कुरा विसं २०५६ साल तिरको हो। म भर्खरै एसएलसी पास गरी उच्च शिक्षा अध्ययनका लागि कहाँ जाने होला भनी चिन्तन मननमा थिएँ। त्यसैबेला मेरा एकजना गाउँका अंकल (उमापति गौडेल) र दाजी (भीमप्रसाद काफ्ले) ले दाङमा संस्कृत क्याम्पस छ। त्यहाँ संस्कृत पढाइ हुन्छ।
संस्कृत पढिसकेपछि पण्डित्याइँ गर्न पाइन्छ भन्ने कुरा राखिसकेपछि मेरा अर्का दाजु (यदुनाथ काफ्ले) सँग म दाङको यात्रामा निस्किएँ। मैले त्यति बेलासम्म त्यति लामो यात्रा बसमा गरेको थिइनँ। हुन त मेरो बाल्यकालको केही समय परिवारसँग भारतको इलाहाबाद भन्ने ठाउँमा पनि बितेका थिए।
त्यो समयमा २४ घन्टा गाडीमा नै यात्रा पनि गरियो होला तर ती स्मृतिमा रहन सकेनन् भनूँ। जेठको पहिलो हप्ता जस्तो लाग्छ, स्याङ्जादेखि दाङसम्मको यात्राका क्रममा हामी पहिलो दिन बुटवलमा बास बस्यौँ। यात्राका क्रममा दाजी बेला बेला निदाउनु हुन्थ्यो। म भने पटक्कै निदाइनँ।
त्यो नागबेली बाटो, जताततै देखिने हरियालीले मलाई निकै नै आकर्षित गरेका थिएँ। साथै म कहाँ जाँदै छु? कस्तो ठाउँ होला? कस्ता मान्छे होलान् लगायतका प्रश्नहरु मेरा मथिङ्गलमा नाचिरहेका थिए।
बुटवल बसपार्क नजिकै गाउँकै एकजना अंकल (तेजप्रसाद गौडेल) को घर थियो र छ, पछि त्यसलाई बनाएर गेष्ट हाउस बनाइएको थियो। दाजु र म त्यही बस्यौँ। पछिल्लो समय मेरा लगभग आठ वर्षको दाङ बसाइको क्रममा बिदाका दिनमा घर आउँदा जाँदा त्यही अंकलको गेष्ट हाउस दाङ र स्याङ्जा जोड्ने सेतु बनि रह्यो।
मलाई मन वचन र कर्मले अंकल, आन्टी र दाजु (गोविन्द गौडेल) ले हरसम्भव सहयोग गरी नै रहनु भयो। म ती दिनहरु कदापि भुल्न सक्दिनँ। भोलिपल्ट बिहानै हामी दाङको लागि प्रस्थान गर्यौँ। बुटवलदेखि दाङसम्मको यात्राका क्रममा पहिले स्याङ्जाबाट आएकोभन्दा नितान्त भिन्न प्राकृतिक दृश्य मैले अनुभव गरेँ।
समथर भूभाग, टाढासम्म देखिने बाटोले म निकै आकर्षित भइ नै रह्रेँ। झण्डै पाँच घन्टाको यात्रापछि हामी दाङको घोराहीमा पुग्यौँ। खासमा पुग्नुपर्ने घोराहीदेखि लगभग २०/२२ किमी पर बिजौरी भन्ने ठाउँमा थियो। हामी घोराहीबाट तुलसीपुर चल्ने लोकल बसमा यात्रा गरेर बेलझुण्डी भन्ने ठाउँमा झरिएछ।
केन्द्रीय कार्यलयको परिसरमा प्रवेश गरेसँगै हातले नै सहजै टिप्न सकिने साना-साना आँपका रुख, रुखमा लटरम्म फलेका ती आँप साच्चिकै मनमोहक र लोभलाग्दा थिए। हामी सरासर कार्यलयभित्र प्रवेश गर्यौँ। खै को हुनुहुन्थ्यो, नाम चाहिँ याद भएन।
