कार्तिकको अन्तिम साता, शरद ऋतुले बिदाइको तयारी गर्दै गर्दा जाडोले विस्तारै आफ्नो गति बढाउदै थियो। त्यसमाथि मर्स्याङ्दीको किनारबाट आउने चिसो हावाले हेमन्तको आगमनलाई थप प्रोत्साहन दिएझैँ लाग्थ्यो। प्रकृतिको यो बदलाव नियाल्दै म बिहानको कक्षाको लागि तयार भएँ।
७ बज्न अझै ५ मिनेट बाँकी भएकाले होला म कक्षाकोठा पुगिसक्दा विद्यार्थीहरु आउने क्रम जारी नै थियो। नियमितझैँ कक्षा सुरु भयो। मैले कोठाभरि आँखा डुलाएँ तर मैले खोजेको हँसिलो मुहार आजपनि अनुपस्थित थियो। बेलाबेला आखा गेटतिर पुग्थे तर अन्तिमसम्म कुर्दा पनि उनी आइनन्।
अब भने मेरो धैर्यताले सीमा नाघिसकेको थियो। उनको घर नजिकैका साथीलाई सोधेँ, 'मुना (नाम परिबर्तन) खै त? आज पनि आइनन् त के भयो रे उनलाई?' उताबाट जावफ आयो,'मिस उसको जहिल्यै भैसीलाई घाँस काट्नुपर्छ त्यसैले बिहान आउन भ्याउदिन रे।' मैले जवाफ त पाए तर एउटा उत्तरसँग जोडिएर मेरो दिमागमा कयौँ प्रश्नहरु आए जुन सबै विद्यार्थीसामु सोध्नु उचित लागेन। मैले कल्पनासम्म गरेको थिइनँ उनले मलाई कहिलेकाही बोतलमा ल्याइदिने गरेको दुधको मूल्य उनलाई यति भारी पर्छ भनेर।
मलाई म विद्यालय गएको दोस्रो दिन याद आयो, त्यतिबेला राम्रोसँग परिचय पनि भएको थिएन तर एकजना सर फोटोकपि गरिएको पानामा हेरेर केही अंक सुनाउदै हुनु हुन्थ्यो।'२, १५, ८, १३, ६, ११, २४…….'
एकछिन त म अलमल्ल परेँ।
'हैन के सुनाउदै हुनु हुन्छ सरले?'
पछि थाहा भयो सरले अन्तिम परीक्षामा विद्यार्थीले गणितमा ल्याएको अंक सुनाउनु भएको रहेछ। सर भन्दै हुनु हुन्थ्यो, 'यस्तो छ विद्यार्थीको हालत,के पढेछन् खै वर्षभरि।'
उहाँले कुन मनसायले त्यो कुरा सुनाउनु भयो, मैले सबै त बुझिनँ तर सामान्यभन्दा ठूलो स्वोरले भनिएको २, १५ ८ १३… मेरो दिमागमा कैले नमेटिने गरी छापीसकेको थियो।
वास्तवमै विद्यार्थीको गणित कमजोर थियो। त्यसमध्येमा एक थिइन् मुना पनि। एक त गणित आफैमा गाह्रो विषय, त्यसमाथि विद्यार्थीको गणितप्रतिको डरले यसलाई अझै जटिल बनाएको थियो। त्यो डर हटाउन अनि त्यो समस्या समाधान गर्न कसरी सकिन्छ भन्ने विषयमा म र मेरो को-फेलोले धेरै छलफल अनि खोज गर्यौँ। यसै क्रममा हामीले अतिरिक्त कक्षा राख्ने निर्णय लियौ।
यसबीच धेरै सुनियो, 'सर/मिसलेहरुले मात्र मिहेनत गरेर के होला र खै सरकारी स्कुलका विद्यार्थी पढ्नै मन गर्दैनन्।'
जेसुकै भएपनि कक्षा सुरु भयो।
ग्रामीण भेगको आर्थिक अवस्था बुझिसकेकाले विद्यार्थीको सिकाइलाई आर्थिक समस्याले नरोकोस् भनेर निशुल्क बिहान र बेलुकाको कक्षाको रुटिन तयार भयो। तैपनि अघिल्लो दिन भित्र भित्रै कतै डर भने थियो। 'यति गर्दा पनि विद्यार्थीले रुचि नदेखाउने पो हुन् कि!’ सरकारी स्कुलका विद्यार्थीहरु पढ्नै मन गर्दैनन् भन्ने मानसिकताले मलाई कतै कतै कमजोर बनाएको थियो।
भोलिपल्ट बिहान ७ बजे कक्षामा जाँदा म चकित भएँ। कक्षामा भरिभराउ विद्यार्थीको उपस्थिति थियो। सरकारी स्कुलका विद्यार्थीहरु पढ्नै मन गर्दैनन् भन्ने मानसिकतालाई त्यो उपस्थितिले जरैदेखि हल्लाईदियो। मन एक हिसाबले खुसी भयो। अब मैले सकेको ग़र्छु। दुई वर्ष सामदायिक विद्यालय सुधार गर्न लम्केका मेरा कदममा थप उर्जा आयो। एक दुई हप्ता गर्दा गर्दै १ महिना बित्दै थियो। सबै रमाएर सिकाइलाई जारी राखेकै थिएँ।
