पुस महिनाको त्यो तराईको चिसो र म झोला बोकी घर जान निस्केको यात्री। स्कुलबाट निस्केको २० मिनेट भइसकेको थियो, लगभग १ किमीको बाटो हिँडिसकेको थिएँ।
‘ए इँट्टाभट्टा पो आइसकिएछ केही छैन, जाबो २ किमी हिँडेर त गाडी पाइहाल्छु नि!’ मनमनै सोच्दै अघि बढ्दै थिएँ।
अचानक आँखा इँट्टाभट्टामा काम गरिरहेको स-साना बच्चामा ठोक्कियो। मन नै झसंग भयो। को होला, कहाँबाट आएका होलाजस्ता प्रश्नले मेरो मनमा खुलदुली हुन थाल्यो। मेरो मनमा चलिरहेको त्यो खुलदुली मेट्न उनीहरू काम गरिरहेको ठाउँमा गएँ।
आँखा उनीहरूले लगाएको कपडामा अडिरहेको थियो। जिउभरि माटो र बटन पनि नभएको कमिज लगाएर यतिको चिसोमा काम गरिरहेको दृश्यले मलाई मौन बनायो।
म एकछिन टोलाइरहें, अनि मैले मैथिलीमा सोधें "अहा सब कतके छि", जवाफ आयो हिन्दीजस्तै भारतको कुनै प्रान्तमा बोलिने भाषामा, अलिअलि हिन्दीमा मिसिएको भाषा सुनेपछि। उहाँहरूलाई सहज महशुस गराउन म पनि हिन्दीमा कुरा गर्न थालें।
-आप लोग कहाँ के हो ?
-यहाँ पर कैसे आए हो ?
-बच्चा लोग से ए क्या करवा रहे हो?
करिब आधा घन्टासम्म मेरो उहाँहरूसँग संवाद भइरह्यो। मेरो अनुमान सही निस्कियो, उहाँहरू भारतबाट काम गर्न आउनु भएको रहेछ। केही कमाउने आशमा आउनु भएको उहाँहरु, हरेक दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म त्यही काम गर्ने, बस्ने र आफ्नो बालबालिकालाई पनि त्यही काममा लगाउनु भएको रहेछ।
मैले भने,‘बच्चाहरू सानो छ, यति चिसो छ, उनीहरू कपडा पनि बाक्लो लगाएका छैनन्, कसैलाई केही भइहाल्यो भने के गर्नु हुन्छ। के गराइरहनुभएको यो बच्चाहरूसँग अहिले तिनीहरूको पढ्ने खेल्ने उमेर छ।’
जवाफ आयो ‘काम नही करेगा तो खाएगा क्या?" हामलोग गरिब है। सुवह कमाते है तो सामको खाते है, इनको पढाए कहाँ से। परदेशमा कौन मद्दत करेगा हमारा। अरु धेरै कुराहरू...
पढ्ने लेख्ने र खेल्ने कुद्ने उमेरमा ती बच्चाहरू परिवारको आर्थिक चपेटामा परेका थिए।
एकछिन म नि:शब्द भएँ, मसँग बोल्ने शब्द नै थिएन।
हामी पैसा तिर्न सक्दैनौं, कापी कलम किन्न सक्दैनौं। हामी मजदुर मान्छे हाम्रो छोराछोरीलाई कसले पढाइदिन्छ, जस्ता कुरा मेरो दिमागमा घुमिराखेको थियो।
एकछिन बच्चाहरूको अनुहार हेरें र म पढाई दिन्छु भनेर भने। म पढाइ दिन्छु नि भन्दा सब जना तयार भए। बच्चाहरूलाई पढ्ने इच्छा छ भनेर सोध्दा लजाउँदै त्यहाँबाट कोठातिर भागे, इँट्टाभट्टामा भएको सम्पूर्ण अभिभावकहरू छलफल गरेर तैयार बस्नु होला भन्दै आफ्नो गन्तव्यतिर लागें।
मलाई के भयो थाहा छैन गाडीमा जतिबेला बसे यी बच्चाहरूको बारेमा सोच्दै थिए घरमा दुई दिन बसें तर शरीरमात्र घरमा थियो मन त यही बच्चाहरूसँग छोडेर आएको थिएँ।
घरबाट फर्किने समय भयो फर्कें र बाटोमा बच्चाहरूसँग भेटें र अभिभावकहरूसँग सोधें के गर्ने अब, उहाँहरूले खुसी हुँदै भने सर हामी सब जना तयार छौं। यहाँ जम्मा १३ जना बच्चाहरू छन्। बरू हामी दुई घण्टा बढी काम गर्छौं तर बच्चाहरूलाई केहीबेर अगाडि नै काम सकाएर पढ्न लगाउँछौं यति सुन्दा म हर्षित हुँदै स्कुल गएँ।
