'सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः
येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत् सत्यस्य परमं निधानम्॥'
माथिको संस्कृत श्लोक मुण्डकोपनिषद्को तेस्रो मुण्डक भित्रको प्रथम खण्डको छैठौ छन्दमा उल्लेख गरिएको सत्य बारेको टिप्पणी हो। यसको सारभूत अर्थ भनेको केबल सत्यको विजय हुन्छ, असत्य कदापि जित्न सक्दैन, सत्यबाटै देवत्तो भाव जागृत हुन्छ र विस्तृत बन्दछ।
साथै सबै आत्मा ज्ञानी र ऋषिगणहरु सत्यकै बोधबाट मोक्ष्य र अन्तिम धाम प्राप्त गरे र अरु प्राणीहरुको मूल बाटो पनि सत्य नै हो। यो पंक्ति धार्मिक एवम मार्मिक सेतुबाट महत्वपूर्ण हुन्छ मानव जीवनमा। वास्तविक सुखको अनुभूतिका लागि समेत सत्य अपरिहार्य सर्त हो।
म सत्य प्रणयताको पाठक हुँ र पक्कै पनि प्रकाण्ड जानकार भने होइन, आज मैले सत्यलाईनै फरक धारबाट हेर्न केही आफ्ना वाणीका हुण्डरीलाई सम्प्रेषण गर्दै छु। गल्तीहरु कबुल गर्न कोशिस गर्ने वाचा सहित फरक क्षितिजमा हेरौँ त, सत्यको दर्शक भएर। हुण्डरि भित्रको ज्ञानले केही अहंकार जन्मायो भने कृपया पाठक ज्यूहरु यसलाई कसिङ्गर छुट्यायर सत्य खोज्नु हुन् बिन्ति टकर्याउदै म यस आलेखमा बृहत सत्य बारे चर्चा गर्दैछु।
सत्यका चर्चा र परिचर्चा सुनेर साबिक मानव इतिहास र हालको आधुनिक मानव मान्यतावाद चलिरहेको छ, कसैकसैले सत्यलाई व्याख्या गरेर तर बोध नगरेर/गराएर मानव समाजहरु छलीरहेका छन्। सत्य अकुत धन हुनेहरुको मात्रै होइन, सरल जीवन जिउनेहरुको पनि हो वा न्याय र समताको जागरण चेतनाको हो।
सत्यको वर्णन राजनीति, अर्थनीति, व्यापार, संस्कार, समाजसेवा वा सामाजिक आर्थिक दृश्यका धेरै आयामहरुमा गरिएको पाइन्छ। सत्यलाई हामी सट्टामा होइन, संसारका हरेक दिन/रातहरु साताहरु भित्र चल्ने प्रत्येक जीवन चक्रमा बुझ्नु जरुरी छ। सत्यलाई जब हामी सत्ता र परम सत्ता गरी दुई खण्डमा विभाजन गरेर बुझ्दा, हामी के भेट्छौँ भन्दा, बाटोको शाब्दिकता फरक तर एउटै लक्ष्य भेट्छौँ। त्यो हो बृहत न्याय र मानव/ प्राणी जगतको सेवा जसमा बातावरण स्वच्छता र सौन्दर्यतालाई पनि चर्चा गरिएको पाइन्छ।
एकीकृत परम सत्ता भित्र अर्थात् मानिसहरुका निजी जीवन भित्र घट्ने सत्तालाई बोध गरेर बुझ्न सकिन्छ। मानव प्राणीहरुको स्वयं भित्र एउटा सत्ता हुन्छ। अर्थात् मान्छे आफ्नो जीवनको लागि आफू नै स्वामी हो, मालिक हो। उक्त सत्तालाई चलाइ/बुझाइ गर्ने र भोग गर्ने व्यक्ति स्वयमनै हो।
सत्ता टिकाउन मान्छेले मनको सहायता लिन्छ र आफू अनुकूलको जीवन पद्धति निर्माण गर्छ वा नीति बनाउछ। उक्त नीति बाहिरी जगत अनुकूल छ वा छैन त्यो व्यक्तिको चेतनाको विकासले देखाउछ। आफूबाट आफूलाई नै शासन गर्ने पद्धतिलाई मान्छेले अनुशासन कहन्छ।