उनीसँग दाजीले हामी आउनुको कारण बताएपछि यहाँ पढाइ हुँदैन, तपाईहरु लगगभ चार/पाँच किमी तुलसीपुर जाने बाटोमा पर्ने बिजौरी भन्ने ठाउँमा जानुहोस्, त्यहाँ पढाइ हुन्छ भन्ने कुरा भएपछि हामी पुन: त्यही बाटो भएर फर्किदै थियौँ। दाजुले दुई वटा आँप टिपिहाल्नु भयो। मलाई नयाँ ठाउँ, परिवेश निकै डर लागेको थियो। पछि त्यही ठाउँमा कैयौँ पटक बाँदरले झैँ छानीछानी आँप पनि खाइयो।
त्यति बेला आँप पाक्ने बेला अल्लि भएकै थिएन। निकै नै अमिला थिए ती आँप। हामी बिजौरी भन्ने ठाउँमा पुग्यौँ। मोटर बाटो नजिकै एउटा बरको रुख, त्यसको विपरीत दिशामा क्याम्पसको गेट रहेछ। गेट नजिककै पुरानो मैलो बोर्डमा जनता विद्यापीठ, बिजौरी दाङ भनेर लेखिएको थियो।
हामी सरासर क्याम्पसभित्र प्रवेश गर्यौँ। क्याम्पस प्रशासनमा पुगेपछि ठ्याक्कै नाम त थाहा छैन, विद्यार्थी जस्ता देखिने दुई जना दाजुहरुसँग हाम्रो भेट भयो। मेरो दाजुले मलाई लिएर आउनुको कारण उनीहरु समक्ष राख्नुभयो।
म साधारण माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको विद्यार्थी थिएँ। त्यहाँ भर्ना हुनका लागि भाषा प्रशिक्षण भन्ने तीन महिने कार्यक्रममा सहभागी भइ उत्तीर्ण गरेपछि मात्र उत्तरमध्यमा (हालको बाह्र कक्षा) मा भर्ना हुन पाइने रहेछ भन्ने कुरा थाहा भयो। भाषा प्रशिक्षणको मिति पनि अन्तिम नै भएको रहेछ। त्यही दिन म भर्ना पनि भएँ।
एउटा समस्या त हल भयो भनौँ, अब कहाँ बस्ने भन्ने अर्को कुराले पिरोल्न थाल्यो। पछि विद्यार्थीहरुका लागि छात्रावासको पनि व्यवस्था छ भन्ने कुरा थाहा भएपछि हामी क्याम्पसकै विपरीत दिशामा अवस्थित छात्रावासमा गयौँ। त्यसताका छात्रावासका विद्यार्थी प्रमुखका रुपमा होमनाथ दाजु विद्यार्थी प्रमुख रहेछन्।
हामीले उनलाई आफ्नो समस्या राख्यौँ। त्यसताका छात्रावास भरिभराउ थियो अनि भाषा प्रशिक्षणमा पास भएपछि मात्र छात्रवासमा बस्न पाउने प्रावधान रहेछ। यही कुरा होमनाथ दाजुले पनि हामीलाई बताउनु भयो साथै उहाँले मेरा दाजुलाई आत्तिनु पर्दैन, सानो भाइलाई पठाइदिनु होस्। कतै न कतै मिलाउँला भन्ने आश्वासन दिएपछि चार बजेको हुँदो हो, हामी पुन: बुटवल फर्क्यौँ।
अर्को दिन घरमा नै पुग्यौँ। त्यसको लगत्तै तीन दिनपछि म पुन: दाङ यात्राका लागि तयारी गर्दै थिएँ किनकी कक्षा सञ्चालन भइसकेको अवस्था थियो। घर छोड्ने अघिल्लो रात आमाले मलाई मन पर्ने मासका फुरौला बनाइदिनुभयो। त्यो रात तिनै फुरौलाले मेरो पेट नराम्रोसँग बिगार्यो। रातमा धेरै पटक ट्वाइलेट गएँ। त्यो रात न आमा न म नै निदायौँ!
