हालको विश्वव्यापी माहामारीको अवस्थामा विश्वभर लगभग १०० करोड स्कुल जाने उमेरका बालबालिकहरु विगत ५ महिनादेखि घरमै छन्। यसरी घरमा रहँदा समय बिताउन होस्, मनोरन्जनका लागि होस् वा अध्य्यनका लागि होस् बालबालिकाहरु टिभी, मोबाइल, ल्यापटप, ट्याब्लेट, आइप्याड, स्मार्ट फोन, भिडियो गेम जस्ता कम्प्युटर जन्य सामाग्रीको नजिक नै रहेका छन्। यसरी बालबालिकहरुले डिजिटल सामाग्री प्रयोग गर्ने समय पहिले स्कुल जाने समयमा प्रयोग गर्नेभन्दा धेरै गुणा बढेको पाइन्छ।
अहिलेको समयमा बालबालिका खेल मैदान र चौरमा खेल्न जाने तथा आफ्नै उमेरका बालबच्चासँग खेल्ने अवस्था पनि छैन। जस्ले गर्दा बालबालिकहरु आफ्नै घरको चार पर्खाल बीचमै रमाउन, खेल्न र समय बिताउन बाध्य छन्। मनोरन्जनका लागि उनीहरु मोबाइल चलाउने, कम्प्युटर गेम खेल्ने, टिभी हेर्ने, युट्युबमा भिडिओ हेर्ने, फ्लिम हेर्ने जस्ता कार्यमा व्यस्त रहेको हरेक घरघरमा देख्न पाइन्छ।
यस बाहेक अहिले महामारीले निम्त्याएको बाध्यताले गर्दा धेरै स्कुलहरुले बैकल्पिक शिक्षा प्रणालीको प्रयोग गर्दै अनलाइन शिक्षाको बिधि अप्नाएका छन्। यसले कम्प्युटरजन्य सामाग्री र बालबालिकलाई झन् नजिक ल्याइदिएको छ र बालबालिका माझ डिजिटल सामाग्रीको प्रयोग ह्वातै बढाइदिएको छ।
यसरी अत्याधिक मात्रामा कम्प्युटरजन्य सामाग्रीको प्रयोगले हामी युवा अवस्थाका मानिसहरुमा भन्दा बालबालिकहरुमा आँखा तथा शरीरमा धेरै स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ। सन् २०५० सम्ममा विश्वका करिब ५०% मानिसहरुमा दृष्टिदोष (मायोपिया) हुने अनुसन्धानकर्ताहरुको भनाइ छ। जस्को एउटा मुख्य कारण भनेको बच्चाहरुमा बढ्दो कम्प्युटरजन्य सामाग्रीको प्रयोग पनि हो|
यही विषयलाई लिएर विश्वका धेरै दृष्टि विशेषज्ञहरुले यस लकडाउन र माहामारी पश्चात बालबालिकमा शरीर र आँखाका धेरै समस्या जस्तैः
१) दृष्टि दोष
२) कम्प्युटर भिजन सिन्ड्रोम
३) स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर आदि ह्वातै बढेर जाने कुरा उल्लेख गरेका छन् जुन हाम्रो देशको लागि पनि एक चिन्ताको विषय हो।
त्यसैले आफ्ना बालबालिकालाई कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रीन डिपेनडेन्सी डिस्अर्डर, भिडिओ गेमको लत, इन्टरनेटको लतबाट बचाउनु पर्ने आवश्यक्ता रहेको धेरै दृष्टि विशेषज्ञहरुको बुझाइ रहेको छ। र यो कुरा हरेक आमाबुवा तथा अभिवावकले पनि जान्न जरुरी छ।
आफ्नो बच्चामा कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर भएको नभएको कसरी थाहा पाउने?
तल निम्न लिखित लक्षणहरु आफ्ना बालबालिकमा देखिएमा उनीहरुलाई कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर भएको हुन सक्छ। कम्प्युटर भिजन सिन्ड्रोम भएमा युवा अवस्थाका मानिसहरुमा जस्तै बालबालिकमा पनि तल निम्न लिखित लक्षणहरु देखिन्छन्:
१) आँखा पोलेको महशुस हुने
२) टाउको दुख्ने
३) मोबाइल, कम्प्युटर चलाउदा आँखाबाट आसुँ बग्ने
४) मोबाइल, कम्प्युटर चलाएपछि धमिलो देख्ने
५) आँखा धेरै मिच्ने
६) आँखा पोल्यो भन्ने
७) निन्द्रामा कमी आउनु
८) आँखा रातो हुने
९) काँध तथा घाटी दुख्ने
१०) मोबाइल, ल्यापटप, टिभी अश्वभाविक रुपमा नजिकबाट हेर्ने,
स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर भएमा बालबालिकमा तल निम्न लिखित लक्षणहरु देखिन्छन्:
१) बाहिर खेल मैदान तथा घर आँगनमा खेल्न मन नगर्ने,
२) मोबाइल गेम बहेक अन्य काममा रुची नगर्ने,
३) मोबाइल कम्प्युटर चलाउन नपाउँदा रुने, खाना नखाने,
४) झगडा गर्ने
बालबालिकाले कति समय डिजिटल सामाग्री प्रयोग गर्दा उपयुक्त हुन्छ जस्ले गर्दा आँखा तथा शरीरमा आउने स्वास्थ्य समस्यामा कमी गर्न सकिन्छ?