विचारका ज्वारभाटालाई चालमा रुपान्तरित गराउन मान्छेको भित्रि संसारका प्रोसेसिङ बुझ्नु पर्छ। त्यहाँ पनि सत्यको खोज हुन्छ र उक्त खोज हेतु स्वयमले स्वयम शासन गर्ने नीति, निर्णय र नेतृत्वको खाँचो मान्छेलाई हुन्छ। एकीकृत सत्ता भित्र हुने अरु प्राणीहरु जोसँग चेतना हुँदैन, उनीहरुको नीति, निर्णय र नेतृत्व उनीहरुका आहार अनुसारका व्यवहारहरुले कोर्छन्।
लोभ, कुण्ठा, दोष र अहंकारभन्दा पर सत्य लुकेको हुन्छ, परम् सत्यलाई बोध गरेका अगुवा मान्छेहरुलाई आत्मा ज्ञानीको उपाधि बाँकी संसारका चेतनशील मान्छेहरुले दिएका हुन्छन्/पाइन्छन्।
अब यो टिप्पणीकार आर्को भौगोलिक नक्सा र सिमाना केन्द्रित सत्ता बारे चर्चा गर्न गैरहेको छ, मान्छेहरुले चर्चेका र कमायाका अनेकौ सम्पतिहरुको एकीकृत सुरक्षा एउटा सरकारले गर्छ र उ पनि व्यक्ति जसरी फंग्सन गर्छ, उसका आफ्नै बेग्लै आयाम हुन्छन्, महिमा हुन्छन् र पद्धतिहरु बनेका भेटिन्छन्।
विशेष गरेर न्याय स्थापना र समता र न्यायको रक्षा गर्ने पवित्र कार्यको लागि मानव निर्मित भर्चुअल वा फिजिकल फर्ममा सत्ताले रुप लिएको हुन्छ। कहीँ लोकतान्त्रिक सत्ता कहिन्छ त कहीँ निरङ्कुश व्यवस्था भएको सत्ता कहिन्छ। हामी यहाँ प्रकृया भित्रका तत्व बारे चर्चा गर्दा, मुख्य र मुलभूत रुपमा उहीँ नीति, नेतृत्व र निर्णयबाट सत्ता चल्छ वा हाकिन्छ।
नीति:
नीतिहरु कुनै कार्यालय, अड्डा वा मुकामहरुका अनुपालन संस्कृति, पद्धति र स्मृत, शासन अभ्यास हेतु बनाइने समय, काल अनुसारका दस्ताबेजहरु हुन्। नीतिहरुको प्रमुख नीति राजनीति हो, जुन राज्यका अंगहरु संचालन हेतु आवश्यक हुन्छ। नीतिहरु बन्दा उद्देश्य, कार्य तालिका र रणनीतिहरु केन्द्रित हुन्छन् जुन छोटो र लामो कार्यभारको ओत लिएर बनेका पाइन्छन्।
हरेक नीतिहरु न्याय र सर्वहितमा केन्द्रित हुनुपर्छ। नीतिमा आफू अनुकूल बुँदा, दफा थप्ने काम स्वार्थी नेतृत्वहरुले गरे त्यहाँ नीतिगत भ्रष्टचार हुन सक्दछ। स्वार्थ बाझिने खाले नीति बन्नु हुँदैन।
नेतृत्व:
अनेकौँ संगठनहरु एउटा लक्ष्य निर्धारण गरेर चलेका हुन्छन्, देश पनि एक खाले बृहत संगठन सरि हो। पूर्वनिर्धारित लक्ष्य एवम् उद्देश्यहरु हासिल गर्न आफ्नो मातहतमा हुने सम्पूर्ण टिमको ज्ञान, सीप, योग्यता र क्षमताहरुलाई आफ्नो सोचाइ र योजना अनुरुपको खाकामा डोर्याउन वा प्रभावित गर्न गराउन सक्ने क्षमतालाई नेतृत्व भनिन्छ।
हरेक सकारात्मक नेतृत्व भित्र उस्तै सकारात्मक दियो बलिरहेको हुन्छ, उक्त नेतृत्व आकर्षक हुन्छ, बौद्धिक हुन्छ, निष्पक्षताले भरिएको हुन्छ र उसमा भारि आत्मविश्वास हुन्छ। नेतृत्व भित्र जवाफदेहिता अपरिहार्य सर्त हो। न्यायको यात्रा र सत्य बोध गराउने खाले नेतृत्वमा भिजन र मिसन हुनुपर्छ जसले सारभूत खुसी छर्न सकोस्।
बोसिजमले भन्दा लिडर इगो रहित हुनुपर्छ। इमोसनल म्यानेजमेन्टमा दखल नेतृत्वले मात्रै सत्यको बाटो खोज्न सक्दछ। समाजमा न्याय स्थापित गराउन सक्दछ। नेपालको उदहारण लिने हो भने एउटा नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तन हुँदा घाटामा रहेको संस्था नाफामा जान सक्यो र देश उज्ज्यालो बन्न सफल भयो।
