मारमा परे। रात दिन जमिनमा श्रम गरी भोकाहरूको पेट भर्न लागि पर्ने किसानहरूले समयमै मल र बीउ नपाउँदा उनीहरू चपेटमा परे।
लकडाउन भनेको त सवैलाई हुनुपर्ने हैन र? मन्त्री झण्डा हल्दाउँदै हिड्छन्। सरकारका ठुला ओहोदामा बस्ने, मन्त्री र नेताका आसेपासेहरूले पास बनाउँदै जहाँ मनलाग्छ त्यहाँ दगुरे कै छन्।
सरकार! अरू देशमा भएको लकडाउनको राम्रो पक्षलाई थोरै भए पनि सिको गरौँ न। नत्र किन लकडाउनको नाममा नाटक मञ्चन गरिरहनु पर्यो। वास्तवमै भन्ने हो भने लकडाउन त गरिब, मदजुर र कमजोर वर्गहरूलाई मात्र भएको छ। अरूको लागि लकडाउनले खासै असर पारेको छैन। घरमा बसेकै छन्। खाएकै छन्। पास देखाउँदै गाडी घुईँकाएकै छन्। यो त हुने खानेको लागि मस्ती भएन र?
अर्को कुरा सरकारले लकडाउन सुरु गर्नुपूर्व नै गल्ती गरीसकेको छ। भारत तथा बाहिरी मुलुकमा रहेका नेपाल आउन चाहने नेपालीलाई निश्चित समय अवधी तोकी नेपाल भित्रिन दिनुपर्थ्यो। उनीहरूलाई क्वारेन्टाइन अथवा सुरक्षित स्थान कहाँ हो त्यहाँ व्यवस्थापन गर्नुपर्थ्यो।
दोस्रो, सबै नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपर्थ्यो। र तेस्रो आफ्नो देशका सम्पूर्ण नागरिकलाई पिसिआर विधिबाट चेक जाँच गर्ने प्रकृया तीव्र गतिमा अघि बढाउनु पर्थ्यो। तर लकडाउनको नाममा जनतालाई दुःख मात्र दिइयो। भारतदेखि मान्छे हिडेर राता-रात घर पुगे। न चेक जाँच न, क्वारेन्टाइन। अनी यहाँ नसल्के कहाँ सल्कन्छ कोरोना?
लकडाउनको मौका छोपी तरकारी बोक्ने गाडीले पास टाँसेर राता रात मान्छे ओसारे। दुई सय भाडा लाग्ने स्थानमा एक हजारसम्म तिर्न बाध्य भए। त्यो यात्रुहरूको रहर हैन बाध्यता हो। त्यस्ता व्यक्तिलाई राज्यले कुनै न कुनै माध्यमबाट सुरक्षित स्थानमा पुर्याउन सक्नु पर्थ्यो। त्यसमा कसैको पनि इच्छा शक्ति देखिएन। सुरुदेखि नै बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरू ओसार पसार गरे।
कलंकीको बाबा पेट्रोलपम्पमा दुई घण्टा उभिदा चार वटा (पोखरा र चितवनका) एम्बुलेन्सले प्रति व्यक्ति दुई हजार पाँच सयमा यात्रु चढाए। सुरुको बार्गेनिङ, चार हजारबाट थियो। यात्रुले घटाउँदा घटाउँदा त्यती भाडामा जान पाए। त्यही पनि कोचिएर। यात्रुसँग बार्गेनिङ गर्ने दलालीहरू हुन्थे।
कलंकीमा त्यही दुई घण्टाको अवधीमा सात वटा स्कार्पियो भरिए। साँझको बेला पोखरा, चितवन, भैरहवा, दाङ र नेपालगंजसम्म पुग्ने स्कार्पियोहरू थपिदै थिए। सबै स्कार्पिओमा पास टाँसिएका थिए। एक व्यक्तिले नेपालगञ्जको भाडा सात हजारसम्म तिरे।