भोलिपल्ट बिहानै हिड्नु थियो। छात्रवासमा खाना पकाउने, खाने केही खित्रिङ्मित्रिङ सामान र सुत्नका लागि एउटा सानो डसना त्यही रात झोलामा मैले नै पोको पारेको थिएँ र सिरक अर्जुन चौपारी बजारमा बिहानै किन्ने सर्तबमोजिम आमा पनि बजारसम्म आउनु भएको थियो। बजारमा साहुले कामै नलाग्ने कार्पेटलाई राम्रो सिरक हो भनेर भिडाए। पछि मलाई त्यो सिरक हो भन्न पनि लाज लाग्यो।
यो कुरा आमालाई पनि भनेपछि त्यसमा पनि खोल हालेर टालटुल पारेँ। अहिले आएर सोच्दछु, त्यो समयका नामुद कपडा व्यापारी भन्नुपर्छ फेरि पनि नाम त म लिन चाहन्नँ, ती व्यापारी कति तुच्छ र नालायक थिए जस्तो लाग्छ। अहिलेजस्तो गाडीको सुबिधा त्यसताका हुने कुरै भएन।
बुटवलबाट खाद्यान्न लिएर आएको ट्रक बुटवल फर्कने क्रममा सशस्त्र प्रहरीमा भर्ति भएका मेरो घरदेखि माथि एकजना हरि दाइसँग म बुटवलसम्म यात्रा गर्दै थिएँ। दुर्भाग्य, त्यही सिरकरुपी कार्पेट खरिद गर्दा र त्यसलाई झोलामा हाल्दाहाल्दै ट्रक त लगभग ५०० मिटर तल पो गइसकेछ। मेरो वजनभन्दा गुन्टाको वजन बढी थियो कि जस्तो लाग्छ, त्यसलाई बोकेर रुँदैरुँदै ट्रकलाई भेट्टाउन कुदेको आजैजस्तो लाग्छ।
कच्ची बाटो ट्रकको गति पनि साह्रै कम भएको कारणले जसोतसो मैले ट्रकलाई भेट्टाएँ। म पूरा रोएर बलिन्द्रधारा आँशु झरेका रहेछन्। पछि दाइले किन रोएको नरोई, भन्नुभयो। अहिले ती दिनहरु सम्झिदाँ अभिभावकको असाध्यै साथ चाहिने बेला त्यही समय र उमेर हो कि भन्ने लाग्छ। दाइको सानिध्यमा रहेपछि आनन्दको अनुभूति भयो। बाटोमा खाना अनि भाडा पनि दाइले नै तिर्नुभयो।
बुटवल पुगेपछि मैले माथि नै भनेअनुरुप त्यही गेष्ट हाउसमा बसेँ। भोलिपल्ट बिहानै दाइले मलाई दाङको गाडीमा चढाइदिनुभयो। घोराही पुगेपछि त्यस्तै ६० वर्ष नाघेको हुनुपर्छ, एकजना लगौँटीधारी पुरुष तुलसीपुर जाने बस स्टेशनमा बस कुरिरहेका थिए। एकछिन त म अक्न न बक्न परेँ। कसलाई सोध्नु? के भनेर सोध्नु? अचम्म लाग्यो। पछि त्यहाँका रैथाले पुरुष थारु जातिले त्यस्तै लगौँटी लगाउँदा रहेछन्।
लगभग १२ बजेतिर बिजौरीनेर रहेको बरको चौतारीमा झन्डै आधा घन्टा बसेँ। कोही आउँला केही त सोध्ला भन्ने मेरो अभिलाषा थियो तर त्यस्तो भएन। पछि उठेर छात्रावासमा प्रवेश गरेँ। त्यसताका हिजोआज जस्तो न फोन थियो। सञ्चारको साधनका रुपमा चिठ्ठी मात्र थियो भनूँ। छात्रवासमा म सरासर तिनै होम दाजुको कोठामा प्रवेश गरेँ। दाजु मलाई असाध्यै माया गर्नुहुन्थ्यो।
