अहिले सोसल मिडिया टिकटकको माहोल चलेको छ, तिजको बेलामा घर, टोल वरिपरी तिजको गित घन्किए झैँ। हुन पनि टिकटक प्रयोगकर्ताको संख्या पनि झन्डै फेसबुक नजिकै पुगेको तथ्यांकले देखाउँछ।
हिजोआज कोराना महामारीका कारण भौतिक दूरी त हुने नै भयो, सामाजिक दूरी पनि बढेको छ र मानिसहरु बीच कुराकानी भेटघाट हने भनेको सूचना प्रविधिको माध्यम नै भरपर्दो भएको छ। चाहे टेलिफोन मार्फत होस् वा इन्टरनेट प्रविधिको माध्यमबाट। उपरोक्त जुन कुनै माध्यमबाट कुराकानी हुँदा आराम हुनु हुन्छ भन्ने सोध्ने बित्तिकै प्रतिउत्तरमा आउछ, कोरोना र यसले पारेको प्राभावको सन्दर्भमा।
टिकटक होस् वा युट्यूब वा अन्य सोसल मिडिया र यी मिडियाका भित्ताको केही भाग त यही महामारीको कहानीले भरिएको पाउछौँ। अहिले यो महामारीले निम्त्याएको संकटले कुनै पनि मुलुक, जाति, समुदायमा अछुतो राखेको छैन, चाहे आर्थिक र भौतिक साधनले सम्पन्न मुलुक होस् वा अति बिपन्न। समस्या उत्तिकै छ, आर्थिक र भौतिक सम्पन्नलाई रोगको र बिपन्नलाई भोक र रोगको।
तैपनि जुन कुनै मुलुकका मानिसको मुहार हसिलो हुन सकेको छैन र यो महामारीको संकट टार्ने खोप तथा बायोमेडिसिनको आशमा बसेका छन् संसार भरका मानिस। किनकी हरेक मानिसको निन्याउरो मुहारमा औषधीको आशाको भन्दा पनि त्रास, बेचैनि, अनिद्रा र अनिश्चित भविष्यको डरले सताएको छ र अहिलेको समयमा बाच्नु नै मूल मुद्दा बनेको छ।
जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले पत्रकार सम्मेलनमा कोरोना संक्रमण विस्तार भै सामुदायमा प्रवेश गरेको (अनलाइन खबर मिति २०७७/५/ १६ को) पाँच संकेत प्रस्तुत गरेका थिए।
१) महिलाहरुमा संक्रमणको दर एक महिना अघि ८ प्रतिशत रहेकोमा अहिले ३९ प्रतिशत पुगेको
२) जेष्ठ नागरिक संक्रमित दर एकबाट बढेर चार प्रतिशत पुगेको
३) पहिला आधिकांश संक्रमित भारत वा तेस्रो मुलुकबाट आएकाहरु थिए भने अहिले ९६ प्रतिशतभन्दा बढी केस स्थानीयबाट भएको पाइएको
४) मृत्यु दर पनि विस्तारै जेष्ठ नागरिक र दीर्घरोगबाट पीडितहरु तिर बढेको
५) पिसिआर जाँचमा संक्रमित दर पाँच प्रतिशतबाट बढेर ८/९ प्रतिशत तिर पुगेको।
कोरोना संक्रमणको प्रस्तुत दरले हामीमा झन् डर पो बढाएको छ र अहिले अन्य मुलुकको तुलनामा सुरुको अवस्थामा छ। यो महामारीलाई फैलिन नदिन र संक्रमण दर घटाउन एक निमेष पनि ढिला गरिनु हुँदैन किनकी ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले कोरोना महामारीलाई कोभिड-१९ को संज्ञा दिए पश्चात विश्वका १८४ मुलुकमा फैलिएको यो महामारीले भाद्र १८ सम्मको तथ्यांक हेर्दा विश्वभर ८ लाख ७३ हजारभन्दा बढीको ज्यान लिईसकेको र २ करोड ६० लाखभन्दा बढी संक्रमित भएका छन्।
