एकादेशमा मानिसहरु गफगाफ गर्न चौतारीमा भेला हुन्थे। टाढा रहेका परिवारका सदस्य, आफन्तलाई सन्देश पठाउन केही दिन लाग्थ्यो किनभने त्यस ठाउँमा कोही मानिस पुगेरै सन्देश भनिदिनु पर्थ्यो, त्यो पनि केही दिन हिँडेर।
अहिले पनि हामीले हाम्रा बा-आमा, हजुरबा-हजुरआमाका पुस्तालाई त्यो बेला कसरी कुन माध्यमले कुरा हुन्थ्यो भनेर सोध्यौँ भने इतिब्रितान्त बताउनु हुन्छ। साँच्चै भन्ने हो भने उहाँहरु अहिलेको समय प्रविधि देखेर चकित पर्नुहुन्छ किनभने जहाज चढेर सात समुन्द्र कटेर अर्कै देश पुगेका सँग पनि अहिले मिनेटभर मै ठाउँको ठाउँ कुरा गर्न सकिन्छ। तर हामीलाई यो सुविधा प्राप्त भएको भने धेरै भएको छैन।
मुख्यगरी सन् १९८३ मा इन्टरनेटको आविष्कार पश्चात नै धेरै यस्ता हातले छुन नमिल्ने तर जीवनमा सरलपना लेराइदिने सुविधाहरु हामी आम मानिसले पाउँदै गएका हौँ। यो इन्टरनेटलाई ठ्याक्कै मिल्ने साथीको रुपमा भने दिन दुई गुणा रात चौ गुणा भएर विकास भएको अत्याधुनिक मोबाइल फोनहरु नै हो।
गत महिना फेसबुक चलाउँदै गर्दा मेरो एकजना साथीको स्टाटसले मलाई तान्यो। साथी र उनको छोरी बीच छोटो रमाइलो वार्तालाप यस्तो भएको थियो:
'हिजो मेरी छोरीले हतार-हतार आएर उसको मामु र मलाई, 'मेरो स्कुल जाने बेला भयो, हजुरहरु उता जानुस् न' भनिन्। बुढी र म वाल्ल पर्यौँ। 'यो लकडाउनको समयमा स्कुल कहाँ खुल्ला छ र यसो भनेकी? अनि कसले भनेको स्कुल जाने भनेर?', मैले छोरीलाई सोधेँ।
मेरो प्रश्नलाई हल्का मान्दै उसले जवाफ फर्काई 'अरे बाबा। आजबाट हाम्रो स्कुलले जुम क्लास लिने भनेको छ के, आज टेष्ट गर्ने रे अनि नियमित स्कुलको जस्तै गर्ने रे। अब स्कुलको बेला जस्तै सबै विषय पढाउने भएपछि स्कुल जाने त भन्नु पर्यो नि तर घरैबाट' भनेर मज्जाले हाँसि।
मेरो बुढी र म पनि हाँस्यौँ। हामीले यसरी अनलाइन पनि स्कुल पढा्इ होला भनेर सोचेका थिएनौँ, प्रविधि विज्ञानले राम्रै गरेको छ भन्ने कुराकानी गर्यौँ बुढाबुढीले र छोरीको स्कुल लाग्ने समयसम्म उसलाई कसैले डिस्टर्ब नगर्ने भनेर भद्र सहमति जनायौँ।’
विगतको सम्झना
साथीको त्यो स्टाटस पढेर मलाई रमाइलो लाग्यो र आफ्नै बाल्यकाल पनि याद आयो। २०५० सालसम्म पनि एउटा टेलिफोन बल्ल तल्ल एउटा पसलमा रहेको याद छ। गाउँभरिको फोन त्यहीँ आउने र फोन आएको खबर कसैले पठाएपछि बोल्न आउन पर्ने।
