जीन्दगी नदीजस्तै हो, निरन्तर बगिरहन्छ। विभिन्न चुनौतीको सामना गर्दै जसरी नदी कहिले चट्टानसँगै ठोक्किदै बग्छ, कहिले माटोसँगै बग्छ त्यसैगरी नै जीन्दगी पनि अघि बढिरहन्छ विभिन्न समस्यासँग जुझ्दै, विभिन्न चुनौतीलाई स्वीकार गर्दै। नदीले जेजसरी भएपनि आफ्नो बाटो आफै बनाएजस्तै जीन्दगीले पनि कुनै न कुनै बाटो त भेटाउँछ नै मानिसले दुःखमा कहिल्यै आत्तिनु हुँदैन्।
यो धड्कन नरोकिन्जेल मुटुसँगसँगै धड्कीरहनुछ, जीन्दगीका पाइला अगाडि बढाइरहनुछ। नदीजस्तै हरेक चुनौतीको सामना गर्दै बग्नुछ निरन्तर अटुट रुपमा। सकारात्मक सोचले जीन्दगी सुन्दर बनाउँछ। अरुलाई सहयोग गर्ने परोपकारी मनहरु सधै खुसी हुन्छन्, स्वार्थी मनहरु त सँधै दुःखी आत्मा हुन्।
जीन्दगीमा अरुको लागि हामी कहिल्यै कुनै पनि काम लाग्दैनौं भने हामी जतिसुकै पढेलेखेको भएपनि, जतिसुकै ठूलो पदमा जागिर खाएपनि त्यस्तो जीन्दगी वास्तवमा मानवरुपी सुन्दर जीन्दगी हुनै सक्दैन्।
मानिसले आफ्नो मात्रै भलाई सोच्ने हैन, अरुको पनि भलाई सोच्नुपर्छ। आफ्नो खुसीमा आफै ताली बजाउन सकिएला तर अरुले आफ्नो खुसीमा ताली बजाइदिदा जति मजा आउँछ एक्लैले ताली बजाउँदा आउँदैन। वास्तवमा अरुको मन जित्न सक्नेले नै संसार जित्न सक्छ। अरुलाई ढाँटेर जिएको जीन्दगी पनि के जीन्दगी, अरुलाई ढाँटेर जिउनेले आफैलाई पनि ढाँटेको हुन्छ।
अरुलाई लुटेर रमाएको जीन्दगीमा कसैको सीमित आवश्यकता पूरा होलान् तर त्यसले उसको आत्मा कहिल्यै सन्तुष्ट हुन सक्दैन। जीन्दगीको मजा त तब आउँछ जब खुलेर जिइन्छ, जब जीन्दगी अरु कसैका लागि पनि जिइन्छ। सकारात्मक सोचले भरिएको जीन्दगी, एक इमान्दार जीन्दगी नै वास्तवमा सुन्दर जीन्दगी हो।
सकारात्मक सोच्ने मान्छेले जिन्दगीमा कहिल्यै विचलित हुनु पर्दैन। उ बांगोटिंगो, घुम्ती मोडको जीन्दगीको गोरेटोमा अल्मलिन सक्छ कतै तर उ एकदिन गन्तव्यमा अवश्य पुग्छ। जीन्दगीको गोरेटोमा मान्छेहरु अक्सर ठक्कर खान्छन् ठक्कर खानुका आ-आफ्नै कारण हुन सक्छन्।
तर आफ्नै नकारात्मक सोचका कारणले पनि उसलाई झनै दुखी बनाएको हुन्छ। अन्य अर्थ नलागेमा एउटा थालमा राखिएको भात, दाल, तरकारी, चटनीमध्ये मानौं भात दुख हो जो धेरै हुन्छ, चटनी खुसी हो जो थोरै हुन्छ। भन्नुको मतलब तुलनात्मक रुपमा जीन्दगीमा दुःखको मात्रा सुखभन्दा निकै कम छ। त्यसैले थोरै खुसीलाई चिनेर सेलिब्रेट गर्न सक्नु नै जीन्दगीमा खुसी हुनु हो।