अमेरिकन पेडिआट्रिक एसोसियसन तथा विशेषज्ञको कुरालाई आधार मन्ने हो भने २ वर्षभन्दा कम उमेरका बालबालिकलाई डिजिटल तथा कम्प्युटरजन्य सामाग्रीको नजिक नल्याउदा नै उपयुक्त हुन्छ| हाम्रो समाजमा २ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मोबाइल वा ल्यापटपमा गीत, बालगान (राइम्स) हरु बजाएर वा देखाएर बालबच्चा भुलाउने, खेलाउने, खाना खुवाउने चलन देख्न पाइन्छ जुन विकशील उमेरका बच्चाको स्वास्थ्यको हिसाबले उपयुक्त होइन।
यसैगरी २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकामा भने दैनिक १ देखि १:३० घण्टा डिजिटल सामाग्री प्रयोग गर्नु र त्यस्ता सामाग्रीको नजिक रहनु स्वास्थ्यका हिसाबले हानिकारक हुँदैन। त्यस बाहेक स्कुल जाने उमेरका बालबच्चामा दैनिक २-३ घण्टाभन्दा धेरै डिजिटल सामाग्री प्रयोग गर्नु आँखा स्वास्थ्यको हिसाबले राम्रो मानिदैन|
२-३ घण्टाभन्दा धेरै मोबाइलजन्य सामाग्री प्रयोग गरेमा कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर हुने सम्भावना बढेर जान्छ।
बालबालिकलाई कसरी डिजिटल सामाग्री को नकरात्मक असर बाट बचाउने?
१) सर्वप्रथम अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामाग्रीको अत्याधिक प्रयोगले आँखामा हुने नकरात्मक असरका बारेमा सम्झाउने,
२) घरमा अभिभावकले आफ्ना बालबच्चालाई अन्य सिर्जन्सिल कामहरु गर्न उत्प्रेरित गर्ने जस्तै बगैँचामा फूल रोप्ने, चित्र बनाउने, खान पकाउने,
३) आफ्ना बालबच्चालाई राति सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडिबाट मोबाइलजन्य सामाग्री प्रयोग गर्न नदिने,
४) दैनिक मनोरन्जनका लागि निश्चित समय तोकेर वा पढाइलेखाइ र अनलाइन कक्षाका लागि मात्र कम्प्युटर र डिजिटल सामाग्रीको प्रयोग गर्न दिने,
५) अभिभावकले आफ्ना बालबच्चाले मोबाइल, टिभी, कम्प्युटर सही मुद्रामा रहेर प्रयोग गरे नगरेको ख्याल गर्ने,
६) बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिक बाट मोबाइल, टिभी हेर्न नदिने, र
७) मोबाइल, टिभी, कम्प्युटर धेरै नजिकबाट हेर्ने बानी छ भने बच्चाको आँखामा दृष्टिदोष पनि हुन सक्छ जस्का लागि समयमै दृष्टिजाँच गर्नुपर्ने हुन्छ|
८) २०-२०-२० नियम सिकाउने: अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामाग्री प्रयोग गरेको हरेक २० मिनेटपछि २० सेकेन्ड जति २० फिट टाढा हेरी आँखालाई एकछिन विश्रामदिनु पर्छ भनेर सिकाउने,
९) अभिभावकले आफ्ना बालबच्चालाई मोबाइल, टिभी, कम्प्युटरहरु एकोहोरो हेर्नुहुन्न, बेलाबेलामा आँखा झिम्काउनुपर्छ भनेर सिकाउनुपर्छ। यसरी समयसमयमा विश्राम लिदैँ आँखा झिम्काउँदा आँखा पोल्ने, सुक्खा हुने, आसुँ बग्ने समस्याबाट बच्न सकिन्छ।
१०) आफ्ना बालबच्चाले चस्माको प्रयोग गर्ने गरेका छन् भने मोबाइल, टिभी, कम्प्युटरहरु प्रयोग गर्दा पनि चस्मा लगाउने बनी बसाल्ने तथा सकेसम्म चस्मामा ब्लु रे कट भएको सिसाको प्रयोग गर्ने जस्ले डिजिटल सामाग्रीबाट आउने आँखालाई हानी गर्ने ब्लु रेबाट आँखालाई जोगाउछ|
यसरी माथि उल्लेखित सुझावहरु मनन् गरी आमाबुवा तथा अभिभावकहरुले आफ्ना बालबालिकलाई डिजिटल सामाग्रीको अत्यादिक प्रयोगबाट टाढा राख्ने हो भने बालबालिकमा डिजिटल सामाग्रीले हुने नकरात्मक असर जस्तै कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रीन डिपेन्डेन्सी डिस्अर्डर, भिडिओ गेमको लत, इन्टरनेटको लत तथा सबैभन्दा महत्वपूर्ण दृष्टिदोषबाट बालबच्चालाई बचाउन सकिन्छ।
(लेखक चिकित्सा शास्त्रका विद्यार्थी हुन्।)