एक जना यात्रु मेरै छेउ टुसुक्क बसे। उनी तौलीहवा जाँदै रहेछन्। भालुबाङ जाने गाडीले ब्रेक हान्यो। ‘बाजे जाने हो पाँच हजार मात्र’ दलालीले झोला टिपे। ती यात्रुसँग टाकनटुकुन गरेर २ हजार ७ सय २५ रूपैयाँ रहेछ। त्यतिनै देखाए। बाँकी पैसा उतै पुगेर दिने सर्तमा चार हजार भाडा दिने गरी ती यात्रु स्कार्पियो चढे। यी त प्रतिनिधि पात्र मात्र हुन्। कैयौं व्यक्तिहरूले यी यात्रु झै सास्ती खेपे।
यात्रुले भाडा बढी तिरे पनि चालकले सबै पाउँदैनन्। बीचका दलालहरूले ६० देखि ७० प्रतिशत भाडा आफूले राख्छन्।
नेपालगञ्जबाट एकजना साथीले बहिनीलाई काठमाडौं जाने ट्याक्सीमा चढाइन्। उनी बुटवलसम्म पुग्नु थियो। त्यहाँसम्म पुग्नको लागि दलालीले आठ हजार मागे।
बाध्यता थियो। जसरी पनि पुग्नुपर्ने। उनले आठ हजार दलालीको हातमा थमाई दिइन्। पछि ट्याक्सी ड्राइभरलाई सोध्दा तीन हजार मात्र पाएका रहेछन्। लकडाउनको अवधीमा यस्ता कालो बजारीहरूले धेरै लुटे।
दाङको जिल्ला प्रशासन कार्यालयले भदौ १६ देखि एक हप्ता लकडाउनको घोषणा गरेको छ। सोही दिन दंगीशरण गाउँपालिकाको हेकुली चोकमा एक घण्टा दृष्य नियाले।
पसलहरू सबै बन्द। पसल बाहिर एक हुल मानिस बिना मास्क मस्त गफिएका। न उनीहरूले भौतिक दूरी नै कायम गरेका थिए। चोकमा तीन जना प्रहरी पहरा दिईरहेका। एक जनाले मास्क नै लगाएका थिएनन्। एकको मास्क चिउँडो मुनी थियो। चोकमा आउ जाउ चालेकै थियो। पसल र यातायात मात्र बन्द। आफ्नै मनमा प्रश्न उब्जियो। यातायात र पसल बन्द गर्दैमा कोरोना नियन्त्रण होला र?
कि त, सडकमा गाडी गुड्न नदिएको भए हुन्थ्यो। गाडी पनि गुडाउने। पैदल यात्रुहरू पनि हिड्ने। अनि लकडाउनको नाममा योभन्दा मजाक के भयो र? अब सार्वजनिक गाडी रोकेर पनि अर्थ छैन। कोरोना गाउँ-गाउँ छिरिसक्यो। जुन काम लकडाउनको सुरुमा गर्नु पर्थ्यो। अहिले आएर कडाई गर्न खोज्नुको कुनै औचित्य छैन।
काम नगरी छाक कसरी टार्ने भन्ने एउटा वर्ग छ। उ सधै घरभित्र थुनिएर बाँच्न सक्दैन। राज्यले नागरिकलाई बाँच्नको लागि कुनै विकल्प दिन सकेको पनि छैन। यदि लकडाउन गर्ने नै हो भने नागरिकहरूको सम्पूर्ण सुरक्षा राज्यले गर्नुपर्छ। हैन भने सचेत र सजग भएर लकडाउनलाई खुकुलो बनाउनु पर्छ।
कोभिड–१९ (कोरोना) रोकथामको लागि अब लकडाउन वा सटडाउन नै समस्याको समाधान होइन। क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थापन गर्नुपर्छ। गाउँ गाउँमा जनस्वास्थ्य टोलीहरू परिचालन गरी चेक जाँच गर्नु पर्छ। अब, सामाजिक दुरीको नारा भजाई राख्ने मात्र हैन। कोरोना रोकथामको लागि एकजुट हुन एकता निर्माण गर्नुपर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि जनस्तरमा चेतना बढाउनुपर्छ।
गाडीमा यात्रा गर्ने व्यक्तिहरूलाई अनिवार्य मास्क, सेनिजाइजर र पन्जा लगाए नलगाएको सुनिश्चित गर्नुपर्छ। र, यातायात सुचारू गर्नुपर्छ।