हामीले जीन्दगीका थोरै खुसीलाई चिनेर आफ्नै हिसाबले सेलिब्रेट गर्न सक्नुपर्छ। सही समयमा सही ठाउँमा सही चीजसँग त्यसको भरपुर उपयोग गर्न जानेमा मात्र जीन्दगीमा खुसी मिल्छ। जसरी थोरै मात्र चटनीको साथले गर्दा पूरै भोजन स्वादिलो लाग्छ। त्यसरी नै हामीले ससाना खुसीका क्षणहरुलाई मनाउन सक्यौं भने त्यसले खुसी सिर्जना गर्न मद्धत मिल्छ। कुनै अपवाद बाहेक खुसी हुने र दुखी हुने कारण त हाम्रै हातमै त छ।
सकारात्मक सोच नै मानिसलाई खुसी बनाउने औषधी हो। खुसी पनि हाम्रो सोच, दृष्टिकोण र बानीमा भर पर्ने कुरा न हो। खुसी मनाउने कुरा हो, खुसी सिर्जना गर्ने कुरा हो। हामीले साथीभाइसँग सामान्य कुराकानीका क्रममा पनि कुनै मीठो प्रसंग आउँदा उपस्थित सबैको ओठमा मुस्कान फुल्न सक्छ। त्यसैले साथीभाइसँगको कुराकानीमा पनि मीठो प्रसँग ल्या
एर सम्बन्ध पनि मीठो बनाउनुपर्छ। अरुका नमीठा प्रसंग घुसारेर आजकलको व्यस्त जीवनमा संयोगले जुरेको साथीभाइसँगको भेटलाई नमज्जा बनाउनु हुँदैन्। अरुको कुरा काट्नु भनेकै आफ्नै खुट्टा तान्नु हो। आफैलाई पछाडि धकेल्नु हो। अरुको नजरबाट आफू तल खस्नु हो। बरु कुरा गर्नै पर्ने भए साथीभाइसँगको भेटमा कसै अरुको पनि राम्रै कुरा गर्न उचित हुन्छ।
त्यसले आफ्नै शरीरमा पनि सकारात्मक तरंग ल्याउँछ। यसले गर्दा अरुले हामीलाई हेर्ने नजर पनि सकारात्मक बन्छ।आजकल मान्छेहरु पैसा भएपछि सबथोक किन्न सकिन्छ भन्छन् तर सबथोक किन्न सकिदैन। यो त भौतिकवादी मान्छेहरुको सोचाई मात्रै हो, एक भ्रम हो। केही भौतिक चीजहरु किन्न सकिएला तर सबैथोक किन्न सकिदैन पैसाले।
खुसी किन्न सकिदैन पैसाले। तपाई खुसी केलाई मान्नुहुन्छ, त्यो तपाईको विचारमा भर पर्छ। तर वास्तविक खुसी मानिसको भावनामा हुन्छ। भौतिक चीजमा छैन्। पैसा त साधनमात्रै न हो, सबैभन्दा खुसी हुनलाई त मन खुसी हुनुपर्छ। यदि भौतिक प्राप्तीमा नै खुसी मिल्ने भए किन धनी मानिसहरु दुःखी छन् संसारमा।
जीन्दगीलाई सुन्दर र खुसी बनाउने सबैथोक कहाँ किन्न सकिन्छ र! केही यस्ता चिज पनि छन् जो पैसाले किन्न सकिन्न। त्यो चिज हो माया, स्नेह, सम्मान, इज्जत इत्यादी। संसारमा ती मानिस मात्रै सबैभन्दा बढी खुसी मान्छे हुन्। जसले निश्चल माया, स्नेह, हृदयदेखिकै सम्मान, र छलकपट बिनाको इज्जत पाएका छन्। सम्मानजनक, इज्जतदार, इमान्दार जीन्दगी जिउनुको शान छुट्टै हुन्छ।
म स्नातकोत्तर अध्ययनको लागि केही वर्षपहिले कैलाली जिल्लाबाट काठमाडौं प्रवेश गरेँ। त्यतिबेला म काठमाडौँमा नयाँ थिएँ, म बस्ने डेराबाट कलेज टाढा नहोस भनेर मैले नजिकैको कलेज भर्ना गरेँ। कलेज पनि, डेरा पनि नजिकै भएकाले गाडी पनि चढ्न नपर्ने भएकाले म हिँडेरै कलेज जान्थे, टाइममा कलेज जाने, टाइममा खाना खाने, टाइममा डेरामा फर्किने र अध्ययन गर्ने मेरो दैनिकी बनेको थियो।
