लकडाउनले जीवन नै लक गर्यो वा जीवन शैली नै लक पार्यो, थाहा छैन। तर, यो डाउन जीवनलाई अप पार्न म सडकमा निस्किएँ।
यी पेटीहरूमा हिँड्दै गर्दा एकाएक मलाई मेरा विज्ञान शिक्षकको याद आउँछ। केही समयअघि मेरा विज्ञानका शिक्षकले मलाई भनेका पनि थिए – 'टाइम हिल्स एभ्रिथिङ'।
उनले मलाई मेरा जीवनका आरोह–अवरोहहरू देखेर दया देखाउँदै भने वा त्यसभित्र कुनै एक शिक्षकको आफ्नै भाव थियो। त्यो उनी नै जानून्। तर, जीवनको यो उत्तरार्द्धसम्म आइपुग्दा 'टाइम हिल्स' मात्र भएन, त्यसले 'डिसापियर' पनि गराउँदै लग्यो विविध कुरालाई। जीवन सायद यही नै हो। यसले समयसँग निकै ठूलो शत्रुता गाँसेको हुनुपर्छ। त्यसैले त जीवनका विविध कालखण्डका याद यो समयले डिलिट गर्दै लग्यो।
म यतिबेला सुन्धारा तल पेटी नै पेटी हिँडिरहेको छु। म एक्लै हिँडिरहेको छैन। म सँगै हिँडिरहेका छन् मेरा याद अनि विचारका डोबहरू। मलाई अतीत सम्झेर घरी दिक्क लाग्छ त घरी मजा लाग्ने गरेको पनि छ। सायद अंग्रेजी सभ्यतामा यसलाई 'नोस्टाल्जिया' भनिन्छ। यो 'नोस्टाल्जिक' पृष्ठभूमि कताबाट उम्रियो?
किताब! यो शब्दले विगत, वर्तमान र आगतका आकृतिहरू आफूसँग बोकेको हुन्छ। किताबले यर्थाथको बोध गराउँछ। किताबले कसैको कल्पनालाई शब्दमा जीवित रूप पनि भर्छ। वा भनौं 'ब्ल्याक एन्ड ह्वाइट' टेलिभिजनबाट रंगीन चलचित्रको मजा दिन्छ। किताब आफैंमा कागजका पानाहरू होला। तर, यसका शब्दहरू सपनाहरूको विपना हो। यर्थाथहरूको बोध गराउने माध्यम हो र जीवन जिउने आधार सिकाउने साधन पनि हो।
त्यसैले घरीघरी मलाई किताबका पानाहरूमा तस्बिर नाचेको जस्तो लाग्छ। शब्द बोलेजस्तो लाग्छ र भावनाले लपेटेजस्तो लाग्छ। त्यसैले पनि किताबहरूप्रति मेरो मोह जाग्छ।
म निकै सानो छँदादेखि नै सुन्धाराका पेटीमा किताब बेच्ने मानिसको हुल हुन्थ्यो। सानोमा बाआमाले 'क्लासिक टेल्स' किनिदिए त घरी जनावरका मानवीकरण भएका कथाका पुस्तकहरू। आफू जान्ने र बुझ्ने भएपछि म आफैं फिक्सन र नन-फिक्सन किन्न थालेँ। पहिले पनि किनिन्थ्यो र अहिले पनि किनिन्छ, फरक यत्ति हो पहिले रोजाइ बाआमाका हुन्थे, अहिले आफ्ना। पहिले बाआमाका खल्ती रित्तिन्थे, अहिले आफ्नै रित्तिन्छ। पहिले ती पुस्तकालय जस्तो लाग्थ्यो भने अहिले त्यो सिँगो संग्रहालय जस्तो लाग्छ।
आज जब म लकडाउनको मध्यान्तरतिर ती पेटीमा हिँडे, त्यहाँ ती हुल थिएनन्। सायद किताबका धुलो टक्टक्याउने हातहरू यतिबेला जीवनको धुलो टक्टक्याउँदै होलान्। किताबहरू फगत कुनै कुनामा थन्किएका होलान्। हुल नभएपछि ती पेटीहरू रित्तिए। ती पेटीहरूका बौद्धिकता रित्तिए र मलाई विगतको सम्झनाले घोचिहाल्यो।