कतै फोन गर्नु पर्यो भने लाम बस्नुपर्ने पनि दिन हुन्थे। नेपालमा १०-१५ वर्ष अघिसम्म पनि हातमा एउटा टिकटिके फोन हुनु भनेको ठूलो कुरा हुन्थ्यो। अहिले भने स्मार्ट फोनको पहुँचले डाँडा-काँडा ढाकिसकेको छ र नेटवर्कहरु पनि बढीरहेका छन्। अहिले कोरोनाको कहरको बेला यिनै सुविधाका कारणले पनि आम मानिसको जीवनमा केही सहजपना भएको छ।
पहिले मोबाइल, कम्प्युटर मात्र चलाइरहने व्यक्तिहरुलाई 'केही काम नभएको' भनेर गाली हुन्थ्यो भने अहिले प्रायः सबै काम त्यही मोबाइलबाट भइराखेको अवस्था छन्।
आजभोलि अनलाइन क्लासदेखि प्यानल छलफल, अन्तरवार्ता, अफिसको काम, मिटिङ, साथीहरुको सामान्य कुराकानी समेत जुमबाट भइरहेका छन् जसले गर्दा जानकारी, छलफल, विचार बाड्ने क्रम रोकिएका छैनन्, विद्यार्थीहरु शिक्षाको प्रवाहबाट पूर्णरुपमा वञ्चित हुनु परेको छैन भने आंशिक रोजगारी पनि केही हदसम्म कायम छ।
अहिले धेरैले प्रयोग गर्ने यो सुविधा कसरी आयो होला? जुम एप लेराउने सपना कसको थियो होला? भन्ने बारे हामी कमै चासो राख्छौँ तर त्यसको कथा भने हाम्रो लागि प्रेरणादायी हुनसक्छ। मलाई जुमको कथा त्यस्तै प्रेरणादायी लागेको छ र जुममा झुम्न थालेकाहरुका लागि पनि जुमको कथा रमाइलो नै हुन्छ भन्ने लाग्छ।
सपनाको यात्रा
हामी सबैले हाम्रो आवश्यकता, क्षमता, बुद्धिमताले भ्याए सम्मको सपनाहरु बुनेका हुन्छौँ। केही सपना साकार गरेकाछौँ त केही आफ्नो जिन्दगी, सामाजिक परिवेशको अगाडि सम्झौता गरीदिएका छौँ। सपना साकार गर्ने यात्रा हिँड्न कहाँ सजिलो हुन्छ र।
यस्तै केही सजिलो देखिने, केही अप्ठेरो हुने बाटोहरु हिँड्डै हिँड्डै एरिक युयान भन्ने एकजना व्यक्तिले बुनेको सपना हो, हामीले अहिले प्रयोग गर्ने 'जुम'। करिब ७ वर्ष अगाडि अमेरिकाबाट सार्वाजनिक गरिएको हो जुम जसको अहिलेसम्म ३०० मिलियनभन्दा बढी दैनिक प्रयोगकर्ता छन् र बढ्दै पनि छन्।
कोरोना महामारीको कारणले भएको लकडाउनमा प्रायः अफिस संचालन घरबाटै गर्नु परेको बेला जुमको माग ह्वात्तै बढेको छ। तर यसले आफ्नो बजार विस्तार भने सार्वजनिक भएको समयदेखि नै गरेको हो। बजारमा उपलब्ध अन्य एपभन्दा सहज, सरल सेवा दिएको भएर पनि जुम लोकप्रिय बन्दै गएको हुनुपर्छ।
जस्तैः यो जुनै डिभाइसबाट पनि प्रयोग गर्न सकिन्छ, कुनै क्षेत्रमा चल्ने कुनैमा नचल्ने छैन। प्रायः सबै भौगोलिक क्षेत्रमा जुम चल्छ, कमजोर नेट भएको बेला पनि बरु भिडियो अफ गरेर बोल्न मिल्छ, २ जनादेखि १०० जनासम्मको मिटिङ, अधिकतम १०,००० जनासम्मको वेविनार/सभा गर्न सकिन्छ, प्रयोग गर्न सजिलो छ र सुविधाहरु अनुसार सस्तो पनि। यस्तै कैयौँ कारणले जुम मानिसहरुको रोजाइमा परिरहेको छ।
