स्यानिटाइजर संक्रामक तत्वहरु ब्याक्टेरिया, भाइरसहरुको संख्या कम गर्न अथवा सम्पूर्ण रुपमा सखाप पार्नको निम्ति प्रयोग गर्ने गरिएको छ। कोरोनाको संक्रमणमा यस्को प्रयोगमा व्यापकता आएको छ।
साधारणतया यो जेल, तरल, फिज र स्प्रेको रुपमा उपलब्ध छ। छालामा राम्रोसँग काम गर्ने हिसाबले जेललाई राम्रो मानिन्छ भने स्प्रेलाई सबैभन्दा घातक मानिन्छ। यस्को दुई वटा कारण छ। पहिलो हावामा घुल्ने भएको हुनाले श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा जान्छ। अल्कोहल अत्यन्त प्रज्वलनशील पदार्थ भएको हुनाले आगलागीका सम्भावना प्रबल रहन्छ।
स्यानिटाइजर कहिले पनि हातमा बाहेक शरीरको अन्य भागमा प्रयोग गर्नु हुँदैन। हातमा पनि नारीसम्मको भागमात्र हो।
बजारमा स्यानिटाइजर दुई प्रकारको पाउने गर्छ। अल्कोहल भएको अनि अल्कोहल नभएको। अल्कोहल भएको स्यानिटाइजरमा सकृय पदार्थको रुपमा इथानोल अथवा प्रोपानोल भन्ने पाउछ भने अल्कोहल नभएको स्यानिटाइजर (एनएबीएस) मा प्रायः गरेर बेन्जलकोनियम क्लोराइड (बिएके) भन्ने एक किसिमको लवण पाइन्छ जस्ले किटनासकको रुपमा काम गर्छ। एनएबीएस स्यानिटाइजर प्रज्वलनशील हुँदैन, कम मात्रामा प्रयोग हुने भएको हुनाले बच्चाहरुको प्रयोगको लागि उपयुक्त मानिन्छ।
एबीएसमा कहिलेकाही मिथानोल नामको हानिकारक र विषाक्त पदार्थ (जुन एक प्रकारको अल्कोहल नै हो) राखेर बनाइएको हुन सक्छ। त्यस कारण स्यानिटाइजर किन्ने बेलामा जहिले पनि केके राखेर बनाइएको छ हेरेर मात्र किन्नु पर्दछ।
एबीएसले राम्रोसँग काम गर्नको लागि अल्कोहलको मात्रा जहिले पनि इथानोल ६०% भन्दा माथि र प्रोपानोल ७०% भन्दा माथि हुनु पर्दछ। त्यसै गरेर एनएबीएस मध्य बिएकेको मात्रा ०.१% हुनु पर्दछ। राम्रोसँग काम गर्नको लागि हातमा फोहोर अथवा धुलो लागेको हुनु हुँदैन। स्यानिटाइजरले राम्रोसँग काम गर्नको लागि जहिले पनि करिब २-३ मिलीलिटर हातमा लिएर करिब २५-३० सेकेण्डसम्म लगाउनु पर्दछ।
स्यानिटाइजरमा भएको पदार्थले भाइरसको प्रोटिनको पत्रलाई पगालेर निस्कृय बनाउने काम गर्दछ। ६०% भन्दा कम मात्रामा भएको स्यानिटाइजरले भाइरसलाई निस्कृय बनाउन सक्दैन। एबीएस बाफ बनेर उडेर जाने हुनाले धेरै पटक लगाउन पर्ने हुनसक्छ तर एनएबीएस हातमा लामो समयसम्म संसर्गमा रहने हुनाले धेरै पटक प्रयोग गर्न नपर्ने हुनसक्छ।
हाम्रो छालाको स्वास्थ्य राम्रो राख्नको लागि चाहिने सहयोगी ब्याक्टेरियाहरु करोडौँको संख्यामा उपस्थित हुन्छन्। स्यानिटाइजरको प्रयोग चहिनेभन्दा बढी मात्रामा प्रयोग गरेमा छालाको लागि सहयोगी र हानिकारक दुवै किसिमका ब्याक्टेरिया मार्ने काम हुन्छ अनि छालामा अन्य स्थानका हानिकारक ब्याक्टेरिया विस्तारै जम्मा हुन जानाले छालाको अरु संक्रमण हुनसक्ने सम्भावना रहन्छ।
त्यस्तै स्यानिटाइजरको प्रयोगले छाला सुख्खा हुनसक्छ। स्यानिटाइजर किन्ने बेलामा ग्लिसिरिन मिसाएको किन्दा राम्रो हुन्छ। कहिलेकाही मिथानोल प्रयोग भएको स्यानिटाइजर प्रयोग भएको खण्डमा आँखा रातो हुने, बान्ता हुने, खोकी लाग्ने, पेट दुख्ने हुनुका साथै अति विषम् परिस्थितिमा आँखाको नसामा असर परी अन्धो पनि हुनसक्ने अथवा ज्याननै जानसक्छ।
