बन्दाबन्दीको पहिलो दिन चैत्र ११, २०७६।
कोभिड-१९ भाइरसको विश्वव्यापी महामारीको प्रभाव नेपालमा पनि परिसकेको छ। मानिसबाट सर्ने भएकाले भीडभाडमा जान नहुने, स्वास्थ्य सुरक्षाका लागि माक्स, पन्जा, सेनिटाइजरको प्रयोग तथा नियमित सरसफाई र शारीरिक व्यायम गर्नुपर्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउने खानपानमा जोड दिनुपर्ने भन्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ।
साँझ परे जस्तै चारैतिर डर र आशंकाले घेरा हालिरहेको भान भइरहेको छ। विमानस्थल मानिसहरुको अत्यधिक भीडभाड हुने स्थल भएकाले भाइरसको सङ्क्रमणको उच्च जोखिम भएको र आफू विमानस्थलकै कर्मचारी, त्यो पनि आगमन कक्षाकै भएकाले मन डाराउन थालेको छ, मुटुको ढडकन बढ्न थालेको छ।
राज्यले बन्दबन्दीको घोषणासँगै विदेशी नागरिकहरु विषेश गरेर कोभिडको सङ्क्रमित देशहरुको नागरिक तथा त्यस्ता देशहरुमा बस्ने नेपाली नागरिकहरुलाई समेत केही समयका लागि प्रतिबन्ध लगाइसकेको छ। हिज मेरो रात्रीकालीन ड्युटी थियो। सिल्क एयरलाइन्स सिङ्गापुरबाट बेलुकी ८:३० तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो।
नागरिक आगमनको प्रतिबन्धका कारण विमानको डोर ओपन नगरी यात्रुहरुलाई विमानभित्रै राखियो। सबै यात्रुहरु नेपाली नै थिए। आगमन प्रतिबन्धको नियम अनुसार ती यात्रुहरुलाई सोही गन्तव्यमा फर्काउनुपर्ने अवस्था भयो। यस्तो महा-विपत्तिमा बल्लतल्ला बाँच्नका लागि, सुरक्षित हुनका लागि आफ्नो देश आइपुगेका यी यात्रुहरु कुनै हालतमा पनि फर्कनेवाला थिएनन्।
उनीहरुलाई लिन आएका आफन्त, घरपरिवारहरु विमानस्थलको परिसरमा कुरेर बसिरहेका थिए। अवतरण गरेको करिब २ घण्टा बढी भयो। सबै उडानहरुको आगमन कक्षाको कामहरु सकिन साथै कार्यलय समय पनि पूरा भयो। सहयोगी भाइ र बहिनीले हामी घर जान्छौँ भनेपछि उनीहरुलाई पठाएर म बसेँ। यसपछि मैले सिल्क एयरको स्टाफलाई छोड्ने सम्भावना के कस्तो छ भनेर सोधेँ। स्टाफले त्यस्तो सम्भावना देखिएको छैन भन्यो।
मलाई यस प्रतिबन्ध अपराधिक कार्य रोक्न नभइ रोगबाट सुरक्षित गराउनका निमित्त बनाइएको अनिश्चित कालीन अस्थायी नियाम भएकाले छाड्छ नै होला भन्ने लागेको छ। अर्कोतिर फर्काउँदा पनि यी नेपाली यात्रुहरु रोगबाट सुरक्षित हुने अवस्था छैन, उल्टै सरकारको कमजोरी देखिन्छ। त्यसैले छाड्नु नै उत्तम विकल्प तथा मानवीय सुकार्य होला भन्ने लागेको छ।
दुई ढाई घण्टाको धैर्यतापछि यात्रुहरु विमानभित्रै आन्दोलित हुन पुगे। उनीहरुलाई लिन आउने आफन्त, घरपरिवारहरु पनि विमानस्थल परिसरमा नाराबाजी गर्न थाले। उनीहरुको ती आफन्त, घरपरिवारहरु यतिसम्म आक्रोशित भए कि विमानस्थलको भौतिक संरचना तथा नेपाल प्रहरीमाथि नै आक्रमण गर्न पुगे।
