कुनै व्यक्ति या वस्तु मन पराउनु र प्रेम गर्नु दुई फरक कुरा हुन् भन्दा हामीलाई आश्चर्य लाग्न पनि सक्छ। हामीले देख्छौँ, सुन्छौँ कोही मानिस कुनै समयको लागि अति प्रिय लाग्छ र कुनै कारणबस् त्यही मानिससँग पानी बाराबारको स्थिती उत्पन्न हुन्छ। 'यस्ताको अनुहार के हेर्नु' भन्दै मुन्टो बटारेर हिड्ने परिस्थिति नआउला भन्न सकिदैन।
सबैभन्दा माया गर्ने ठानिएको र त्यस व्यक्ति बिना जीवन नै बिताउन सक्दिनँ ठानिएको व्यक्तिसँगको सम्बन्ध एकाएक बिग्रन्छ र सामाजिक सञ्जालमा ब्लक गर्नेदेखि मोबाइल नम्बर समेत डिलिट गर्ने गरी सम्बन्धको अन्त्य हुन्छ।
प्रेम गर्छु भन्नेहरुले प्रेमी प्रेमिकाको हत्या गर्ने, एसिड छ्याप्ने जस्ता कल्पना बाहिरका घटनाहरु घटाउने गर्दछन्। साथ-साथमा नै रहेर पनि 'मन नपरेको मान्छेको श्वास पनि गन्हाउँछ' भने झै अस्तिसम्म मुटु-मुटु साटेको मान्छेसँग तर्किएर बस्नु पर्ने अवस्थाको सृजना पनि हुन सक्छ। जीवन यात्रामा यस्ता धेरै घटनाहरु घटिरहेका हुन्छन्।
प्रसंग एक
'तिमी संसारको सबैभन्दा सुन्दर नारी हौ' भन्दै महिलाका लागि गरिने प्रशंसा चलनचल्तिको सबैभन्दा चलेको लाइन हुन सक्छ। तर राजन! 'सुन्दरता त आँखामा भर पर्छ' नि होइन र? यदी यसो हुन्नथ्यो भने त विश्वसुन्दरी महिलाको लागि दिनहुँ युद्धहरु हुन्थे होलान् नि!
या फेरि ती शब्दहरुले बखान गरे जस्तै के ती महिला सधैँ उनको प्रशंसकको हेराइमा संसारको सबैभन्दा सुन्दर नारी रहन्छिन् होला त? या समय क्रमसँगै उसको हेराइमा परिवर्तन हुन सक्छ! कुनै एक समयमा भिनस सुन्दरी या डायना जस्तो रुप भएकी एउटी महिला कुनै अर्को समयमा कसरी सामान्य रुपकी महिला हुन पुग्छिन्? के यो प्रेम हो त?
प्रसंग दुई
हामीहरु देख्छौँ, आमा बाबुहरु आफ्नो सन्तानको प्रशंसा गरेरै थाक्दैनन्। कहिले काही मुखले नबताए पनि अन्तष्करणमा आफ्नो बच्चा नै उत्कृष्ट ठानिरहेका हुन्छन्। सन्तान कालो हुन् या गोरो, अग्लो हुन् या होचो, मोटो हुन् या पातलो जस्तो सुकै हुन् तर सबैभन्दा प्रिय र आकर्षक लाग्छन्। आफ्नो सन्तान प्रतिको त्यो भावना के अङ्ग्रेजीमा भनिएजस्तो अनकन्डिस्नल लभ हो त?
त्यसो हो भने हामी आफ्नो बच्चालाई त्यसमा पनि छोरालाई बुढेसकालको लाठी भन्दै किन पहिलो दाँत नउम्रदैदेखि दायित्वबोध गराउने प्रयास गर्छौँ?
यी दुई प्रसंगलाई केलाएर हेर्दा के प्रेम शब्द झुटो होला त?
एक पटक आफूलाई सोधिएको, 'म तिमीलाई मन पराउछु र म तिमीलाई प्रेम गर्छु भन्नुमा के फरक छ?' भन्ने प्रश्नमा बुद्दले मुस्कुराउदै भन्नु भयो, 'जब तपाईले सुन्दर गुलाबको फूल देख्नुहुन्छ र मन पराउनुहुन्छ तब तपाई त्यसलाई टिप्नुहुन्छ, तर जब तपाईले सुन्दर गुलाबको फूललाई प्रेम गर्नुहुन्छ तब तपाई त्यसलाई मलजल हाल्नुहन्छ र अझै फक्रन मद्दत गर्नुहुन्छ।'
यही भनाईलाई आधार मानेर हेर्दा प्रष्ट हुन्छ कि हामीले ब्रह्माण्डमा रहेका सुन्दर तथा अनमोल बस्तुहरु आफ्नो कब्जामा राख्ने प्रयत्न गर्छौँ। आफूले मन पराएको बस्तु या व्यक्तिको उपभोग गर्न खोज्छौ र ठान्छौ प्रेम भनेको प्राप्ति हो। र प्राप्ती गर्ने क्रममा आफूले माया गरेको व्यक्ति या बस्तुको अस्तित्व केमा छ अन्दाज पनि लगाएका हुँदैनौँ।
प्रसिद्ध साहित्यकार पारिजातले लेख्नु भएको शिरिषको फूलमा लेखिएको 'शिरिष फूल भ्रमर चुम्बनमा नै ओइली झर्छ' आसयले यो लेखिकाले उठान गरेको प्रसंग एकलाई स्पष्ट पार्छ।
एक पटक सम्झनुहोस् त छिमेकीको असाध्यै राम्रो बच्चा देख्दा हामीलाई नजिक गएर बोलाउन, बोक्न या छुन मन लाग्छ तर आफू थाकेर मस्त निदाएको बेलामा मध्यरातमा त्यही बच्चा बेस्कन रुन थालोस् त, हामी तुरुन्त गाली गर्न थाल्छौँ, 'अरे यार आफ्नो बच्चा कति रुवाउन सकेको!’ या फेरि भन्न सक्छौ 'कत्ति रुन्छ हउ त्यो बच्चा!’
