केही महिना अघि सोधको सिलसिलामा जब हामी नेपाल जाने सोचमा थियौँ, चीनको वुहानमा भर्खरै कोरोना फैलन सुरु हुँदै थियो। त्यो बेला हामीलाई लागेको थियो कि चीनको एउटा सहरभित्र फैलिरहेको यो रोगले सायद ठूलो आकार लिदैन होला र कुनै पनि अवस्थामा यसको प्रभाव अन्य मुलुकमा पर्दैन होला।
तर जति जति हाम्रो यात्रा नजिकिँदै गयो, त्यति त्यति कोरोनाले विश्वव्यापी रूपमा जरा गाड्न थाल्यो। यद्यपि, यसले हाम्रो नेपाल यात्रामा भने कुनै रोकावट ल्याउन सकेन। नर्वेदेखि नेपालसम्म आउँदा रूटका विमान र विमानस्थल सादाझैँ व्यस्त नै देखिन्थे, तर अधिकांश मानिसहरू भने मास्कले मुख थुनेर कोरोनाको प्रतिकार गर्न तयार हुन थालेको भान हुन्थ्यो।
नेपाल पुगिसकेपछि मात्र हामीलाई प्रष्ट भयो कि कसरी विश्वव्यापीकरणले अवसरहरूको मात्र ढोका नखोलेर चुनौतीहरू पनि सिर्जना गर्न सक्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरूको सङ्ख्या ह्वात्तै घटेको सहजै चाल पाउन सकिन्थ्यो। होटेल व्यवसायीहरूको भनाइअनुसार त्यति बेलासम्म हाराहारी ७० प्रतिशतको मात्रामा होटेलहरूको बुकिङ रद्द भइसकेका थिए।
एक क्षणमा आएर हामीलाई त यस्तो अनुभव भयो कि यो हामी वरपरको वास्तविकता हलिउडको कुनै एउटा साइ फाई चलचित्र हो र हामी त्यस चलचित्रमा सर्रियल भूमिका निर्वाह गरिरहेका कुनै पात्र हौँ। कम विकसित तथा अति कम विकसित देसहरूले- जसलाई तेस्रो विश्वको नामले चिनिन्छ, विकसित मुलुकहरूमा घट्ने यस्ता घटनाहरूको खासै चासो नराख्लान् भन्ने हाम्रो सामान्य मनसायलाई कोभिड–१९ ले गलत साबित गरिदिएको छ। नेपालमा हरेक स्तरको जीवन जिउने अथवा भनौँ हरेक समूहका मानिसहरू कोभिड-१९ सँग अवगत रहेको पाइयो।
फरक थियो त केवल कोभिडप्रतिको उनीहरूको छुट्टा छुट्टै ढङगको बुझाईमा, अनि आ-आफ्नो बुझाइ तथा भोगाइसँग आबद्ध बिल्कुलै फरक अवधारणा। कोभिड–१९ बारे सही ज्ञान राख्ने अनि आफैमा उचित सजगता अपनाउनेदेखि लिएर अनावश्यक संत्रास मान्ने अनि हरबखत चिन्तित रहने जस्ता किसिम–किसिमका सोच, विश्वास अनि धारणा राख्ने जमात देखेपछि मात्र यो कुराको बोध भयो कि वैज्ञानिकहरूले कसरी विज्ञानलाई, विशेषतः तेस्रो विश्वको सन्दर्भमा, अधिकांश सर्वसाधारणभन्दा अलग्गै राखेका रहेछन्।
यो सन्दर्भले एउटा भनाइ सम्झायो 'विज्ञानमा सर्वसाधारणको पहुँच बढाउनलाई वैज्ञानिकहरूले नै विज्ञानलाई एकदमै सरल ढङ्गले प्रस्तुत गर्नुपर्छ।' अर्को पक्षबाट हेर्ने हो भने, प्रविधि आफैँमा जनमानसको दैनिकीको एउटा अभिन्न पाटो बनिसकेको छ। यसबाट के प्रष्ट हुन्छ भने यदि विज्ञान र प्रविधिलाई सँगसँगै लैजान सकिएन भने प्रविधि एक कारण बिनाको अभ्यासको रूपमा सीमित हुन जान्छ- श्राद्धमा बिरालो डोकोमुनि राखे जस्तो।
प्रसिद्ध जर्मन दार्शनिक हाइदेगरका अनुसार कुनै पनि वस्तु तथा अस्तित्व अनि त्यसमा हुने विच्छेदन (ब्रेकडाउन) ले त्यसको जरा अर्थात् रुट पहिल्याउनका साथै त्यसका नयाँ गुण तथा अवगुणहरू ठम्याउन अनि त्यसबाट कसरी नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ भनेर अवलोकन गर्न मद्धत गर्छ। अहिलेको अवस्थामा नेपालको शैक्षिक क्षेत्र यसको एक स्पष्ट उदाहरण बन्न पुगेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरे लगत्तै नेपाल सरकारले पनि बन्दाबन्दीको घोषणा गर्यो।
नेपालमा बन्दाबन्दी सुरु हुँदा हामी नर्वे फर्किसकेका थियौँ जहाँ अगाडिदेखि नै बन्दाबन्दी सुरु भइसकेको थियो। नेपालका काठमाडौँ विश्वविद्यालय, डियरवाक इस्टिट्युट अफ टेक्नोलोजी, नेपाल खुला विश्वविद्यालय जस्ता केही शैक्षिक संस्थाहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालिसकेका थिए। नेपाल खुला विश्वविद्यालयको त स्थापनाको एउटा उद्देश्य नै प्रविधिको प्रयोग मार्फत शिक्षामा पहुँच विस्तार गर्ने थियो।
