भनिन्छ, कुनै पनि देशको सरकारको सफलताको मापनको एक प्रमुख आधार त्यस देशको निजामती सेवाको कार्यसम्पादनको प्रभावकारिता, परिणाम, गुणस्तर र नागरिकहरुले गर्ने अनुभूतिले निर्धारण गर्दछ।
निजामती सेवा भनेको हरेक मूलुकको संविधान र कानुनले परिभाषित गरेको, गैर-सैनिक प्रकृतिको, निश्चित दायराभित्रको काम, कर्तव्य र अधिकार भएको तथा प्रचलित परम्परा र मान्यताले पहिचान दिएको सरकारी सेवा निजामती सेवा हो। समन्वयात्मक कार्य प्रकृति, कार्यक्षेत्रको दायरा र नागरिक सेवाको हिसाबले यो सेवा सार्वजनिक प्रशासनको महत्वपूर्ण, आधारभूत तथा मार्गदर्शक सेवा पनि हो।
नेपालको संविधानको धारा २८५ र ३०२ बमोजिमको प्रावधान बमोजिम नेपालमा सरकारी सेवा तथा निजामती सेवाको सञ्चालन र व्यवस्थापन भएको छ। नेपालमा वि.सं २०१३ सालमा ऐन जारी भै विधिसम्मत कार्य आरम्भ गरेको निजामती सेवाले विभिन्न आरोह र अबरोह पार गर्दे यहाँसम्म आइपुगेको छ।
योग्यता प्रणालीको अवलम्बन गरी कर्मचारीहरुको व्यवस्थापन गर्ने तथा कानुनी शासन, सेवा प्रवाह र विकास व्यवस्थापनका लागि यस अंगलाई परिचालन गर्ने विश्वव्यापी मान्यता बमोजिम नै नेपालमा यसलाई राज्य र तीनै तहका सरकारको उल्लिखित काममा उपयोग गरिएको छ।
नेपालमा निजामती सेवाका सम्वन्धमा वा यसका कार्यसम्पादन लगायतका विषयमा समय समयमा चर्चा परिचर्चा हुने गरेका छन्। यस लेखमा निजामती सेवाले गर्नुपर्ने मुख्य-मुख्य कार्यहरु तथा ती कार्यहरु सम्पादन गर्दा दैनिकरुपमा देखिएका केही सैद्धान्तिक र व्यवहारिक विषयहरुलाई तपसिलका बुँदाहरुमा रही समीक्षा गर्ने जमर्को गरिएको छ।
विभिन्न शासन व्यवस्थाको अनुभव
नेपालको निजामती सेवाले छ दशकभित्रै अनेक राजनैतिक प्रणाली र शासकीय स्वरुपसँग काम गर्ने अवसर प्राप्त गरेको छ। हरेक प्रकारका शासकीय प्रबन्धहरुको विशिष्ट डाइनामिक्स र प्रवृत्तिको जानकारी यो सेवाले लिएको छ। समय समयमा देखापर्ने अस्थिरतालाई स्थायी सरकारकोरुपमा व्यवस्थापन गर्ने जिम्मेवारी बहन गर्नु र अनुभव हासिल गर्नु आफैमा पीडाका बीच पनि रोचक पक्ष हो।
विगतमा प्राप्त तिता मिठा अनुभवहरुबाट शिक्षा लिएर राष्ट्र, सरकार र नागरिकको सेवामा अझ बढी दक्षता र योग्यताका साथ लाग्नु निजामती सेवाको परम कर्तव्य हो।
लोकतन्त्रको वितरण
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यहरुको वितरणलाई प्रभावकारी बनाउनु निजामती सेवाको प्रथम कार्यभार हो। नेपालमा हालसम्मका भएका सबै प्रकारका राजनैतिक क्रान्तिहरुबाट जन्मिएको तथा विकसित हुन थालेको संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत चरित्र र मूल्यहरु नेपालको संविधानमा उल्लेख गरिएका छन्।
संविधानका अक्षर र भावनाहरुको पालना र कार्यान्वयन गर्दै जानुपर्ने दायित्व सबै सरोकारवालाहरुको हो। निजामती सेवाले पनि मौजुदा संविधानमा रहेका राज्यका निर्देशक सिद्धान्त, नीति, मौलिकहकहरु तथा दायित्वहरुको पालना गर्न र गराउनका लागि आफ्नो तर्फबाट सरकारलाई सघाउ पुर्याउनु उसको पहिलो कर्तव्य हो।
