म कोठाबाट चिया पिउँदै यहाँ बाहिर एक मजदूर दाजुले कसैको घर बनाउने तयारीमा नजिकै इँट्टा थुपारेर टहरो बनाउँदै गरेको नियालिरहेको छु।
केही दिनअगाडि सत्ताले तिनै दाजुको पसिनाको मूल्य सोसेर २० अर्बको त ‘चिया’ मात्रै खायो रे भन्ने सुनेको थिएँ। निरन्तर पसिना चुहाउँदै मेहेनत गरिरहेका दाजुका शरीरबाट तप्प तप्प चियाका थोपा खसिरहेको देखें। उसैगरी गणतन्त्रको स्वर्णमहलको द्वारबाट बाफिलो चियाको थोपा सत्ताको ट्रेमाथि सुन्दर कपमा बसेर नविन गणराज्यका नयाँ महाराजहरूको भाइभारदारको सभामा स्वाद थपिरहेको छ।
हुन त यस्ता बेतुकका कुरा यस समयमा गर्दा तपाईंहरूलाई बोरिङ फिल हुनसक्छ तर तपाईंलाई मन नपर्ने थुप्रै कुरा यो दुनियाँमा छन् र भइरहने छन्। अझै सम्झिनुस् वा सकेसम्म व्यवहारिक रूपमै प्रयोग गर्नुस् त, एक कप चिया तपाईंको अगाडि छ, जसमा गरिब मान्छेको पसिना परेको कुरा तपाईंलाई थाहा हुन्छ। के तपाईं पिउन सक्नुहुन्छ?
गाह्रो पो हुन्छ त हो!
तर शासकहरू सक्छन्। अझै भनौं न रगत घोलेर खानु ज्यादा स्वादिलो ठान्दछन् उनीहरू। तैट! साला शासकहरू! यति सुन्दर चियालाई यस्तो कुरूप बनाउन सक्छन् वा कमसेकम कसैलाई यति कुरूप प्रस्तुतिको लागि बाध्य बनाउँछन्।
के अचेल तपाईंले सर्वहारा भनिनेहरूका चेहेरामा ध्यान दिएर हेर्नुभएको छ?
हेर्नुस्, सत्तालिप्साको लोभले खुरापाति गफ हाँक्न मिडिया चहार्दै हिँड्ने कमरेडहरूका गाला अचेल छ्यास्छ्यास्ती बजारमा उपलब्ध छन्। कतै नभए तिनिहरू आफ्नै प्रायोजित मिडियामा भए पनि आइपुग्छन्। निर्लज्ज तपाईंसँग थोपा थोपा रगतको बलिदानी मागेर चियामा घोलेर पिउँछन्। त्यतिकै यति पोटिला गाला हुँदैनन् साथी।
उनीहरूका गालामात्रै त पोटिला भएका होइनन्, दिमागी सतहको परिवर्तनकारी भनिएको स्नायुकोसिकाहरू समेत परिवर्तनकारी बनेका छन्। दु:ख र पीडाका गीतमा सारंगी रेट्न लगाएर नाचेका जुर्जुर युवाको आवेगमा घोडा चढेर सत्ता उक्लेपछि कमरेडहरू तिनै दु:खका स्वरहरू दरबार छिर्न खोजे भने घोक्रेठ्याक लगाउन अर्को निरिह मानव ढाललाई प्रयोग गरिदिन्छन्।
त्यसो गर्नु उसको केवल दुई छाकको जोहो मात्रै हो। यसरी परिवर्तनकारी भनिएकाहरू दु:खलाई परिवर्तन गरिदिने कान बोकेर, टल्किने छाला बोकेर "इदर उदर" गरेको हाम्रो गाउँको त्यो योद्धाले ऊ बेला देख्दो हो त या त टेडो आँखो चिम्लेर ड्याम्म कमरेडकै छातीमा हानिदिँदो हो, या त राम्ररी पढेर लोक सेवा गर्ने कर्मचारी भई आज कमरेडकै सत्ताको नाफा घाटाको हिसाब राखीदिँदो हो। नभए पक्कै बेलैमा खाडीबाट फर्केर सानोतिनो गुजरा गरिरहेकै हुँदो हो।
विडम्बना, आफैंलाई पसिना र आँसुको रसले मुछेर बुढ्यौलीमा जिन्दगीको पापड बेल्दै छ, खाडी मुलुकमा।
यसरी कुरा गर्दागर्दै बहकिने मेरो बानीले पाठकलाई परेको दु:खप्रति माफी माग्न चाहन्छु।
तपाईंलाई मैले लेखिरहेको कुरामा असाध्यै बोरिङ फिल भइरहेको छ भने एक कप आफ्नै मेहेनतको चिया, कफी वा बेसार-पानी बनाएर खान सक्नुहुन्छ। के थाहा त्यतिन्जेल मैले राम्रै कुरा पो लेख्न थालेको हुन्छु कि?
जे होस् मैले यति सोचिसक्दा त्यो सुरूआतमा मैले नियालिरहेको दाजुले आफू बस्ने टहरोलाई लगभग आकार दिइसक्नु भएको छ।
अब दाजु लामो समय यहाँ बसेर यौटा घर बनाइदिनुहुनेछ, कसैको लागि। यसो गर्दा उहाँको घर पनि बनिरहेको हुनेछ। साँच्चि मजदुरहरू जति पवित्र र प्यारा कोही हुँदैनन् हगि?