अर्को दिन गाउँकै पसलबाट १५/१५ वटा कापी र कलम किनें। स्कुल सकेपछि करिब ४.३० बजे इँट्टाभट्टा पुगें। म पुग्नुभन्दा पहिले नै सबै बच्चाहरू हात मुख धोएर सफासुग्घर भएर मेरो पर्खाइमा बसिरहेका थिए। म पुगें सबैलाई नमस्ते भने, अरु सबै लजाए एक जना भाइले नमस्ते फर्कायो। खुसी लाग्यो।
अब बस्नको लागि इँट्टाभट्टाको एउटा कुनाको एक खेतमा गए। अब सुरू भयो हाम्रो यात्रा, त्यही सधैं काम गर्ने भट्टाको खेत अब कक्षाकोठामा परिणत भयो।
सबै जना बस्यो म पनि एक जना भाइको बोरामा सँगै मिलेर बसें। पहिलो दिन सबैसँग परिचय भयो। सब जनालाई १/१ वटा कापी र कलम दिए। सबैको कापीमा नाम लेखिदिएँ। सबलाई अभिवादन गर्न सिकाएँ।
पहिलेचोटि उनीहरूले कापी र कलम समातेको थियो। उनीहरूको अनुहारको खुसी त्यो बेला अमूल्य थियो। केहीले कपिको पहिलो पन्नामा फूल बनाए, केहीले गोलाकार आकृति बनाए, केहीले रेखा कोरेर मलाई देखाए।
आहा! त्यो खुसी,एकघण्टा कसरी बित्यो थाहै भएन। अन्तमा सबलाई अभिवादन गरे र गर्न लगाएँ र भोलि आउने वाचासहित कोठातिर लागें।
त्यो दिनदेखि सधैं ४.३० बजे पुग्थें। बच्चाहरू गृहकार्य गरेर नयाँ कुरा सिक्न इच्छुक भएर बसेका हुन्थे। अब सधैं आउने जाने एक घण्टाको बाटो मेरो लागि सामान्य भइसकेको थियो।
हुँदाहुँदै २,३ महिना बित्न लाग्यो बच्चाहरू मसँग एकदम घुलमेल भई सकेको थिए। अब हरेक कुरा भन्न रमाइलो लाग्थ्यो। म बाटोमा नै हुँदा सबले जोरले चिच्याएर मलाई बोलाउनु सामान्य भइसकेको थियो।
म कहिल्यै उनीहरूको लागि चकलेट लगिदिन्थें भने उनीहरू पनि कहाँ कम आफूहरूले काम गरिरहेको माटोबाट कहिले a,b,c ,... कहिले 1,2,3... बनाएर राख्थे। यो एकदम खुसीको पल हुन्थ्यो मेरो लागि। मलाई यो ३ महिनामा केही नगरेकोजस्तो लागिरहथ्यों। तर
क, ख, ग, ... बाट सुरू भएको यात्रा क,का,कि सम्म पुगिसकेको थियो।
1,2,3,... बाट सुरू भएको यात्रा 15, 30, 45,... सम्म पुगिसकेको थियो।
a,b,c,...बाट सुरू भएको यात्रा Sunday, monday हुँदै November, December सम्म पुगिसकेको थियो।
अब उनीहरू आफैं एकअर्कासँग सोधेर सिक्थे।
बिस्तारै मैले त्यहाँ गएर पढाउन थालेको कुरा स्कुलदेखि गाउँसम्म फैलियो।
कसैले मैले गरेको कामलाई राम्रो भने कसैले नराम्रो भने। जो मान्छे जस्तो थियो मैले गरेको कामलाई आफ्नै दृष्टिकोणले हेर्यो।
कतिले त यी बच्चाहरूलाई पढाएर काम छैन, उनीहरू हाम्रो देशको पनि हैन।
यिनीहरूको आमाबुवा रक्सी खान्छ, यस्तो बच्चा पढेर के गर्छ र गर्ने त यही हो भट्टामा इँट्टा बनाउने। सर बेकारमा आफ्नो समय बर्बाद गर्दै हुनुहुन्छ।
कहिलेकाहीँ यस्ता कुरा सुनेर दिक्क लाग्थ्यो। आफैंले आफैंलाई प्रश्न गर्थें के मैले गरेको काम साँच्चै नै नराम्रो हो र? कोई बच्चा मेरो देशको होइन भन्दैमा उसले पढ्न पाउँदैन र!
