विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब विगत ६ महिनादेखि मुलुकको जनजीवन कष्टकर रहेको छ। बजार पसल शिक्षण संस्था उद्योग कलकारखाना लगायत सम्पूर्ण आर्थिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलाप लगभग प्रायः ठप्प रहेको छ।
यस्तो अन्योल ग्रस्त परिस्थितिमा दैनिक गुजारा कसरी गर्ने भन्ने चुनौती सँगसँगै अभिभावकलाई बालबालिकाको भविष्यसँग जोडिएको शैक्षिक संस्था बन्द हुँदा अर्को समस्या थपिएको छ। भौतिक पूर्वाधारको दृष्टिले सम्पन्न मानिएको सहरी क्षेत्रमा इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा संचालन भएतापनि कतिपय अभिभावक सन्तुष्ट देखिदैनन्।
अर्कोतर्फ ग्रामीण इलाकाका बालबालिका भने पूर्णतया शिक्षाबाट बन्चित भएको अवस्था छ। मोबाइलको टावर समेत टिप्न हम्मे हम्मे पर्ने स्थानमा अनलाइन कक्षाको परिकल्पना, ल्हासाको सुन जस्तै बनेको छ।
केही गाउँपालिकाले स्थानीय रेडियो मार्फत कक्षा संचालन गरिरहेका छन्। यद्यपि विद्यार्थीहरुको सक्रिय सहभागिता गराउन सकेको पाइदैन। कोरोना कहर साम्य भएपछि बालबालिकालाई विद्यालय तथा सिकाइ प्रति आकर्षित गर्न सकिएला कि नसकिएला? भन्ने अभिभावकमा एक किसिमको डर सृजना भएको पाइन्छ। वास्तवमा अभिभावकमा मात्र नभई सम्पूर्ण सरोकारवालाले यस विषयमा आवस्यक ध्यान दिन जरुरी देखिन्छ।
किनकी अहिलेको समयमा बालबालिका बिहान उठेदेखि बेलुकी नसुतेसम्म मोबाइल र टेलिभिजनमा व्यस्त देखिन्छन् भने गाउँघर तिरको बालबालिका घरायसी काममा अल्मलिएका छन्। विद्यालय जान नपर्ने भएपछि उनीहरुले किताब कापीकलम थन्काएर राखेका छन्। अभिभावकले पनि आफ्नो बालबच्चालाई पढाइ प्रति उत्प्रेरित गर्न सकिरहेका छैनन्।
मुलुकमा चैत्र ११ गतेबाट भएको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि बालबालिका अभिभावकको साथमा २४ घन्टा रहँदा उनीहरुमा मनोवैज्ञानिक रुपमा नकारात्मक असर देखिन थालेको छ। बालबालिकामा अटेरी तथा जिद्दीपना वृद्धि हुनका साथै कतिपय बालबालिका बन्दाबन्दीकै समयमा गलत कार्यको शिकार भएका छन्।
विद्यालय जान नपर्ने, गृहकार्य पनि गर्न नपर्ने भएपछि यतिबेला बालबालिका रिटायर्ड लाइफ कटाइ रहेको झैँ भान हुन्छ। फुर्सदको समयमा बालबालिकालाई सृजनात्मक कार्यमा अग्रसर गराउन नसक्दा बालबिझ्याइमा वृद्धि भएको अभिभावक तथा शिक्षकको गुनासो रहेको पाइन्छ। चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता बालबिझ्याइ बालबालिकाले अपराधिक क्रियाकलापको परिणाम बोध गर्न नसक्दा हुने गरेको छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २ को 'ञ' मा १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका सम्झनु पर्छ भनी उल्लेख गरेको छ। यसभन्दा अगाडि बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ वर्षसम्मका उमेर समूहलाई बालबालिका मानेको थियो। नेपालको वर्तमान कानुनले १० वर्षमुनिका बालबालिकालाई अपराधिक दायित्व बोध गराउँदैन।
यानकी उनीहरुले गरेको अपराध कसुर मानिदैन। १० देखि १४ वर्षसम्मका बालबालिकाले बालबिझ्याइ गरेमा ६ महिनादेखि १ वर्षसम्म सजाय हुन सक्दछ। त्यसैगरी १४ देखि १६ वर्ष उमेर समूहको बालबालिकालाई तोकिएको कसुरको आधा सजाय गरिन्छ भने १६-१८ वर्ष उमेर समूहको बालबलिकाको हकमा तोकिएको सजायको दुई तिहाई सजाय गर्ने प्राबधान रहेको छ।
आफ्नो बालबालिकालाई भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, बनाउने सपना सबै अभिभावकको हुन्छ। तर उनीहरुको क्रियाकलापको प्रत्यक्ष रेखदेख गर्न नसक्दा बालबालिका गलत दिशातिर उन्मुख हुन्छन्। यिनै साना साना त्रुटी र कमजोरीका कारण अभिभावकको सपनामा तुसारापात हुने गर्दछ।
के गर्ने?