तर यिनकै नाममा राजनीति गर्नेहरू जति निकृष्ट पनि कोही हुँदो रहेनछ भन्ने कुरा मैले नै भन्नु पर्ने बाध्यता पाठकले पार्नुहुनेछैन।
ठीक यति बेला मोबाइलमा एउटा समाचार पढिरहेको छु- “रोबोटले लेखेको पहिलो लेख: मान्छेहरू मसँग डराउनु पर्दैन"।
यो लेख पढेपछि एउटा ढुक्कको श्वास फेरेको छु। कति सानदार तरिकाले उसले भनेको छ कि मान्छेहरू जस्तो जातपातमा र भेदभावमा म विश्वास पनि गर्दिनँ र फरक व्यवहार पनि गर्ने छैन भनेर। एकछिनको शान्ति न हो। तर वास्तविकता त कुनै सूत्रप्रकृया (एल्गोरिदम्स) ले उसलाई भनेकै होला कि मान्छेको कानलाई राम्रो हुने कुरा मात्रै लेखिदिनु भनेर।
मान्छे कसरी विश्वस्त छ कि यसरी उसको मनमा पवित्र विचारहरू मात्रै आउने छन् भनेर? सम्भाव्यता त हाम्रो दुनियाँमा राम्रोभन्दा नराम्रोको सधैं धेरै छ हैन र?
नराम्रो भन्दा राम्रो गर्ने बाटो साँघुरो हुन्छ हैन र? यसर्थ नराम्रो नै सोच्ने सम्भावना पनि बढी नै हुन्छ नि। अर्थात् श्रृंखलाबद्ध सूत्रहरूले बनाइएको मानवीय मान्यताहरूको साँघुरो बाटो हिँड्ने झन्झटिलो काम चेतना भएको मानवबाहेक कुनै अरु प्राणीले वा मेसिनले गर्ला।
यसर्थ या त त्यस मेसिनले आफैंले बुझेर लेखेको भनिएको तथ्य गलत हो या त उसले गरेको ईमान्दार दाबी गलत हो।
हुन त उसले नितान्त आफ्नो औकातको कुरा गरिरहेको हो, भविष्यमा मानवको बौद्धिक संसर्गबाट जन्मिने आफ्ना नयाँ पुस्ताको कुरा उसले गरिरहेको छैन।
यसो भनिरहँदा दाजुले मैलो सुरूवालमा हात पुछ्दै हुनुहुन्छ। चट्ट पाकेटबाट सेतो चुरोट निकालेर प्याट्ट लाइटर कोरेर क्या खाउँखाउँ गरी तान्नु भयो।
अँ साँच्चि तपाईं पनि चुरोटको पारखी हो भने मैले तपाईंको आनन्दलाई यो पट्यारलाग्दो लेखको साथी बनाउनुस् भनिरहन नपर्ला।
अब यसपछि बल्ल केही गुदी कुरा गरौं। आरामले बसेर सोच्नुहोस् त विस्तारै यी दाजुजस्ता अरबौं मानिसहरूले गरिरहेको नित्य रोजिरोटी या जीवनयापनका अधिकांश हिस्सा त्यो अघि ईमान्दार बन्ने कोशिसमा लेख लेखिरहेको फुच्चे रोबोटका अघिल्ला पुस्ताहरूले नै गर्न थालेका छन्।
अब खाली तिनको प्रजनन् र फैलावटमात्र बाँकी हो। मान्छेले गर्ने धेरै कामहरूमा उनीहरूको दक्षता र क्षमता अजेय रूपमा स्थापित भइसकेको छ भने, पुँजीवादी विश्वले निरन्तर सहवास गरेर प्रजननलाई पनि बढावा दिएकै छ।
गनगन र मानिसको संवेदनाबाट मुक्त भएका दक्ष, दत्तचित्त र कम सुविधापेक्षी त्यस्ता यन्त्रहरूले यस्ता करोडौं दाजुहरूको चलिरहेको धन्दा चौपट गर्दै छन्।
यस्तो दिशामा बढिरहेको विश्व परिदृश्यमा हामीले भोगिरहेको नित्य राष्ट्रिय राजनीतिको कुन हिस्साले सोचिरहेको होला?
म लेखलाई टुङ्ग्याउने कोशिसमा छु। तपाईं दिमाग चलाउँदै गर्नुस्। खास गुदी कुरो भनेर थोरै मात्र विषय उठान गरें तपाईंलाई बेक्कारमा तलतल मात्र बढाइदिएको पनि हुनसक्छु, बेतुकका गफमा झुलाई दिएको मात्र पनि हुनसक्छु वा केही पनि नभएको हुनसक्छ।
खाली मैले एकछिनको समय लिएँ तपाईंले मलाई गाली गर्दै आनन्द लिन सक्नुहुन्छ। तपाईं हालसम्म यति स्वतन्त्रता उपयोग गर्न स्वतन्त्र हुनुहुन्छ भन्ने तपाईंको सतही बुझाइ सतही रूपमा सही नै छ।
बाँकी कतै फेरि फेरि भेट्दै गरौंला।
नमस्कार