नमस्कार, म डुन्डुले।
तीन वर्ष अघि, बिएस्सी फरेष्ट्रि पढ्दै गर्दा साथी महेशले न्वारन गरिदिएको, मेरो नाम 'डुन्डुले'। आज डुन्डुलेको निन्द्रा छिटो खुल्यो। करिब बिहानको ५ बजे। रातिदेखि परिरहेको साउने झरी त्यो बेलासम्म पनि रोकिने छाँटकाँटमा थिएन।
गोरखा बजारमा निकै भारी वर्षा भएको रहेछ क्यारे, त्यो रात। रानिवनबाट हाम्रो टोल, बराहा तिर बग्ने सानो खोल्सीको आवाज पनि मेरो कोठा भित्रैसम्म सुनिएको थियो। खासै धेरै फोन नआउने मेरो मोबाइल, त्यो दिन भने एकाबिहानै बज्यो।
ओछ्यानबाटै फोन उठाए। घर नजिकैको भाइको फोन आएको रहेछ। 'यहाँ धाराको ट्याङ्की नजिकै चराको बच्चा भेटियो', उत्साहित हुँदै, छिटो आउनु भन्दै थियो, शंकर भाइ।
म पनि हतार हतार मुख नधोई, क्यामरा लिएर, धारा तिर दगुरेँ। त्यहाँ पुग्दा, शंकर चरा हेरेर बसिरहेको रहेछ। खोइ कता छ भन्दै, हेर्दै जादाँ, झरीले निथ्रुकै भिजेको, उढ्न नसक्ने अवस्थामा, झाडी भित्र थियो, गोलो टाउको भएको, सानो, र्छिविके खैरो रङ्गको, उल्लु।
यसो हेर्दा, तीन वर्षअघि म लगायत साथीहरूले वन क्याम्पसमा उद्धार गरेको स्ट्रिगीडे परिवारको ठूलो डुन्डुलको बच्चा जस्तो लाग्यो। तर पछि नियालेर हेर्दा, उड्ने पखेटा हल्का कैलो रङ्गको देखेर, ठूलो डुन्डुल नभएर स्ट्रिगीडे परिवारकै अर्को प्रजाति, डुन्डुल जस्तो लाग्यो।
नेपालका ८८६ प्रजातिका चराहरु मध्ये २३ प्रजाति स्ट्रिगीडेर्फमिस् वर्गमा पर्ने लाटोकोसेरो/उल्लु/हुचिलहरू हुन्। स्ट्रिगीडे परिवारको भने २१ प्रजातिका उल्लुहरु नेपालमा भेटिन्छन्।
ठूलो डुन्डुल हो वा डुन्डुल, यही अन्योलता बीच सन् २०१७ को लाटोकोसेरो महोत्सवमा चराविद् तथा वर्डस् अफ नेपालकी लेखिका क्यारोल इन्स्किपसँगको संवाद सम्झिएँ। उनी भन्थिन्- लाटोकोसेरो/उल्लु/हुचिलहरू एकआपसमा यिनीहरूका शरीरमा हुने साना-साना धर्साहरूको भिन्नताले छुट्याउन सकिन्छ।
तर पानीमा रूझेको कारण यो उल्लुको शरीरका धर्साहरू स्पष्ट रूपमा देखिएको थिएन। झिस्मिसे उज्यालो पूर्णउज्यालो तिर लम्कदै गर्दा, गोरखा–बराहाबासीहरू बिहान धारामा नुहाउने, पानी भर्न आउने तर्खर गर्दै थिए।
झरीले निथ्रुकै भिजेको, उढ्न नसक्ने उल्लुको बच्चा, कुनै साहारा बिना यत्तिकै दिनभर छाड्दा खतरामा पर्छ कि भन्ने लाग्यो। धारा नजिकैको शंकरको घरबाट वाइवाई चाउचाउको कार्टुन ल्याउन लगाएँ। उल्लुलाई सुरक्षित कार्टुन भित्र राखेँ र आफ्नो घर लिएर गएँ।
मैले उल्लुको रक्षार्थ यसलाई घर लिएर गएको जानकारी डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेललाई तुरून्तै गराइ हालेँ।
घर पुगेर केही मिनेट इलेक्ट्रिक हिटरको तापमा राखे पछि उल्लु टाठो भइ कोठा भित्र केही हल्का हिड्डुल गर्न थाल्यो। पानी र कुखुराको मासु, सानो टुक्रा गरेर खुवाएपछि उल्लु झनै सक्रिय भइ २ मिटर माथि पर्दाको डण्डीमा गएर रुखमा झैँ बस्यो।
सुरु-सुरुमा हाम्रो उपस्थितिले डराउने उल्लु, विस्तारै हामीसँग घुलमिल हुँदै, सुकिलो हुँदै गएको थियो। तालुमा स्पष्ट थोप्लाहरु र ठाडा धर्कापूर्ण कोखा देख्दा, सुरुमा अनुमान लगाएको ठूलो डुन्डुल र डुन्डुल दुवै नभइ, किशोर अवस्थाको सानो डुन्डुल हो कि भन्ने लाग्यो। यसलाई थप पुष्टि गर्न, वर्डस् अफ नेपाल फिल्ड गाइड बुकमा भएको वयस्क सानो डुन्डुलको चित्रसँग पटक-पटक दाजेँ।