यो सुनसान सडक हो। राजधानीमा फाट्टफुट्ट गाडी चल्नुले सुनसानकै प्रतिबिम्ब झल्काउँछ। मानिसहरू हिँडिरहेका छन्। मानिससँगै हिँडिरहेका छन्, तिनका जहान पाल्ने यथार्थहरू। केही कुकुरहरू भौंतारिरहेका छन्। केही सुकेका पातहरू पेटीका ढुंगाहरूमा ठोकिन्छन् र ध्वनी पैदा गर्छन्। यसरी माहोल बनेको छ। तर, जब यी पेटी रित्तिए मेरा सोच भने भरिन थाले। किताबका पात्र र तिनका आकांक्षाहरू सल्बलाउन थाले। जब किताबको पृष्ठभूमि सुरू भयो, घन्टाघरको सुई मेरो आँखामा घुम्यो।
घन्टाघरको सुई पनि मेरा पात्र बोकेर चलिरहेको छ। तर जब घन्टाघरको सुई नै बन्द देखियो, मेरा पात्रहरू मेरेको आभास भयो। घन्टाघरको सुई रोकियो वा यो सृजनशीलताको जाममा अड्कियो, म ठ्याक्कै ठम्याउन भने सक्दिनँ। तर विगतबाट,मेरा पात्रहरूमध्येबाट कोही बोल्छ, मेरो समय हेरेरै त घन्टाघरले आफ्नो समय राखेको हो।
म थप विचारमा पुग्छु।
यो कसले भन्यो र कताबाट भन्यो? यो जापानी घडीले भन्यो र उसको मौलिकताको चर्चा पनि गर्यो सायद। जापनिज घडीले यसो भन्दै गर्दा केही थप घडीहरू रिसाएका पनि छन्। उता बूढो पेन्डुलम घडी भने तिनलाई सम्झाउनमा व्यस्त छ। बूढो पेन्डुलम घडी घरीघरी खोक्छ र अरू घडीहरूको जमघटमा बेसुरो संगीत भर्छ। मोडर्न समयका घडीहरूले उसलाई हजुरबा भन्छन्।
तर तिनले बूढो पेन्डुलमका कुरामा खास रुचि राख्दैनन् पनि। बूढो पेन्डुलम सुनाउँछ, 'हामी घडीहरूको जन्म हुनुभन्दा अगाडि मानिसहरू आकाश हेरेर समय निर्धारण गर्थे।'
यतिबेला हजुरआमाका कहानीहरू गुन्जिरहेका छन्। तर बूढो पेन्डुलमलाई छोड्नु पनि भएन। घन्टाघरको स्थापना हुनुभन्दा निकै अगाडिका सन्दर्भहरू ऊ कोट्याउन थाल्छ। उसको कुरा सुन्ने जाँगर भने यी मोडर्न घडीहरूमा छैन।
एकाएक इटालियन घडी बोल्छ, मेरो देशका हरेक घडीले मेरो समय हेरेर आफ्नो समय मिलाउँछन्। स्वीस घडीलाई छटपट भइरहेको हुँदा ऊ बोल्छ र भन्छ, म दुनियाँको सबभन्दा महँगो घडी हो।
कालान्तरबाट हरिवंश राय बच्चन भन्छन् – 'घडीयाँ तो मेहेँगी मेहेँगी पेहेन ली मेने, पर समयको ना रोक पाया।'
घडीहरू आखिर कसरी बोल्न सक्छन्? मेरा बाल्यकालमा यी घडीहरू मजासँगले बोल्थे। यिनीहरूसँग म संवाद गर्थेँ र यी पनि मसँगै रमाउँथे।
लामो समय भयो यी घडीहरूसँग मेरो भेटघाट छैन। जीवनको उकाली ओरालीमा यी कतै भेटिए भने यिनले मलाई सोध्लान् पनि, म्वाइँ खाने गालामा दारी कसरी पलायो भनेर।
म सायद त्यतिबेला निरुत्तर हुनेछु।
यी घडीहरू मेरा बाल्यकालमा मलाई बडो 'इन्जोय' गराउँथे। किताबसँगको मेरो सम्बन्ध सुरू पनि यी घडीको जमघट–कथाबाट नै भयो। यो त्यस उमेरका यादहरू हुन्, जसबेला मलाई फोनको रिसिभरबाट पनि मेरो बाले गालामा माया गर्थे। माया मात्र गर्दैन थिए, ती गालाका माया कति छिप्पिए र कति कलिलै छन् भनेर पनि भन्थे। सायद समयले यी गालाहरूलाई पनि बालाई जस्तै छिप्प्याइदियो।