राइट मेन इन राइट प्लेसको अवधारणामा हरेक संगठनमा वा देशमा नेतृत्व चयन हुनु पर्छ।
निर्णय:
सत्य बोध र मार्ग पहिचान गराउने भनेको निर्णय मार्फत हो। निर्णय कार्य सम्पादन र अनुमोदन हेतु अपरिहार्य तत्व हो। निर्णयलाई म त खुबी पनि भन्छु। धेरैजसो न्यायाधिकरण भित्र पर्ने अनैकौ सत्य उत्खननका पाटाहरु निर्णय क्षमता र तदारुकता हुनाले पाइन्छन्।
निर्णय एक अचुक खुबी एवम् औषधी हो, यदि सही समयमा सही उद्देश्यले लिइन्छ भने। कुनै कुरालाई निचोड दिने कार्यलाई निर्णय खुबीको तराजुमा राख्न सकिन्छ। आँटेको पुग्छ ढाँटेको पुग्दैन, त्यसकारण ढाँट्छल गर्ने निर्णय कदापि मूल उद्देश्य सित मेल खादैन। निर्णय आँटेरै गर्न सक्नु नेतृत्वको खुबी हो। त्यो पनि दिगो विकास, समानता, न्यायका लागि जुन कुरा गर्दा पारादर्शी जीवनशैली भित्र रहेर गर्नु उचित हुन्छ।
निर्णय प्रकृया भित्र हामी हरेक समस्याहरुको पहिचान गर्नु पर्छ, विकल्पहरुको अनुसन्धान र विकासमा जोड दिन जरुरी हुन्छ। मूल्यांकन विधिमा जोड दिनु राम्रो हो र हरेक निर्णय प्रक्रिया भित्र उत्कृष्ट निर्णयहरु छलेर होइन, छानेर निर्णय कर्योन्वयन गर्दै पृष्ठपोषणको ठाउँ राख्नु पर्छ, बल्ल समाता र सहभागीतामुलक समाज र सत्ता बन्ने निश्चित हुन्छ।
मर्ने बेला हरियो काक्रो सरि अन्तिम अवस्थामा निर्णय लिनुभन्दा उत्प्रेरणाको ओज भएका निर्णयहरु आजको जगतमा हितकर बन्ने छन्।
माथि उल्लेख गरेका नीति, न्याय, नेतृत्व एवम् निर्णय हरेक भौगोलिक सत्ता र नक्सा भित्र न्याय र समानता स्थापना गर्न अरु जनताको मत वा कर (उर्जा, मिहेनत माथि कट्टा गरिएको रकम वा मूल्य) लिएर छनोट भएका पाइन्छन्। हरेक तत्वले सत्यलाई छुने गरी आफ्नो भूमिका रचेको हुनुपर्ने हो, जुन सत्यले जागत र मानव कल्याणको उद्देश्य राखेको हुनुपर्छ।
न्याय स्थापना भएको सत्तामा शान्ति आफै आउछ। बुद्धले भने जस्तै सूर्य, चन्द्र र सत्य धेरै समय लुक्न सक्दैनन। असत्यका कसिंगरले रचना गरेका भ्रमलाई दुवै खाले सत्ता चाहे मानवीय निजी वा मन केन्द्रित सत्ता होस् वा भौगोलिक घेरा भित्रको डेराबाट निर्मित सत्ता होस्, सबैलाई टुटाउन पर्छ।
हामी भित्रका (नीति, निर्णय वा नेतृत्व) वा नक्सा/ संगठानिक घेरा भित्र रहने सत्ताको (नीति, निर्णय वा नेतृत्व) होस्, यी चार ब्रह्मबिहार भावना जुन बुद्धले सिकाउनु भयो, ती अनुसार चले हाम्रो सत्यको खोज सहज हुँदै जान्छ।
१. मैत्री भाव,
२. करुणा भाव
३. मुदिता भाव
४. उपेक्खा भाव
शारांषमा सत्यको पर्दा उघार्दा वा सत्यको खोजमा जाँदा, आफू भित्र पनि र आफूले नेतृत्व लिएका हरेक संस्थाहरु/सत्ताहरुका पार्टमा मित्रता, करुणा, खुसी, नजरअंदाज र त्याग/समर्पणको मर्म अनुरुप चल्नु पर्छ र सत्यले हामीलाई बाटो देखाउँछ। सत्य भित्र पर्ने जुनसुकै नीति निर्णय र नेतृत्व अदली-बदली होलान् तर मूल सत्य निराकार छ र साकार छ, सत्य शान्त छ।
आगे सत्य।