नेपालमा पनि २५७ जनाको ज्यान यस महामारीले लिईसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भैसकेका छन्। यो महामारी कति शक्तिशाली रहेछ भन्ने कुरा आर्थिक र सामरिक क्षेत्रमा विश्वको सबभन्दा शक्तिशाली मुलुकमा नै यो महामारीले एक लाख ९० हजारभन्दा बढीको ज्यान लिईसकेको छ भने ६३ लाखभन्दा धेरै जनालाई संक्रमित बनाएर संक्रमण र मृत्युको हिसाबले पनि पहिलो नम्बरनै बनाएको अवस्था छ आजको दिनसम्म।
अब हामीले बेलैमा विचार पुर्याउन पर्ने विषय रहेको छ किनकी अहिलेसम्म विश्व स्वास्थ्य संगठन अनुसार यो समुदाय स्तरमा फैलीसकेको छैन। यो महामारीको न त अहिलेसम्म औषधी न बनेको छ न रोग नियन्त्रणका लागि खोप बनेको छ। यसको लागि अहिलेको सर्बोत्तम उपाय भनेको महामारीको नियन्त्रण गर्नु र फैलन नदिनु नै हो।
तर हामीले यस विषयमा खासै ख्याल गरेका छैनौँ वा कम चासो दिएका छौँ, त्यो विचारणीय पक्ष बनेको छ। संक्रमित र मृतकको हिसाबले छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा कोरोना प्रभावित देशको तेस्रो स्थानमा छ अहिले। तर बिडम्बना के छ भने पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा नेपालको संक्रमण दरको अनुपात भारतको भन्दा बढी छ। अर्थात्, भारतको ८.१६ प्रतिशत हुँदा नेपालको ८.१९ पुगेको छ (अनलाइन खबर २०७७/५/१७)।
प्राध्यापक फू क्रिस्टियन भन्छन्, मानिस र प्रकृति बीचको सम्बन्ध स्थापित गर्ने भनेको प्रविधिको माध्यमले नै हो। किनभने मानिसले आफू र समाजको आवश्यकता पूरा गर्न प्रविधिको विकास गर्छ र प्रविधिको माध्यमबाट नै सामाजिक र प्राकृतिक सन्तुलन राख्न सकिन्छ। अब प्रश्न उठ्न सक्दछ, के कोरोना महामारी नियन्त्रणमा प्रविधिले सहयोग गर्न सक्दछ त भन्ने।
कोभिड १९ को नियन्त्रण गर्न तथा फैलिन नदिन सूचना प्रविधिको क्षेत्रमा टेलीमेडिसिन, भिडीओ कन्फरेन्स, इन्टरनेट लाइभ, टेलिभजनको माध्यमबाट स्वास्थ्य सचेतता सम्बन्धी कार्यक्रम प्रसारण, ड्रोन उडानको प्रयोग आदि विद्युतीय प्रविधिको माध्यमलाई लिन सकिन्छ।
यी प्रविधिको प्रयोगले हाम्रो जस्तो भूगोलमा कठिनाइ भएको, परम्परागत औषधीमूलो गर्ने चलन, धर्म संस्कृतिमा अधिक विश्वास गर्ने समुदाय, न्यून आय भएका वर्ग तथा स्वास्थ्यको पहुँचबाट सीमान्तकृत वर्ग समुदायमा भएका स्वास्थ्य समस्या हल गर्न सहयोगी भूमिका खेल्छ भने ती वर्ग समुदायमा हैजा, डींगो, कोरोना जस्ता महामारीको विस्तार हुनुमा नियन्त्रण गर्न सकिन्छ। अर्को शब्दमा भन्नु पर्दा सूचना प्रविधिको प्रयोगले महामारी रोग नियन्त्रणमा पूलको काम गरेको हुन्छ।