कहिलेकाहीँ म जान ढिला हुँदा उनीहरु ७ बजे नै मेरो ढोका ढक्ढकाउन आईपुग्थे। कसैको घरको सबै काम भ्याएर आउन पर्थ्यो, कोही घन्टौ हिडेर आउथे। अझ कसैको खाने टुंगो समेत हुँदैनथ्यो। तैपनि उपस्थिति राम्रो थियो।
बिहानको कक्षामा उनीहरु गार्हो लाग्ने पाठ दोहोर्याएर अभ्यास गर्थे। सिकाउने सँगसँगै म उनीहरुको हौसला बढाउने काम गर्थेँ। आफ्ना अनुभव सुनाउने क्रम मा म भन्थेँ, '६ कक्षासम्म त मलाई पनि गणित खुब गाह्रो लाग्थ्यो| कति चोटी त् फेल पनि भएको छु। तर ७ कक्षादेखि भने प्र्याक्टिस बढाउदै गए। अलि अलि बुझ्न थालेपछि सहज लाग्दै गयो। पछि त गणित मेरो बेस्ट विषय भयो। गणितको होमवर्क नगरी त घर गएर खाजा पनि खान मन लाग्दैनथ्यो।'
कसैको अनुहार आशावादी देखिन्थ्यो, आफूले पनि मेहेनत गरे राम्रो गर्न सकिनेमा भने कोही भन्थे, 'मिस जति प्र्याक्टिस गरे पनि फेल भइन्छ अनि गर्ने मन नै लाग्दैन।'
'जति भनेको कति?' म प्रतिप्रश्न गर्थेँ।
उताबाट जवाफ आउथ्यो, 'मिस यसपालि मैले ४ ओटा कपि भरिसकेँ।’
यस्तै रमाइलो सँगै सिकाइ अगाडि बढ्थ्यो।
कोही विद्यार्थी थिए जसलाई जति सम्झाउदा पनि सकिएन तर धेरै यस्ता थिए जसलाई साँच्चै पढ्न मन थियो।
विद्यार्थीको मेहेनातले प्रथम त्रैमासिक परीक्षाको नतिजा राम्रै आयो। तर अझै उनीहरुमा गणितका सामान्य ज्ञानकै कमि थियो। सरहरूले भनेका कुरा बारम्बार पाइला पाइलामा याद आउथ्यो, 'मिस, विद्यार्थीको बेस एकदम कमजोर छ।'
मैले पनि त्यो कुरा अनुभव गरिसकेको थिएँ। त्यसैले मैले उनीहरुलाई गणितका सामान्य कुरा या भनौँ बेसबाट सिकाउने विचार गरेँ। पहिलो परीक्षाको नतिजा आएको केही समयपछि फेरि अतिरिक्त कक्षा सुरु भयो। हामीले सामान्य जोड घटाउबाट सुरु गर्यौँ। प्लस माइनसका सामान्य नियम जान्दै गर्दा विद्यार्थीको हौसला पनि बढ्दै थियो। उनीहरुको बोलीमा नै परिवर्तन महशुस गर्न सकिन्थ्यो, 'मिस हिसाब नमिल्दा मात्र हो, गर्न आयो भने गणित खुब रमाइलो हुन्छ।'
मलाई बिहानको कक्षामा कोही अनुपस्थित नहुन् जस्तो लाग्थ्यो किनकी जग बलियो नभइ घर बलियो बनाउने कल्पना कसरी गर्नु! कक्षामा प्लस माइनस चलिरहँदा एकाएक मुनाको भने कक्षामा माइनस भएको दिन प्लस भैरहेको थियो। मैले थाह नै पाउने गरी गयल भएको यो दोस्रो हप्ताको दोश्रो दिन थियो।
उनका साथीहरुबाट सामान्य जानकारी पाएपनि मलाई उसँगै कुरा गर्नु थियो। विद्यालयमा शिक्षकको दरबन्दी फेरबदल हुने क्रम जारी भएकाले मैले केही समय स्वास्थ तथा सारीरिक कक्षा पनि हेरिदिएको थिएँ। शारीरिक कक्षाको पालोमा विद्यार्थीहरु खेलमा मस्त हुन्थे। म भने उनीहरुसँग नजिकिन यस्तै समयको फाइदा लिन्थेँ।
आज भने मलाई जस्सरी पनि मुनासँग कुरा गर्नु थियो। उ र म चौरको एउटा कुनामा बसेर कुरा गर्न थाल्यौँ। सामान्य गफगाफबाट सुरु भएको हाम्रो कुरा उ बिहानको कक्षामा नआउनु को कारणमा पुग्यो। उनका साथीले भनेझै उनले बिहान बिहान भैसीलाई घास काट्नु पर्ने बाध्यताले पढ्न आउन नपाएको सुनाइन्। पढ्न नआएर घास काट्न जानुपर्ने बाध्यता बीचको यथार्थ बुझ्नु थियो मलाई।
मैले घुमाउरो पारामा सोधेँ, 'घरमा को-को हुनु हुन्छ नि?'