जनताको अभिमतलाई सम्मान गर्दे आफ्नो गन्तव्य र दिशाको सही पहिचान गर्ने मात्र होइन, त्यस दिशा तर्फको गति समेत तीव्र रुपमा अगाडि बढाउनु पर्ने ऐतिहासिक चुनौती यस सेवाका अगाडि आएको छ। परिवर्तन व्यवस्थापनको सिद्धान्त अनुसार वर्तमान समयमा यी विषयहरुलाई हार्दिकतासहित सफलतापूर्वक कार्यान्वयन गर्नका लागि यस सेवाका लागि नीतिगत तथा संस्थागत चुनौतीहरु अगाडि देखा परेका छन्।
सहशासनको प्रवर्द्धन
स्वशासन र साझा शासनको अबधाराणालाई संयोजन गरी मूल शासकीय प्रबन्धलाई सहशासनको अभ्यासमा विकसित गर्न व्यवसायिक दक्षता प्रकट गर्नु निजामती सेवाको अर्को प्रमुख कार्य हो। नेपालको संविधानले तीन तहका सरकारहरुको प्रबन्ध गरेको र तिनीहरुको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा रहने गरी तीनै तकका लागि एकल तथा साझा अधिकारका सूचीहरुको प्रबन्ध गरिएको छ।
ती संवैधानिक व्यवस्था अनुसारको नीतिगत, कानुनी, संस्थागत तथा प्रणालीगत प्रबन्धलाई अझ बढी सुस्पष्ट बनाउने कार्यमा सरकारलाई व्यवस्थापकीय र प्राविधिक सहयोग पुर्याउनु पनि निजामती सेवाको कार्य क्षेत्र हो।
मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैसस, सञ्चार जगत, सामुदायक संगठनहरु लगायत सबै सरोकारवालाहरुसँग हातेमालो र सहकार्य एवम् साझेदारी प्रबर्द्धन गर्दै 'कोगभर्नेन्स'मा अगाडि बढ्ने दिशामा निजामती सेवाले अझ बढी सक्रियता प्रकट गर्नु आजको आवश्यकता हो।
नीति व्यवस्थापन
विश्वव्यापी रुपमा हेर्दा निजामती सेवाले सम्पादन गर्नुपर्ने पहिलो तथा प्रमुख कार्यक्षेत्र भनेको नीति व्यवस्थापन हो। सार्वजनिक प्रशासन वा कर्मचारीतन्त्रको मुख्य अंगको रुपमा चिनिने नेपालको निजामती सेवालाई नीति व्यवस्थापन र त्यसको कार्यान्वयनका लागि परिचालन गर्ने गरिएको पाइन्छ।
हरेक दलले निर्वाचनको समयमा सार्वभौम नागरिकहरुका सामु घोषणापत्रको प्रस्तुति मार्फत जनताको जनादेशका लागि मत माग्ने गरेको हुन्छ। जन अनुमोदित दलले नागरिकका सामुन्ने व्यक्त प्रतिवद्धताहरुको कार्यान्वयन गर्नु जन निर्वाचित सरकारको प्रथम दायित्व र जिम्मवारी रहेको हुन्छ। सो जिम्मेवारी पूरा गर्नका लागि व्यक्त सार्वजनिक प्रतिवद्धताहरुलाई मूल नीति निर्माणको प्रत्रियामा तथा क्षेत्रगत नीति तर्जुमामा प्रवेश गराउने काममा निजामती सेवाले आवश्यक सबै प्रबन्धहरुको व्यवस्था गर्नुपर्ने हुन्छ।
स्वीकृत नीतिको कार्यान्वयन मार्फत सरकार र जनताको सम्बन्धलाई थप जीवन्त र कसिलो बनाउने काममा निजामती सेवाले उल्लेख्य भूमिका निर्वाहा गर्नुपर्ने हुन्छ। त्यसैले नेपाल सरकारले गरेका घोषणाहरुको प्रभावकारी कार्यान्वयनमा संस्थागत, श्रोतगत तथा समन्वयात्मक प्रयासलाई तीव्र बनाउनु निजामती सेवाको अर्को चुनौती हो।
भनिन्छ, ती नीतिहरु मात्र राम्रा नीति हुन् जुन नीतिको प्रभावकारी कार्यान्वयन हुन सक्छ। नीति राम्रो तर कार्यान्वयन नराम्रो भन्ने परम्परागत मान्यता अब हराउन थाली त्यो नीतिलाई मात्र राम्रो भनिन्छ जुन कार्यान्वयन योग्य र प्रतिफलयुक्त हुन्छ।