टेलीमेडिसिनको प्रयोग सर्बप्रथम अमेरिकामा रकफेलर फाउन्डेसनले सन् १९७४ मा स्वास्थ्य सेवा दिने अभिप्रायले टेलिभिजन प्रशारणमा स्वास्थ्यकर्मीहरुबाट नै गरिएको थियो। उक्त फाउन्डेसनका अध्यक्ष जोन क्नोलेजले बोस्टनका बरिष्ठ चिकित्सक केनेथ बर्ड मार्फत टेलीमेडिसिन क्लिनिक नै संचालन गरेका थिए जसबाट तत्कालिन समयमा पनि आधुनिक चिकित्सा प्रणालीको प्रयोग सीमान्तकृत वर्ग समुदाय र अस्पताल तथा क्लिनिकबाट भौगोलिक तथा यातायातका हिसाबले टाढा रहेको मानिसलाई लाभ पुर्याएको थियो।
तत्कालीन समयमा त टेलीमेडिसिनको प्रयोगले आधुनिक चिकित्सा प्रणालीलाई व्यापकता गराई जन स्वास्थ्यको ख्याल गर्नु थियो भने अहिले भै रहेको कोरोना महामारीको बेलामा वा कोरोना नियन्त्रण गर्न, कोरोना नलागेका तर अन्य दीर्घ रोग भएका र अस्पताल वा क्लिनिकसम्म पहुँच नभएका मानिसहरुलाई सहयोग गर्न सकिनेमा त निश्चित नै छ।
तर यस प्रणालीको प्रयोगका लागि नीति निर्माता, चिकित्सकहरु र अन्य स्वास्थ्य कार्यकर्ताको सामन्जस्य हुनु आवश्यक हुन्छ, स्वास्थ्य अर्थशास्त्रीहरुको समेत परामर्श लिएर।
(मध्य १९६० को दशकमा नर्सहरुले मस्साचुसेट्स जनरल अस्पताल (एमजिएच) मा टेलीमेडिसिन क्लिनिक संचालन गर्दै। तस्बिरः एमजिएच आर्काइभबाट।)
प्राकृतिक प्रकोक तथा महामरी मानव जीवनमा मात्र नभइ सम्पूर्ण प्राणीजगतमा दर्दनाक अवस्था हो र यो बारम्बार कुनै न कुनै स्वरुपमा संसारको कुनै न कुनै भूभागमा देखा परिरहेको छ। पछिल्लो पटक महामारीको रुपमा इबोला भाइरस २०१३ को डिसेम्बरमा पश्चिम अफ्रिकाको सिरेरा लिओन र लाइबेरियामा देखा पर्यो र जुलाई २०१६ मा नियन्त्रणमा आयो।
त्यो समयमा मोबाइल फोनको प्रयोगको माध्यमले इबोला नियन्त्रणमा सहयोगी भूमिका खेलेको थियो। सिरेरा लिवोनमा महामारी नियन्त्रणका लागि दैनिक रुपमा कुन कुन ठाउँमा सरुवा रोग फैलिएको छ, कहाँ विस्तार हुदैछ भन्ने थाहा पाउन स्वास्थ्य नक्सा (हेल्थ म्याप) तयार गरियो मोबाइल फोन ट्रयाकिङ मार्फत।
किनकी महामारी नियन्त्रणमा प्रत्यक्ष भेटवार्ताबाट तथ्यांक लिन सम्भव नहुने हुँदा मोबाइल फोन ट्रयाकिङ बढी उपयोगी भएको निस्कर्ष सन् २०१४ मा सरुवा रोग विज्ञहरुले निकाले। यस् सन्दर्भमा महामारी नियन्त्रणका लागि इबोला भाइरसको संक्रमित भएका मानिसका अतिरिक्त अन्य मोबाइल प्रयोगकर्तालाई यथार्थ कुरा भन्न अनुरोध गरियो।
र प्राप्त डाटालाई टेलिफोन टावरको सिग्नलको आधारमा प्रभावित स्थान छुट्टाएर स्वाथ्य नक्सा तयार गरियो भने इबोला संक्रमण नभएको इलाकामा संक्रमणका लागि प्रवेशको बाटो रोकियो। तथ्यांक संकलन गरी इबोला नियन्त्रणका लागि मोबाइल डाटा ट्रयाकिङ पनि तीन तारिकाबाट गरिएको थियो।
१) ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)
२) सेल फोन टावर ट्राइएंगुलेसन (सिपिआइटिटी)
३) फोन कल्स डिटेल रेक्रड (सिडिआर)
प्रस्तुत मोबाइल ट्रयाकिङको बाटाहरु मध्ये सिडिआरको बढी उपयोग गरियो किनकी टेलिफोन कम्पनीमा रहने सर्भरमा मोबाइल प्रयोगकर्ताले पठाएको खबरलाई स्टोर गर्न, कुन समयमा पठायो, कति पटक पठाएको छ, कुन टावरबाट सम्प्रेषण गरिएको छ, सोको समय समयमा अवलोकन गरियो।
साथै महामारी नियन्त्रणका लागि प्राप्त सूचनाको आधारमा योजना बनाउने, कार्यान्वयन गर्ने प्रक्रियाले समयमानै महामारी नियन्त्रणमा सहयोगी भूमिका खेलेको पाइन्छ। तर मनन योग्य कुरा के छ भने प्रभावकारी र वास्तविक डाटाको आभावमा, गलत सूचनाको आधारमा वा प्राप्त सूचनाको अबिलम्ब विश्लेषणको अभावमा प्रविधिको प्रयोगले पनि महामारी नियन्त्रणको लागि कठिन हुन्छ।
महामारीको संक्रमण र नियन्त्रणमा मोबाइल फोनको सिडिआर ट्रयाकिङ सवालमा कार्लोन बकी भन्छिन्, सन् २०१२ मा हार्वर्डले मलेरियाको प्रपोक नियन्त्रणका लागि केन्यामा सिडिआर ट्रयाकिङमा गरेको अध्ययनमा मानिसको कामका लागि हुने गरेको बसाइसराइ नै मलेरिया फैलिनुको कारण रहेछ भन्ने निस्कर्ष थियो।
अहिले नेपालमा लकडाउन, सटडाउन, निषेधाज्ञ जस्ता जुन कुनै उपायबाट मानिसमा सामाजिक तथा भौतिक दूरी राख्न मात्र केन्द्रीय वा स्थानीय सरकारले खोजेको देखिन्छ। यस उपायबाट मानव जीवन कति कष्टकर बनेको छ, आर्थिक, भौतिक, संस्कृतिक र सामाजिक जीवनमा जसको लेखाजोखा गर्न कठिन छ।
मानिस कोरोनको डरले तथा सरकारी निषेधको आदेसले गर्दा घरबाट बाहिर निस्केका छैनन्, अझ धेरै घर परिवारको चुलो बल्न नसक्ने अवस्था सृजित भएको छ। घरबाट नै कार्यालका काम गरिरहेका छन्, मिटिङमा इन्टरनेट माध्यमबाट जुम, भिडीओ कन्फरेन्स आदि को प्रयोग भैरहेको छ।
शैक्षिक पठनपाठन कार्य भर्चुअल माध्यमबाट सुरु गरिएको देखिन्छ तर कोभिड-१९ को नियन्त्रण र विस्तार हुनबाट रोक्न किन उपलब्ध प्रविधिको प्रयोग हुन सकेको छैन? यो प्रश्न अहिले हाम्रो सामु खडा भएको छ। कोरोना संक्रमण बाहेक अन्य दीर्घरोगबाट प्रभावित मानिसहरुको औषधी अभाव वा खरिद गर्न नसक्दाको कारण वा भौगौलिक हिसाबले दुर्गममा रहनुको कारण ज्यान जोखिममा पर्न सक्छ।
यो कोरोनको कहरमा ड्रोनको प्रयोग गर्न सकिन्छ समस्यामा परेका त्यस प्रकारका मानिसलाई औषधी वा राहत सामग्री पुर्याउन। अझ अहिले त कोरोना संक्रमितको स्वाब टेष्ट जहाँ कहीँ हुन नसक्ने र सहर केन्द्रित ठूला अस्पताल तथा ल्याब केन्द्रहरुमा हुने स्थितिमा दुर्गम स्थानका मानिसको स्वाब टेष्टको नमुना संकलन तथा टेष्ट किटहरु पठाउन समेत ड्रोनको प्रयोगले सहजता हुन सक्दछ।
