बेला-बेला लामखुट्टेहरु कुनातिर कानेखुसी गर्दैछन कि जस्तो मात्र सुनिन्छ। हातमा मोबाइल, मोबाइलमा १९% चार्ज, स्कृनको देब्रे सिरानमा हेर्दा समय करिब १ बज्नै आँटेको देखिन्छ। बेला-बेला घाँटी सुकेजस्तो हुने, उठेर पानी पिउँछु। पिसाब च्यापेजस्तो हुने, ट्वाइलेट छिर्छु फेरि पुनः मोबाइलको स्क्रिन रगेटिरहन्छु, रगेटिरहन्छु।
'कोरोना! कोरोना! कोरोना!' यो शब्दले मेरो दैनिक क्रियाकलापमा भयंकर नै उतारचढाव ल्याएको छ। आज मात्रै होइन, लकडाउन सुरु भएको झन्डै ६ महिना पुग्नै लाग्दा हरेक दिनजसो निन्द्रासँग मेरो सम्बन्ध बद्लिन थालेको भान भएको छ। १० बज्न नपाउँदै गहिरो निन्द्रामा डुबिसक्ने म, आजभोलि निन्द्राले मलाई बिर्सियो या मैले निन्द्रालाई बिर्सिएँ, भेउ पाउन सकिरहेकै छैन।
बेला बखतमा अड्कल पनि लगाउने गर्छु, कति लागोस् नाथे निन्द्रा पनि, दिनरात सुतेको जस्तै त हो। न बाहिर निस्किन पाउनु छ न कुनै काम नै गर्नु छ। खायो, लम्पसार परिराख्यो। दिनरात कोठामा एक्लै थुनिरहँदा मनमा अनेकौं कुरा खेल्दै बडेमानका प्रश्नचिह्न खडा भैराख्ने। आफ्नै प्रश्नका उत्तर आफ्नै मनभित्र खोज्दै टोलाउँदो रहेछु पनि।
धन्न फोन छ र, साथीको संज्ञा भैदिएको छ। यही पनि नहुँदो हो त खै समय कसरी बित्थ्यो! मोबाइलले मनभित्र उठेका प्रश्नहरुको जवाफ दिन्छ भन्ने त होइन तर केही न केही हेरेर, पढेर वा सुनेर मन भुलाउन सजिलो पार्दो रहेछ।
निन्द्राः कोरोना भाइरसको महामारिले निम्त्याएको लकडाउन अगाडिको परिपेक्षमै हेर्ने हो भने परिवारका सदस्यहरुभरिमै धेरै म नै सुत्थे। र त कोही मलाई `पाटे अल्छी´ भन्नुहुन्थ्यो त कोहीले `यस्ले केही गरेर खाँदैन´ भन्ने गर्नुहुन्थ्यो। मानौँ कि मेरो गहिरो निन्द्रा मेरो लागि बडो आनन्दको भएपनि परिवारको लागि झिझोको विषय थियो।
तर आजभोलि मान्छे उही छु, केबल परिस्थितिले २ घण्टा निदाउन पनि मुस्किल बनाएको छ। त्यो झिझोको विषय थियो, यो चिन्ताको विषय बन्छकी भन्ने अर्को चिन्ताको विषय पैदा भएको छ।
यत्रो महामारिले आतंकित त बनाएकै थियो त, यस्ले डरलाग्दो मनोसामाजिक समस्या निम्त्याउने खतरा पनि उत्तिकै छ। फुर्सदिलो हुँदा मनमा अनेकौं कुरा खेल्नु स्वाभाविक हो। कतिपय कुराहरुले धेरै नै नकारात्मकतातिर धकल्ने र फलस्वरूप आत्महत्यासम्म पुगेका अनगिन्ती उदाहरणहरु हाम्रै समाजमा देख्दै आइरहेका छौँ। अझ लकडाउनमा त आत्महत्या गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको देखिन्छ।
मनोसामाजिक असर आफूमा पनि देखिएको हो कि भनेर त नभनिहालौँ तर केही प्रभाव परेको भने पक्कै हो भन्ने बुझेर पछिल्लो समय आफूलाई व्यस्त राख्न डिजिटल प्लेटफर्म मार्फत अन्लाइन वेबिनारहरु नियमित रुपमै लिने गरेको छु। कतिपय युवा सशक्तिकरणमा आधारित हुन्छन त कतिपय मानसिक स्वास्थ्यसँग सम्बन्धित भने अर्कोतिर आफ्नो पेशागत रुपमा मिटिङ र वेबिनार त हुनेनै भैहाले।
गत हप्ता मात्रै मानसिक स्वास्थ्य सम्बन्धी एउटा वेबिनारका कतिपय कुराहरु ठ्याक्कै_ठ्याक्कै मिल्थे। ट्रेनर कपिल शर्मा हुनुहुन्थ्यो। उहाँ वेबिनारमा उपस्तिथि सबैलाई मानसिक स्वास्थ्यको महत्त्व बुझाउन तल्लीन हुनुहुन्थ्यो। उहाँकै शब्दहरु सापटी लिने हो भनेपनि उहाँ भन्नुहुन्थ्यो 'हामी टाउको दुख्यो भने कसैलाई नसोधी कति छिट्टै सिटामोल किनेर खान भ्याइहाल्छौँ, घाँटी दुख्यो भने एन्टिबायोटिक (एजिथ्रोमाइसिन) सम्म किनेर खान भ्याउछौँ तर मन दुखे कहाँ जाने र के खाने कसैलाई थाहा छैन!’
मैले पनि के तात्पर्यता बुझेँ भने, हामीले जति हलुका रुपमा लिन्छौँ मानसिक स्वास्थ्यलाई, त्यति हलुका हैन रहेछ है भन्ने भयो। तर यस्को गहिराई बुझ्न पनि अति आवश्यक नै देखियो।
अँ साँच्ची, म निन्द्राको कुरामै छु। निन्द्रासँग मानसिक स्वास्थ्य जेलिएर बसेको छ। तपाई रुन हाँस्न मज्जाले पाउनुहुन्छ तर यी कुराले भोक र निन्द्रालाई कहीँ कतै छोएकै हुँदो रहेछ। जब हामी निदाउदैनौँ अनेकौं कुरा सोच्न थाल्छौँ, आफ्नो दैनिकी त यसैले फेरबदल पारिदिएको छ नै तर त्योभन्दा ठूलो समस्या मानसिक स्वास्थ्यसँग जोडिन पुग्दो रहेछ।
यो महामारीले नकारात्मक स्ट्रेस पैदा गराएको छ। दैनिक रुपमा ह्वात्तै-ह्वात्तै बढिरहेको मृत्यु हुनेको संख्या र नयाँ सङ्क्रमितको सङ्ख्याका दिनहुँ अपडेटले पनि विकराल परिस्थितितिर धकेल्दै छ, खैर केही छैन। मेरो दृढ संकल्प र आत्मविश्वासले त्यो स्ट्रेस ओझेलमा छ भनेर छाती फुलाएर भन्न त भन्छु तर मनमा डर/त्रास रुमलिरहन्छ।
अहिलेको सन्त्रास, छुटकाराको बाटो र त्यसपछिका चुनौतीहरुमै सोचाई घुमिरहन्छ। कोरोना भाइरसबाट भरसक छिटो उन्मुक्ति पाउन सकौँ। म र मेरो निद्राको सामिप्यता बढ्दै जावस्। जीवन फेरि उही गतिमा रम्नेछ।