त्यसैले सैद्धान्तिकरुपमा नीति निर्माण गर्ने कार्य राजनैतिक कार्यकारी वा सरकारको भएता पनि त्यस नीति तर्जुमामा आवश्यक सूचना संकलन, नीति विश्लेषण र पृष्ठपोषणका लागि वातावरणको सृजना, आधुनिक नीति ढाँचाको मस्यौदाको तयारी तथा कार्यान्वयनको लागि संस्थागत र श्रोतगत तयारी लगायतको कार्य वातावरणको तयारी जस्ता व्यवस्थापकीय क्षेत्रमा निजामती सेवाले राजनैतिक कार्यकारीलाई मद्धत पुर्याउनु पर्ने हुन्छ।
कानुनहरुको कार्यान्वयन
निजामती सेवाको अर्को विषयगत कार्यक्षेत्र भनेको मौजुदा संवैधानिक प्रबन्धहरु, कानुनहरुको प्रभावकारीरुपमा कार्यान्वयन गरी समाजमा अमन चयन, सुव्यवस्था र समन्याय प्रदान गर्नु हो। निर्वाचित संसद वा व्यवस्थापिकाबाट स्वीकृत विभिन्न कानुनहरुमा भएका व्यवस्थाहरुको कार्यान्वयन गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्ने तथा आधारभूत सरकारी सेवाहरुको वितरण गर्ने कार्य निजामती सेवाको रहन्छ।
कानुनबाट मार्गदर्शन गरिए अनुसार विधिसम्मत हिसाबले जनताका दैनिक आधारभूत आवश्यकताको नियमित प्रबाह, सुरक्षा व्यवस्थापनको सहजीकरण तथा सेवाहरु पब्लिक गुड्सको प्रवाह गर्नु निजामती सेवको आधारभूत कार्य हो।
निजामती सेवाले सरकार र जनताको चाहाना अनुसार मौजुदा कानुनहरुको अक्षर र भावना अनुसार कानुनी राज्यका मूल्यको प्रवर्द्धन र अनुभूति हुने गरी नागरिक प्रशासनलाई सक्रिय तुल्याउनु पर्दछ। सेवा प्रवाह गर्दा होस् वा विकास व्यवस्थापनका कार्यमा होस्, सबै नागरिकहरुका लागि समान संबोधन र रेस्पोन्स हुने गरी कानुनको कार्यान्वयन र अधिकारको प्रयोग गर्नु पर्ने हुन आउँछ।
सानालाई ऐन ठूलालाई चैन भन्ने साविकको जनमानसको अनुभूतिलाई खारेज गर्ने गरी नविन सोच र उत्प्रेरणाका साथ समन्याय र समता समेतका पक्षमा ध्यान दिई लोककल्याणकारी राज्यको विकासमा आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु पर्दछ।
कानुन कि आदेशको पालना?
कार्यसम्पादनका शिलशिलामा कानुनी प्रबन्ध र राजनैतिक आदेशका बीच सन्तुलन कायम गरी जन सेवामा लाग्नुपर्ने चुनौती देखापरेको छ। निजामती कर्मचारीहरुका सामु कानुनी व्यवस्था र कार्यविधिको पालना गरी कार्य सम्पादन गर्नुपर्ने जिम्मेवारी र उत्तरदायित्व एकातिर छ भने राजनैतिक कार्यकारीले छिटो नतिजा माग गर्दा तनाव लिइ हतारमा निर्णय गर्नुपर्ने अवस्था छ।
दुवैका बीच सन्तुलन मिलाउँदा मिलाउँदै गलत र अविवेकी निर्णय हुन जाने संभावना रहने देखिन्छ। दुर्भाग्यवश यदाकदा 'हतारमा निर्णय गर्ने फूर्सतमा पछुताउने' अवस्था छ। एकदुई दिनको दबाव र तनाव व्यवस्थापन गर्न नसक्दा वर्षों तारेख धाउनु पर्ने अवस्था समेत देखिएको छ। कहिले यता जवाफ कहिले उता जवाफ दिनुपर्ने। काम आधा, जवाफ आधा। बचाउने र प्रोत्सहान गर्नेलाई 'टर्च' बालेर खोज्नुपर्छ।
विकास व्यवस्थापन
निजामति सेवाको अर्को विशेष भूमिका भनेको विकास व्यवस्थापनलाई अगाडि बढाउनु हो। निजामती सेवाले परम्परागत आधारभूत सार्वजनिक सेवाको प्रवाहमा मात्र आफूलाई सीमित राखेको हँदैन। विकास व्यस्थापनका कार्य तथा शिक्षा स्वास्थ्य जस्ता मेरिट गुड्सको प्रवाहमा यस सेवाले उत्तिकै जिम्मेवारी र उत्तरदायित्व निर्वाहा गरेको हुन्छ।