तर किताबमा किशोर अवस्थाको सानो डुन्डुलको चित्र नभएकोले ओरिएन्टल वर्ड क्लबको वेबसाइटमा भएको किशोर अवस्थाको सानो डुन्डुलको फोटोहरूसँग दाजेर हेरेँ। र किशोर अवस्थाको सानो डुन्डुल नै भएको निष्कर्ष निकालेँ।
हुन त, यसको शरीरको लम्बाइ नापेर पनि कुन प्रजातिको उल्लु हो भनेर थाहा पाउन सकिन्छ। यद्यपि लम्बाइ नाप्ने स्ट्याण्डर यन्त्र (भरनियर क्यालिपर) उपलब्ध नभएको कारणले, यो विधि अप्नाउन सकिनँ। वयस्क सानो डुन्डुलको शरीरको लम्बाइ १७ सेन्टि मिटर हुने गर्छ।
हामी तब अत्यन्त खुसी भयौँ, जब किशोर सानो डुन्डुलले दिउँसोको करिब १ बजे मेरो कोठा भित्रै बिष्ट्यायो। यसबाट किसोर सानो डुन्डुलको पाचन कृया राम्रो र स्वस्थ रहेको अनुमान लगाउन सकिन्छ।
दिनभर यसको स्यहार गर्दा, उ हामीसँग सहजै बसिरहेको थियो। हामीमा पनि किशोर सानो डुन्डुल प्रति आत्मियता बढ्दै गईराखेको थियो। शंकर भाइ त, अझै केही दिन यसलाई पालौ भन्दै थियो। यसलाई मन पर्ने फट्याङ्ग्रा समेत खोजेर ल्याउन उसले भ्यायो।
एक मन मलाई पनि शंकर भाइलाई जस्तै लागि राखेको थियो। तर वन्यजन्तु वास्तवमा वनमै रमाउछन्, हामीले यिनीहरूलाई यिनीहरूकै वासस्थानमा देख्दा आनन्दित हुनुपर्छ भनेपछि, शंकर भाइले केही बुझे जस्तो गर्यो।
शंकर भाइ, गोरखा क्याम्पसमा स्नातक पढ्दै गरेको विद्यार्थी हो र बारपाकमा अध्यापन गर्दै आएको गणित शिक्षक पनि। शंकर भाइलाई यो बारे कानुनी प्रावधान बुझाउन सकेँ भने भाइले आफ्नो साथीहरू तथा विद्यार्थीहरूलाई सचेत गराउन सक्छ भन्ने लाग्यो। त्यसैले दराजमा थन्किएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन ऐन, २०७६ खोजेर पल्टाउन थालेँ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफाहरू र वन ऐन, २०७६ को दफा ४९ (त) र दफा ५० को उपदफा ११ पढेर सुनाएँ। यति सुनिसकेपछि, शंकर भाइले यसरी बिना अनुमति वन्यजन्तु पाल्नु, अखेटोपहार ओसारपसार गर्नु, दुःख दिनु तथा बेचबिखन गर्नु गैरकानुनी रहेछ भन्ने बुझ्यो।
सानो डुन्डुल साइटिजको एपेन्डिक्स २ मा पर्छ। यसको अन्तर्राष्ट्रिय व्यापार गर्न पनि अनुमति चाहिन्छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० र दफा २१ को उपदफा १(ख) पनि पढेर बुझाएँ।
त्यसपछि शंकर भाइ दंग पर्दै, 'ए...., त्यसैले पो अघि यसलाई ल्याउने बित्तिकै डिभिजन वन कार्यालय गोरखालाई जानकारी गराउनु भएको!’ भन्दै थियो।
यति बुझिसकेपछि साँझ ठिक ७ बजे शंकर भाइ र म, किशोर सानो डुन्डुललाई फेरि त्यहीँ वाइवाई चाउचाउको कार्टुनमा राखेर धारा तर्फ लग्यौँ।
लाटोकोसेरो बिहान–साँझ सक्रिय हुने गर्छन्। किशोर सानो डुन्डुल पनि साँझ धारामा पुग्ने वित्तिकै थप चनाखो हुँदै, आवाज निकाल्न थाल्यो। शंकर भाइ छक्क त तब पर्यो, जब बिहान उल्लु भेटेको ठाउँनिरको लाकुरीको रुखबाट पनि ठ्याक्कै त्यही आवाज आयो।
सानो डुन्डुल, कुर्थके र लाँहाचे जस्ता चराहरुले रूखमा बनाएको प्वालमा गुँड बनाइ बस्ने गर्छन्। धारा नजिकको त्यो लाकुरीको रूखको सुकेका हाँगाहरूमा पनि चराहरुले बनाएको त्यस्ता थुप्रै प्वालहरु थिए। किशोर सानो डुन्डुलको आफ्नो घर थियो सायद ती प्वालहरू, उ फेरि त्यही आवाज निकाल्दै हामीभन्दा करिब २ मिटर पर र्भुर्र उढेर गयो।
शंकर भाइ भने आफ्नो आँखाले देखेसम्म किसोर सानो डुन्डुललाई हेरिरह्यो।
(लेखक वन विज्ञानमा स्नातक र चरा अनुसन्धानकर्ता हुन्।)