तर, यही आम मानिसको रोजाइमा परेको जुम जसको हेडक्वारटर अमेरिकामा छ। सोही जुम बनाउने व्यक्तिलाई भने सुरुमा अमेरिकाले रोजेको थिएन। एरिकले आफ्नो करियर अमेरिका मैँ बनाउने ठम्याए र भिषाको लागि आवेदन पनि दिए तर अस्वीकृत भयो।
‘तपाईको विदेश जाने भिषा कहिले रिजेक्ट भएको छ? कस्तो गाह्रो महशुस हुन्छ है। एकदम चित्त दुखेर आउने।’ कति सपना सजाएइको हुन्छ, भविष्य बारे कल्पना, तयारी गरिएको हुन्छ तर भिषा अस्वीकार भयो भने खिन्न हुन्छ।
एरिकलाई पनि त्यस्तै भएको हुनुपर्छ तर उनले आफ्नो चित्त दुखाइ, खिन्नताभन्दा माथि आफ्नो महत्तवकांक्षा राखेका रहेछन्, त्यही भएर त ८ औँ पटक पनि भिषा रिजेक्ट हुँदा उनले ९ वौँ पटक फेरि भिषा अप्लाइ गरे र अन्तत: आफ्नो महत्तवकांक्षालाई विजय गराएरै छाडे अनि आफ्नो सपनाको यात्राको प्रारम्भ गरे।
एरिक १९९७ मा अमेरिका पुगेपछि वेबएक्स भन्ने कम्पनीमा इन्जिनियर भएर काम सुरु गरे। उनी राम्ररी अङ्ग्रेजी बोल्न जान्दैनन् थिए तर आफ्नो विषय बारे भने सबै जान्दथिए र सबैभन्दा महत्वपूर्ण पनि त्यही थियो। उनले त्यो बेला ‘मलाई त राम्ररी अङ्ग्रेजी पनि बोल्न आउँदैन' भनेर आफूलाई रोकेका भए न उनी अहिलेको स्थानमा हुने थिए न हामीले जुमको कथा नै पढ्न पाउने थियौँ।
आफ्नो क्षेत्रगत विषयमा जान्ने भएर नै उनी त्यो कम्पनीको भिपीसम्म भए र २००७ मा सिस्को भन्ने निकै ठूलो र पुरानो कम्पनीले वेबएक्स कम्पनी किनेको समय उनको तलब ६ अङ्कको भइसकेको थियो। कम्पनीको कद बढेको र कमाइको हिसाबले पनि एरिक निकै खुसी हुनुपर्ने समय थियो। त्यो तर खुसी भन्ने कुरा कसैले भएस् वा नभएस् भनेर नआउने रहेछ।
एरिकको निकै राम्रो कमाई, पद रहे पनि उनी खुसी हुन सकेनन्, भित्र भित्रै दब्बिएको महशुस गरी नै रहे। यसको कारण थियो उनले कम्पनीमा जुन भिडियो कन्फेरेन्स, कम्युनिकेसन एप निर्माण गर्न काम गर्थे, सामान्य ग्राहकहरु त्यस एपबाट अलिकति पनि खुसी रहेनछन्।
खासमा वेबएक्स सिस्कोको ध्यान उद्योग, व्यवसायीहरुलाई मिल्ने एप निर्माणमा थियो जसले गर्दा सामान्य ग्राहकहरुको लागि सेवा सुविधा राम्रो थिएन। हरेक डिभाइसबाट एप खोल्दा प्रमाणिकरण गरिरहनु पर्ने, ह्याङ् हुने जस्ता समस्या थिए।