अब कसैको बुवाआमा रक्सी खान्छ भने यसमा बच्चाहरूको के दोष। के ऊ पछि अगाडि पढ्न पाउँदैन। डाक्टर, इन्जिनियर बन्दैन भन्दैमा उसलाई शिक्षाबाट वञ्चित गर्नु कतिको सही छ?
फेरि आफैंलाई जवाफ फर्काउँथें हो मेरो बच्चाहरूलाई तिनीहरूको परिवारले भोलि गएर पढाउँदैन होला, ऊ ठूलो मान्छे बन्दैन, डाक्टर, इन्जिनियर बन्दैन तर भोलि गएर एउटा चिठी लेख्न त सक्छ, साधारण लेखपढ गर्न त सक्छ, आफ्नो पैसाको हिसाबकिताब आफैं गर्न त सक्छ, आफ्नो नाम आफैं लेख्न त सक्छ।
भोलि मेरा बच्चाहरू कसैलाई गएर मेरो मोबाइल नम्बर सेभ गर्दिनु भनेर भन्नु पर्दैन, कसैलाई रिचार्ज गरिदिनु भनेर भन्नु पर्दैन, भोलि ऊ कसैबाट ठगिनबाट जोगिन्छ सायद त्यति नै हाम्रो उपलब्धि हुन्छ होला भन्ने कुराको मन्थन गर्थे र फेरि भोलि उहीँ इँट्टाभट्टामा पढाउन पुग्थें।
यही बीच मेरो घरमा केही काम परेकोले मलाई अचानक गाउँ जानुपर्यो। म तीन दिनपछि घरबाट फर्के २,३ दिन बच्चाहरूको पढाइ छुट्यो। यत्रो दिन बच्चाहरू के गरेको होला सोच्दै इँट्टाभट्टा गरिरहेको थिएँ तर यहाँ त अचम्मको घटना घटेको छ।
म मेरो स्कुलमा कक्षा ९ को विद्यार्थीहरूलाई सुधारात्मक कक्षा पढाउँछु। उनीहरूसँग आफ्नो सुख दुखका कुरा साट्थें। इँट्टाभट्टाको बच्चाहरूलाई पढाउने कुरा उनीहरूलाई अवगतै थियो। त्यहीँको एउटा विद्यार्थी म नभएको दिन इँट्टाभट्टाको बच्चाहरूलाई गएर पढाउने गरेको रहेछ।
बच्चाहरूबाट यो कुरा सुन्दा मेरो खुसीको ठेकान रहेन। अब मेरो मनमा खेलेको सबै प्रश्नको उत्तर मैले पाइसकेको थिएँ। मैले दिएको शिक्षाको प्रकाश देखिन थालेको थियो।
‘तपाईंले गरेको हरेक सही र गलत कामको मूल्यांकन कोही न कोहीले गरिरहेको हुन्छ। यदि तपाईं सही हुनुहुन्छ भने मान्छेहरू तपाईंसँग पाइला अगाडि बढ्दै जान्छ’ भन्ने कुरा मेरो विद्यालयको प्रधानाध्यापकले सधैं मलाई भनिराख्नु हुन्थ्यो तर आज उदाहरण आफ्नै आँखाको आगाडि थियो।
एक हप्तापछि टिच फर नेपालले आयोजना गरेको तालिमको लागि मलाई काठमाडौं जानुपर्यो। बच्चाहरूको वीचको एक जना भाइलाई म नफर्केसम्म सधैं सबैलाई पढाऊ भनेर काठमाडौं गएँ।
काठमाडौंको तालिम सकाएर आएपछि बच्चाहरूबाट थाहा पाए मलाई खोज्दै एक जना व्यक्ति इँट्टाभट्टा पुगेका रहेछन्। को थियो थाहा थिएन। तर उहाँले आफ्नो मोबाइल नम्बर छोडेर जानुभएको थियो।
भोलि बिहानै त्यो नम्बरमा फोन गरें, उहाँ सर मसँग भेट्न विद्यालयमा नै आउनुहुन्छ भनेर भन्नुभयो।
उहाँका करिब ११ बजेतिर विद्यालय आउनुभयो। हामी बसेर कुराकानी गर्न थाल्यौं। मेरो बारेमा गाउँलेहरूसँग सुनेर मलाई भेट्न इँट्टाभट्टा गएको बताउनुभयो।