महामारी नियन्त्रणका लागि समाजमा रहेका सबै मानिसको उत्तिकै सहयोग र भरोसाको खाँचो पर्दछ। सरकार र जनता एक अर्काका परिपूरक हुन्। सरकारले जनताको भलाइको लागि कार्य गर्नु पर्दछ भने जनताले सरकारले गर्ने प्रतिबवद्धतालाई सहयोग गर्नु पर्छ। दुवैको विश्वास र सहयोग बिना महामारी नियन्त्रण गर्न कठिन हुन्छ।
पाउल फेर्मर (१९९७) को विचारमा महामारी नियन्त्रणमा समाजमा सामाजिक तथा संस्कृतिक हिंसा वा द्वन्द हुनु हुँदैन भन्दछन्। उनको विचार अनुसार सामाजिक र संस्कृतिक धरोहरलाई जगेर्ना गर्दै महामारीको नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरु समेतले सचेतना अपनाइ महामारीको नियन्त्रण गर्नु पर्ने हुन्छ र यसमा सम्बन्धित सरोकारवाला मानिसको ठूलो देन हुन्छ।
किनकी महामारीले कुनै धर्म, जात, लिंग, उमेर तथा समुदाय भन्दैन। संस्कृतिक धरोहरको जगेर्नाको उदाहारणका रुपमा ललितपुर पाटनबासीले भाद्र १८ मा निषेधको अवज्ञा गर्दै मछिन्द्रनाथको रथ यात्रा हुनुलाई लिन सकिन्छ। यस उदाहरणले कोरोना नियन्त्रणमा र विस्तार हुनबाट रोक्न सकिने सम्भावना देखिदैन।
नेपालको सन्दर्भमा कोरोना महामारी नियन्त्रण गर्न वा विस्तार हुन नदिन छिमेकी मुलुकसँगको बोर्डर वा जिल्ला जिल्ला बीचको बोर्डर बन्द गरिएको छ। यो एउटा उपाय हो महामारी नियन्त्रणका लागि तर यो उपायबाट मात्र कोभिड–१९ नियन्त्रण हुन्छ भनेर ठोकुवा गर्न सकिदैन।
प्रविधिको भरपुर प्रयोगबाट यो नियन्त्रण गर्न सकिन्छ अर्थात् पिसिआर टेष्टलाई व्यापक बनाउने, सेल्फ आइसोलेसनमा बसेकालाई फोन मार्फत चिकित्सा सेवा उपलब्ध गराउने, फ्रन्ट लाइनमा स्वास्थ्य सेवा दिने तथा सुरक्षाकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउने, फोन इमेल मार्फत कनट्यक्ट ट्रेसिङ पूर्ण रुपले गर्नु पर्ने हुन्छ।
यसको अतिरिक्त सन्तुलित खाना, शारीरिक अभ्यास, उच्च मनोबलका साथ साथै मास्कको प्रयोग, मानिसहरु बीच सामाजिकभन्दा पनि भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने वा स्यानीटैजर प्रयोग गर्ने जस्ता बानी बसाल्नु पर्ने हुन्छ। बानी बसाल्ने कार्यमा ती बस्तु वा सामग्रीको उपलब्धताको बारेमा हेक्का पुर्याउनु पर्ने हुन्छ।
अन्यथा मेक्सिकोमा हैजा नियन्त्रणका लागि पानी उमालेर खाउ र साबुन पानीले हात धुने गरौँ भनि सरकारले भन्ने तर ग्रामिण भेकमा खानेपानीको अभावका कारण यो सन्देशको कुनै अर्थ नरहनु फलस्वरूप हैजा महामारी नियन्त्रणमा मेक्सिको सरकारलाई कठिन भएको उदाहरणलाई स्मरण गर्न सकिन्छ।