विकास आयोजनाहरुको छनौट, कार्यान्वयन तथा प्रतिफलहरुको वितरणमा यस सेवाले आफूलाई अब्वल बनाउनु आवश्यक छ।
आधारभूत कार्यशैली र प्रशासकीय गुण
कार्यसम्पादनका शिलशिलामा प्रशासकीय व्यवसायिकताका आधारभूत मूल्यहरुको अवलम्बन गर्नु निजामती सेवाको अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्य हो। निजामती सेवाले माथि उल्लिखित तीन प्रकारका मूल कार्यहरुको कार्यसम्पादन गर्ने आफ्नो जिम्मेवारीहरु पूरा गर्नका लागि यसले अवलम्बन गर्ने संस्थागत प्रबन्ध, दक्षता र कार्यकुशलता एवं मितव्ययिता, कार्यविधिगत व्यवस्था आदि यसका अन्य कार्यक्षेत्रहरु हुन्।
त्यसका लागि मानवीय लगायतका श्रोतहरुको परिचालन, सरोकारवालाहरुको सहभागीताको संयोजन र प्रवर्द्धन, कार्य सम्पादनमा व्यवसायिकताको अवलम्बन गर्नुपर्ने हुन्छ। कार्य प्रणाली, कार्यशैली र व्यवहारमा उच्च नैतिकता र उत्तरदायित्व तथा प्रशासकीय व्यवसायिकता जस्ता पक्षमा समेत ध्यान दिइ कार्यसम्पादन गर्ने गराउने जिम्मेवारी र उत्तरदायित्वलाई समेत यसको कार्य क्षेत्रकोरुपमा ओल्याउने कार्य विज्ञहरुले गरेका छन्।
मार्गदर्शक सेवा
निजामती सेवाको कार्यशैली माथि उल्लिखित प्रशासकीय व्यवसायिकताको जगमा उभिएको हुन्छ। नेपालमा मात्र होइन, विश्वव्यापी रुपमा निजामती सेवालाई यसको कार्यक्षेत्र, भूमिका, कार्यप्रकृति तथा जिम्मेवारीको हिसावले मूलुकी प्रशासन वा सार्वजनिक प्रशासनको प्रमुख अंग मानिन्छ। निजामती सेवाको विकासक्रममा देखापरेका यसका केही राम्रा तथा नराम्रा मौलिक संस्कार र चरित्रहरुले यस सेवालाई कर्मचारीतन्त्र 'ब्यूरोक्रेसी'को रुपमा समेत वुझने र विश्षलेषण गर्ने परम्परा अधापी कायमै छ।
तथापी यस सेवाको अर्को महत्वपूर्ण चुनौती भनेको यो सेवा अन्य सबै सार्वजनिक वा सरकारी सेवाभन्दा अझ बढी उन्नत, सुदृढ, तटस्थ, निष्पक्ष, दक्षतायुक्त, तथा जनमुखी सेवाकोरुपमा आफूलाई खरोरुपमा उतार्नु परेको छ। निजामती सेवाको उत्कृष्टताको सकारात्मक प्रदर्शन प्रभाव अन्य सेवामा पर्ने हुनाले यस सेवाले सरोकारवालाहरुको अपेक्षा अनुसार नै सु-संस्कृत भै सेवा प्रवाहमा लाग्नु र जनताको नजरमा अब्बलता हासिल गरी आदर्शको मानक वा रोल मोडेल सेवा बन्नु आजको अपेक्षित चुनौती हो।
स्वधर्मको पालना
निजामती सेवाको स्थापनाको उद्देश्य सेवालाई योग्यतामूलक प्रणालीको आधारमा छनौट गरिएका जनशक्तिहरुको परिचालन गरी नागरिकहरुको सेवामा लगाउनु हो। निजामती सेवाले आफ्नो काम, कर्तव्य र जिम्मेवारीको कार्य सम्पादन गर्दा देखाउनु पर्ने राजनैतिक तथा समूगत तटस्थता, कार्य व्यवहार र निर्णय प्रत्रियामा निश्पक्षता, पारदर्शिता र जवाफदेहीता, मितव्ययिता र दक्षता जस्ता प्रशासकीय व्यवसायिकताका मूल्य र मान्यतालाई आत्मसात गरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने चुनौती कायमै रहेका छन्।