त्यसैले अनलाइन कक्षा यसका लागि पाठ्यक्रमको एउटा सामान्य अङ्ग मात्र थियो। अहिले आएर विस्तारै नेपालका अन्य, अलि पुराना, विश्वविद्यालयहरूले पनि अनलाइनको बाटो अपनाउन थालेका छन्। विद्यार्थीहरूको शैक्षिक सत्र खेर जान नदिन र आफ्नो तालिकामा कोरोनाको प्रभाव सकेसम्म कम गर्न देशको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालिसकेको छ।
वास्तवमा कोरोनाले जुन परिस्थिति सिर्जना गर्यो. त्यसले हाम्रो मनस्थितिमा नै परिवर्तन ल्याएको छ। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग सुरु हुनु यसको एउटा प्रबल उदाहरण हो। शिक्षामा प्रविधिको आवश्यकता र भूमिकाबारे हामी कोही पनि अनभिज्ञ छैनौँ र थिएनौँ पनि। नेपालको सन्दर्भमा त अगाडिदेखि नै शिक्षामा प्रविधिको प्रयोग आवश्यक थियो।
यहाँ भौगोलिक विकटताका कारणले धेरै ठाउँहरूमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको राम्रो व्यवस्थापन गर्न सकिएको छैन, तालिम प्राप्त जनशक्तिको अभाव छ र विद्यार्थीहरूका लागि विद्यालयसम्म पुग्न निकै कठिन छ। यस्तो ठाउँमा त शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न र समग्र क्षेत्रको विकास गर्न प्राविधिक चमत्कार अत्यावश्यक नै रहेको देखिन्छ।
हाम्रो शैक्षिक प्रणालीमा वैकल्पिक मार्गहरू खोज्न पहिलेदेखि नै जरुरी थियो र यो महामारी र यसले निम्त्याएको बन्दीले यी मार्गहरूको खोजी र विकास गर्न सबैलाई बाध्य तुल्यायो। फलस्वरूप अनलाइन कक्षा तथा परीक्षा सञ्चालनका विधिहरू सामान्य प्रयोगमा आउन थालेका छन्। अनलाइन कक्षा आवश्यकताबाट माथि गएर शिक्षण संस्थाहरूको लागि प्रतिष्ठाको विषय हुन थालेको छ।
विद्यालयहरूले यसलाई प्रतिस्पर्धाको भावनाबाट प्रेरित भइ आत्मसात गरे तापनि यसले विद्यार्थीहरूलाई निकै फाइदा पुग्यो र अझै पनि पुग्दै नै छ। नेपाली पत्रपत्रिकामा अनलाइन कक्षाका विभिन्न पाटाहरूबारे छलफल तथा बहसहरू हुन थालेका छन् र शिक्षालाई नयाँ आयाम दिने कुरामा सम्बन्धित सबै पक्षहरू गम्भीर हुन थालेका छन्।
तर यो भन्दै गर्दा यो कुरा पनि यो कुरा पनि हेर्न छुटाउनु हुँदैन कि सहर बजार बाहिर अनलाइन कक्षाले प्रभाव पार्न सकेको छैन। काठमाडौँ र अन्य सहरी इलाकामा एकदम थोरै विद्यार्थीहरूका लागि मात्र अनलाइन कक्षा सञ्चालन गरी देशकै शैक्षिक प्रणालीमा परिवर्तन भएको छ भन्नु उचित हुँदैन।
विभिन्न कारण र बन्देजका कारणले प्रविधिको भरपुर उपयोग गर्न हाम्रो समाज पूर्ण रूपले अझै सक्षम छैन। यस सन्दर्भमा इन्टरनेटसहित देशका विभिन्न भागमा विभिन्न संस्थाले रेडियो, टेलिभिजन आदि माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्नु निकै सकारात्मक हो।
प्रविधि विकासको कुरा निस्किँदा भौतिक पूर्वाधार र त्यसमा लगानीको कमीको विषय धेरैले उठाउँछन्। तर वास्तवमा मुख्य समस्या पूर्वाधार वा लगानीभन्दा पनि कार्यथालानीको अभावझैँ देखिन्छ। नेपालको परिवेशमा त सबैभन्दा पहिले प्रविधिको उपयोग गर्ने जनशक्ति कत्तिको सबल छन्, उपयुक्त प्रविधिलाई उनीहरूले सही तरिकाले प्रयोगमा ल्याउन सक्छन् या सक्दैनन्, यदि सक्दैनन् भने कुन ढङ्गले प्रविधिको थालनी गर्नु उचित हुन्छ जस्ता कुराहरूलाई प्राथमिकता दिनु अनिवार्य छ।
हामी जस्ता सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले यदि प्रविधिको सही उपयोग गर्न अनि उपयोगद्वारा कसैको उज्ज्वल भविष्य निर्माण गर्नमा केही देन पुर्याउन चाहन्छौँ भने, यस्तै वैकल्पिक सहयोग र सहकार्यहरूमा आफू पनि समावेश भएर एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सकिन्छ।
(थापा आग्दर विश्वविद्यालय नर्वेमा प्राध्यापक हुन् र कार्की साउथ-इस्टर्न नर्वे विश्वविद्यालयमा विद्यावारिधि उम्मेदवार हुन्।)