किताब! कति सानो छ शब्द। तर यस सँगको मेरो मित्रता भने निकै रोमान्चक छ। सायद यो रोमान्चको मजा आज जन्मिँदै मेसेन्जर भाइबर र टेम्पल रन खेल्ने बालबालिकाले पाउँदैनन् पनि। त्यसैले पनि म आफूलाई निकै भाग्यमानी ठान्छु र मलाई किताबप्रति मोह जगाइदिने बाआमाप्रति नतमस्तक हुन्छु।
मेरो बालापनमा त्यो सानो कछुवालाई हिँड्न गाह्रो भएर स्कुल ढिलो पुग्ने समस्या पनि भएको हो।
ऊ बारम्बार म्याडमलाई भन्थी– उसकी आमाले आउने जन्मदिनमा उसलाई साइकल किनिदिने र त्यसपछि ढिलो नहुने सन्दर्भहरू।
यी तमाम कुराहरूले मलाई विद्यालय समयमा नै पुग्नुपर्छ भन्ने नियम पनि सिकायो। किताबका पानामा मैले जीवन्त कहानीहरू भेटेँ र जीवनदर्शनका नियम पनि। त्यसैले पनि यो मेरो जीवनको अभिन्न अंग बन्न पुग्यो।
म सम्झिन्छु, 'ब्ल्याक ब्युटी' का कहानीहरू। अन्ना सिविलका कहानीहरूले जब बा र मेरो मित्रतालाई थप प्रगाढ बनाउँथ्यो। ती भित्र केबल कहानी मात्र थिएनन् एउटा सम्बन्धलाई फराकिलो बनाउने बहाना पनि थिए। एक हरफ अंग्रेजी बा वाचन गर्नुहुन्थ्यो र त्यहाँ भित्र भएको मुख्य रस नेपालीमा उल्था गरेर मलाई सुनाउनु हुन्थ्यो।
'एउटा छोरो तब मात्र बाको मित्र हुनसक्छ, जब बाका जुत्ताहरू छोरालाई ठीक हुन थाल्छ' यी हरफ कतिसम्म सान्दर्भिक छन्, त्यसको मापन गर्न मैले पाइनँ र त्यो नै जीवनको सबभन्दा ठूलो हार हो।
आज जब प्रेतकल्पका पानाहरू मेरा हातमा हुन्छन्, दिमागका इन्द्रीयहरू मलाई विगतमा धकेल्ने प्रयत्न फेरि पनि गर्छन् र गोनु झाका कथाहरू तिर हुत्याइदिन्छन्। गोनु झाका रहस्यमय भुतका कहानीले मेरा शरीरका काँडाहरू जोडजोडले उमार्थे र मभित्र किताबप्रतिको थप मोह पैदा गर्थे। गोनु झाका ती कथा आज पनि मेरो मानसपटलमा उत्तिकै प्रगाढ गुञ्जिरहेका छन्।
किताबसँगको मित्रता त्यसैले पनि कोहीसँगको मित्रताभन्दा निकै भिन्न हुन्छ। किताबसँग लोभ हुँदैन, रिस हुँदैन र राग पनि हुँदैन। त्यसैले पनि यो सम्बन्ध कुनै 'बेस्टेस्ट' साथीसँगको भन्दा पनि माथि हुन्छ।
यतिबेला जब म यो चित्र कोरिरहेको छु, मसँग बाल्यकाल मेरो हातमा छैन। समयले यो बाल्यकाल खोसेर निकै पर पुर्याइदिएको छ। तर, मसँग केही डिलिट नभएका याद पक्कै छन्। यी याद मैले 'इम्पोर्टेन्ट फाइल' बनाएर मेरो दिल-दिमागमा 'लक' गरेर राखेको छु।
'ए समय, तँलाई हक छैन मेरा यी यादहरू डिलिट गर्ने किनभने यसमा विगत, वर्तमान र भविष्यका आकृतिहरू छन्।'
मलाई लाग्छ, किताब एक सुरमा बगिरहन्छ। जो किताबसँग त्यही सुरमा बग्न सक्दैन, ऊ बगरमा पनि पुग्न निकै कठिन छ।
बाल्यकालमा मात्र हैन, म आज पनि किताबहरूसँग उत्तिकै रमाउँछु। मेरा मित्र, आफन्त र दाइहरू मलाई प्रश्न गर्छन्– यति मोटो र ठुलो किताब तिमी दुई रातमा कसरी पढिसक्छौ?