कुनै पनि राजनैतिक दलहरुमा नरहेका र आवाज विहीन नागरिकहरुलाई समान र समन्यायिक हिसाबले सेवा पूर्याउन गर्नुपर्ने प्रशासकीय र नीतिगत प्रबन्ध र प्रणाली र कार्यविधिको निर्माण गरी सरकार र प्रणाली प्रति जनविश्वास कायमै राख्नुपर्ने चुनौती निजामती सेवामा अझै रहेको छ। सेवाका कर्मचारीहरुले संविधान र प्रचलित कानुन र स्थापीत नैतिक मूल्य अनुसार आँफ्नो काम कारबाहीहरुलाई अगाडि बढाउने चुनौती समेत जारी छ।
गैर-कानुनी राजनैतिक दवाव र प्रभावमा होइन जनताको हितमा केन्द्रीत निश्पक्ष र समन्यायिक सेवा प्रदान गरी सेवा प्रतिको जनविश्वास बढाउनु आजको अर्को चुनौती हो। भनिन्छ, कुनै पनि मुलुकको विकास सबै सरोकारवालाहरुले आ-आफ्नो स्वधर्मको पालना र अभ्यास गरेमामात्र सम्भव छ।
गीतामा श्रीकृष्णले अर्जुनलाई अर्ति दिँदा समेत (३ को ३५ मा) परोधर्ममा राम्रो गर्नुभन्दा बरु स्वधर्ममा नोक्सान होस् भन्नु भएको छ। पूर्वीय दर्शनहरुमा पनि स्वधर्मको महत्वका बारेमा धेरै उल्लेख गरिएको छ। तर हामीकहाँ त राजनीतिले प्रशासनमा रुचि राख्छ, प्रशासनले राजनीतिमा रुची राखेको पाइन्छ।
संकटमा चनाखो
विपद तथा संकट व्यवस्थापन जस्ता कार्यहरुमा संवेदनशीलता, धैर्यता अपनाउँदै कुशलतापूर्वक समन्वय र सहकार्य सहित सोको व्यवस्थापनलाई अगाडि बढाउनु निजामती सेवाको आकस्मिक कार्य हो। निजामती सेवाले नियमित प्रकृतिका सेवा प्रवाह, विकास व्यवस्थापन, कानुनको कार्यान्वयन गर्ने मात्र काममा आफूलाई सीमित राख्नु हुँदैन।
समय समयमा मूलुकमा देखा पर्ने गरेका आकस्मिक संकट र चुनौतीहरुको समेत विश्लेषण गरी तिनीहरुको न्यूनिकरण तथा समाधानका लागि सरकार एवम् नागरिकलाई मद्धत पुर्याउने कार्य गर्नु पर्ने अनिवार्य जिम्मेवारी र दायित्व हुन आउँछ। संकटका समयमा नागरिकहरुको मनोविज्ञान त्रासयुक्त रहन्छ। यस्ता समयमा नागरिकहरुको मनोविज्ञान र समस्यालाई संवेगात्मक सुझबुझ 'इमोशनल इन्टेलिजेन्स' बाट हेर्नुपर्दछ।
सो कार्यमा सरोकारवालाहरुसँग सहकार्य र समन्वय गरी संकटलाई यथास्थितमा राख्ने, न्यूनीकरण र व्यवस्थापन गर्ने तथा पूर्व अवस्थामा ल्याउने सरकारको काम गर्नुपर्दछ। हालैका दिनमा विश्वभर तथा नेपालमा पनि कोभिड-१९ ले पारेको प्रभावलाई हेर्दा हामीकहाँ पनि चुनाव, समाज र लोसेआ पासभै आएका नेतृत्वलाई कोरोनाले 'योग्यताको' कडा परीक्षा लिईरहेको छ।
विपद र महामारी जस्ता आकास्मिक तथा नविन चुनौतीहरुको उचित विश्लेषण गरेर राष्ट्र र नागरिकहरुको जीउधनको सुरक्षा गर्नका लागि चनाखो भै पूर्व सत्रियता कायम राख्नु पनि निजामती सेवाको अर्को गुरुत्तर कार्यभार हो।
काम र निजी जीवनबीचको सन्तुलन
काम र जीवनको सन्तुलन मिलाई नागरिक सेवा प्रवाहमा उत्प्रेरित हुनु तथा नेताभन्दा जनताको प्रिय भै काम गर्नु निजामती कर्मचारीको गहन कार्य जिम्मेवारी हो। निजामती सेवाले सेवा भित्र रहेका जनशक्तिको सही व्यस्थापन गरी आफ्नो कर्तव्य पूरा गर्नु पर्ने दायित्व र कर्तव्यका बीच राष्ट्रसेवकहरुको निजी जीवन र कामकाबीच अत्यन्तै सन्तुलन 'वर्क लाईफ ब्यालेन्स' गर्न गराउन टड्कारो अवस्था विधमान रहेको छ।