एबीएसमा भएको अल्कोहलले बिरलै मात्रामा छालामा जलन गराउन सक्छ तर पहिलानै घाउ भएको छालामा अथवा संक्रमण भएको छालामा प्रयोग गरेको खण्डमा मात्र जलन गराउने हुन्छ।
प्राय गरेर एबीएस नै प्रयोग भएको हुनाले अल्कोहलको मात्रा ६०% भएकोले शरीरमा असर पुराउछ भन्ने भ्रम रहेको छ। शरीरमा कुनै पनि पदार्थले असर पुर्याउनको लागि त्यो पदार्थ कम्तिमा पनि श्वासप्रश्वास मार्फत, छाला मार्फत अथवा खाना मार्फत रगतमा पुग्नुपर्ने हुन्छ। रगतमा अल्कोहलको मात्रा २००-५०० मिली ग्राम प्रती एक लिटर रगतमा उपस्थित भएको खण्डमा धर्मराउने समस्या देखिन्छ भने ५००-१००० मिली ग्राम प्रति एक लिटर रगतमा उपस्थित भएको खण्डमा सोच्ने शक्तिमा कमी आउने कुरा अनुसन्धानले देखाएको छ।
यो तथ्यमा आधारित अनुसन्धान अनुसार २० मिली लिटर स्यानिटाइजर प्रत्यक २-२ घण्टामा प्रयोग गरेको खण्डमा १५ ग्राम अल्कोहल छालाको संसर्गमा आउछ जसमध्य करिब ०.६% अल्कोहल मात्र रगतमा पुग्ने गर्दछ। यो भनेको प्रति एक लिटर रगतमा अल्कोहलको मात्रा जम्मा १०० ग्राम हुन आउछ।
यो मात्रा सुरक्षा र स्वास्थ्यको हिसाबले एक्दमै नगन्य हो। त्यसैमा पनि २० मिली लिटर अल्कोहल प्रयोग हुँदा पनि हुँदैन अनि जति स्यानिटाइजर प्रयोग हुन्छ, अधिकांश बाफ बनेर उड्छ। हावाको राम्रो आवत जावत नभएको खण्डमा त्यो बाफ श्वासप्रश्वास मार्फत फोक्सोमा जान सक्छ। त्यस्को लागि कोठाको बायुसंचार राम्रो बनाउनु पर्दछ। बाफ बनेको अल्कोहलले पार्ने असर अत्यन्त न्यून रहेको अध्ययनले देखाएको छ।
बेलाबेलामा व्यापक रुपमा छरिने किटनाशक पदार्थ सामान्यतया ठोस् तथा छिद्र नभएका वस्तुहरुमा प्रयोग गरिन्छ। च्याम्बर, टनेल र बाटोमा पाइप मार्फत मनिसमा छर्किने कुरा अनुमोदित भएको पाइदैन। अनि एनएबीएसमा अल्कोहल मिसाएर प्रयोग गरेमा असरदार हुने प्रमाण पनि छैन।
स्यानिटाइजरहरु सुगन्धित रुपमा आकर्षक तरिकाले राखिएको हुनाले बच्चाहरुले चहिनेभन्दा बडी प्रयोग गर्ने अथवा स्वादको लागि मुखमा लिन सक्छन्। अस्पतालमा स्यानिटाइजरको गलत प्रयोगको कारण आउने बिरामी मध्य ९०% जति बिरामी ५ वर्षभन्दा कम उमेरका बच्चा हुने गरेको देखिएको छ। त्यसैले स्यानिटाइजर बच्चाले पुग्न र देख्न नसक्ने ठाउँमा राख्ने अनि प्रयोग गर्ने बेलामा पाको मान्छेको उपस्थिति अनिवार्य हुनु पर्दछ। प्रयोग गरी सकेपछि असहज भएको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरी हाल्नु पर्दछ।
अहिलेसम्मको अनुसन्धान र प्रयोगको हिसाबले साबन पानीले २०-३० सेकेण्डसम्म मिचीमिची हात धुने बिधिनै उत्कृष्ट र प्रभावकारी मानिन्छ। स्यानिटाइजरको अत्यावश्यक अवस्था अथवा हात धुने व्यवस्था नभएको खण्डमा मात्र प्रयोग गर्न उचित हुन्छ। घरभित्रै बसेको अवस्थामा साबुन पानीकै प्रयोग गरौ जस्को कारण स्यानिटाइजरको पनि कम प्रयोग हुन्छ अनि भाइरसबाट पनि असरदार तरिकाले जोगिन पनि सकिन्छ।
(लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिनका जनस्वास्थ्य विभाग र आँखा विभागका आलुम्नस हुन्।)