प्रहरीले संयमित तथा शान्तिपूर्ण ढङ्गले उनीहरुलाई सम्झाइ बुझाइ गरे। अन्तमा यात्रुहरुलाई अवतरण हुन अनुमति भयो। यात्रुहरु केही आक्रोश र बढी खुसीको अनुहार लिएर आगमन कक्षामा आइपुगे। आगमन कक्षामा भन्सार जाँच तथा लगेज प्राप्ती हुने भएकाले उनीहरु यहाँ केही समय रहे। म यहीँको कर्मचारी भएकाले उनीहरुसँग मेरो भेट भयो।
लामो धैर्यतापछि अवतरण हुन सफल हुनुभयो भनी मैले सहानुभूति र आफ्नो औपचरिकता व्यक्त गरेँ। उनीहरुले फर्किएर हामीकहाँ जाने, कहाँ बस्ने, के खाने, आफ्नो देशले नहेरे कसले हेर्छ भन्दै आक्रोश बल्झाउला जस्तो गरे। म पहिले नै उनीहरुसँग सावधान भइसकेको थिएँ।
मैले उनीहरुको समसया र आक्रोशमाथि हरेक पटक विनम्र भएर निवेदकीय रुपमा सहानुभूति व्यक्त गरिरहेँ। दुई तीन जना बङ्गलादेशमा मेडिकल (डाक्टर) पढेर आएका रहेछन्। उनीहरु नेपालमा बन्दाबन्दी घोषणा नभई हिँडेका रहेछन्। सिङ्गापुर आइपुग्दा यता नेपालमा लकडाउन सुरु भएछ। यसरी हेर्दा, उनीहरुलाई अवतरण हुन दिनु नै न्याय भएको देखियो।
लकडाउनको आवश्यकता भए पनि दुई दिनपछि तुरुन्तै लागू हुनु व्यावहारिक देखिएन। इन्डियमा सात दिनपछि मात्र लागू हुने गरी लकडाउन घोषणा गरेको छ। यसले गर्दा बाटामा कोही पनि अलपत्र हुन पाएन भन्दै मैले उनीहरुको पक्ष लागेर कुरा गरेँ। यस कुराले उनीहरु शान्त र सकारात्मक हुन पुगे।
मैले आफ्नो लगेजहरु राम्ररी पहिचान गरेर लिनुहोला। भोलिदेखि विमानस्थल पूर्ण रुपमा बन्द हुँदैछ भनेँ। उनीहरुले आ-आफ्नो लगेज लिएर प्रस्थान गरे। काम सकिएकाले म पनि निस्किएँ। बाहिरको प्रतिक्षलय परिसरमा उनीहरु आफन्तहरुसँग खुसी साटिरहेको थिए। भनौं, अब कोभिडसँग सुरक्षित हुने भइयो, अब बाँचियो भनेर रमाइरहेका थिए।
काम सकाएर रातको १२ बजेतिर कोठामा आएँ। केही सङ्क्रमित पो आए कि, वा भाइरस सर्यो कि भन्ने त्रास पनि सँगै आएछ। निदाउनलाई निकै समय लाग्यो। मेरो विमानस्थल नजिकको बसाइ भएकाले ड्यटी मेनेजरले भोलि (लकडाउनको पहिलो दिन) एक पटक कार्यलय जानु भनी हिजै साझतिर निर्देशन गरेका थिए।
दस बज्न लाग्दा आज पनि फोन गरेर दोहोर्याउनु भयो। मलाई जहिलै २१ घण्टा भीडभाड हुने विमानस्थलको सुनसान रुप हेर्ने कौतुहल पनि थियो। खाना खाएर विमानस्थलतिर लागेँ। सडक पूरै खाली छ। सवारी साधन केही छैन। सर्वसाधरण एक जना पनि देखिँदैन। प्रहरीहरु मात्र देखिन्छन्।
यस्ता अवस्था देखेर कस्तो यस्तो लकडाउनमा पनि कार्यलय पठाएको भन्दै मेरो मन हाकिम विरोधी हुन पुग्यो। खाली सडक पार गरेर म गोल्डेन गेटमा ड्युटीमा खटिएका प्रहरी साथीहरुसँग टाढैबाट बोल्दै गेटभित्र पुगेँ। विमानस्थल जाने सडक, विमानस्थलको पार्किङ सबै सुनसान छ। कोभिडको खास त्रास त लकडाउनको यस्तो परिवेशले पो ममाथि ह्वात्तै बढायो।