लकडाउनलाई बालबालिकाको सृजनशील समयको रुपमा सदुपयोग गर्न अभिभावकले विशेष भूमिका निर्बाह गर्नु पर्दछ। बालबालिका स्वभावैले चञ्चल हुने गर्दछन्। उनीहरुको उत्सुकताले हाम्रो दैनिक कार्यमा प्रभाव पार्दछ। फलस्वरूप उनीहरुलाई बदमासीको बिल्ला दिइ गाली गलोज गर्ने हप्काउने गर्दछौँ।
वास्तवमा उनीहरुको यही चञ्चल र उत्सुक स्वभावले नयाँ ज्ञान हासिल गरिरहेको कुरा हामी बुझ्न सक्दैनौँ अथवा बुझ्न चाहदैनौँ। बालबालिकालाई आफ्नो उपस्थितिमा उसलाई मन लागेको कार्य गर्न दिनुहोस्। गित गाउन, नाच्न, खेल्न, चित्र कोर्न, बालकथा पढ्न, लेख्न स्वतन्त्र छोडिदिनुस। यस्ता कार्यले उनीहरुको काल्पनिक तथा सृजनशील क्षमताको विकास भइ भविष्यमा कर्मयोगी बन्न सहयोग पुग्दछ।
बालबालिकाको चौतर्फी विकासका निमित्त अभिभावक उनीहरुसँग सहकर्मी बनी सहकार्य गर्न सक्नु पर्दछ। बालबच्चासँगै बसेर खेल्ने, नाच्ने, गाउने र उनीहरु सँगै बसेर पढ्ने बानीको विकास गरेमा उनीहरुमा अभिभावक प्रति सकारात्मक प्रभाव पर्दछ। फलस्वरूप आफ्नो अभिभावक प्रति खुलेर आफ्ना कुरा राख्न सक्दछन्।
बालबालिकालाई पढ्न लेख्न बस भन्नुभन्दा तपाई आफैं उनीहरुसँग पढ्न बस्नुहोस्। बालबालिकाले नजानेमा कराउने, हप्काउने, पिट्ने कदापि गर्नु हुँदैन। यसले उनीहरुमा पढाइ प्रति वितृष्णा बढेर जान्छ। सम्झनुस् कि तपाई उनीहरुलाई पढाउन हैन, उनीहरुसँगै पढ्न बस्नु भएको छ।
बालबालिकालाई एउटा डायरी किनेर दैनिकी लेख्न उत्प्रेरित गर्नुहोस्। जसले गर्दा उनीहरुको लेखन सीपमा शुद्धता ल्याउनका साथै मौलिक अभिव्यक्तिको उजागर गर्दछ। बिहान उठेदेखि बेलुकी नसुतेसम्म गरेका क्रियाकलाप दैनिक टिपोट गर्न उनीहरुलाई हौसला दिनुहोस्। जरुरी छैन उनीहरुले लेखेको तपाईले सोचे जस्तो हुनु पर्दछ।
नकारात्मक धारणाले गलत कार्यमा प्रोत्साहन गर्छ। बालबालिका आफ्नो अभिभावकले गरेका कार्य हुबहु अनुसरण गर्छन्। बाबुआमाले बोलेका कुरा सतप्रतिशत सही हो भन्ने धारणा बालबालिकामा हुन्छ। उनीहरुमा विश्लेषण गर्न सक्ने क्षमता हुँदैन। त्यसैले नकारात्मक धारणा बालबालिकाको अगाडि भन्न उपयुक्त हुँदैन।
बालबालिकालाई मोबाइलबाट सकेसम्म पर राख्नुहोस्। आजभोलि बालबालिकाले मोबाइल बिना खाना नै खादैन भन्ने अभिभावकको गुनासो जताजतै सुनिन्छ। बालबलिका भिडिओ गेममा रमाएका छन्। अभिभावकले पनि उनीहरुलाई शान्त बनाउन मोबाइल रोज्ने गर्छन्। जुन कदम बालबालिकाका लागि हानिकारक छ।
मोबाइलले उनीहरुको कलिलो मस्तिष्क र आँखामा मात्र असर पुर्याउदैन। यसले बालबालिकाको सिर्जनशीलतालाई समेत नाश गर्छ जुन भविष्यमा प्रतिस्पर्धाका लागि महत्वपूर्ण मानिन्छ। बालबालिकालाई मोबाइलको सट्टामा बाल साहित्यका पुस्तक दिनुहोस्। चित्र भएको पुस्तकले बालबालिकालाई सिकाइ प्रति उत्सुकता सृजना गर्छ। र विस्तारै विस्तारै उनीहरु पुस्तकप्रति अभ्यास्त हुँदै जान्छन्।
बालबालिका राष्ट्रका भविष्य हुन। वर्तमानमा हामीले जसरी लगानी गर्छौँ, हाम्रो भविष्य पनि सोही अनुसार निर्धारित हुन्छन्। सुरक्षित भविष्यका लागि लगानी गर्न जरुरी छ, त्यो पनि सुरक्षित लगानी। बालबालिका बर्तमानका प्रतिबिम्ब हुन भने भविष्यका इतिहासकार हुन। बालबालिकाले गरेका गल्तीहरुलाई सच्याउदै उनीहरुले गरेका राम्रा कामको प्रशंशा गर्न चुक्नु हुँदैन। बालबालिकालाई दण्डित गरेर नभइ सुधार गरेर लैजाने रणनीति अवलम्बन गर्नुमा नै सबैको कल्याण हुनेछ।