निजामती कर्मचारीहरुले स्वयमको वृत्ति विकासको अवसरको खोजि, आफ्नो स्वास्थ, पारिवारिक तथा सामाजिक दायित्व, सामाजिक मर्यादाको पालनालाई एकातिर ध्यान दिनु पर्नेछ भने अर्को तर्फ अनुभवको सही प्रयोग गरी नतिजामुखी व्यवस्थापन, विविधतायुक्त्त परिस्थिति र श्रोत र सरोकारवालाहरुको सही परिचालन तथा व्यवस्थापन गरेर नागरिक सेवामा लाग्नु पर्दछ।
जनता प्रथम
नेपालका निजामती कर्मचारीहरु दूर-दराजका जनताको घर गाउँमा हैन, नेताको आँगन र वरण्डामा चिया खान र चाकरी गर्न रहर गरेको देखिन्छ। आगामी अवसर र चालु लाभहानिमा छलफल गर्छन्। समाजमा कसरी सन्तुलित सेवा प्रवाह र विकास व्यवस्थापन गर्ने भन्ने विषयभन्दा अमूक अमूक पार्टीलाई कसरी फाइदा पुग्छ भन्ने लेखाजोखामा भुल्ने खतरनाक रोग हामीमा छ।
जोखिम मोलेर शक्ति केन्द्र रिझाउँदा एकछिनलाई स्वादिलो भएता पनि पछि त्यो शक्ति केन्द्रले दुखमा कर्के आँखा लगाई 'यूज एण्ड थ्रो' गर्दा बल्ल कर्मचारीहरुको आँखा खुल्छ।
सदाचार बढाउने र भ्रष्टचार घटाउने
भष्टचारको न्यूनीकरण, असल र सदाचार संस्कारको प्रवाह गरी रोल अनुसरणयुक्त सेवा बन्नुपर्ने निजामती सेवासँग माग गरिएको अर्को अपेक्षा हो। निजामती सेवा प्रति सरोकारवालाहरुको गुनासो र नजर भनेको यो सेवाले अपेक्षा र आफ्नो मौलिक चरित्र अनुसार सुशासन प्रवर्द्धन गर्न सकेन भन्ने रहेको छ।
सुशासनका आधारभूत मान्यताहरुमा विधिको शासन, समनता र समन्याय, भष्टचार नियन्त्रण, पारदर्शीता र जवाफदेहीता आदि रहेका छन्। राजनैतिक स्थायीत्व तथा हिंसा रहित अवस्था लगायतका अन्य मानकहरुको सुधारमा राजनैतिक क्षेत्र लगायत सरोकारवालाहरुसँगको परामर्श र सहकार्यमा निजामती सेवाले सुशासनमा टेवा पुर्याउनु पर्ने र जनताको विश्वासलाई अझ गहिरो र फराकिलो बनाउनु पर्ने चुनौती यस सेवाका प्रति कायमै छ।
अतिरिक्त मूल्य, भनसुन र चिनजान वेगर सरकारी सेवा प्राप्त गर्ने कार्य अत्यन्तै दुरह रहेको भनि स्वयम् पूर्व मुख्य सचिवहरुले विभन्न दृष्टान्त सहित बताइरहनु भएको कथा वेथाको पृष्ठभूमिमा यस विषयलाई हामीले संवेदनशीलरुपमा लिनुपर्ने देखिएको छ।
भ्रष्टचार लोकतन्त्रको विष पनि हो। जुन बहुरुपी, बहुमुखी र बहुरंगी समेत हुन्छ। यो सदाचारको विपरित श्वतपोशी अपराध (सेता कपडा लगाउने सरकारी कर्मचारीले गर्ने भ्रष्टाचार) मात्र होइन, सामाजिक क्यान्सर पनि हो। आध्यात्मिक हिसाबले हेर्दा यो गीताको तमोगुण हो जसले मानवको अपवित्र र दुषित आचरणको व्याख्या गर्दछ।।
निजामतीको नेतृत्व तथा सेवकहरुमा नैतिकरुपले बलियो नहुनु अर्को रोग देखिएको छ। पेशागत तथा सेवागत आचारणको पालना गरी सबै कर्मचारीहरुलाई नैतिकवान बनाउने भूमिकामा रहनु पर्नेमा आफै लोभी बनेर लामो हात गर्नु र सरकारी सेवा सुविधाको मितव्ययी प्रयोग नगर्ने प्रवृत्ति पनि छ।
नियमन गर्ने भूमिकामा रहेकाहरु नै बदमासीको लाभ बाँडफाँडमा हिस्सेदार समेत बन्न पुग्ने अवस्थाले नागरिकहरुले दिने सम्मानको क्षयिकरण भएको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान लगायत शीर्षदृष्टि राख्ने 'ओभरसाइट एजेन्सी' हरुको सक्रियताले केही हदसम्म सुधार आएको छ।