'आमा, बुवा, दिदी र म। दाइ भाउजु चै बेसीसहर बस्नु हुन्छ।'
'आमा बुबा के गर्नु हुन्छ नि? उहाँहरुले घास काट्न भ्याउनुहुन्न र?'
उनले भनौ कि नभनौ जसरी टाउको भित्ता तिर फर्काइन्। सधैँ हँसिलो देखेको उसको अनुहारमा बादल लागेको थियो। मेरो अन्तिम प्रश्नको जवाफ उनलाई यति भारि हुन्छ भन्ने मैले कल्पनै गरिनँ। मलाई साह्रै ग्लानी भयो। परिस्थितिलाई सहज बनाउन म नै बोलेँ, 'ठिक छ, तिमीलाई सहज लाग्दैन भने पछि भन्दा पनि हुन्छ।'
उनले खै के सोचिन् कुन्नि आँखाभरि आँसु पारेर बोलिन्, 'मिस मेरो बुबा हुनु हुन्न, आमा भाइ-बहिनीलाई लिएर मामाघरमै बस्नु हुन्छ। यहाँ त म ठूलाबा ठूलीआमासँग बस्ने हो।' त्यसपछि उ फेरि रोक्कि। मैले सकेसम्म उसलाई सहज महशुस गराउने कोशिस गरेँ।
आँखाबाट आँसुका धारा बगाउदै उनले मनभरिका धेरै बह पोखिन्। उनका आँखाबाट बगेका आँसुमा मैले मेरा सबै प्रश्नका उत्तर पाइसकेको थिएँ। अब सोध्न बाँकी केही रहेन।
समस्या ठूलै थियो तर समस्या छ भन्दैमा म उनलाई त्यसै छोड्न सक्दिनथेँ। मलाई जसरी हुन्छ उनी बिहानको कक्षामा माइनस हुने दिन जेरो पार्नु थियो।
मैले उनलाई उनकै कक्षाका साथीहरुको उदाहरण दिएर सम्झाउने कोशिस गरेँ जसले यस्तै समस्याबीच पनि आफ्नो सिकाइलाई समय मिलाएका थिए।
बिराज (नाम परिबर्तन), जो आमा बितिसकेको अनि बुबाको मानसिक सन्तुलन ठिक नभएकाले काकीसँग बसेको थियो। उ पनि त डेढ घन्टाको बाटो हिडेर बिहानै आइपुग्थ्यो। अर्को रमा र गीता (नाम परिबर्तन) पनि छन् जसले घरको कामको पालो मिलाएर पढ्न आउथे। मिलाउने भनेको समय हो।
'उनीहरुका पनि तिम्रा जस्तै समस्या छन् तैपनि सकेसम्म मिलाएर आएका छन्। तिम्रो पनि केही गरी मिल्छ कि?' मैले आशावादी हुँदै सोधेँ।
उनले केही सोचेझै गरी भनिन्, 'खै मिस, काम त गर्नै पर्यो।' बिहानको सट्टा स्कुलबाट गएर घाँस काट्न भ्याउछौ त?' मैले आस मारिसकेको थिइनँ।
'मिस अब दिन छोटो हुन लागि सक्यो तैपनि म प्रयास गर्छु।'
उनको अन्तिम वाक्यले मलाई केही राहत दियो।
घन्टी बज्ने समय हुनै लागेको थियो। हामी आँसुले कट्काटीएका आँखा लिएर अरु विद्यार्थीको हुलमा मिसियौ।
भोलिपल्टको बिहान भने मेरा लागि सामान्यभन्दा फरक थियो। होस्टेलबाट काक्षा नपुग्दासम्म मेरो दिमाग मुना आउने हो को हैन भन्ने दुविधाले भरिएको थियो।
कक्षा पुग्दा हसिलो अनुहारसहित उनलाई तेस्रो बेन्चमा देखेर मेरो खुसीको सीमा नै रहेन। मलाई ठूलै युद्ध जिते जस्तै भयो।