हाम्रो चेतन तथा अर्धचेतन मन र मस्तिष्कले छिमेकीको बच्चालाई मन पराएका मात्र हुन्छौँ तर प्रेम गर्न सकेका हुँदैनौँ। तर यसको ठिक विपरित कल्पना गर्नुस् कि जब तपाईको आफ्नो बच्चा मध्यरातमा झस्किदै चिच्चाएर रुनकराउन थाल्छ तब तपाई लौन के भयो होला भन्दै अनेक उपायले फकाउन, शान्त पार्न या फेरि उस्तै परे उपचार गर्न दौडाउनुहुन्छ।
तपाईको थकान, पीडा सबै एकाएक बिलिन भएर जान्छ। आफ्नो सन्तानको पीडा तपाईलाई असह्य हुन्छ र यो सबै कुनै सोच, स्वार्थ या सम्झौता बिना नै गर्नुहुन्छ किनकी तपाई आफ्नो बच्चालाई प्रेम गर्नुहुन्छ।
यस अघि उजागर गरेको प्रसंग दुईलाई जोडेर हेर्दा भन्न सकिन्छ कि हरेक आमाबाबुले आफ्ना सन्तानबाट अपेक्षा पनि गरेका हुन्छन्। हामीले प्रेम गरेको बस्तु या व्यक्तिबाट अपेक्षा नै हुँदैन भन्ने होइन तथापि ती अपेक्षाहरु पूरा नभएको खण्डमा हाम्रा धारणाहरु परिवर्तन हुँदैनन्। बुढेसकालको साहरा मानिएको सन्तानले पिटिक्कै हेरेन भने पनि हामी हाम्रो सन्तानलाई स्राप दिन सक्दैनौँ, सम्बन्ध तोड्न सक्दैनौँ।
इस्लाम धर्मालम्बीहरुको एउटा नैतिक कथा एक आँखे आमाले यसको मर्मलाई राम्ररी उठान गरेको पाइन्छ। व्यक्ति या वस्तु विशेष बाहिर गएर हेर्नुस् त एउटा विदेशीले नेपाललाई आहा! नेपाल कत्ति रामो देश, हिमालयको देश भन्दै मन पराउन सक्छ। यसको सुन्दर बनावटबाट मनोरञ्जन पनि लिन सक्छ तर जब नेपालको सिमाना मिचिन थाल्छ या नेपालको अस्तित्व अप्ठेरोमा पर्छ, तब उ छेप्यास्त्र, बन्दुक या खुँडा खुकुरी बोकेर सीमा रक्षा गर्न आइपुग्दैन किनकी उसले नेपालको सुन्दरता मन पराएको हो। नेपाललाई प्रेम गरेको होइन।
एकपटक सजिव निर्जीव समस्त सृष्टिलाई एउटा बगैँचा, समस्त सजिव प्राणी त्यस बगैचाको सुन्दर फूल र हामी मानव जाती बगैचाको माली बनेर हेरौं त! के हामीले हाम्रो जिम्मेवारी प्रेमपूर्वक निभाएका छौ त? बुद्धले दिनु भएको जवाफको पूनर्विचार गर्दै यो प्रश्नको उत्तर इमान्दारीतापूर्वक आफैंसँग खोज्न यो लेखिकाको अनुरोध छ।
सत्य के हो भने प्रेम शाश्वत हुन्छ। यसले सद्भभाव कायम गर्छ, सकरात्मक हुन्छ र सम्मान दिन्छ। सायद हरेक आमाबाबुले आफ्नो सन्तानलाई दिने जस्तो प्रेमिल भाव प्रकृतिका हरेक बस्तु या व्यक्तिलाई दिने हो भने विश्वमा पुलि, जेल या बम-बारुदको आवश्कता पर्दैन थियो होला। हामीले हाम्रो हरेक खालको सम्बन्धमा प्राप्ती, शासन या उपभोगका दृष्टिले नहेरेर त्याग, सम्मान र सद्भभावको दृष्टिले हेर्न सके संसारमा शान्ति, स्थाइत्व र सद्भाव कायम हुन चुनौती हुने थिएन।