छात्रवासका बाइस कोठा मध्ये दोस्रो तलाको दायाँतर्फको पहिलो कोठामा होम दाजुलगायत कृष्ण उपाध्याय, श्याम खलाल र डिल्लीप्रसाद ढकाल गरी चार जना दाजुहरु बस्नु हुन्थ्यो। यीमध्ये होमनाथ दाजु अहिलेसम्म पनि लापता हुनुहुन्छ। अरु सबै दाजुहरु शिक्षण पेसामा नै आवद्ध हुनुहुन्छ र मसँग फेसबुक लगायत फोन सम्पर्कमा पनि हुनुहुन्छ भनौँ।
श्याम दाजुले नै मलाई सबैभन्दा पहिला संस्कृतका माहेश्वर सुत्र पढ्नका लागि अभिप्रेरित गर्नुभयो। मैले पनि सुरुमा अइउण्, ऋलृक्…. शषसर् हल् खुबै रटेँ। के भनेको श्माम दाजुभन्दा जवाफमा अहिले तिमी बुझ्दैनौ, पछि बुझ्नेछौ, यसलाई कण्ठस्थ पार भन्ने जवाफ हिजोजस्तै लाग्छ। ठाउँ अभावका कारण हामी भुइँमा नै विस्तारा लगाएर सुत्थ्यौँ। यो क्रम त्यस्तै १५ दिनजति चल्यो।
उमेरले त्यस्तै ७५ वर्ष नाघिसक्नु भएका हेर्दा पनि हृष्टपुष्ट देखिने, बेलझुण्डीमा आचार्य (एमए) तहमा इतिहास पुराण अध्यापन गर्नु हुने उमानाथ भण्डारी गुरु त्यही क्याम्पसको एउटा कोठामा बस्नुहुँदो रहेछ। उहाँ एक्लै पनि हुनु हुँदो रहेछ। उहाँलाई पनि साथी चाहिएको रहेछ। मलाई गुरुको सानिध्यमा बस्न दाजुहरुले सल्लाह दिनुभयो।
जान मन नहुँदाहुँदै पनि म पनि उहाँहरुको सल्लाह बमोजिम गुरुसँग बस्ने पुगे। त्यहाँ एक किसिमको नियम र अनुशासन थियो। बिहान चार बजे उठ्नै पर्थ्यो, अनिवार्य नुहाउनै पर्थ्यो। बिहान चिया बनाउने, खाना बनाउने, खाने, भाडा बाझ्ने मेरा दैनिकी हुन पुगे। दिउँसो बिजौरी जाने दुई घन्टी पढ्ने अनि कहिले गाडी चढेर त कहिले साथीहरुसँग हाँस्दै खेल्दै हिँडेर आउने क्रम चलि नै रह्यो।
छात्रवासमा बस्दा त साथीहरु भाइहरु हुन्थे। उठबस, हाँसखेलमा दिनहरु बित्थे तर जब म गुरुसँग बस्न थालेँ। खाली समयमा घरको यादले असाध्यै सताउन थाल्यो। के गरुँ, कसो गरुँ हुन थाल्यो। अहिले आमासँग दिनको एक पटक अनिवार्यजस्तो फोन हुन्छ। त्यसताका न फोन थियो। थियो त केवल चिठीको आदानप्रदान। म त्यस्ताका रुँदै पानाका पाना चिठी लेख्थेँ।
कहिलेकाहीँ त चिठी लेख्न बस्दा आँसुले चिठीका पाना भिजेर लेखिएको सामग्री नै बिग्रिएका उदाहरण पनि छन्। टाढा भइसकेपछि आफ्नो घरमा यावत चिज जस्तै: भैँसी, बाख्रा, आफ्नो बारी,खेत भौतिक कुराका साथै भावनात्मक कुरा याद त कति आउने आउने ती कुरा म शब्दमा नै वर्णन गर्न सक्दिनँ पनि।
विकासका कुरामा अरु कुरा जेसुकै हुन्, सञ्चारमा भएको प्रगतिले अहिले गाउँ-सहर, देश-विदेश एउटा कोठा जस्ता हुन पुगेका छन्। यो सकारात्मक पाटो हो भन्ने लाग्छ। क्याम्पस चारैतिरबाट पर्खालले घेरिएको थियो। क्याम्पसको क्षेत्र व्यापक थियो। पूरै आँपको बगान थियो। त्यो समयमा भिन्न जातका आँप असाध्यै खाइयो।