उहाँ बालशिक्षा ,बालस्वास्थ्य खासगरी बच्चाहरूको अधिकारको लागि काम गर्ने संस्थासँग आवद्ध हुनुहुन्छ , उहाँले मैले गरिरहेको कामको प्रशंसा गर्दै मलाई थप सहयोग गर्ने कुरा गर्नुभयो।
उहाँ अब इँट्टाभट्टाको मालिकहरूसँग भेटेर उनीहरूले नगरपालिकाको सम्पूर्ण इँट्टाभट्टामा काम गर्ने बच्चाको शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक इँट्टाभट्टामा एक जना शिक्षिका र एक जना स्वास्थ्यकर्मी राख्ने जस्तो कुरा गर्नुभयो।
त्यो दिन उहाँ मसँगै इँट्टाभट्टा जानुभयो बच्चाहरूलाई पढाइरहेको फोटो खिच्नु भयो र अधिकारिक व्यक्तिसँग कुरा गरेर छिट्टै नै भेट्छु भनेर जानुभयो। बेलुका भयो म पनि कोठा फर्किए। मन हर्सित थियो, खुसीले गदगद थिएँ।
हुन पनि किन नहुने, मेरो एउटा सानो प्रयासले आज नगरपालिकाका प्रत्येक इँट्टाभट्टाको बच्चाको भविष्य अगाडि बढ्ने कुरा भइरहेको थियो। एउटा इँट्टाभट्टामा १३ जना बच्चाहरूसँग सुरू भएको यात्रा अब नगरपालिकाको करिब सबै इँट्टाभट्टाको करिब सयभन्दा बढी बच्चाहरूसम्म पुग्ने कुरा हुँदैथियो।
२,३ दिन पछाडि म सधैं जस्तो स्कुल सकेर बच्चाहरूलाई पढाउन इँट्टाभट्टा पुगे करिब ४.३० बजेको थियो। त्यसदिन कोही किताब लिएर बसेका थिएनन्।
सब जना काम गर्दै थिए।
म सबैलाई बोलाउन थाले। एकजना बच्चा मुख न्याउरो गर्दै आयो र भन्यो सर हामी अब नपढ्ने। किन नपढ्ने भनेर सोध्दा खेरी बाबाले भन्नुभयो अब नपढ्ने, बाबासँग सोध्नु।
म उनीहरूको बुबाआमासँग सोध्न गए किन के भयो, यिनीहरूलाई किन नपढ्नु भन्नुभएको हो। हैन सर अब यिनीहरु पढदैनन् कामको चाप बढेको छ अर्को महिना काम सकाएर घर फर्कनुपर्ने छ।
उहाँहरूको हाउभाउ र बोलीले मलाई लाग्न थाल्यो कि सबजनाले मसँग केही कुरा लुकाइराख्नु भएको छ। किनभने दुई दिन पहिलेसम्म उहाँहरूको बच्चालाई पढाइ दिँदा मलाई भगवान जस्तै मान्ने, सधैं पढ्नको लागि तत्पर रहने बच्चा आज किन यस्तो भयो पक्कै केही न केही भएको छ।
उनीहरूलाई सायद कसैले केही भनेर थर्काएको छ। अरु केही भयो कि थाहा भएन तर डर उहाँहरूको अनुहारमा झल्किरहेको जस्तो मलाई लाग्यो।
म त्यहाँबाट फर्के, बच्चाहरूको त्यो आशलाग्दा हेराइ म कहिले बिर्सन सक्दिनँ।
त्यो संस्थाको दाइ पनि कहिले भेट्नुभएन।
पछि पनि कति चोटि इँट्टाभट्टा गए बच्चाहरूलाई भेटे उनीहरूसँग खेलेर फर्कें।
त्यसपछि बन्दाबन्दी सुरू भयो म घर आएँ। अहिले उनीहरू कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन् केही थाहा छैन।
‘यात्रा त अपूर्ण रह्यो, आशा छ हामी एक अर्काको जीवनको मीठो सम्झनामा रहिरहनेछौं’