मसँग केबल एउटै उत्तर छ– किताब एउटा नदी हो, जसमा कहीँ छाल आउँछ र यो ढुंगासँग ठोक्किन्छ। कहीँ घुम्ती आउँछ र पहाडसँगै यसले पनि दिशा फेर्छ। हामी पनि यो सँगै कहिले छाल बन्नुपर्छ। कहिले घुम्तीमा सुन्दर दृश्यहरू हेरेर रमाउँदै घुम्नु पनि पर्छ। यसरी यो यात्रामा मजा लिएर हामी अबिरल बगी रह्यौं भने, यसले बगरमा त पुर्याउँछ नै। र त्यसरी नै त्यो विशाल यात्रा निकै रमाइलो र सहज भइदिन्छ।
त्यसैले म भन्छु, हरेक किताब एउटा यात्रा हो। चाहे त्यो लियो टाल्सटायको 'अन्ना क्यारिनिना' होस्, नारायण ढकालको 'प्रेतकल्प' होस्, मार्क ट्वेनको 'टम सयर' होस् या बुद्धिसागरको 'फिरफिरे'।
म किताबिया पनि हुँ या फगत किताबिया मात्र? मलाई थाहा छैन। तर म बिया थिएँ मनुष्य जातको र ममा किताबको मल जल सानै देखि लगाइयो। अन्ततः किताबिया भएँ। सायद त्यसैले पनि यी किताबको मोहले मेरा औंला आफैं चलिरहेछन् र भावना पोखिरहेछन्।
'फिरफिरे'का पानामा यात्रा गर्दै गर्दा पवन र बसन्त आफ्नै साथीझैं लाग्नु मेरो निम्ति निकै सुखद आश्चर्य हो। म डुबिरहेँ, ती पानामा र परिवेशलाई भोगेँ। दिक्क लाग्थ्यो, जब म महसुस गर्थेँ कि मेरा बसन्त र पवनजस्ता कोही साथी भएनन्, जोसँग ती रुखमा चढेर पिसाब फेर्न सक्थेँ। तर, यी पात्रसँगै म बगर डुलेँ। पहाडमा उकाली–ओराली गरेँ र तिनैलाई साथी र कल्पनालाई वास्तिविकता मान्दै म अबिरल चलिरहेँ।
'पैताला' पढ्दै गर्दा मेरा पठनका पैतालाहरू कतिबेला अघि बढे र किताब सकियो, पत्तो पाइनँ। पैतालाका घटनालाई मैले सायद आफ्नै वास्तविकता मानेँ र पात्रहरूलाई मेरा अभिन्न यारहरू। जोस्मणिसँगै म पनि रारा पुगेँ। वालेटका चिठीहरू सायद मैले आफ्नै हातमा समाएर पढेँ। जोगी धारण केबल जोस्मणिले मात्र हैन पाल्पाका डाँडाहरूमा मैले पनि गरेको हुँ। मैले जनकपुरको होटलमा बसेर स्त्रीकाको कुरा सुन्न पनि भ्याएको छु। मलाई लाग्छ, सारिका मेरी पनि हो र संसर्गका स्वादहरू मैले पनि चाखेको छु। यसरी पैतालाको पात्र बनेँ म र मेरो मित्र बन्यो जोस्मणि।
'टम'का चकचक र स्याउका किस्साहरू मानसपटल घुम्दै गर्दा मेरा दाँतहरूबाट पनि आवाज आयो। सायद टमसँगै उसको स्याउ मैले पनि चाखेँ। लुकेर टमकी हजुरआमाको भान्साबाट मैले पनि चोरेको हुँ जाम र खाएको हुँ बडो स्वाद लिएर। मार्कले मबारे लेख्न छुटाए वा मलाई मात्र लाग्यो म त्यहाँ भएको, मलाई थाहा छैन। तर, मार्क कतै भेटिए भने म सोध्ने छु त्यो जामको निकै मिठो फ्लेवर।
'प्रेतकल्प'का पानाहरूलाई मैले इतिहास चिहाउने आँखी झयाल मानेँ। खालिद हुसेनीको 'काइट रनर'ले जस्तै यिनले पनि मेरा मस्तिष्कमा इतिहासका धर्का तानिरहे। हजुरबाले सुनाएको कथा मेरो कानमा कसैले सुटुक्क बोलेको जस्तै लाग्यो। प्रेतकल्पमा सय वर्ष अघिको नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएँ र फगत प्रफुल्ल भइरहेँ। ती पात्रहरू अविरल रूपमा अघि बढे र तीसँगै वास्तविकताको कहानी बनाउँदै म पनि अघि बढेँ।
सायद, किताब भनेको नै साथी बनाउने माध्यम हो। कल्पनालाई वास्तविकता देखाउने ऐना।
किताबको प्रेमको किस्सा सुनाउँदै गर्दा मलाई नयाँ कथाले बोलाउँदै छ। यत्ति भन्छु, यसरी बाल्यकालदेखि मेरा अभिन्न यार भइदिए यी किताबहरू र जीवनका हरेक मोडमा यिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहे।
यद्यपि, सुन्धाराका पेटीहरूले किताबको निकै लामो चर्चामा होम्याइदियो। 'नोस्टालजिया'मा धकेलिदियो र बाल्यकाललाई फेरि एकपटक मेरो अघिल्तिर उभ्याइदियो। घन्टाघरको सुई फेरि छिट्टै चलोस् र यसले समयका हरेक तरङ्गहरूमा जीवन हालोस्।
उता मलाई हारुकी मुराकामीले बोलाउँदै छन्, उनको 'काफ्का अन द सोर' को यात्रा गराउन।
ठीक यति नै बेला म सुन्धाराबाट पैदलै पैदल हिँडेर चाबहिल आइसकेको छु। घरको ढोका भर्खरै खोलेँ र तपाईंहरूसँगको संवाद यहीँ टुङ्ग्याउने अनुमति मागेँ।