विडम्बना भनौं, त्यही वर्ष नेपालमा विनाशकारी महाभूकम्प आयो। भूकम्पले गर्दा हजारौँ मानिसले ज्यान गुमाए, कति घरबार भए। त्यसबेलाका सबैका आ-आफ्नै कथा व्यथा होलान। मेरो पनि आफ्नै कथा छ। त्यस वर्षको नेपालमा आएको महाभूकम्पले मैले पढ्ने कलेजका पनि भवनहरु चर्किए। भूकम्पले चर्किएका ती भवनमा जोखिम मोलेर कलेज सञ्चालन गर्न सकिने अवस्था नभएपछि कलेज म बस्ने डेराभन्दा निकै टाढा सर्यो।
मेरो डेराबाट हिँडेर कलेज पुग्न एक घण्टा र कलेजबाट फर्किन पनि एक घण्टा लाग्थ्यो। म बस्ने ठाउँबाट बस छुट्थे होलान कलेजसम्म जान तर मेरो कलेजको टाइमअनुसार रुटमा गाडी भेटिदैनथे। त्यतिबेला दैनिकजसो हिँडेरै कलेज गएर दुई वर्ष काटियो। जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ। मैले त्यसवखत जीन्दगीमा धेरै कुरा सिक्ने अवसर पाएँ।
समयको प्रवाहसँगै जीन्दगी चलिरहेको थियो। राजधानीको बसाइमा जीवन सहजरुपमा चलाउन अब जागिर खान पर्छ भनी मनैमनै सोचिरहेको थिएँ। बेरोजगारीको पीडा कति हुन्छ त्यो त पढीलेखी गरेर पनि काम नपाएर बेरोजगार बसेका यूवालाई सोध्दा हुन्छ। एकदिन रेडियो नेपालमा रात्रीकालिन प्रसारण सेवाका लागि करारमा जागिर खुलेको छ भन्ने खबर सुनेपछि मैले पनि आवेदन भर्ने इच्छा गरेँ।
स्नातकोत्तरको पढाई सकिनै सकिनै लागेको बेला, मलाई पनि जागिर खानै पर्ने आवश्यकता महशुस भइरहेका बेला यो अवसर गुमाउन हुन्न भनी मैले निकै तयारी गरें र अन्ततः लिखित, प्रयोगात्मक र अन्तवार्तामा उतिर्ण भएपछि मैले रेडियो नेपालमा सह-समाचारवाचकको रुपमा जागिर सुरु गरेँ।
रेडियो नेपालमा जागिर सुरु गरिसकेपछि मेरो जीन्दगीमा एउटा नौलो मोड आयो। विल्कुलै नौलो अनुभव मैले गर्न पाएँ। सामान्यतया मानिसहरु अफिसबाट घर फर्किने बेलामा मेरो अफिस जाने समय हुन्थ्यो, अफिस टाइम बिहान १० बजेदेखि ४ बजेसम्म हुन्छ भन्ने देखेसुनेको मैले रेडियो नेपालको रात्रीकालिन सेवामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म स्टुडियोमै रहेर काम गर्न थालेँ।
रात्रीकालिन प्रसारण सेवामा ३ वर्षसम्म लगातार काम गरेपछि बल्ल अहिले साँझको सिफ्टमा काम गर्ने मौका मिल्यो। संसारभर कोरोनाको महामारी फैलिएपछि नेपाल पनि त्यस महामारीबाट अछुतो रहन सकेन। संसारका धेरैजसो मूलुकले लकडाउन गरे। नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि लगातार करिब तीन महिनासम्म लकडाउन भयो र अहिले पनि विभिन्न स्थानीय तहले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन्।