तर मेरो खुसी धेरै दिन टिकेन। उनलाई केही दिनपछि नै फेरि अर्को समस्या आइपर्यो। उनले १० कक्षामा पढ्दै गरेकी दिदीलाई खाना ल्याइदिनु पर्ने भयो जसले गर्दा उनी फेरि बिहानको कक्षामा आउन नपाउने भइन्। तर यो पाली उनी आफै म कहाँ आएर 'के गर्न सकिन्छ मिस?' भन्दा म एकछिन आफै अलमल्ल परेँ।
यो समस्याको पनि समाधान त थियो तर त्यो त्यती सहज थिएन। तैपनि उनी तयार भइन्। उनी फेरि बिहानको कक्षा आउने भइन् थप जिम्मेवारीका बाबजुत। उनले ८ बजे पढ्न आउदा घरको काम भ्याएर खान बनाईवरि दिदीको र आफ्नो लागि खाना लिएर आउने भइन्। एत्तिका काम सकेर ४५ मिनेटको बाटो हिडेर ८ बझ्दा स्कुल आइसक्नु सहज भने पक्कै थिएन। तर यसबीच एउटा यस्तो कुरा थियो जसले उसलाई यो सब गर्न प्रेरित गरेको थियो, उनलाई पढ्न मन थियो।
'पढ़न मन नै गर्दैनन् यहाँका केटकेटीहरु' बाट 'म आउछु नि मिस जसरी नि सिक्छु, पढ़छु, मलाई पढ़न मन छ' सम्मको यात्रा केबल सात आठ महिनामै सम्भव भयो। तर मुनाको कथा त एउटा प्रतिनिधि कथा मात्र हो। उ यस्ता धेरै विद्यार्थी मध्यको एक पात्र हो जसलाई पढ्न मन छ तर उसका समस्या नै नबुझी हामी सजिलै भनिदिन्छौँ, यसलाई पढ्नै मन छैन।
मुनाजस्तै धेरै विद्यार्थी अहिले दूर दराज़मा आफ्ना दिनदिनका समस्यासँगै अहिलेको विश्वभर फैलीरहेको कोरोना महामारीसँग जुद्धै छन्। अवस्था सामान्य हुँदा त अनेकन बाधा आइपर्ने मूना जस्ता विद्यार्थीको पढ्ने मन त अहिले पनि छ होला। तर माध्यम के कति छ हामीसँग?
पढ्ने मन नमरोस् भनेर हामी टिच फर नेपालका प्रज्ञार्थी पनि फोन, रेडियो कार्यक्रम, विभिन्न अतिरिक्त क्रियाकलाप गरेर यो माहामारीबीच पनि उनीहरुको सिकाइ सहजीकरण गर्ने प्रयास गरिरहेका छौँ। तर मैले पहिलो साल पढ़ाईरहेका करिब १०० हाराहारी मध्य धेरै जनासँग किप्याड फोन छ। टावर आउन डाँडामा उक्लिनुपर्ने उनीहरुको विवशताबीच सिकाउने त के धेरैको हालखबरसम्म थाहा पाउन सकिएको छैन।
सयौँ विद्यार्थीमध्य यता उता गरेर १५- २० जनासम्म पुग्दा एक मनले खुसी नै भए पनि बाँकी ८० जनाको हालखबरसम्म थाहा पाउन नसक्दा कुन शिक्षक खुसी हुन सक्छ र?
पढ्न पाउने आश मनमा पाल्दा पाल्दै कति मुनाहरु घाँसको भारिमै हराउने हो टुंगो छैन।
यस्तो विषम् परिस्थितिमा शिक्षामा छुट्टाइएको बजेट थोरै नै भए पनि आवश्यकता अनुसार प्रयोग हुन सके धेरै काम हुन सक्थ्यो कि! शिक्षा शाखाहरुले ग्रामीण भेगका विद्यार्थीको सिकाइ सहजीकरणमा प्रविधिको पहुँच पुर्याउने अभियान छिट्टै सुरु गर्न सके धेरैको आशाको दियो निभ्न पाउदैनथ्यो।
साँच्चै यो अन्योल समयमा मलाई त्यो दिनको प्रतिक्षा छ जुन दिन मुनाले घर बसेरै 'मिस हाम्रो गाउँमा नि इन्टरनेट आयो नि! ल भन्नुस् आज के सिक्दै छौँ हामी?’ भन्दै गर्दा म यता मख्ख पर्नेछु।