जवाफदेहीता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरु र दैनिक सूचनाहरुको अध्ययन गर्दा विकास व्यवस्थापन र सेवा प्रवाहका स्थानमा देखिएका नैतिकता स्खलनका प्रतिनिधिमूलक समाचारहरुले यस सेवाको कार्यशैली र चरित्रलाई प्रश्न उठाउने ठाउँ प्रशस्त रहेका छन्। निजामती सेवामा आध्यात्मिकता र नैतिकताको प्रवर्द्धन, सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परिक्षण जस्ता सुशासन र जवाफदेहीताका औजारहरुको अवलम्बन गर्नु आवश्यक छ।
नागरिक निगरानी र सहयोग प्रवर्द्धन गर्ने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउने जस्ता कार्यहरुलाई अर्थपूर्णरुमा कार्यान्यन गरी जवाफदेहीताको ग्राफलाई उकास्नु आजको आवश्यकता हो। निजामती सेवामा उत्तरदायित्व र जवाफदेहीताको अभाव रहेको समीक्षाहरु समेत भएका छन्। आफ्नो निकाय तथा आफू र मातहतका कर्मचारीहरुले गरेको हरेक निर्णय र कामको सम्बन्धमा जवाफदेही नरहनु अर्को कमजोरी हो।
काम राम्रो भए जशको प्रचार प्रसार गर्न जति लालायित हुन्छन्, काम विग्रिएमा वा खराब निर्णयले पारेको गम्भीर असर र प्रभावको सम्बन्धमा दोष पन्छाउने प्रवृत्ति छ। निजामतीका नेतृत्वमा रहेका कमजोरीहरुमा उल्लिखित कमजोरी धेरै छ। भनिन्छ हाकिम त्यस्तो होस् कि काम बिग्रिए मैले बिगारेँ भन्नु रे, ठीकै ठीकै भए हामीले ठीकै गर्योँ भन्नु रे तथा ज्यादै राम्रो भए मेरा कर्मचारीले राम्रो गरे भन्नु रे। तर हामीकँहा त उल्टो छ।
प्रश्न हैन उत्तर दिउँ
निजामती सेवाका कर्मचारीहरु भनेका समग्रमा जनताले राज्य वा सरकारप्रति गर्ने गुनासो वा प्रश्नको उत्तर दिने प्रतिनिधि हुन। त्यसैले सरकारले समय समयमा जारी गरेका नीति नियम र आचरणहरुको इमान्दारपूर्वक पालना गर्ने तथा सोसल मिडियामा आफ्ना विचारहरुको प्रवाह गर्दा सन्तुलित र जिम्मेवारपूर्ण तरिकाको प्रस्तुति गरी उत्तरदायी संस्कार प्रर्दशन गर्नु आजको आवश्यकता समेत हो।
संकटका समयमा सामाजिक सम्बन्धलाई भत्काउने प्रवृत्तिलाई रोकी कर्मचारीतन्त्रको भूमिका,चरित्र, अनुभव र सीप समाजलाई जोड्ने हो, फोड्ने होइन भन्ने मान्यताका साथ विचार प्रवाह गर्नु समेत आजको आवश्यकता हो। कुनै पनि देश सम्पन्न हुन 'डाला'भरी सम्पत्तिभन्दा भकारी भरी सु-संस्कार' हुनुपर्छ भन्ने कुरालाई निजामती सेवकले गहिरो गरी बुझ्नु आवश्यक छ।
समावेशीकरणः ५० भन्दा बढी जातिहरु बाहिरै
निजामती सेवामा समावेशीकरण नीतिको मिश्रित लाभ देखिएको छ। राजकीय पद तथा सार्वजनिक निकाय वा सेवाका अन्य अंगहरुमा जस्तै निजामती सेवाको जनशक्ति व्यवस्थापनमा पनि समावेशी सिद्धान्त अनुसार विभन्न वर्ग तथा समुदायहरुको प्रतिनिधित्व गराइ प्रतिनिधिमूलक निजामती सेवा बनाउने कार्यमा नेपालले सकारात्मक विभेद र आरक्षणको नीतिलाई अवलम्बन गरेको थियो र छ।