यसबीचमा रात्रीकालीन सेवाबाट प्रसारित नियमित समाचार लगायतका सेवा पनि प्रभावित भए। हामी रात्रीकालिन समाचार सेवामा कार्यरत केही साथीहरुलाई अहिले साँझको प्रसारण सेवामा व्यवस्था मिलाइएको छ। जीन्दगीका यी र यस्तै संघर्षका अनुभवले धेरै कुरा सिक्ने मौका मिल्दै गयो। धेरै मानिसलाई चिन्ने अवसर पनि मिल्यो। मैले सकारात्मक सोच राखेर नै तीन वर्षको समय रात्रीकालीन सेवामा काट्न सकेको हुँ।
रात्रीकालीन सेवामा राती प्रत्येक घण्टा समाचार बुलेटिन प्रसारण गरिन्थ्यो, रात अफिसमै कट्थ्यो। बिहान हुने वित्तिकै ड्युटी सकेर आफ्नो डेरा तिर लागिन्थ्यो। जीन्दगीको एउटा भिन्न अनुभव थियो, त्यो जसले मलाई संघर्ष गर्न सिकायो। अहिले भने साँझको सिफ्टमा ५ बजेदेखि ११ बजेसम्म ड्युटि समय छ। अहिलेको दिनचर्या निकै फेरिएको छ। समय बलवान छ, मान्छेहरु समयभन्दा बलवान त हुनै सक्दैनन्। कुनै पनि चिजको समय नआएर केही पनि नहुने रहेछ।
अघिल्लो वर्ष एकपल्ट लोकसेवासँग समन्वय गरी रेडियो नेपालद्वारा लिइएको स्थायी पदपूर्तिको परीक्षामा अरु सबै लिखित, प्रयोगात्मक परीक्षा पास गर्दा पनि अन्तवार्तामा मेरो नाम छनौट भएन, मेरो आफ्नै पनि केही कमजोरी भयो होला सोचेँ, मैले त्यसलाई सामान्य रुपमै लिएँ। कैयौँ मेरै साथीहरु लेकसेवाको अन्तवार्तामा ७ औँ पटकसम्म पनि असफल भएका उदाहरण सम्झिएँ।
अमेरिकाका पूर्व-राष्ट्रपति अब्राहम लिंकन पनि त जीन्दगीमा २१ औँ पटक विभिन्न काममा असफल हुनु भएको थियो भन्ने पहिले नै मैले कुनै किताबमा पढेको थिएँ। मैले सकारात्मक रुपमै लिएँ, यसबाट मैले अझैँ संघर्ष गर्नुपर्ने सोचेर अघि बढ्दै छु।
आगामी दिन जेजसो होला सामना गरौंला, समयभन्दा अगाडि कसैले केही पाउन सक्दैनन्। जे हुन्छ त्यसको बेला आएपछि मात्रै हुन्छ। मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ।
जीवनमा आशावादी हुनुपर्छ, हरेक दिनपछि रात पनि हुने गर्छ सधैँ एकैनास समय त कहाँ हुन्छ र! यद्यपि सफलताका लागि मेहनत भने निरन्तर जारी राख्नै पर्छ। अहिले पढाईलेखाई गरेरपनि बेरोजगार रहेका युवा साथीहरुलाई भन्छु, कृपया नआत्तिनुस, बेरोजगार छु भन्दैमा जीवनको आशा नमार्नुस, हरेस नखानुस, आशावादी हुनुस, सकारात्मक सोच्नुस।
बितेका नराम्रा कुराहरु बिर्सीदिनुस, वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ। त्यसैले वर्तमान राम्रो बनाउनुस्, भविष्य त्यसै राम्रो बन्नेछ। थोपाथोपा मिली बग्छ खोला, सकारात्मक सोचौँ।
(लेखक रेडियो नेपालका समाचारवाचक हुन्।)