एक पटक धेरै आँप खाएर रातभरि पेट दुखेर रुदै बस्दै गरेको अनुभव पनि मसँग ताजा छ। त्यसपछि आँप खाने कुरामा निकै नै सचेत हुन थालेँ। क्याम्पसमा दोस्रो तलामा स्वतन्त्र विद्यार्थी युनियनका लागि एउटा कोठा छुट्टाइएको थियो। त्यही कोठामा एकजना विदुर बस्ती नाम गरेका दाजु आएर रातभरि पढेको पढ्यै गर्नुहुन्थ्यो।
उहाँको पढाइप्रतिको लगनशीलता अझै पनि लोभलाग्दो लाग्छ। अहिले पनि मसँग फेसबुकमा साथी हुनुहुन्छ। विद्या वारिधि (पिएचडि) पनि गरिसक्नु भयो। मलाई लाग्छ, त्यही परिश्रमको फलले उहाँले त्यो सफलता प्राप्त गर्नुभयो। उहाँसँगको मेरो बसाइँ अत्यन्तै छोटो रह्यो तर जति रह्यो स्मृतिमा कहिल्यै नमेटिने तरिकाले रह्यो।
विदुर दाइबाट अभिप्रेरित भएर मैले पनि संस्कृतको लघुसिद्धान्तकौमुदीका श्लोकहरु कण्ठ पार्थेँ। पढेजतिका कुरा दाइले सोध्दा फटाफट भनिदिन्थेँ पनि। गुरुका पनि केही कमजोरीहरु थिए। म अहिले ती कमजोरीहरु कोट्याएर स्वर्गीय गुरुको अपमान गर्न कदापि चाहन्न, हरेक मान्छे सर्वगुण सम्पन्न हुँदैन पनि भन्छन्।
यो संस्मरण लेख्न बस्दै गर्दा मैले गुरुबाट वेद नसिकेर अथाह ज्ञान गुमाएको अनुभूति हुन्छ। हुन त यसको महत्त्व अहिले आएर थाहा भएर पनि होला। खैर, यो कुराको चुकचुक आज पनि लाग्छ। गुरु छन्दमा कविता पनि लेख्नु हुन्थ्यो। त्यो कुराले पनि मलाई खासै तानेन। उहाँले आठ/नौ वटा कविता सङ्ग्रह र खण्ड काव्य पनि प्रकाशित गर्नु भएको थियो।
मेरो बुझाइमा, गुरुमा कवित्व पक्कै पनि थियो तर कविता आध्यात्मिकभन्दा पनि धार्मिक प्रकृतिका नै बढी हुने गर्दथे। मैले त्यही प्रकृतिलाई नरुचाएर पनि उहाँका कवितासँग म त्यति नजिक हुन सकिनँ तर मैले उहाँको कला त लिन सक्थेँ नि त्यसको अभ्यास पनि कहिल्यै गरिनँ। यो कुरामा पनि असाध्यै दु:ख लाग्छ।
पछिपछि विस्तारै गुरुका हरेका कुरा मन पर्न छोडेपछि म पुन: छात्रवासमा नै स्थानान्तरण हुन पुगेँ। त्यसको केही महिनाको अन्तरालमा गुरु नराम्रोसँग बिरामी हुनुभयो, त्यो नै उहाँको मृत्युको कारण बन्यो। जिन्दगी क्षणभङ्गुर र नाशवान् छ। कसैले पनि बढी लोभ, घमन्ड, रोबरवाफ, तेरो र मेरो नगरेकै राम्रो हो भन्ने कुरा मैले त्यो घटनाबाट सिकेको छु।
अर्को महत्त्वपूर्ण कुरा, व्यक्तिको जीवनमा यो समय र उमेरमा उसले गरेको परिश्रम, लगनशीलताले नै जीवनको एउटा गोरेटो कोर्दो रहेछ। गाईवस्तुले घाँस खाएर पछि उग्राए जसरी त्यो समयका अनुभव, सैद्धान्तिक सिकाइ नै मान्छेको व्यावहारिक सिकाइ हुँदो रहेछ भन्ने मेरा बुझाइ छ।