जुन काम नै ग्राहकहरुको सहजता र खुसी लेराउन गरिएको थियो। त्यसमा ग्राहकहरु नै खुसी छैनन् भन्ने थाहा पाएपछि एरिकलाई चित्त बुझेको थिएन। उनले निकै ग्लानि महशुस गरे, आफ्नै गल्ति हो भन्ने उनलाई लाग्यो। उनी सबै खाले ग्राहकलाई मिल्ने, उस्तै सुविधा दिने एप बनाउन चाहन्थे। वेबएक्स सिस्कोकै एप सुधार्नको निम्ति कम्पनीमैँ पनि कुराहरु राखे तर खास सुधारको कुराहरु गर्ने नदेखिएपछि सिस्को कम्पनीबाट उनले २०११ मा राजिनामा पत्र बुझाए।
सपनाबाट विपनाको प्रारम्भ
एरिकसँगै ४० जनाभन्दा बढीले एरिकै सपनाको बाटो पच्छाउने निर्णय गरेर सिस्कोबाट राजिनामा दिए। एरिकको सपना थियो, एउटा यस्तो भिडियो कन्फेरेन्स, कम्युनिकेशन एप बनाउने जुन हरेक खाले ग्राहकले सर्वसुलभ र सहज ढङ्गले प्रयोग गर्न सकुन्। चाहे ठूला स्थापित कम्पनी वा संस्थाहरु हुन् चाहे भर्खरै सुरु हुन लागेको कम्पनी।
हुनपनि अहिले जुम एप अमेरिकाका ठूला-ठूला संस्थाहरुदेखि लिएर सामान्य मानिसले समेत प्रयोग गरिरहेका छन्। र आफूसँग जस्तो एनड्रोइड फोन छ त्यहीबाटै यो प्रयोग गर्न मिल्ने भएकोले पनि यो धेरै मानिसको रोजाइमा प्रदै गएको छ। एरिको सपना नै सबै स्तरका मानिसले प्रयोग गर्न मिल्ने एप बनाउनु थियो।
सपनाहरु कति बलिया हुन्छन् है। कोही पनि व्यक्तिलाई सपनाले जरैदेखि हल्लाइदिन सक्छ, जस्तोसुकै डरको सामना गर्ने शक्ति दिन्छ र सबैभन्दा महत्वपूर्ण कुरा सपना साकार पार्न धैर्यता र लगनशीलता पनि सपनाले नै सिकाइदिन्छ। बस् आफ्नो सपनामा विश्वास हुनुपर्छ। अहिले कोरोना महामारीको कारण पूरै विश्व नै ठप्प सरि छ।
कति मानिसका के-के सपना ठप्प भए होलान्? कतिको विदेश जाने सपना, कतिको कम्पनी खोल्ने सपना, कतिको कलेज पढ्ने सपना, र यस्तै यस्तै। मानव जीवन नै खतरामा परेको यो समयमा सबैले सचेत हुनु आवश्यक छ र अहिले उपलब्ध स्रोत साधनबाटै जसो हुन्छ, घरैबाट काम गर्नु नै जाति छ।
जुम जस्तो एपको मार्फत कति कामहरु अघि बढीरहेका छन्। भौतिक रुपमै काम गरेको जस्तो त पक्कै हुँदैन तर कमसेकम सबै काम रोकिएका छैनन्। महत्वपूर्ण छलफल, बहस चलिराखेका छन्। साना, ठूला सबै संस्थाहरुले इन्टरनेट मार्फत गर्न सकिने कामहरु गरीराखेका छन्, धेरैले जुमको प्रयोग गरिरहेका छन्।
मेरो साथीले आफ्नी छोरीको जुम स्कुल बारे राखेको स्टाटस जस्तै अनलाइन क्लासहरुका कारण विद्यार्थीहरु पढाइबाट पूर्ण वंचित हुनुपरेको छैन, अभिभावकहरुलाई पनि थोरै राहत मिलेको छ। बरु नेपालको हरेक कुनामा जसोतसो यसरी अनलाइन क्लास दिनसके अझै धेरैलाई सुविधा मिल्थ्यो होला।