बाटाभरि रुखहरु हरिया पातहरु हल्लाउँदै उभिरहेका छन्। सधैं मलाई त्यही रुखहरु प्रिय लाग्थ्यो तर आज ती रुखहरुसँग पनि डर लाग्यो। कतै यी पातहरुबाट कोभिड भाइरस झर्ने त होइन भनेर शङ्का लाग्यो। मानिस एक्लो भएपछि आत्तिदो रहेछ, झनै डराइँदोरहेछ। म अत्यन्त सावधानीपूर्वक विमानस्थल पुगेँ।
सधैं मानिसको भीडभाड हुने विमानस्थल सबैतिर सुनसान र रित्तो छ। मेरो डरको डिग्री अझ बढ्यो। विमानस्थल परिसरमा चल्ने हावा सधैं मलाई शीतल लाग्थ्यो तर आज हावासँग पनि डर लाग्यो। हावामा पनि भाइरस मिसिएर सुस्ताइरहेको जस्तो लाग्यो। विभिन्न जातका फुलिरहेका फूलहरुको बासना सधैं मलाई प्रिय लाग्थ्यो तर आज ती फूलहरुसँग पनि शङ्का लाग्यो, म विकर्षित हुन पुगेँ।
विमानस्थलका भवनहरु चुपचाप देखिन्थ्यो। भवनमाथिको टावर पनि म जस्तै डराइरहेको छ कि जस्तो लाग्यो। वातावरण सुनसान र स्तब्ध थियो तर भाइरसहरु पो चारैतिर लुकेर ससानो आवाजमा बोलिरहेको जस्तो भान भयो। डर ह्वात्त ह्वात्त बढिरह्यो। चारैतिर हेर पातलो छरिएर खटिरहेका प्रहरीहरुबाहेक अरु कोही, केही देखिएन।
सधैं प्रहरी साथीहरुसँग गफगाफ, ख्यालठट्टा तथा रमाइलो गरिन्थ्यो तर आज उनीहरुसँग पनि डर लाग्यो। म कसैसँग नबोली कार्यलयको मूल ढोकातिर गएँ। ढोका हातले नछोई पिठ्युले ठेलेर खोलेर पसेँ। सबै युनिटहरु (शाखा) बन्द थिए। कर्मचारीहरु कोही थिएन। यसपछि कार्यलयमा पसेर ड्युटी मनेजरलाई टेलिफोन गरेर कोही नआएको जानकारी गराएँ।
कार्यलयमा रहुन्जेल म कुनै कुर्सीमा बसिनँ। टेलिफोन गरेर हातमा फेरि सेनिटाइजर दलें। जे हेर्छु त्यही भाइरस छ कि जस्तो हुन्छ। एक्लै भएकाले होला यसरी मन झनै ग्रसित बन्न पुगेको। त्यहाँ एकैछिन बस्न सकिनँ बाहिर निस्कएँ। बाहिर पातलो भएर (सामाजिक दूरी कायम गरेर) बसिरहेका प्रहरी साथीहरुसँग टाढैबाट बोलेँ। विमानस्थल खुलेपछि भेटौंला भन्दै टाढैबाट बिदा भएर म फर्किएँ।
डरले ग्रसित मेरो मनमा अनौठो अनुभुति भयो– कस्तो अचम्मको दिन आयो आफ्नै साथीहरुसँग डराउनुपर्ने! डराइरहेको मेरो मन सबैतिर रित्तो देखेर बिरक्त भयो। म गोल्डेन गेट कटेर फेरि सडकमा आइपुगें। खाली सडकको दृश्य दोहोरियो। मनमा डर, त्रास, दोधार, शङ्का उर्लियो। मानिस, गाडी र घरहरुको जङ्गल यस काठमाडौंको यस्तो दृश्यले पृथ्वीमा ठुलै अनिष्ट आउन लाग्यो कि के हो! सारा मानिस सखापै हुन्छ कि के हो जस्तो भयो।
सडकपारि कटेँ। मनमा कोभिड भाइरसले पो पिछा गरिरहेको छकी जस्तो भयो फर्केर हेरेँ। सब सुनसान थियो। यसपछि फटाफट कोठातिर लागेँ।
(नोटः अप्रकाशित लकडाउन डायरीबाट।)