विगत १२/१३ वर्ष अगाडि देखि अवलम्बन गरिएको आरक्षण नीतिका समीक्षा भएका तथा सबल र दुर्बल पक्षहरुको विवेचना हुन थालेको छ। समावेशीकरणको नीतिलाई कानुनी प्रबन्ध मार्फत कार्यान्वयनको अभ्यासमा लगिएपछि निजामती सेवाभित्र साविकमा देखिएको असमावेशीतामा नतिजामूलक सुधार आएको छ। लोक सेवा आयोगले लिएका संघीय, तथा स्थानीय सरकारहरुका भर्ना र नियुक्तिहरुमा कानुनले तोकेका सबै वर्ग समुदायहरुको प्रतिनिधित्व भए गरेको पाइन्छ।
तथापी मौजुदा कानुनमा भएको व्यवस्थाले समावेशीकरण नीति र कानुनी व्यवस्थाको लाभ आर्थिक तथा सामाजिकरुपले पिछडिएको वर्ग समुदायको तल्लो समूहमा पुग्नु पर्नेमा तत् तत् समुदायको माथिल्लो आर्थिक र सामाजिक हैषियत भएकाले बढी प्राप्त गरेको अनुभव निजामती सेवामा गरिएको छ।
महिला प्रतिनिधित्व तर्फ हेर्दा अधिकांश सेवाका पदहरुमा साविकमा निजामती सेवामा रहेका घर परिवारकै सदस्यहरुले प्रतिस्पर्धा गरी अवसर प्राप्त गरेको देखिएकोले सेवाभित्र समावेशीकरण र आरक्षणको लाभको वितरणमा झन् असमनता देखिएको र त्यसले समन्यायको मूल्यमा चुनौती खडा गरेको छ।
साथै महिला बाहेक अन्य वर्ग समुदायका लागि छुट्टाइएको कोटामा तत् तत् वर्ग समुदायको उपल्लो आर्थिक र सामाजिक स्तर रहेकाले अवसरमा पहुँच पाएको तथा अझै पनि ५० भन्दा बढी जाति र सीमान्तकृत समुदायको एकजना व्यक्तिले पनि निजामती सेवामा पहुँच र प्रतिनिधित्व नभएको तितो यथार्थ हाम्रा सामु रहेको छ।
अमूकलाई नमस्कार?
कुनै कुनै निकायहरुमा निजामती सेवकका सामु डरलाग्दो समस्या भनेको कानुनले नचिनेकालाई चिन्नुपर्ने बाध्यता छ। कहिलेकाहीँ संविधान र कानुनले नचिनेको 'पर्दाभित्रको मान्छे' तथा संयन्त्रलाई कामको र सुविधाको जवाफ दिनु पर्ने अवस्था छ। त्यस्ता 'लाउके' प्रति व्यवहारिकरुपमा उत्तरदायी बन्नु पर्दा वा उसको संकेत वा आदेशमा काम गर्नुपर्दा योग्यताबाट आएको निजामती कर्मचारीहरुको विवेकशील निर्णय गर्ने कार्यमा असर परेको छ।
कार्यासम्पादनबाट राजनैतिक कार्यकारीलाई सन्तुष्ट बनाउनु पर्ने काम छोडेर यस प्रकारका व्यक्ति र संयन्त्रलाई चित्त बुझाउनु पर्ने परिपाटी लोकतन्त्र र सुशासनका लागि सुहाउने विषय होइन। यस प्रकारका विषयमा राजनैतिक कार्यकारीलाई निर्भय साथ आफ्ना सीमाहरु बताउन सक्नु आजको आवश्यकता हो।
विविध मुद्धाहरु
हिजोआज निजामती सेवामा देखिएका निम्न विषयहरुमा समेत सरोकारवालाहरुबीच गम्भीर छलफल र समीक्षा हुनु आवश्यक रहेको छ। निजामती सेवामा प्रणालीले काम गर्न छाडेको अवस्थामा यस सेवामा आध्यात्मिकता आवश्यक छ वा छैन? चुनौतीपूर्ण कार्यहरुबाट सेवकहरु मुक्त हुन सजिला कार्यालयहरुमा किन जान आउन चाहान्छन्?
किन हरेक निकाय र पदहरुमा वा टेवलैपिच्छे शासन छ भनिन्छ? राम्रा भनिने पदहरु र कार्यालयमा पदस्थापना वा सरुवा गर्दा नेताहरुको एग्रिमो माग्ने चलन राम्रो हो विकृति हो? निजामती सेवाको शाख नबढ्नुमा राजनीतिक कारण हो कि स्वयम सेवाभित्रको समस्या वा व्यवस्थापनको समस्या हो (मिस-म्यानेजमेन्ट)? जस्ता विषयमा खुला छलफल र समीक्षा गर्नु आवश्यक छ। भावि पुस्ताको आशीर्वाद लिने कि श्राप? तपाईं हाम्रै हातमा छ है!
(लेखक सहसचिव हुन्।)